आफ्नो तनाव आफ्नै ब्यवस्थापन

Lilanath Basyal

लिलानाथ बस्याल

कोरोना भाईरसको सम्भावित संक्रमण र त्यसबाट उत्पन्न हुने नकारात्मक परिणामको डरले अहिले नेपालका केही मानिसमा चिन्ता र डिप्रेसन जस्ता मनोसामाजिक रोगहरू देखा परेका छन् । त्यसमाथि २ महिना लामो लकडाउन र भौतिक सामाजिक दूरीले गर्दा झन् तनाव थपिएको छ । जीवनमा आउने समस्यासँग जुध्ने क्षमता नभएको अवस्थामा र चुनौतीहरू सामना गर्न नसक्ने समयमा मानिसलाई चिन्ता, तनाव र डिप्रेसन हुन्छ । आफ्नो जीवनशैली,  सोंच – विचार, दिनचर्या, समस्यासँग जुध्ने तरिका, आवेग, भावना, संवेगलाई आफ्नो नियन्त्रणमा राख्न सक्यो भने चिन्ता, तनाव, डिप्रेशनबाट मुक्ति मिल्छ । आउनुहोस ! डाक्टर बिनै आफैले आफ्नो तनाव कसरी हटाउन सकिन्छ भन्ने बारेमा चर्चा गरौँ ।

विश्वमा आज ७ करोड ८० लाख मानिसहरू द्वन्दको कारणले आफ्नो थातबास छोडेर बिस्थापित भै आफ्नै वा अर्काको देशमा शरण लिएर बसेका छन् । उनीहरुसँग केही छैन । न लगाउने लुगा, न खाने गास, न बस्ने बास, न औषधि मुलो, न केटाकेटीहरूको लागि शिक्षा, न सुरक्षा । २-४ वटा बाँस र १-२ वटा प्लास्टिकले बारेको छाप्रोमा बस्छन् । दाताले नापेर जोखेर गनेर दिएको मानासामल खान्छन /  दिए खान्छन, नदिए भोकै बस्छन् । लुगाको त के कुरा भयो र कट्टुदेखि प्याडसम्म दाताकै भर पर्नुपर्छ ।  शिबिर बाहिर हिड्न प्रतिबन्ध छ, काम गरेर २-४ पैसा कमाउने ठाउँ छैन ।  एक तथ्याङ्क अनुसार भॊकमरिले हरेक १० सेकेण्डमा एजना मानिस मर्छ । हरेक वर्ष ३१ लाख बालबालिकाहरू कुपोषणका कारणले मर्छन । ८२ करोड १० लाख गरिब मानिसहरू खानेकुरा नभएर हरेक दिन भोकै सुत्छन । तपाईं त भाग्यामानी हो नि । पेटभरी खान पाउनुभएको छ, भोकै सुत्न परेको छैन, बालबच्चाहरू भोकै छैनन् । बस्नलाई घर छ । तपाईं गाउँमा बस्नु हुन्छ भने भकारीमा अन्नपात छ होला, खेत बारीमा बालीनाली हुर्किदै छन् होला । तपाईं शहरमा हुनुहुन्छ भने पनि १-२ बोरा चामल १-२ सिलिण्डर ग्यास, अलि अलि नगद जोहो गरेर राख्नु भएको नै होला । गारोसारो परेको बेला छरछिमेकीले सघाउँछन । साथीहरू छन्, आफ्ना आफन्तहरू छन् । घामपानी छेक्ने छानो र पेट भर्ने मानो भएपछि फेरि लकडाउनको बारेमा यति धेरै चिन्ता किन ? भविष्य कसले देखेको छ र ? धेरै नसोच्नुस । भविष्यको बारेमा धेरै सोचेर तपाइंको आफ्नो बर्तमानलाई खराब नगर्नोस ।

