अनुशासित स्वास्थ्य जीवनशैलीले कोरोना हाम्रो वरिपरी आउँदैनः डा रविन्द्र समीर

Rabindra-Samir

केही महिनादेखि विश्वमा कोरोना भाइरसको एक किसिमको आतङ्क छ । ०७६ चैत ९ गते साँझ ८ बजेसम्म विश्वमा ३ लाख ८६ हजार १५ जनामा कोरोनाको सङ्क्रमण देखा परेकोमा १३ हजार ६ सय ७५ जनाको मृत्यु भइसकेको छ । कोरोनाको सङ्क्रमण नभित्रियोस् भनी नेपालमा निकै सचेतता अपनाइएको छ । यसै सन्दर्भमा जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र समीरसँग इन्सेक अनलाइनका सम्पादक रमेशप्रसाद तिमल्सिनाले गर्नुभएको कुराकानी प्रस्तुत गरिएको छ ।

विश्वव्यापी फैलिएको कोरोनाको सन्त्रास बढ्दो छ । हामी किन डराउने ?
पहिला संसार निकै टाढा थियो । पहिला एउटा देश वा महादेशमा रोग फैलिँदा अरुलाई थाहा पत्तो हुन्थेन ।  अहिले सञ्चारले विश्वलाई एक गाउँको रूपमा समेटेको छ । त्यसैले अहिले गाउँगाउँमा टोलटोलमा र घरघरमा कोरोनाको चर्चा छ । चर्चा जति चले पनि अहिले (०७६ चैत ७ गते)सम्म हाम्रोमा चाँहि आएको छैन । त्यही भएर हामी डराउने स्थितिमा छैनौँ । तर शतर्क भने हुनै पर्छ । हाम्रो सिमानाको उत्तरको तिब्बतमा अहिलेसम्म कोरोना छैन । त्यही भएर तिब्बतको सिमानाबाट कोरोना नेपाल भित्रिने सम्भावना निकै कम छ । दक्षिणतिर रहेका उत्तर प्रदेश र विहार भनेका विष्फोटक जनसङ्ख्या भएका हाम्रा छिमेकी हुन् । उत्तर प्रदेश र विहारमा गरेर झण्डै २५ करोड जनसङ्ख्या छ । त्यहाँको जीवनशैली पनि रोग फैलन मद्दत गर्ने खालको छ । अहिलेसम्म लखनउमा पनि कोरोना सङ्क्रमित फेला परिसके । नेपालसँग सिमाना जोडिएका मोतिहारी, मुजफ्पुरमा पनि कोरोना सङ्क्रमित फेला परे । हाम्रो सिमाना खुला छ । त्यसैले खतरा बढेको छ । उत्तर प्रदेश र विहारमा कोरोना नियन्त्रणमा आएन भने त्यसले भयावह अवस्था सिर्जना गर्छ । हाम्रो तराई पनि नियन्त्रणमा आउँदैन । त्यसपछि पहाड र हिमाल वा जहिँकहिँ रोग फैलन सक्छ ।

त्यसो भए के गर्ने त ?
हामीले सिमा चौकीमा मात्रै नभएर सिमानाका सबै ठाउँलाई नियन्त्रणमा लिएर आउजाउलाई कडाई गर्नुपर्छ । सशस्त्र प्रहरीलाई सिमानाका हरेक ठाउँ (जङ्गल, खेत, वन) सबै ठाउँमा परिचालन गरेर आवागमनलाई व्यवस्थित गर्नुपर्छ । त्यति गरेनौँ भने हामी बच्न सक्दैनौँ । हामी बच्ने भनेकै पूर्व अभ्यास र सावधानीले हो । अन्य विकल्पमा हामी जान सक्दैनौँ । अहिले पनि अन्तर्राष्ट्रिय विमानस्थलमा गर्नुपर्ने सचेतताका काममा कमी भइरहेको छ । केही उडान बन्द गरेपनि सबै उडान बन्द छैन । चिन, थाइलैण्ड, भारत जस्ता केही देशको उडान बन्द नगर्दा खतरा उच्च रहेको छ । (यो अन्तर्वार्ता लिइसकेपछि ०७६ चैत ७ गते प्रधानमन्त्री केपी शर्मौ ओलीले राष्ट्रका नाममा सम्बोधन गरी उडान बन्द गर्ने बताउनुभएको छ ।) नेपाल ‘ग्रिन जोन’ मा रहेकाले पनि यता पर्यटक आउने नै भए । विमानस्थलमा स्रोत साधनले पूर्ण स्वास्थ्यकर्मी परिचालन गर्नु आवश्यक छ । विमानस्थल होस् वा अन्य सिमानाबाट नेपाल भित्रने सबैको स्वास्थ्य जाँच गर्नु अति नै आवश्यक छ । कसलाई घर वा अन्य गन्तव्यमा पठाउने कसलाई क्वारेन्टाइनमा र कसलाई आइसोलेशनमा पठाउने यात्रीको हातमा नभएर स्वास्थ्यकर्मीले निर्णय लिने वातावरण बनाउनु जरुरी छ । यति गर्दा पनि सिमाना तथा विमानस्थलबाट कोरोना भित्रिन पाउँदैन ।

