अधुरो ‘ब्ल्याक भिलेज’ सपना

Prem paudel

प्रेमप्रसाद पौडेल

ऐतिहासिक, पर्यटकीय र धार्मिकस्थल पार्वती कुण्डको कछारमा मस्तसँग पलेटी मारेर बसेको तथा आमनेसामनेमा मनमोहक पहराद्वारा घेरिएकोे सांस्कृतिक गाउँ हो– गत्लाङ । पूर्वतर्फबाट लाङटाङ हिमालले चियाइरहेको छ । लाग्छ, विवाहपछि दुलाहाले दुलहीलाई हेरेजस्तै लाङटाङले गत्लाङलाई लुकीलुकी हेरिरहेको छ।

रसुवा सदरमुकाम धुन्चेबाट उत्तरतर्फ गणेश हिमाल (सोमदाङ) जाने सडक मार्गमा अवस्थित छ यो । गलङको अर्थ तन्दुरुस्त भन्ने हुन्छ स्थानीय भाषामा । यो गाउँमा गएपछि रोगग्रस्त मानिस पनि स्वस्थ हुन्छ भन्ने विश्वास छ । स्थानीय जानकार फुर्पा तामाङका अनुसार गलङको अर्थ विस्तारै बोल्ने मानिसको बस्ती पनि हो।

२३ सय मिटर उचाइमा अवस्थित गत्लाङमा सन् २००१ देखि २००५ सम्म ग्रामीण गरिबी निवारणका लागि ग्रामीण पर्यटन विकास कार्यक्रम (टिआरपिएपी) ले पर्यटन प्रवर्धन तथा विकासका लागि विशेष कार्यक्रम सञ्चालन गरेको थियो । गत्लाङ, गोल्जुङ, चिलिमे, थुमन, टिमुरे, बृद्धिमलगायत गाउँ समेटेर तामाङ सम्पदा मार्ग विकास गरिएको थियो।

वैशाखे भूकम्पअघि पाङलिङ अर्थात् फ्ल्याक छाइएको थियो गाउँको पूरै छानोमा । यहाँका युवाको सपना थियो– कालो छानायुक्त गाउँका रूपमा गत्लाङ चिनाउने । मिल्थ्यो या मिल्ने थिएन, गिनिज बुकमा ‘ब्ल्याक भिलेज’ का रूपमा दर्ता गराउने । तर भूकम्पले उनीहरूको यो सपना देखिसहेन । यसैको परिणाम हो– आज गत्लाङ, कालो हैन, सरकारी तथा गैरसरकारी संस्थाले दिएका जस्तापाताका कारण सेताम्मे भएको छ । अर्थात सेता छाना भएको गाउँ । जसले युवाका सपनासमेत छिन्नभिन्न पा¥यो ।

तामाङ संस्कृति, भेषभूषा, परम्परा, भाषा र शैली अध्ययनका लागि उद्गमस्थल पनि हो गत्लाङ । पश्चिमे तामाङहरूको मौलिक र जीवित संस्कृति अध्ययन थलो पनि हो यो । जैविक विविधता र प्राकृतिक मनोरम पूर्ण गत्लाङ यही कारण बाह्रै महिना स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्ने गर्छ । जहाँका होमस्टे, होटल र लजले स्थानीयदेखि चाइनिज, इटालियन, अमेरिकन तथा कन्टिनेन्टल खानासमेत उपलब्ध गराउँछन् ।

थुप्रै संख्यामा भेटिन्छन् माने र छोर्तेन । जसले यहाँको सांस्कृतिक र पर्यटकीय विकासमा महŒवपूर्ण भूमिका निर्वाह गरेका छन् । वैशाख र मङ्सिर पूर्णिमामा लगातार एक हप्ताभन्दा बढी लाग्ने विशेष मेलाले निकै रौनक भित्र्याउने गर्छ । अनि भदौको जनैपूर्णिमा र जेठको गंगा दशाहरा मेलामा पार्वती कुण्डमा लाग्ने मेलाले पनि सबैलाई हर्षविभोर तुल्याउँछ । गत्लाङ यस्तो ठाउँ हो जहाँ आउने पर्यटकले आफू होटलमा बसेको महसुस नै गर्दैन।

यहाँ आउने पर्यटक कम्तीमा पनि एक रात बिताउन लालायित हुन्छन् । आमा, दिदी बहिनी सबै नै पर्यटकलाई स्वागत गर्न तल्लीन रहन्छन् । तामाङ सम्पदा मार्गमा पर्ने गत्लाङ विशेषगरी तामाङ भेषभूषा, रहनसहन, स्वागत, सत्कार, प्राकृतिक सम्पदा, हिमाल, पार्वती कुण्ड, जागेश्वर कुण्ड, समथर घाँसे मैदान आदिको आकर्षण बोकेर बसेको छ । त्यसबाहेक वन्यजन्तु, पश्चिमे तामाङ संस्कृति अध्ययन, स्याब्रु नाच, माने नाच, घोडा नाच, जरायो नाँच, घले दरबार आदि यहाँ पर्यटक लोभ्याउने माध्यम हुन् ।

यो गाउँ साविक गत्लाङ गाविस (वडा नं. १ देखि ७ सम्म) पर्छ । अहिले भने पार्वती कुण्ड गाउँपालिका वडा नं. ३ । अन्न तथा तरकारी बालीमा रासायनिक मल तथा विषादी प्रयोग नगर्नु यहाँको अर्को विशेषता हो । स्वच्छ हावापानी र गाईभैँसीको मल प्रयोगबाट उत्पादित खाने कुरा स्वादिलो हुनेमा शंकै भएन । उसिनेको आलुसँग प्रोमो (टिमुर) को अचार, स्थानीय हिमाली र फलामे चामलको भातसँग सिमीको दाल, साँझपख चुरुप्प पार्न जौको रक्सी, एकाबिहानै ओछ्यानमै पिउन छ्याङ वा जाँड, चौरीको दूधसँग घोलेर खान करुको सातु यहाँ आउने पर्यटकले खोज्ने मुख्य खाने कुरा हुन् । काठमाडौँको बौद्धमा बेचिने चर्चित करुको पीठो यहीँको उत्पादन हो।

यहाँ पर्यटनमार्फत गरिबी न्यूनीकरण गर्ने प्रयास जारी छ । कालो छानालाई जीवित बनाउँदै विश्वमा नै ‘कालो छाना भएको गाउँ’ का रूपमा गत्लाङलाई चिनाउन थप कार्य गरिने स्थानीय पर्यटन होटल व्यवसायी फुर्पुसिङ्गी तामाङ बताउँछन् ।  उनका अनुसार पुराना शैलीका घर र कालो छाना पर्यटन विकासको पर्याय भएकाले कालो छानालाई कायम राख्न छलफल भइरहेको छ । -नागरिकबाट

Comments

comments