तनावका धेरै कारणहरू मध्ये एउटा मूख्य कारण हो आफ्नो मनमा भएका डर, त्रास, शंका उपशंकाहरूलाई मनभित्रै गुम्साएर राख्नु । मनमा भएको उकुस मुकुस, भय, डर आफ्ना साथीहरू, परिवार, नातेदार तथा आफुले विस्वास गर्ने कुनै पनि मान्छेलाई बताउँनुहोस । तपाईको मनमा के कुरा खेलिरहेको छ, तपाईलाई भित्रभित्रै के ले खाईरहेको छ, तपाईले के सोच्नुहुन्छ  भन्ने कुरा तपाईले नभनिकन अरुलाई थाहा हुँदैन । तपाईको आफ्नो कुरा तपाईले विस्वास गर्ने मान्छेलाई भन्नुस, उ सँग रुनुस, चिच्याउनुस् , कराउनुस् । यसरी भित्रैभित्रै जेलिएर बसेको  मनको गाँठो फुकाउदा तपाईको मन हलुङ्गो हुन्छ, तपाईको शरीरमा नयाँ उर्जा आउछ,  नयाँ आशा, नयाँ जाँगर पलाएर आउँछ । तर, चहराईरहेको घाउमा नुन चुक छर्किनेको पनि केही कमी छैन हाम्रो समाजमा । त्यसैले आफ्नो मनको पोको को सँग खोल्ने भन्ने कुरामा सचेत रहनु होला । यस मामीलामा मलाई महिलाहरूको बानी असाध्यै राम्रो लाग्छ । घरमा होस वा पानी पँधेरीमा, दिनमा होस् वा रातको अँधेरीमा यसो मौका मिल्ने बत्तिक्कै रोई हाल्छन, हल्का भै हाल्छन् । पुरुषहरू यस मामलामा निकै कमजोर छन् । उनीहरू बोल्न सक्दैनन्, मनको कुरा खोल्न सक्दैनन्, बरु रिसाउँछन ।

भनिन्छ नी – चिताले त मरेको लास मात्र जलाउँछ तर चिन्ताले मान्छेलाई जिउँदै जलाउँछ ।  आफ्नो बुद्धि वर्कत, क्षमता र नियन्त्रण भन्दा बाहिरको कुराहरूमा पनि धेरै चिन्ता गर्ने बानी छ हाम्रो । हुन त कोरोनाको कारणले विश्वभरिमा बेरोजगारी समस्या बढ्दै जानु, देशमा आर्थिक मन्दी हुनु, देशको आर्थिक वृद्धिदर २ प्रतिशत भन्दा पनि कमी हुनु, कोरोनाका संक्रमित र कोरोनाबाट मृत्यू हुनेको संख्या बढ्दै जानु, अझैसम्म पनि कोरोना बिरुद्ध खोप पत्ता नलाग्नु, स्वास्थ्य सामग्रीहरूको अभाव हुनु, आवश्यक भएजति कोरोना परीक्षण गर्न नसक्नु जस्ता गम्भीर विषयहरू चिन्ता गर्ने कुरा  हुन् । तर चिन्ता मात्र गरेर के गर्नु हुन्छ ? यी कुरा तपाईको क्षमता र नियन्त्रण भन्दा बाहिरको कुरा हुन् । तपाईले केही गर्न सक्नु हुन्न। केही गर्न नसक्ने कुरामा किन ब्यर्थ चिन्ता गरेर बस्ने ? पीर मात्र गरेर केही हुन्छ र ? देश छ, सरकार छ, अनुसन्धान केन्द्रहरू छन्, वैज्ञानिकहरू छन्, स्वास्थ्य सामग्रीहरु उत्पादन गर्ने कारखानाहरू छन्, ढुवानी ब्याबसायी हरु छन् । उनीहरुले काम गरिरहेका होलान नी । आजै देखि यस्ता कुरामा चिन्ता गरेर आफ्नो मनोसामाजिक स्वास्थ्य बिगार्ने काम बन्द गर्नुहोस । एक पटक बसेर ठण्डा भएर सोच्नुस त – तपाईको दिमागमा कति छन् यस्ता चिन्ताका कारक तत्वहरु जसको समाधान तपाईसँग छैन । यी सब कुरालाई आजैदेखि दिमागबाट निकालेर स्वस्थ भएर बस्नुहोस् ।