यो रोग हावाबाट नै सर्छ भनिन्छ । मान्छेमा आउजाउ गर्न नै बन्देज लगाएर यतिविधि नियन्त्रण किन ?
खासमा यो रोग हावाबाट नै सर्ने हो । कोरोना लागेको मान्छेले खोक्यो वा हाच्छ्युँ गर्‍यो भने बिरामीको मुखबाट निस्केका किटाणुहरू १ देखि ३ मिटरको दुरीसम्म जान सक्छन् । त्यो दुरी भित्र टेवल, कुर्सी, भुँइ जे पनि हुनसक्छ । जे छ त्यसमा किटाणु पुग्छन् । पछिल्लो अनुसन्धानले कोरोनाको भाइरस दुई घण्टासम्म हावामा रहन्छ । त्यसपछि मात्रै मर्छ ।  त्यसो हुनाले कसैले खोकेर वा हाच्छ्युँ गरेर गएपनि दुई घण्टासम्म खतरा रहिरहन्छ । तर, यसलाई हावाले उडाएर एक ठाउँबाट अर्को ठाउँमा लैजाँदैन ।
कोरोना आउन नदिने सरकारी प्रयास कस्तो छ ?
दक्षिण एशियामा नै कोरोना एकदमै ढिला आयो । त्यस अर्थ हामी भाग्यमानी छौँ । चिन, युरोप, अमेरिका, अष्ट्रेलिया हुँदै दक्षिण एशियामा ढिलो आयो । उनीहरूले पूर्व तयारी गर्नै पाएनन् । त्यसले क्षति पनि बढी भयो । पीडा पनि धेरै छ । हृदयविदारक पीडा छ । तर, हामीले संसारकै हेर्न पायौँ । उनीहरूले प्रयोग गरेका ज्ञान, सीप र प्रविधि हेर्न पाउँदा धेरै कुरा जान्यौँ । नेपालमा अहिलेसम्म कोरोनाको त्रास मात्रै छ । कोरोनाका भाइरस छैनन् । सरकारले आफ्नो क्षमताले भ्याएसम्मका काम गरेको छ । यति नै पर्याप्त भन्न नसकिएला । तर, यथा समयमा काम गरेको छ । सरकारले गरेको निर्णय अत्यन्तै महत्वपूर्ण र जरुरी थियो । जुन गर्‍यो । एसइइ परीक्षा, स्कुल, कलेज, जमघट, भेला आदि रोक्ने काम निकै महत्वपूर्ण तर दुरगामी प्रभाव पार्ने खालको हो ।

अब के गर्ने त ?
सरकारले पर्याप्त मात्रामा किट ल्याउनु पर्छ । कोरियामा कसरी नियन्त्रणमा आयो हामीले बुझ्नु पर्छ । उनीहरूले डेगु शहरका प्रत्येक घरमा गएर जाँच गरे । जो ठिक छ घरैमा आराम गरे जो बिरामी छ उसलाई अस्पताल लगियो । त्यसो भएको हुनाले डेगुमा मर्नेको सङ्ख्या असाध्यै कम भयो । भन्नाको मतलब के भने सरकारले किट चाँहि प्रशस्तै झिकाउनुपर्‍यो । यो कति समयसम्म फैलन्छ यसको कुनै सिमा छैन । पूर्व तयारी राम्रोसँग गर्नुपर्‍यो नि त ! विमानस्थल र सिमानामा आवतजावत पूरै बन्द गर्नुपर्छ । अत्यावश्यक भएमा स्वास्थ्य जाँच पछि मात्रै यात्रा गर्न सकिन्छ । यति काम गरेमा अरू त प्रक्रियागत रूपमा गर्दै जाने हो ।

