अब पत्रकारहरुको लेखनी र गतिविधी सार्वजनिक सुनुवाइको विषय बनाइनुपर्छ

kishor
किशोर श्रेष्ठ, सम्पादक, जनआस्था साप्ताहिक तथा वरिष्ठ उपाध्यक्ष, विश्व प्रेस काउन्सिल
वरिष्ठ पत्रकार तथा चर्चित साप्ताहिक पत्रिका जनआस्थाका सम्पादक किशोर श्रेष्ठ अहिले प्रेस काउन्सिल नेपालका सदस्य तथा विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । नेपाली पत्रकारिता जगतमा ‘रिक्स’ उठाउन सक्ने र खोजमुलक सामग्री पस्कन सक्ने सम्पादकको रुपमा अलग्गै पहिचान बनाउन सफल हुनुभएको छ ।  
 
उहाँ पत्रकारितामा नयाँ प्रयोग र अभ्यासका कारण चिरपरिचित मात्र होइन सधैं चर्चाको पात्र बन्नुभएको छ  । २५ वर्षको उमेरदेखि ०५१ सालमा ‘जनआस्था’ साप्ताहिक शुरु गर्नुभएका श्रेष्ठले त्यसलाई नेपालको नम्बर एक साप्ताहिक पत्रिका मात्र बनाउनुभएन, अहिले दैनिक पत्रिका, रेडियो र टेलिभिजनको नेतृत्वमा पुगेका कैयौँ पत्रकार पनि उत्पादन त्यही जनआस्थाका माध्यमबाट गर्न सफल हुनुभएको छ । 
 
सानै उमेरदेखि वामपन्थी राजनीतिमा लागेर दुःख–कष्ट उठाँउदै पछि राजनीति छाडेर पत्रकारितामा सक्रिय रहनुभएका श्रेष्ठ स्रोतसँगको व्यापक पहुँच, ‘एक्स्क्लुसिभ’ समाचार खोज्ने रुचि र त्यसलाई अरूले भन्दा भिन्न शैलीमा पस्किने कलाका लागि पत्रकारिता क्षेत्रमा स्थापित हुनुहुन्छ  ।
  
उहाँसंग दामन पोष्ट साप्ताहिक तथा  समाचार पोर्टल दामन पोष्ट डटकमका सम्पादक शन्तराम  बिडारीको केही हप्ता अघि लामो कुराकानी भएको थियो । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको स्नातकोत्तर तह दोस्रो वर्षको शोधकार्यका लागि साप्ताहिक पत्रिकामा आचारसंहिता कार्यान्वयनको अवस्था विषयमा  आचारसंहिताको समग्र अवस्था र जनआस्था साप्ताहिकका केही समाचार प्रसंगबार लामो कुराकानी भएको थियो । 
 
उक्त प्रयोजनका लागि भएका धेरै लामो अन्तरवार्ता मध्येका केही अंश आम पाठक र पत्रकारिताका विद्यार्थी तथा शोधार्थी समेतलाई उपयुक्त हुने ठानेर यहाँ प्रकाशन गरिएको हो । जुन शुक्रबार प्रकाशित भएको दामन पोष्ट साप्ताहिकमा पनि प्रकाशित भएको छ ।
साप्ताहिक पत्रिकामा पहिले र अहिले पत्रकार आचारसंहिता कार्यान्वयनको अवस्थामा कस्तो फरक पाउनु भएको छ ?