जीवनमा कहिल्यै पनि आशा नमार्नुहोस । आशा जीउने आधार हो । बिदेशमा काम गर्न बसेको आफ्नो श्रीमान ४ महिना पछि घर आउँदै छ भन्ने कुरा सुन्दा आजैदेखि मन फुरुङ्ग हुन्छ कि हुँदैन ? किन यति धेरै खुशी लाग्छ विचार गर्नु भा छ ? आशा पलाएर, भरोशा जागेर । हो, कुनै कुराको प्रतीक्षा गर्दा मनमा जुन खुसि, उमङ्ग, उर्जा पैदा हुन्छ, त्यस शक्तिले तनावबाट मुक्ति दिलाई मन मस्तिस्कलाई शान्त राख्न मद्दत गर्दछ । यो यथार्थलाई म कृषि पेशासँग जोड्दछु । कृषि कर्मले मानसिक तनावबाट मुक्त गर्न निकै सहयोग गर्दछ । आज तपाईले मकै रोप्नु भयो भने ३ महिना पछि आफ्नै बारीको हरियो मकै भाँचेर खान पाइन्छ भन्ने आशा पलाउँछ, तरकारीको बीउ रोप्नु भयो भने २ महिनामा टिपेर खान पाइन्छ भन्ने आशा जाग्छ, जसले प्रतीक्षा गरेर जीवन जीउन मद्दत गर्छ । त्यसमाथी आफुले रोपेको बीउ उम्रेको क्षण, विरुवामा पहिलो फूल देखिदाको क्षण, पहिलो फल देखिदाको खुशी पनि अतुलनिय नै हुन्छ – आफ्नो बच्चाले पहिलो पटक खुट्टा टेकेको दिन जस्तै, पहिलो पटक आमा बा भनेको दिन जस्तै, पहिलो पटक ड्रेस लाएर स्कूल गएको दिन जस्तै । छोरा, बुहारी, छोरी, नाती, नातिनाले छोडेपछि एक्लै गाउँमा खेतीपाती गरेर बस्ने बुढाबुढि कहिल्यै डिप्रेशनमा जाँदैनन किनकी उनीहरु खेती गर्छन, आशामा बस्छन, माथी भने जस्तै स – साना कुरामा धेरै पटक खुशी हुन्छन । त्यसकारण, जमिन हुनेले जमिनमा, जग्गा नहुनेले गमलामा, कोकको बोतलमा, क्यारेटमा जे उपलब्ध छ त्यसैमा केही न केही रोप्नुस, कोठामा मनी प्लाण्ट रोप्नुहोस । अनि हेर्नुहोस ती बिरुवाले तपाइलाई यती ब्यस्त बनाउछन कि तपाईलाई चिन्ता गरेर बस्ने समय नै हुदैन । मेरो विस्वास गर्नुस आफुले फलाएको तरकारीले पेट नभरे पनि मन पक्का भर्छ ।

मोबाइल, टीभी, कम्प्युटरमा आफ्नो मन मस्तिस्कलाई सकारात्मक उर्जा दिने सामग्रीहरू मात्र हेर्नुहोस । मान्छे मरेको, जलाएको, लाश गाडेको, रोएको, छट्पटाएको, खान नपाएको, घर जान सवारी साधन नपाएर पैदलै हिंडेको हेरेर तपाईलाई के शान्ति मिल्छ र, के उर्जा मिल्छ र, के सकारात्मक सोंच आउँछ र ? शरीरलाई उर्जा दिने सामग्रीहरू नेपाली र भारतीय टीभी च्यानलहरूमा बिरलै भेटिन्छ । बरु आफुलाई मन पर्ने गीत सुन्नुहोस, शारीरिक ब्यायाम गर्नुहोस, नाच्नुहोस, योगा गर्नुहोस, ध्यान गर्नुहोस, पूजा गर्नुहोस, फोनमा वा अनलाइनमा गफ गर्नुहोस, सुत्नुहोस, परिवारसँग खेल्नुहोस, उनीहरूसँग समय बिताउनुहोस, किताब पढ्नुहोस, लेख्नुहोस, आफुलाई जे गर्दा आनन्द आउँछ त्यहि गर्नुहोस ।

एक पटक आफ्नो बितेका दिनहरूको समीक्षा गर्नुहोस । विगतका नराम्रा कुराहरु विर्सनुहोस । राम्रा, रमाइला, सुखद क्षणहरू मात्र सम्झनुहोस् । जस्तै : तपाई स्कूल गएको पहिलो दिन, तपाईले पहिलो पटक पुरस्कार पाएको दिन, तपाई एसएलसी पास भएको दिन, तपाईलाई पहिलो पटक कुनै केटा वा केटी मन परेको दिन, तपाईंको बिहे भएको दिन, तपाईको पहिलो बच्चा भएको दिन, तपाईको बच्चा ड्रेस लाएर पहिलो पटक स्कूल गएको दिन, तपाईंले पहिलो पटक जागिर खाएको दिन, तपाईं स परिवार घुम्न गएको दिन आदी इत्यादी । यस्ता कुराहरुको पुनराबलोकन गर्दा मन खुशी हुन्छ, सकारात्मक उर्जा प्राप्त हुन्छ, तनाव हटेर जान्छ । भविष्यको बारेमा पनि नराम्रा कुराहरु सोच्नु भन्दा यस्तै मनलाई आनन्द दिने कुराहरु मात्र कल्पना गर्नुहोस । जस्तै : तपाईंका बच्चाहरुले उनीहरुको पहिलो कमाई तपाईको हातमा राखिदिएको दिन, डोलीमा अन्माएको दिन, जन्ती बाख्रो खाएको दिन, कोरोना हराएको दिन, तपाई फेरि निस्फिक्री भएर बजार घुमेको दिन,  यस्तै  यस्तै । भोलि के हुन्छ कसैलाई थाहा छैन । नकारात्मक कुराहरु सोचेर, चिन्ता गरेर किन व्यर्थैमा मानसिक रोग निम्त्याउनु हुन्छ ?

