अव कहिले फर्केला खुसी- भूकम्प पीडा

विश्वास नेपालीPhoto of Bishwash (1)
दूरीको हिसावले राजधानीबाट नजिक भएरपनि आजसम्म जति विकासको प्राथमिकतामा पर्नुपर्ने थियो त्योबाट ठगिएको क्षेत्र हो रसुवा । भौगोलिक हिसावले पनि ठगिएको छ । समथर र वेशी भाग भन्दा डाडाँकाडा, उच्च पहाड र हिमाली भेगले ओगटेको यो जिल्ला विकास निर्माणमा धेरै पछाडी पर्यो । यतिबेला महाभुकम्पको कारण क्षतविच्छेद भएर रोइरहेको छ रसुवा । सम्झदा पनि कहाली लाग्दो र त्यसैत्यसै डरलाग्दो भएको छ । यहाँको मुख्य धरोहरहरू ढलेका छन् । लाङटाङ जस्तो प्रकृतिको अनुपम उपहार यतिबेला खण्डहरूमा परिणत भएको छ । जताततै पहिरोले ध्वजाध्वजा भएको

छ । आफ्नो जिमी र घरबार विहीन हुनुपर्दा रोइरहेछन् रसुवाली जनता । सबै घरहरू जमिनमा मिल्न आइपुगेका छन् । थाहा छैन रसुवा र रसुवालीको खुसी अव पहिले जस्तै कहिले फर्कन्छ । कति वर्ष लाग्छ पुनसंरचना हुन् ! बैशाख १२ गते । शनिवार । ११ बजेर ५६ मिनेट । जाँदै थियो समय । नेपालमा गोरखा जिल्लाको बारपाकलाई केन्द्रविन्दु बनाएर ७.६ रेक्टर स्कुलको भुकम्प गयो । जमिन हल्लियो । धर्ती हल्लियो । धर्ति फाट्यो । धरोहरूहरू ढले । घरहरू ढले । कति भागेर बाचे । कति ढलेको घरभित्र रहेर बाचे । कतिपय कसैगरी नि बाँच्न सकेनन् । लग्यो भुइँचालले । जीवन अन्त भयो । कतिपय बाचेर पनि घाइते जीवन विताइरहेकाहरूको कहाली लाग्दो स्थिती छ ।

भुकम्प गयो । यो ९० सालपछिको ठूलो थियो । यसले गोरखालाई मात्र क्षति पु¥याएन यस वरपरका १७ भन्दा बढी जिल्लालाई प्रत्यक्ष क्षति पु¥यायो । ठूलो जनधनको क्षति भयो । जसको कुनै रूपियाँ या तौलमा मूल्याङ्कन गर्न सकिँदैन । न क्षतिपूर्ति तिर्दा नै यो पुनःपहिलेको स्थितमा आउन सक्छ ।

भुकम्प गोरखामा गयो तर यसले रसुवा जिल्लालाई पनि अछुतो राखेन । तहसनहस बनायो । यहाँका करिव १२ हजार घरधुरीमा ९८ प्रतिशतभन्दा बढी घरहरू पूर्णरूपमा क्षति भएका छन् । ६५० भन्दा बढीको मृत्यु भएको छ । २ सयभन्दा बढी मानिसहरू अझै वेपत्ता छन् । हजारौं मानिसको विच्चली बनायो । भुकम्प गएको यतिका दिन भइसक्यो लाङटाङलगायतका केही ठाउँमा गएको ठूला पहिरोले पुरिएर वेपत्ता भएका मानिसहरूको खोजी कार्य अझै जारी छ । विडम्बना । बेदना । मर्ने त मेरेर गए बाच्नेको पनि उत्तिकै बेहाल छ । कतिपय मानिसहरू आफ्नो थातथलोबाट विस्थापित भएका छन् । उनीहरूको सुरक्षित बसोबासको सवाल यतिखेर टड्कारो विषय बनेको छ ।

जिल्लाभर जमिन चिरिएको छ । पहिरोको भय जिल्लाको १८ वटै गाविसमा उत्तिकै छ । मुख्यगरी हाकु, डाडाँगाउँ, ठूलोगाउँ, लाङटाङ, टिमुरे, राम्चे, यार्सा, भोर्ले, सरमथलीलगायतको गाविसहरूमा २५० भन्दा बढी ठाउँमा पहिरो गइसकेको छ । वषा्त लाग्दै छ । अव झन बढी ठाउँमा पहिरो जाने खतरा बढ्दै गएको छ । त्यसो त अरु बेला पहिरो गएर हरेक आधा वर्ष दुःख दिने पहिरोहरू पनि अझै जीवित छन् । त्यसको अहिलेसम्म दीर्घकालिन समाधान हुन सकेको थिएन । थाहा छैन अझ कति विनास गराउने हुन् यी पहिरोले ।