 
हामीमा एउटा दरिद्र संस्कार छ र पत्रकारले जे लेखेपनि हुन्छ भन्ने मान्यता बनेको छ । त्यतीमात्र होइन कानुन फितलो छ । सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने कानुन कमजोर छ र  हाम्रा छिमेकी देशहरुमा भन्दा हाम्रो कानुन निक्कै उदार पनि छ ।  हाम्रो मौजुदा कानुनले छापाखाना बन्द गराउन मिल्दैन । सेन्सरशीप लाग्दैन । केही सामग्री प्रकाशित भए वापत कसैले जेल जानु पर्दैन ।
यसका साथै योग्यता र प्रशिक्षणको अभाव छ । पढेर, विशेष ज्ञान आर्जन गरेर भन्दा पनि ‘एकचोटी रहर मेटी हालौं न त’ भनेर पत्रकारिता गर्ने चलन छ । तर यो समस्या अहिले छापा माध्यम भन्दा पनि बढी विद्युतीय माध्यममा छ । जे लेखे पनि हुने । पछिल्लो समय आचार संहिता उल्लंघन सबैभन्दा बढी अनलाइनमा देखियो । फेसबुक र ब्लगहरुको त कुरा नगरौं ।
त्यसो त प्रिन्ट मिडीयाहरुमा पनि छँदैछ । आफुले भनेको कुरा पुरा भएन भने त्यसका विरुद्धमा लेखिहाल्ने प्रवृती हामीकहाँ नभएको होइन ।
किन यस्तो प्रवृती भएको होला त ?
एक त योग्यताको कमी र अर्को कसैको डर भर पनि भएन । बिहान कुनै पुलिसको बारेमा लेख्यो, बेलुका उसैसंग बसेर दनादन दन्कायो ।
पछिल्लो समय केही पत्रिकाका सामग्रीहरुमा केही ट्रेन्ड बदलीएको पाउनुभएको छ ?
हिजोका दिनमा साप्ताहिक पत्रिकाहरुले लेख्ने ट्रेन्ड आज ब्रोडसिट दैनिकहरुले लिइसकेको छ । बरु अब साप्ताहिकहरु चाँही अलि जिम्मेवार भएजस्तो देखिन्छ । व्यवसायिक धर्म निर्वाह गर्नुपर्छ भन्ने चेत आएको छ ।
हुनत दैनिकहहरुमा बढी प्रतिश्पर्धा र चर्को होडबाजी भएर पनि होला । एकैदिको कान्तिपुर हे¥यो लोकमानको विपक्षमा देखिन्छ, एकैदिनको अन्नपूर्ण हे¥यो लोकमानको पक्षमा देखिन्छ । पुरै समर्थनमा देखिन्छ ।
सबैभन्दा बढी आचार संहिता उलंघन गर्नेदेखि सहप्रकाशन बनाएर नग्न तस्बिर प्रकाशन गर्ने र हुँदो नहुँदो गर्ने काम त अहिले दैनिकहरुबाट नै भएको छ ।
अनुजा बानिया, रसेन्द्र भट्टराई जस्ता थुप्रो केस हाम्रा सामु छन् । डा. भक्तमान श्रेष्ठ अपहरण काण्ड पनि त्यसैको नमुना हो । त्यो बारेमा मिडीयाले उक्त विषयलाई कसरी लगातार प्रश्तुत ग¥यो र वाश्तविकता के रहेछ भन्ने कुरा हाम्रा सामु छ ।
अहिले दण्डहिनता भयो , दोषीहरु कानुनी दायरामा आाउदैनन् भनेर हामी दिनहुँ भन्छौं तर पत्रकारहरु विशुद्ध पत्रकारिता गरेर मर्ने मैले ३५ जनामा एउटा पनि पाएको छैन । भन्दा अलि अफ्ठेरो भएपनि यो हाम्रो सामु तितो तस्बिर हो ।
कृष्ण सेनको बारेमा हामीले समाचार ब्रेक ग¥यौं । त्यो नगरेको भए उहाँ अहिलेसम्म वेपत्ताको सुचीमा नै हुनुहुन्थ्यो । कृष्ण सेनलाई मारेको मामलामा पत्रकार सेनलाई मा¥यो भन्ने कि माओवादीको उपत्यकाञ्चल व्युरो प्रमुख कमरेड कबिन्द्र प्रहरीको कव्जामा परेको र त्यस क्रममा यातना दिएर मारिएको भन्ने ?
