अपाङ्गता भएका व्यक्तिहरूलाई कोभिड–१९ विरुद्धको खोप प्राथमिकता दिन माग

Demand letterDemand letter

धुन्चे, रसुवा अपाङ्ग पुर्नस्थापना केन्द्र नेपालले अपांगता भएका व्यक्तिलाई काेराेना भाइरस (कोभिड–१९) विरुद्धको खोपमा प्राथमिकता दिन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन-पत्र पेस गरेका छन् ।  जिल्लामा हालसम्म पनि अपाङ्गता भएका व्यक्तिहरूलाई कोभिड–१९ विरुद्धको खोप प्राथमिकतामा नराखिएकाले अब आउने खोपमा समावेश गर्न माग गरेको हो।

केन्द्रका सचिव सरस्वती थापा र केन्द्रीका सल्लाहकार तथा राष्ट्रिय अपांग महासंघका संघीय सदस्य प्रतिमा लामाले प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद ढकाललाई ज्ञापनपत्र बुझाएको हो। ‘हरेक विपद् झैँ यो महामारीमा अपाङ्गता भएका व्यक्तिहरू उच्च जोखिममा भएका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट काेराेना भाइरस (कोभिड १९) विरूद्ध खोप प्रदान गर्दा अपाङ्गता भएका ब्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ उपलब्ध गराउन स्वास्थ्य कार्यालयमा सिफारिस साथ अनुरोध गरिदिनु हुन अनुरोध गर्दछौ’, ज्ञापन पत्रमा उल्लेख छ । ’

जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले जिल्ला स्तरीय निर्णय गरेर अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकतामा राखि खोप उपलब्ध गर्ने व्यवस्थाका लागि ध्यानाकर्षण सहित अनुरोध गरिएको  रसुवा अपाङ्ग पुर्नस्थापना केन्द्र नेपालका कार्यक्रम अधिकृत छिरिङ लामाले बताए । प्रमुख जिल्ला अधिकारी ढकालले अब आउने खोपमा अपाङगता भएका व्यक्तिलाई समेटिने जानकारी दिनुभयाे ।

Comments

comments