विडम्बना । बेदना । मर्ने त मेरेर गए बाच्नेको पनि उत्तिकै बेहाल छ । कतिपय मानिसहरू आफ्नो थातथलोबाट विस्थापित भएका छन् । उनीहरूको सुरक्षित बसोबासको सवाल यतिखेर टड्कारो विषय बनेको छ ।

रसुवाको धरोहर लाङटाङ करिव चार सय घरधुरी भएको उच्च हिमाली क्षेत्रको बस्ती हो । यो क्षेत्र नेपालको पर्यटकीय हिसावले तेस्रो गन्तव्य मानिन्थ्यो । आज लाङटाङ खण्डहरूमा परिणत भएको छ । यहाँ भुकम्पको कारण हिमपहिरो गयो लाङटाङमा मात्र १ सय ७५ स्थानीय, १०० भन्दा विदेशी र भरियाहरू मृत्यु भएको छ भने अझै कयौं वेपत्ता छन् । लाङटाङ वर्षैभरी स्वदेशी तथा विदेशी पर्यटकहरूको ओइरो–दोहोर हुने मुख्य आर्कषणको केन्द्र थियो । जुन आर्थिक हिसावले पनि आम्दानीको महत्वपूर्ण स्रोत थियो । आज लाङटाङ रोइरहेको छ । अव लाङटाङका ती अनुपम लोभलाग्दा प्रकृती छँटाहरू कहिले फर्केला ? यतिबेला लाङटाङबासी राजधानीमा विस्थापित जीवन कष्ठपूर्ण तवरले विताइरहेका छन् । लाङटाङबासीको खुसी अव कहिले फर्केला ?

भर्खरै मात्र छिमेकी मुलुक चीनसँग व्यापारीक हिसावले अघि बढ्न खोज्दै गरेको रसुवागढी टुसाउनै नपाई कसैले भाचिदिएको विरुवाझै निमोठिएको छ । रसुवागढी केरुङ नाका खुलेर आर्थिक तथा व्यापारिक हिसावले छलाङ मार्ने ठूलो सपना थियो । यसले खाली रसुवालीको मात्रै नभई सिङ्गो मुलुककै विकासमा इट्टा थप्ने आशा गरिएको थियो । यो क्षेत्र हाम्रो पूर्खाहरूले लडेर जितेका थिए । जुन ऐतिहासिक हिसावले पनि महत्वपूर्ण स्थल मानिन्थ्यो । यतिबेला महत्वपूर्ण क्षेत्र रसुवागढी ध्वस्त भएको छ । हालसालै मात्र सञ्चालनमा आएको रसुवागढी भन्सार कार्यालय, त्यहाँको होटल तथा व्यापारीक कन्टेनरहरू पुरिएका छन् । त्यहाँ पुरिएको केही कन्टेनर र मृत्यु भएकाहरूको शव निकालीएको भएपनि अझै कम्तीमा ७ वटा कन्टेनर र १५ जनाभन्दा बढी मानिसहरू पुरिइरहेका छन् भनिएको छ ।

हाकु र डाडाँगाउँको मैलुम क्षेत्र पनि पहिरोको कारण क्षतविक्षत भएको छ । पहिरोको कारण हाकुबासी र डाडाँगाउँबासी विस्थापित भई बेत्रावति र नुवाकोटको त्रिुशली बजार नजिक खुल्ला ठाउँमा पालमुनी दिनरात काटिरहेका छन् । उनीहरूलाई यतिबेला सुरक्षित ठाउँमा पालमुनी नै बसोबास गरेको भएपनि आफ्नो थातथलोको मायाले पिरोली रहेको छ । तर फर्केर त्यहीँ ठाउँ जाने आँट भने कसैको छैन । मर्ने त मरेर गए बाचेकालाई जीवनको माया छ ।