कोरोनाको भाइरसले भेट्ने बित्तिकै मरिन्छ भन्ने जनमानसमा त्रास छ । के कोरोनाको भाइरसले भेट्ने बित्तिकै ज्यान जान्छ ?
यो निकै ठूलो भ्रम छ । यत्रतत्र सर्वत्र फैलिएको भ्रम हो यो । यो एकदमै महत्वपूर्ण सवाल हो । कोरोनालाई यमराजको रूपमा हेरिएको छ । तर, त्यो होइन । तपाइँलाई म एउटा तथ्याङ्क प्रस्तुत गर्छु । १ हजार जनालाई कोरोना सङ्क्रमण भयो भने ९० प्रतिशतलाई सामान्य रुघाखोकीको लक्षण देखिन्छ । पहिलो ८० प्रतिशत थियो अहिले बढेर ९० पुगेको छ । उनीहरूलाई खास उपचारको जरूरी छैन । ‘आइसोलेशन’मा बस्ने आराम गर्ने मात्रै हो । त्यसपछि उनीहरू निको हुन्छन् । बाँकी १० प्रतिशतलाई अस्पतालको सहयोग चाहिन सक्ने हुन्छ । तीमध्ये ५ प्रतिशत गम्भीर बिरामी हुन्छन् । उनीहरूलाई आइसियू, भेन्टिलेटर चाहिन सक्छ । ती गम्भीर बिरामीमध्ये पनि जसलाई क्यान्सर छ, मधुमेहका गम्भीर बिरामी, जो मिर्गौला रोगी छन्, जो मुटु, कलेजो, फोक्सोका बिरामी छन् वा भनौँ मृत्युको डिलैमा पुगेकालाई यसले बढी असर गर्छ र ज्यानै लिन सक्छ । सामान्यतया भन्दा प्रति १ हजारमा २०–३० जनाको मृत्यु हुन्छ । अन्य रोगले पनि यसरी मान्छेको मृत्यु हुन्छ । झाडा पखलाबाट त यो भन्दा ठूलो सङ्ख्यामा मृत्यु हुन्छ । ज्वरोले यो भन्दा बढीको मृत्यु हुन्छ । अन्य रोगबाट पनि बढीको ज्यान जाने गरेको हुनाले कोरोना आत्तिने विषय होइन । सचेततापूर्वक पूर्व तयारी गर्ने विषय हो ।

किन त सन्त्रास ?
दुई ओटा मुख्य कारण छन् । एउटा यो चाँहि छिटो फैलन्छ । दोस्रो यो भाइरस हो । एन्टिभाइरल औषधिहरू त्यति प्रभावकारी छैनन् । छन त छन् एन्टिभाइरल । एन्टिभाइरलले व्याक्टेरिया मार्छन् । कोरोनाका भाइरसलाई मार्छ भन्न सक्ने अवस्था छैन । यो बाहेक डराउनुपर्ने कारण अरू केही पनि छैन । सबैभन्दा बढी डराउनुपर्ने विषय सञ्चारमाध्यम हो । सञ्चारमाध्यमले झुठा समाचार प्रकाशन गर्ने गरेका छन् । म दावी गरेर भन्न सक्छु अहिले ९० प्रतिशत झुठा समाचार आइरहेका छन् । अनलाइनहरूले आफ्नो ‘भ्यूअर’ बढाउन चाहन्छन् । हामीपनि सनसनीवाला समाचार चाहन्छौँ । सबैभन्दा डराउनुपर्ने विषय यो हो । विश्व स्वास्थ्य सङ्गठन, स्वास्थ्य मन्त्रालय र विश्वासिला सञ्चारमाध्यमका कुरामा मात्रै विश्वास गरेमा कोरोनाको अनावश्यक सन्त्रासबाट मुक्त हुन्छौँ ।

त्यसो भए नआत्तिने तर सचेत रहने र स्वास्थ्य अनुशासन अपनाउने गरे कोरोनासँग डराउनु पर्दैन ?
कोरोनाबाट बच्ने दुईतीन ओटा मात्रै उपाय छन् । पहिलो मानसिक रूपमा बलियो हुनु हो । यदि लागि हाल्यो भने पनि म योयो गर्छु भनेर योजना बनाउनु पर्छ । आफू र परिवारको खाने, बस्ने र जाने अस्पतालका बारेमा योजना बनाउनु पर्छ । मास्क भन्ने कुरा चाँहि ‘फेशन’ हो । हात पटकपटक धुनु पर्छ । न्यूनतम पनि एक/एक घण्टामा धुने गर्नु पर्छ । सबैभन्दा उत्तम भनेकै साबुन पानीले मिचिमिचि हात धुने हो । कोरोनाले तपाइँलाई खोज्दै घरमा आउँदैन । कोरोना खोज्दै भिडभाडमा नजानु अर्को महत्वपूर्ण विषय छ । भिडमा नजानाले कोरोनाको सम्भावना निकै कम हुन्छ । सकेसम्म घरैमा बस्नु पर्छ । सबै जना घरमा बसे पछि यो रोग फैलन पाउँदैन । समस्या आइरहन्छ । समस्यासँग डराएर भाग्ने होइन । समाधान पहिल्याउनु पर्छ । त्यसका लागि सरकारले चालेका कदमलाई आम नागरिकले साथ दिनु पर्छ । अनुशासित स्वास्थ्य जीवनशैलीले कोरोना हाम्रो वरिपरी आउँदैन । त्यसैले अनुशासित बनौँ । कोरोना कमजोर भाइरस हो । कोरोनासँग नआत्तिऔँ । कोरोनालाई परास्त गर्न सक्छौँ । मनोबल उच्च राखौँ ।

इन्सेक अनलाइनबाट

Comments

comments