उहाँको पार्टीले मेरो पार्टीको कार्यकर्ता ‘यो यो मारिनुभयो’ भनेर त्यो सुचिमा राखेको छैन । आफु सत्तामा पटक पटक गएको छ, त्यो मार्नेलाई कारवाही गरिएको छैन । हामी पत्रकार लगातार भनिरहेका छौं ‘हाम्रो साथी मारिनुभयो ।’ यहाँ हाम्रो भूमिका विरोधाभाष छ ।
हामीले समाजको ३ वटा अंगलाई निगरानी गर्ने भएर चौंथो अंग भनिएको तर हामीलाई निगरानी गर्ने कुरामा कतैकतैबाट कमजोरी छ । त्यसैले हामी अलि बढी छाडा भयौं की भन्ने लाग्छ ।
के त्यसो भए कानुनमा कडाई गरेर यो नियन्त्रणमा आउला ?
सबैभन्दा ठूलो कुरा आफैं संयमित हुनुपर्छ । स्वसमिक्षा गर्नुप¥यो । आफैप्रति निर्मम हुनुप¥यो । भारतकै न्यायधिश पि सावन्त भन्नुपर्ने ठाँउमा पि सामन्त भनेर ‘म’ एउटा उल्टा पर्दा एक खर्ब दण्डित गर्ने आदेश पनि गरेको छ । त्यसले गर्दा त्यो मिडीया बन्द नै भयो ।
त्यसैले अन्य देशसंग दाँज्न मिल्दैन । सकिँदैन । त्यस्ता कुरा हाम्रा पत्रिका र पत्रकारिताले थेग्न सक्दैन । किनकी राज्यको प्रवद्धन गर्ने नीति छैन । विज्ञापन बजार ठूलो छैन । विक्रीको उस्तै ताल छ । यो रहरको पेशा भएको छ । यसबाट केही आउटकम आँउछ र पेट पालिन्छ भन्ने समस्याबाट मुक्त भइनसकेको पेशा भएको हुनाले ठ्याक्कै दण्डै लगाएर ठेगान लगाउने भन्ने कुरा हुँदैन ।
हाम्रो समाजका विभिन्न अंग अस्तव्यस्त भएकाले हामीले फाइदा उठाउन पाएको हो । किनकी हाम्रो अदालत भ्रष्ट छ । जसले दण्डित गर्ने हो । हाम्रो प्रहरी प्रशासन त्यस्तै छ । समाजका सबै अंग सफा भइदियो भने अनि हामीलाई पनि कसैले केही गरिदियो भने न्यायिक होला ।
सबैभन्दा ठूलो कुरा हाम्रो योग्यताको परिक्षा नै भएन । क्वालिटी कन्ट्रोल भएन । भारु प्रमाण पत्र लिएका, नपढेका र नलेख्ने मान्छेहरु पत्रकारितामा चर्चित छन् । पत्रकार महासंघको चुनावमा पनि विशुद्ध पत्रकारिता गर्ने मान्छेले जित्नै सक्दैन ।
योग्यता परिक्षाको पाटोबाट पनि जान सक्नुपर्छ । लोकसेवा पास नगरी सरकारी जागिर खान नपाउने, गाडी चलाउन पनि ट्रायल दिनुपर्छ तर हाम्रो पत्रकारितामा खोइ परिक्षा प्रणाली ? अहिले पहिले जस्तो लेख्दैमा सबैले सबै कुरा पत्याउने अवस्था छैन । शायद मिडीया साक्षरताको कारणले होला । ए त्यो झुर पत्रकार, त्यसको पनि कुरा गर्ने भनेर कुरा गरेको सुनिन्छ ।
अब पत्रकारहरुको लेखनी र गतिविधीबारे सार्वजनिक सुनुवाइको विषय बनाइनुपर्छ । त्यसो गरियो भने पत्रकार पनि मर्यादित र जिम्मेवार हुन पाउने भए । समाजले पनि पत्रकारले उत्तरदायित्व वहन गरेको अवस्था देखिने भयो । नत्र त सुनुवाई हुने ठाँउ नै भएन जे लेखे पनि भयो, जे गरे पनि भयो ।
तपाँइ आवद्ध मिडीयाको समाचार सामग्री जो पत्रकार आचारसंहिताको कारणले बदलाव आएको अनुभव छ की ?