तपाई लकडाउनमा हुनुहुन्छ,  घरमा बस्नु भएको छ,  यात्रामा निस्कनु भएको छैन भने कोरोना संक्रमण हुने कुरै आउँदैन।  भाइरस शरीरमा पस्दैमा संक्रमण हुन पनि सक्छ,  नहुँन पनि सक्छ। अरूलाई सर्न पनि सक्छ, नसर्न पनि सक्छ। सरे पनि लक्षण नदेखिन पनि सक्छ, केही नहुँन पनि सक्छ। संक्रमण भै हाल्यो भन्दैमा बिरामी परिने पनि होइन।  कोरोना संक्रमण भै हाल्यो भने पनि लक्षण नदेखाईकन हराएर जान सक्छ। बिरामी नै भयो भने पनि सामान्य रुघा खोकी लाग्ने हो। स्वास्थ्य मन्त्रालयको हरेक दिनको बिज्ञप्तिमा ‘संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ’ भन्ने कुरा हरेक दिन सुन्नु भएकै छ।  संक्रमणको लक्षण कडा खालको भयो भने पनि उपचार, औषधिमुलो केही पत्ता लागेको छैन आजसम्म । मृत्यु शाश्वत सत्य हो, जन्मेपछि मर्नै पर्छ, यहि यथार्थ हो । यो कुरा तपाईलाई पनि थाहा छ र मलाई पनि । कुन बेला, कहाँ, कसरी भन्ने  मात्र थाहा छैन ।  नेपालमा हरेक दिन सडक दुर्घटनामा ७ जना  मान्छे मर्छन । २०७२ सालको भूकम्पले ९ हजार  बढीको ज्यान लियो ।  १० वर्षे युद्धमा तत्किलन नेकपा माओबादी, सुरक्षाकर्मीले धेरै मानिसके हत्या गरे ।  बर्सेनी बाढी र पहिरोले हजारौंको ज्यान लिन्छ । सर्ने, नसर्ने रोगले पनि हरेक साल हजारौं जनाके ज्यान लिन्छ ।  यदी मर्नै लेखेको भए त कोरोना नै चाहिदैन नि हैन र ? यदी मर्नै दिन आएको छैन भने कोरोना लागि हाल्यो भने पनि कि लक्षण नै देखिन्न कि सामान्य लक्षण देखिएर निको हुन्छ । यस्तो हो भन्ने जाँदा जान्दै चिन्ता गर्नुको के अर्थ हुन्छ र ?  व्यर्थै  चिन्ता गर्नु हुन्छ तपाईं ।

अहिले ज्यालादारी कामदारहरु, मजदुरहरु, बैदेशिक रोजगारीमा गएकाहरु, आन्तरिक विस्थापितहरू, शरणार्थीहरु तपाईं भन्दा बढी समस्यामा परेका छन् । सक्नुहुन्छ भने उनीहरुलाई सहयोग गर्नुहोस, सक्नु हुन्न भने असहयोग नगर्नुहोस । आफ्नो हात माथी पार्नु जस्तो धर्म, अरुको मुहारमा हाँसो खुशी ल्याउनु जस्तो कर्म यो संसारमा अरु केही छैन । हात तल पारेर लिनुमा भन्दा हात माथी पारेर दिनुमा धेरै आनन्द छ । मनै चंगा हुन्छ । सहयोग गरौँ, स्वस्थ रहौं, ब्यस्त रहौं, हासौं, हसाउँ, सुरक्षित रहौं, सुरक्षित राखौं । भगवानमा बिश्वास गर्नुस, भाग्यमा बिश्वास गर्नुस, आफुले आफैलाई बिश्वास गर्नुस , धर्ममा बिश्वास गर्नुस, कर्ममा बिश्वास गर्नुस – बिस्तारै सबै कुरा ठिक हुन्छ ।

खानीगाउँ, पाल्पाका लेखक सामजिक अभियन्ता हुन् ।

Comments

comments