अलविदा समिर अमिन

Samir

 काठमाडाैँ । फ्रान्सका मार्क्सवादी व्याख्याता स्वर्गीय समाजशास्त्री समिर अमिनको सम्झनामा समिर अमिन सम्झना र सम्मान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल अध्ययन केन्द्रले राजधानीको बागबजारमा रहेको हाेटल हार्दिकमा अायाेजित कार्यक्रममा उनकाे स‌झना गरेका हुन् ।

मार्क्सवादी अध्ययन केन्द्रका अध्यक्ष ठाकुर गैरेको अध्यक्षतामा भएकाे कार्यक्रममा मार्क्सवादी बुद्धिजीवी तथा प्राध्यापक झलक सुवेदी, विद्या भट्टराई, हरि शर्मा र घनश्याम भुसालले समिर अमिनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले मार्क्सवादी अर्थशास्त्र र आजको दलाल पूँजीवादको व्याख्या र क्रान्तिको भविष्यका बारेमा खेलेकाे भूमिकाकाे बारेमा व्याख्या गरेका थिए ।समिर-अमिन

कार्यक्रममा बोल्दै मार्क्सवादी चिन्तक तथा नेता घनश्याम भुषालले समिर अमिनको निधनमा दुईतिहाइको कम्युनिस्ट सरकार चलिरहेको देशमा झलक सुवेदी बाहेक नेपाली मिडिया र अरुले स्थान नदिनु दुखद् रहेको बताए । उनले अगाडी भने “सात सालको क्रान्तिबारे पुष्पलालले धोका भन्नुभयो वी‍पीले के भएको हो हामीले थाहै पाएनौ भन्नुभयो त्यसैले त्यसको अन्त्य भयो हामीले आजको दलाल पुँजीवादलाई सखाप पारेर समाजवादमा पुग्न दलाल पूँजीवादको चरित्रलाई राम्रोसित व्याख्या र विश्लेषण गर्न जरुरी छ यदि गर्न सकिएन भने हामीलाई दलाल पुँजीवादले खाइ दिनेछ र हामी सखाप हुनेछौं ।” नेपालमा कम्युनिस्ट क्रान्तिले जित्छ या जित्दैन भन्नेकुराको अझै फैसला भएको छैन, यसको फैसला हुनको लागि हामीले दलाल पुँजीवादलाई राम्रोसित चिन्न जरुरी छ । समिर अमिन आजको युगका दलाल पूँजीवादको राम्रा व्याख्याता हुन् ।

समिर अमिन भन्छन् “बुर्जुवा वर्गले पूँजी उत्पादनको प्रक्रियामा न्यूनतम् स्वतन्त्रताका साथ आफ्नो भूमिका पूरा गर्न सक्दैन भने त्यो दलाल पुँजीवाद हो ।” माओपछि दलाल पूँजीवादको व्याख्या गर्नेमा समिर अमिन पहिलो स्थानमा छन् । अहिलेको हाम्रो दस्तावेजमा दलाल पूँजीवादको कुरा आएको छ तर त्यसको व्याख्या छैन र छलफल छैन । यदि क्रान्तीको एजेन्सी कम्युनिस्ट पार्टी बन्दैन भने त्यो कम्युनिस्ट पार्टी होइन । मुख्य कुरा वर्गको कुरा हो आज हामी नजानिकनै दलाल पूँजीवादी बनिरहेका छौं । त्यसको अन्त्य गर्ने एजेन्सी पार्टी हो समाज र राजनीतिको दलालीकरणबाट बचाउनको लागि हामीले समिर अमिनबाट सिक्नुपर्दछ । हामीले दलाल पूँजीवादको प्रकृतिको व्याख्या गरेर, त्यसको अन्त्य गरेर समाजवादमा गएनौं भने नेपालमा अर्को माओवादी विद्रोह अवश्यम्भावी छ ।

