आकर्षक पर्यटकीय स्थल लाङटाङ

Hem pp

हेमनाथ खतिवडा  
नेपालका धेरै ठाउँ भौगोलिक विकटताले पछि परे पनि पर्यटकीय सम्पदाका कारण विश्वमै चर्चित छन्। यहाँका धार्मिक तथा पर्यटकीय स्थल नेपालीको मात्र नभई विदेशी पर्यटकको समेत आकर्षणको केन्द्रमा छन्। रसुवामा गोसाइँकुण्ड, पार्वती, सरस्वती, भैरव, सूर्य, दूध, आमा, रक्त, रिभर, जागेश्वरलगायत विभिन्न महत्वका कुण्ड, तालतलैया र सिमसार छन् ।

लाङटाङलगायत उच्च हिमशृंखला र यहाँका कुण्ड अमेरिका, जर्मनी, बेलायतका लेखकले पनि यात्रा गरेर गाइड बुक, जर्नलमा आफ्ना अनुभव लेखेकाले यस्ता स्थानमा विदेशी तथा स्वदेशी पर्यटक आउने गर्छन्। लाङटाङ राष्ट्रिय निकुञ्जभित्र विभिन्न धार्मिक एवं पर्यटकीय स्थल छन्। हिमाली दृश्य तथा जैविक विविधता, विभिन्न किसिमका जडीबुटी, वन, वनस्पति, वन्यजन्तु र चराचुरुंगीलगायतले यस क्षेत्रको गरिमा अझै बढाएका छन्। पर्यटकीय आकर्षणको केन्द्रबिन्दु लाङटाङ यहाँको मुख्य सम्पदा हो। जिल्लाका विभिन्न सम्पदामध्ये लाङटाङ ज्यादै आकर्षक एवं महत्वपूर्ण मानिन्छ। सदाबहार हिमशृंखला लाङटाङ लिरुङ हिमाल समुद्री सतहबाट ७ हजार २ सय ४६ मिटर उचाइमा छ।

अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले २०१७ मा घुम्नुपर्ने ५० ठाउँको सूचीमा नेपालको लाङटाङ क्षेत्रलाई ४३औ नम्बरमा राखेको छ। रसुवाको लाङटाङलाई ‘टुट्न लागेको एउटा सहरको पुनरागमन’ भन्दै न्युयोर्क टाइम्सले पर्यटनलाई पुनर्जीवित गर्ने प्रयासमा पर्यटकका लागि १५ दिनको तामाङ हेरिटेज ट्रेलको अफर रहेकोसमेत उल्लेख गरेको छ। लाङटाङ राष्ट्रिय निकुञ्जसमेत घुम्नुपर्ने स्थानमा परेको छ। लाङटाङलाई उच्च हिमाली भूभाग, हरियो घाँसे मैदान, पुराना गाउँ मनोरम हिमालको अद्भूत चमत्कारीपनका रूपमा विश्वको ध्यानाकर्षण गराएको छ।

विश्व पर्यटन बजारमा लाङटाङ क्षेत्रले बेग्लै पहिचान बनाएको छ। नेपालको पदयात्रा मार्गमा यो तेस्रो पदयात्रा गन्तव्यका रूपमा चिनिएको छ।

रसुवा, नुवाकोट र सिन्धुपाल्चोक तीन जिल्लामा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्ज २०३२ सालमा स्थापना भयो। जुन १,७१० वर्ग किमि क्षेत्रमा फैलिएको छ भने ४१० वर्ग किलोमिटर मध्यवर्ती क्षेत्रमा समेटिएको छ। यस ४६ प्रजातिका स्तनधारी, ३ सय १५ प्रजातिका चरा, ११ प्रजातिका घस्रिने जनावर, ३० प्रजातिका माछा, १० प्रजातिका माकुरा र ५८ प्रजातिका पुतलीलगायत हजारभन्दा बढी प्रजातिका वनस्पति पाइने निकुञ्जको अभिलेखमा छ। विश्वमै दुर्लभ रेडपाण्डा, हिमचितुवा, बँदेल, हिमालयन कालो भालु, घोरल, लंगुर, आसामी बाँदर, सेता बाँदर, झारल, घोरल, कस्तुरी मृगलगायत वन्यजन्तु यस क्षेत्रमा छन्। यो क्षेत्र वन्यजन्तु र वातावरणबारे अध्ययन गर्ने विद्यार्थी र अनुसन्धानकर्ताका लागि पनि उत्तिकै महत्वपूर्ण मानिन्छ।