 
म नमरेसम्म वा पत्रिका बन्द नभएसम्म मलाई चिन्ने एकमात्र आधार हुन्छ ‘श्रीषा कार्कीको आत्महत्या प्रकरण’ । मान्छेलाई सकारात्मक भन्दा नकारात्मक कुराले बढी चिनीन्छ ।
मैले राजतन्त्रलाई जनतासम्म एक्सपोज गर्नमा मिडीया मार्फत खेलेको भुमिका कसैले गणना गर्छ ?
पारशको, दिपेन्द्र वा ज्ञानेन्द्रको ज्याजतीबारे भित्रको सुक्ष्मकुरा ल्याएर मैले के गरें । सेना भित्रको अनेक भ्रष्टाचारहरु बाहिर ल्याएर गरेको कुरा कसले सम्झन्छ ? त्यो बेला त्यतातिर फर्किएर औंला ठड्याउने हिम्मत नै कसैको हुँदैनथ्यो ।
प्रधान न्यायधिश दिलिप पौडेलको बारेमा जनआस्थामा एउटा स्टोरी आयो । त्यसका केही तथ्यगत त्रुटीहरु छन् तर त्यो कागजातमा आधारित भएर बनाइएको हो । त्यसमा अदालत आफैं चुकेको छ ।
जेलमा एउटा कैदी छ । तयो कैदीले जेलरको प्रक्रियाबाट छाप लगाएर औपचारिक प्रक्रियाबाट सर्वोच्च अदालतमा उजुरी दर्ता गरेको छ । त्यो उजुरी यस्तो छ है भनेर हामीले छापेका छौं । हो, त्यो उजुरी अदालतमा परेको छ भने अदालतका रजिष्टारले बनाएको प्रतिवेदन छ । समाचार निस्कियो, त्यसपछि जेलर पनि कारवाहीमा प¥यो, दर्ता गर्ने कर्मचारी पनि कारवाहीमा परे । मुद्दा हामी विरुद्ध सात वर्ष लम्बियो । कोही न्यायधिशले फैसला गर्न नमान्ने । जसको बेन्चमा परेपनि एक थरी आदेश गरिदिने । कलिे जेलरलाई झिकाउने भन्ने, कहिले प्रतिवेदन झिकाउने भन्ने । फैसला नै गर्न डराउने । आखिर डिभिजन बेन्चबाट फैसला भयो । सफाइ दिइयो । प्रधानन्यायधिशलाई नै अट्याक गर्दाखेरीको पनि स्थिति आखिर त्यस्तो हो नी त ।
तपाँइले सम्पादन गर्दै आउनु भएको जनआस्था साप्ताहिकमा समाचार निस्किएपछि श्रीषा कार्कीले आत्महत्या गरेको प्रकरण के हो ?