यतिबेला रसुवाको संरचनाहरू ध्वस्त भएका छन् । राजधानी या बाहिर बसेर जति कल्पना गरिएको छ, त्यो भन्दा दोव्वर क्षति र विछिप्त भएको छ रसुवा यतिबेला । यहाँ निर्माण भइरहेका दर्जनौ जलविद्युत केन्द्रहरूमा प्रत्यक्ष असर पुगेका छ । विद्यालयका भवनहरू प्रायसः भत्किएका छन् । सरकारी कार्यालयहरू क्षति भएका छन् । विद्यालयमा पढाई सञ्चालन भइसकेको छ । सबै विद्यालयहरूले पालमुनी कक्षा सञ्चालन गरिरहेका छन् । वर्षात्ले छोपिसक्यो यो पनि कतिन्जेल टिक्ला चिन्ताको विषय बन्दै गएको छ ।

वर्षात् लागिसक्यो । तत्कालै पुनर्निर्माण गर्न सकिने स्थिती छैन । विस्थापित भई वेत्रावति, शान्तिबजार, कालिकास्थान, नुवाकोटको सिमुटार र काठमाडौंसम्म पुगेका रसुवाबासीलाई सुरक्षित बसोबास गराउनु अहिलको टड्कारो आवश्यकता हो । यतिबेला विस्थापित समुदायका बालबालिकाहरू विद्यालय बाहिर छन् । यसतर्फ पनि सम्बन्धित निकायले कहिले र कसरी ध्यान दिन्छ यो पनि अन्योल छ ।

पक्तिकार रसुवाको विभिन्न ठाउँमा भुकम्पपछि पुगेको थियो । उद्धार, राहत र पुनर्निर्माणको काममा स्थानीय राजनीतिक दल, जिल्लाका माननीय सभासद्हरू, सरकारी संयन्त्र र सुरक्षाकर्मीहरू अत्यन्त मेहनतका साथ खटिएको देखियो । जसले जहाँबाट जे सक्छु यतिबेला मानवीय भावले सहयोग गरेको देखियो । भुकम्प गएको धेरै दिनसम्म पनि सभासद् जनार्दन ढकाल र छोवाङतेन्जिन तामाङ आफैं खटेर घाइते तथा मृत्यको उद्धार गर्न ठूलो साहस देखाए । विकट बस्तीहरूमा हेलिकप्टर लगेर उद्धार कार्यमा जुटे ।

भुकम्पले ठाउँठाउँमा पहिरो जाँदा केही हप्तासम्म सदरमुकामसँग दक्षिणी क्षेत्रको सम्पर्क टुट्यो । राहत वितरण तथा उद्धार केन्द्र कालिकास्थान क्षेत्रलाई मुख्य बनाइयो । यस केन्द्रमा जिल्लाका राजनीतिक दलका नेताहरू भवानीप्रसाद न्यौपाने, जनकजीवन उपाध्याय, इन्द्र गोतामेलगायतका नेताहरू कष्ठसाथ अविचलितरूपमा खटे । महिनौंसम्म उद्धार राहत वितरणमा लागे । हेलिकप्टरकै व्यवस्था गरी विकट बस्तीहरूमा राहत पठाउने काममा सभासद्हरूले ठूलो मद्दत गरे । जसको योगदानलाई यतिबेला सम्झनै पर्ने हुन्छ । ताकी भोलीको पुनर्निर्माणमा पनि रसुवाली जनताले सबैबाट यत्तिकै सहयोग र साथ पाउन ।

यतिबेला रसुवाबासी पुनःबसोबासको पर्खाइमा छन् । सरकारले भनेझै एकीकृत बसोबासको लागि पर्याप्त जमिन कतै देखिन्न । अर्काेतर्फ अव बस्ती विकास गर्दा भूउपयोग नीतिको पनि पालाना गर्नुपर्ने छ । यो अर्काे चुनौतीको विषय हो । उसैत भीरालो क्षेत्र यहाँ एकीकृत बसोबासको लागि त्यसैपनि चुनौती हुन सक्छ । बस्ति विकाससँगै विद्यालय र अन्य संरचनाहरू पनि त्यहीअनुसार स्थापना गरिनुपर्ने टड्कारो आवश्यकता छ । हेर्नबाँकी छ अव हाम्रो दल सरकार र सरोकारवालाहरू जनताको भुकम्पले खोसेको खुसी फर्काउन कसरी लाग्नेछन् । र यसमा अरुलाई मात्र दोष देखाएर वा अरुले गरिदिन्छ की भनेर मात्र होइन हामी आफूले पनि के गर्न सक्छौं भनेर पनि आआफ्नो ठाउँबाट जुट्नुपर्ने आवश्यकता पनि उत्तिकै छ ।

नागरिक दैनिकमा छापिएको लेख

Comments

comments