कार्यक्रममा मन्तव्य राख्दै मार्क्सवादी बुद्धिजीवी हरि शर्माले समिर अमिन कहिँ पनि बन्दुक बोकेर गएनन् तर क्रान्तिको लागि निरन्तर काम गरे समिर अमिन इजिप्टबाट फ्रान्स पढ्न जाँदा पनि राष्ट्रको घेरा त्यति थिएन इजिप्टमा पढाए । त्यहाँ प्रतिक्रान्ति भएपछि माली गएर त्यहाँको विकास आयोगमा काम गरे । समिर अमिरले आजको पूँजीवादको व्याख्या मात्र गरेनन् त्यसको संकटहरु भित्रबाट क्रान्ति सम्पन्न हुने आशावादिता पनि प्रकट गरे । नेपालको माक्र्सवाद संकटमा छ किन की सत्ताको दम्भले आजका हाम्रा नेताहरुको आँखा भएर पनि अन्धो र कान भएर पनि बाहिरो भएका छन् । यसलाई तोड्न जरुरी छ समिर अमिनको मुख्य शिक्षा यही हो ।

कार्यक्रममा स्तम्भकार झलक सुवेदीले पूँजीको शहर केन्द्रीकरण र गाउँ कंगाल हुने चरणमा हामी छौं । नीति र व्यवस्था खराब छ भन्ने अवस्था तिर हामी जाँदैछौं किनकि हामीले पूँजीवादको विश्वव्यापीकरण र स्थानीय तहको विकासको बारेमा अमिनको कोणबाट हेरेनाँै । समिर अमिन भौतिकवादी हुँदाहुँदै पनि क्रान्तिको विकासका बारेमा अलि बढी भावुकतामा फसेका छन् । नेपालमा माओवादी जनयुद्धबाट आएको र किसानहरू ठूलो हिस्साले नेतृत्व गरेकोले पूँजीवादी क्रान्तिको नेतृत्व गर्ला कि भन्ने ठूलो आशा समिर अमिनमा थियो तर माओवादीहरू सत्तासँग सम्झौता गरिरहेकोले त्यो आशा त्यसै हराएर गयो । यधपी वैधानिक रूपमा नै भएपनि नेपालले समाजवादी क्रान्ति गर्न सक्छ कि भन्ने थोरै आशा समिर अमिनमा थियो । हाम्रो नेतृत्व त्यो दिशामा गएन र अमिनबाट सिकेन भने आजको दलाल पूँजीवादको युगमा नेपालले समाजवादी क्रान्ति राजमार्ग पाउने छैन । उसले आफै बाटो खोल्नुपर्ने छ हामी समाजवादी क्रान्तिको बाटो पहिल्याउन नसकेर अलमलमा परेका छौं । त्यसकोलागि समिर अमिनले गरेको दलाल पूँजीवादको व्याख्या हाम्रो लागि मार्गदर्शक बन्न सक्छ ।

बुद्धिजीवी तथा प्राध्यापक विद्या भट्टराईले हाम्रो लागि विकास सबैभन्दा ठूलो कुरा हो, राजनीति होइन भन्न थालेका छौं । विकास सामाजिक प्रक्रिया हो । तेस्रो विश्वमा विकासले सकारात्मक भन्दा नकारात्मक असर पारेको छ । समिर अमिन विश्वलाई व्याख्या गर्दा ऐतिहासिक भौतिकवादको आधारमा गर्नुपर्छ भन्ने मान्यता राख्छन् । उनी तेस्रो विश्व अविकसित हो भन्ने मान्यताको विरोधी हुन् ।यदि हामी समाजवादी क्रान्तिमा जाने हो भने उनको मान्यताका आधारमा हाम्रो विकासलाई हेर्नुपर्छ । उनले भने “विश्व व्यवस्थाले स्थानीय तहलाई पुनर्गठन गर्छ भन्ने मान्यताको विरोधी उहाँ भन्नुहुन्छ विश्व व्यवस्था र स्थानीय तहबीच द्वन्दात्मक सम्बन्ध रहन्छ एकले अर्कोलाई प्रभाव पार्छ स्थानीय तहका घटनाको जब सम्म ऐतिहासिक भौतिकवादी तरिकाले व्याख्या गरिँदैन तबसम्म विश्व व्यवस्थालाई बुझ्न सक्दैन र क्रान्ति सम्पन्न हुन सक्दैन ।”

मार्क्सवादी अध्ययन र विमर्शको अभाव भइरहेको आजको हाम्रो समयमा यसरी मार्क्सवादी चिन्तकको बारेमा बहस हुनु आफैमा सुखद् पक्ष हो । यस्ता बहसले समाजवादी क्रान्ति को दिशा पहिल्याउन झकझक्याउने आशा गर्न सकिन्छ । अलविदा समिर अमिन प्रति ।

Comments

comments