२०५९ साल जेठ १३ गते कृष्णसेनलाई मारियो भनेर हामीले एक्स्पोज ग¥यौं । महेन्द्र पुलीस क्लवमा कुटेर मारिएको हाम्रो दावी थियो । मारे पछि इन्काउन्टर देखाउन छातिमा २ वटा गोली दागेर विष्णुमतीमा लाश डढाइयो । त्यो मार्दा महेन्द्र पुलीस क्लवका चिफ इन्चार्ज विक्रमसिंह थापा थिए ।
अमरशिंह शाह उपत्यका डिआइजीले कुटेको हो  भनेर पनि लेख्यौं । आइजीपी प्रदीप शम्शेर जवरा थिए । प्रदीप शम्शेरको छोरो दिपशम्शेरको नक्सालको जंग थापाको छोरी सम्झनासंग भएको बिहे टुट्यो किनभने दिपको समलिङ्गी सम्वन्धवाला स्वभावका कारण । त्यसको ३ महिना पछि लोकेन्द्रबहादुर चन्दको सरकार बन्यो । धर्मबहादुर थापा गृहमन्त्री बने ।
पुलीस आइजीपी तिनै । त्यतीनै बेला असोज २८ गने जनआस्थामा स्टोरी आयो । फोटो पनि छ । त्यो फोटोमा जसले खिचेको हो, प्रहरीका सइ उद्धव भण्डारी, उसले सावीती वयान दिएका छन् मैले ८ हजार रुपिँया तिरेर अर्कै कामका लागि मेरो घरमा लगेर फोटो खिचेको हो भनेर । फोटो खिच्ने हामी होइनौं । त्यो स्टोरी छापिएको छ कि नेपालका कलाकारहरुको धन्दा यस्तो छ भनेर ।
त्यसमा ४५ जनाको नाम छ । लोकमानसिंह कार्की, केशव स्थापित, खुमबहादुर खड्का, कृष्ण मल्ल, शर्मिला मल्ल लगायत ४५ जनाको नाम छ, फोटो चाँही  उसको मात्र हो ।
दशैंको बिदा र प्रेस बिग्रीएको कारणले त्यो पत्रिका बुधबारको सट्टा बिहीबार निस्कीयो । त्यसपछि उनी पिता दलबहादुर र भाइ राजेन्द्र सहित मलाई कार्यालयमै शनिबार भेट्न आएकी थिइन् । मैले बुवालाई कन्भिन्स गरेर पठाएको छु, कि हाम्रै केटाहरुले फोटो यता उता मिलाएर छापिदिएछन् दशैं मनाएर घरबाट आउनुस् पछि खण्डन छापिदिउला ।
श्रीषालाई पनि मैले तिनको केटासाथी कृष्णप्रसाद भट्टराईको बडी गार्ड थियो प्रकाश देउजा । त्यतीबेला क्याप्टेन थिए, अहिले कर्णेल छन् । उनलाई पनि केही वाश्तविकता नभन है  भनें । किनकी फोटो उनकै हो, सर्वश्व बिग्रने हुनाले उनका मान्छेले सोधे भने ट्रिक हो भनेर ढाँट्दीनु है भनेकी थिइन् । मैले लगातार ढाँटीरहेकै छु ।
त्यो घटनाको छ दिनपछि बिहान आठ बजे उनी आफ्नो दिदीसंग ट्याक्सी बुक गरेर सिन्धुपाल्चोक घर जाने तयारीमा थिइन् दशैंका लागि । पुलीसको सई लण्डन पुगीसकेको थियो । उद्धवको श्रीमती इश्वरी भण्डारी पनि नेपाल पुलीसको हवल्दार थिइन् ।
आफ्नो व्याइफेन्डलाई श्रीषाले उद्धवको घरमा लगेर मलाई यही घरमा यसरी जर्वजस्ती ल्याएर फोटो खिचेको भनेर हेल्मेटले हानिछन् । त्यसपछि उद्धवको श्रीमतीले श्रीमानलाई रुदै लण्डनमा फोन गरेपछि उद्धवले श्रीषालाई फोन गरेर त्यो रिस फेर्न तेरो अरु पनि बाँकी छ, सिध्याइदिन्छु भनेर फोन गरेको छ । त्यसको लगत्तैं उनी दिदिसंग घर जना छोडेर घरको माथी गएर झुण्डीएकी छिन् ।