निकुञ्जभित्र संरक्षित गोसाइँकुण्ड २०६३ सालमा विश्व सम्पदा सूची तथा सिमसार क्षेत्रमा सूचीकृत भएको हो। तालतलैया हिमशृंखला, लाङटाङ, लिरुङ, आदि हिमशृंखला र यसबाट बगेका लाङटाङ, त्रिशूली तथा भोटेकोसीलगायत नदीनालाले यो क्षेत्रलाई स्वच्छ जल सम्पदा भण्डारका रूपमा चिनाएको मात्र छैन, दुई दर्जनभन्दा बढी जलविद्युत् आयोजनाको सम्भावना पनि दिएको छ। यो क्षेत्र निरमसी, चिराइतो, पाँचऔंले, पदमचालकुट्कीलगायत जडीबुटीसमेतको भण्डार हो। विशेषगरी तामाङ जातिको बाहुल्य भएकाले यो क्षेत्र उनीहरूकै सांस्कृतिक विविधताले पनि धनी छ। प्राकृतिक र जैविक विविधताको त कुरा गरिसाध्य छैन। काठमाडौंको बालाजुबाट नुवाकोटको विदुर हुँदै रसुवाको सदरमुकाम धुन्चे पुग्न सकिन्छ। लाङटाङका लागि स्याफ्रुबेंसीबाट पैदलयात्रा सुरु गर्नुपर्ने हुन्छ।

विश्व पर्यटन बजारमा लाङटाङ क्षेत्रले बेग्लै पहिचान बनाएको छ। नेपालको पदयात्रा मार्गमा यो तेस्रो पदयात्रा गन्तव्यका रूपमा चिनिएको छ। नेपालको पहिलो याक चिज उत्पादन केन्द्र, पहिलो हिमाली राष्ट्रिय निकुञ्ज, राजधानी काठमाडौंबाट नजिकको र सरल पर्यटकीय स्थल तथा चीन र नेपालसँगको ऐतिहासिक महत्व बोकेका कारण लाङटाङ क्यान्जिङ हिम उपत्यका उत्कृष्ट गन्तव्य हो।

प्रकृतिको संरक्षण र जीविकोपार्जन एकअर्कामा परिपूरकका रूपमा विकास भइरहेको कुरा यहाँबाट देख्न सकिन्छ। यहाँ आउने पर्यटकले तिर्ने शुल्कबाट राज्यले ठूलो हिस्सा राजस्व प्राप्त गर्छ, तर राजस्वको निश्चित रकम क्षेत्रकै संरक्षण र दिगो विकासमा खर्च हुन सकेको भने देखिँदैन। यहाँ आउने पर्यटकको व्यवस्थित सूचना प्रणाली हुन आवश्यक छ। धुन्चे र स्याफ्रुबाट माथि पुगेपछि ठाउँठाउँमा बाटो तथा विश्रामस्थल र सूचना केन्द्र खोल्न आवश्यक छ। यहाँको पर्यटन बजारलाई मर्यादित बनाउन आवश्यक पूर्वाधार, गुणस्तरीय सेवा, स्वच्छ प्रतिस्पर्धा हुन जरुरी छ। यति हुन सक्यो भने लाङटाङ क्षेत्रले लाङटाङ र रसुवाको मात्र होइन, सिंगै नेपालको अर्थतन्त्रमा दरिलो योगदान पु¥याउने निश्चित छ।

नागरिक दैनिकबाट

Comments

comments