पोष्ट मार्टम रिपोर्टले झुण्डीएर मरेको र पेटमा बच्चा भन्ने देखाएको छ । राजाले भर्खर टेक ओभर गरेको अवस्थामा सबै मण्डलेहरु मेरा विरुद्ध एक भैदिए । त्यो ४५ जना मध्ये स्टोरीमा कृष्ण मल्लले सोल्टी होटेलमा आफ्नै श्रीमतीलाई गाडीमा लोड गरेर पु¥याउँछ भन्ने पनि उल्लेख थियो । त्यसलगत्तै कृष्ण मल्ल, बसुन्धरा भुषालहरु जुलुसमा निस्कीएका छन् । राजाले टेक ओभर गरेको अवस्था । सबैले बदला लिने मौका यही हो भन्ने सोचे । जनआस्था विरुद्ध पहिले टपेन्द्र हमालले सार्वजनिक अपराधमा केश दर्ता गरेको रहेछ ।
पछि त्यसलाई ज्यानमुद्दामा परिणत गरियो । म दुई वर्ष फरार नै भए नी । भेटेको भए मलाई पुर्पक्षका लागि जेल हाल्थ्यो ।मेरा सहकर्मी तितर बितर भए । सिताराम बराल राजीनामा दिएर भागीसक्या थिए । चुडामणी भट्टराई दशैं मनाउन घर गएको उता उता वेपत्ता थिए । कसले आएर पत्रिका चलाउने, बन्द गराउने नै अवस्था थियो । कार्यालय आएर तोडफोड गरिदिएको छ ।
त्यही संकटको बेला मैले ९० प्रतिशत मान्छे चिन्न र छान्न मौका पाए । मैले लुकेर पनि पत्रिका निकालीरहें । जे जस्तो अवस्थामा पनि बन्द गरीन । कोही मान्छे न्युजको कारण आफैं झुण्डीएर मर्छ भने के म ज्यानमारा हुन सक्छु र ?
नेपालको पत्रकारितामा त्यो एउटा टेस्ट केश त थियो नी । त्यतीबेला दरबारलाई सबैभन्दा बढी टाउको दुखाइको विषय नै जनआस्था पत्रिका थियो । किनकी जनआस्थाले  दरबारले गरेको सानो बदमासी पनि तत्कालै उजागर गरिदिन्थ्यो ।
जनआस्थाको कन्टेन्ट केही बनिबनाउ हुन्छ, विश्वसनीय हुन्न, आरोपितको भनाइ राखीएको हुन्न, एकतर्फीजस्तो लाग्छ भनिन्छ नी ?
म आम मान्यता भन्दा फरक कुरामा विश्वास गर्छु । हाम्रो आचार संहीताले दुबै पक्षको भनाइ राख्नुपर्छ भन्छ । तर यवहारीकतामा त्यसले समस्या ल्याँउछ । कुनै व्यक्तिको सन्दर्भमा प्राप्त सुचनाका आधारमा पुष्टी गर्नलाई फोन ग¥यो भने कल डिटेल रिर्पोट लिएर फोन गरेर फाइदा माग्यो, नदिएपछि लेख्यो भन्छ । अझ त्यसअघि सकेसम्म सारा मान्छे लगाएर समाचार रोक्न घेराबन्दी गर्छ ।
हामीलाई बदनाम गर्ने त्यो उनीहरुको राम्रो हतियार बन्छ । मलाई विश्वास छ की मैले लेखेको कुरा सत्य हो, परेको कुरा म झेल्छु , कुटाइ खान परे पनि खान्छु, मुद्दा खेप्न परेपनि खेप्छु भन्ने आत्मविश्वास छ भने किन डराउने ?
आचारसंहिता त त्यस्तो अवस्थामा हुन्छ जो काल्पनिक न्युज र पूर्ण गलत समाचार लेख्नुभयो भने मात्र हो ।
होला १०–१५ प्रतिशत फ्रब्रकेशन हुनसक्छ । तर त्यसको मेरुदण्ड नै ठिक छ भने आचारसंहीता लगाएर कसी लगाएर हेर्नुपर्छ भन्ने कुरा म चाँही व्यत्तिगत रुपमा विश्वास नै गर्दिन । भर्खर भर्खरका शिकारु पत्रकारहरुले चाँही त्यो बाटोबाट जानु ठिक छ ।
तर मैले यो जीवनको ३० वर्षको पत्रकारिता आरोह अवरोहको क्रममा यस्तो धेरै बेहोरेको छु । धेरै पात्र र सन्दर्भ देखेको हुनाले यो दुइपक्षको भनाइ जुधाएर राख्ने हो भने न्युज नै कम्प्लीट हुँदैन ।
श्रीषाको केसमा पनि कोट लिएको भए पछि उसका तर्फबाट पनि भन्ने ठाँउ रहदैनथ्यो भन्ने लाग्दैन ?
त्यतीबेला भर्खर भर्खर कल डिटेल हेर्ने सिस्टम आइसकेको थियो । कान्तिपुरले श्रीषा कार्कीसंग जनआस्थाले आर्थिक, शारिरिक, मानसिक,भौतीक शोषण ग¥यो भनेर लेख्यो । त्यो सन्दर्भमा श्रीष कार्कीसंग हाम्रो एक वाक्य मात्र पनि कुरा भएको भए त्यो आरोप पुष्टी हुन्थ्यो नी झनै ।
गुणराज लुइटेल समाचार सम्पादक र युवराज घिमीरे प्रमुख सम्पादक थिए । अजय दाश र सोहन श्रेष्ठ भएर मसंग २२ मिनेटको अन्तरवार्ता लिएका थिए । सात दिन लगातार त्यो इस्युलाई उसले उछाल्यो । तर एक सेकेन्ड पनि ठाँउ दिएन ।
त्यो पत्रिकाबाट पिडित म पनि हुँ नी । जनआस्थाका पुरानो फाइल पल्टाउँदा तपाइले भेट्नुहुन्छ , तिनका विरुद्ध हामीले लेखेको । यो कैलाश सिरोहीया र विनोद ज्ञवाली के काम गर्थे, कहाँ कहाँ जान्थे, यिनका फर्नीचरको धन्दा कहिलेबाट सुरु भयो भन्ने सारा केस ३ अंक लगातार कृष्ण अविरलले जनआस्थामा लेखेका थिए । त्यो मुद्दा जिल्ला अदालत हुँदै पुनरावेदन अदालतमा अहिले पनि छ । त्यसैको प्रतिशोध मसंग लिन प्रयास गरेको भन्ने मलाई लाग्छ ।
पत्रकारिता समाजका लागि भनिन्छ, तर अधिकांश व्यत्तिको निजात्मक कथा र प्रेमिङ हुन्छ भन्ने आरोप छ नी ?
निजात्मक कुरा आउन सबैमा आँउछ । चर्चा यसमा आएपछि  मात्र हुन्छ ।
सम्पादकीय नीति नै त्यस्तो हो तपाँइको ?
त्यस्तो नीति नै भन्ने त होइन । जनआस्था टिम थरीथरीका फुलवारी हो । जिम्मा त मेरो नै हो । मैले जिम्मेवारीबाट भाग्न खोजेको होइन । तर म बाहिर गएको बेला त्यतीखेर विशेषगरी महिलाहरुको बारेमा अलि निर्ममतापूर्वक समाचार आँउछ । यो मैले एकदम महशुस गरेको छु ।
तर घमण्ड, गर्व वा दावीका रुपमा यसलाई लिनुहुन्न तर समाजका प्रतिष्ठीत भन्नेहरु नै बढी ढोंगी हुन्छन् । कसैले त्यस्तो धन्दा गरेका छन् भने जसले जे भनेपनि तिनका बारेमा लेख्नबाट म रोकिन्न । भेटेपछि म ठोकिहाल्छु । त्यसकारण म विवादास्पद पनि छु ।

दामन पोष्टबाट

Comments

comments