उठ्यो लाङटाङ

Hem pp

 हेमनाथ खतिवडा

नेपालका धेरै ठाउँ भौगोलिक विकटाताले पछि परे पनि पर्यटकीय सम्पदाले गर्दा विश्वमै ज्यादै चर्चित छन् । विश्व मानचित्रमा समेत चर्चित यस्ता सम्पदाहरू छन् । धार्मिक तथा पर्यटकीय स्थलहरू नेपालीहरूको मात्र नभई विदेशी पर्यटकको आकर्षणकाे केन्द्रमा रहेको छ । रसुवामा गोसाँइकुण्ड, पार्वती, सरस्वती, भैरव, सूर्य, दुध, आमा, रक्त, रिभर, जागेश्वर कुण्डलगायत विभिन्न महत्वका कुण्ड, तालतलैया सिमसार छन् ।

लाङटाङलगायत उच्च हिमश्रखला र यहाँका कुण्डका बारेमा अमेरिका, जर्मनी, बेलायतका लेखकहरूले पनि यात्रा गरेर गाईड बुक, जर्नलहरूमा यस्ता क्षेत्रबारे लेखेकोले यस्ता स्थानहरूमा विदेशी तथा स्वदेशी पर्यटक आउने गर्दछन् । लाङटाङ राष्ट्रिय निकुञ्जभित्र विभिन्न धार्मिक एवंम् पर्यटकीय स्थलहरू प्रमुख आर्कषण र महत्व बढेको छ । हिमाली दृष्य तथा जैविक विविधता, विभिन्न किसिमका जडिबुटी, वन, वनस्पत्ती, वन्यजन्तु र चराचुरूङ्गीलगायतले यस क्षेत्रको गरिमा अझै बढाएको छ । पर्यटक आर्कषणको केन्द्र विन्दु लाङटाङ यहाँको मुख्य सम्पदा हो । जिल्लामा रहेका विभिन्न सम्पदाहरू मध्ये लाङटाङ ज्यादै आकर्षक  एवंम् महत्वपूर्ण मानिन्छ । सदावहार हिमश्रृङखला लाङटाङ लिरूङ हिमाल समुन्द्री सतहबाट ७ हजार २ सय ४६ मीटरको उचाईमा रहेको छ ।

अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले २०१७ मा घुम्नुपर्ने ५० ठाउँहरूको सूची समावेश गर्दै नेपालको लाङटाङ क्षेत्रलाई ४३औँ नम्बरमा सूचीकृत गरेको छ । रसुवाको लाङटाङलाई ‘टुट्न लागेको एउटा सहरको पुनरागमन’ भन्दै न्युयोर्क टाइम्सले पर्यटनलाई पुनर्जीवित गर्ने प्रयासमा पर्यटकहरूका लागि १५ दिनको तामाङ हेरिटेज ट्रेलको अफर रहेको समेत उल्लेख छ । लाङटाङ राष्ट्रिय निकुञ्ज समेत घुम्नुपर्ने स्थानमा परेको छ । लाङटाङलाई उच्च हिमाली भू-भाग, हरियो घाँसेमैदान, पुराना गाउँ मनोरम हिमालको अद्भूत चमत्कारीपनको रूपमा विश्वको ध्यानाकर्षण गराएको छ । न्युयोर्क टाइम्सको सूचीको पहिलो नम्बरमा क्यानडा रहेको छ भने दोस्रो नम्बरमा चिलीको अटाकाको मरुभूमि र तेस्रो नम्बरमा भारतको आग्रालाई उल्लेख गरेको छ ।

रसुवा, नुवाकोट र शिन्धुपाल्चोक तीन जिल्लामा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्ज विसं २०३२ सालमा स्थापना भयो । एक हजार ७१० वर्गकिमी क्षेत्रमा फैलिएको छ भने चार सय १० वर्ग किलोमिटर मध्यवर्ती क्षेत्रमा समेटिएको छ । यस ४६ प्रजातिका स्तनधारी, ३ सय १५ प्रजातिका चरा, ११ प्रजातिका घस्रिने जनावर, ३० प्रजातिका माछा, १० प्रजातिका माकुरा र ५८ प्रजातिका पुतलीलगायत १ हजार बढी प्रजातिका वनस्पत्तीहरू पाइने निकुञ्जको अभिलेखमा छ । विश्वमै दुर्लभ रेडपाण्डा, हिमचितुवा, बँदेल, हिमालयन कालो भालु, घोरल, लङगुर, आसामी बाँदर, सेता बाँदर, झारल, घोरल, कस्तुरी मृगलगायतका वन्यजन्तुहरू महत्वका वस्तुहरू हुन् । यो क्षेत्र वन्यजन्तु र वातावरणसँग सम्बन्धित अध्ययन गर्ने विद्यार्थी र अनुसन्धानकर्ताहरूको लागि पनि महत्वपूर्ण स्थल मानिन्छ ।

निकुञ्ज भित्र संरक्षित गोसाँईकुण्ड २०६३ सालमा विश्व सम्पदा सूचि तथा सिमसार क्षेत्रमा सूचिकृत भएको हो । तालतलैया हिमशृङ्खला, लाङटाङ, लिरुङ,आदि हिमशृङ्खला र यसबाट बगेका लाङटाङ, त्रिशूली तथा भोटेकोशीलगायतका नदीनालाहरूले यो क्षेत्रलाई स्वच्छ जलसम्पदाका भण्डारका रुपमा चिनाएको मात्र छैन दुई दर्जन बढि जलविद्युत आयोजनाको सम्भावना दिएको छ । यो क्षेत्र निरमसी, चिराईतो, पाँचऔले, पदमचाल कुटकीलगायत जडिबुटी समेतको भण्डार हो । यहाँ विशेष गरी तामाङ जातिको बाहुल्यता साँस्कृतिक विविधताले गर्दा साँस्कृतिक रूपमा समेत धनी छ । प्रकृतिक र जैविक विविधताले भरपुर छ । काठमाडौँको बालाजुबाट नुवाकोटको बिदुरहुँदै रसुवाको सदरमुकाम धुन्चे पुग्न सकिन्छ । आकर्षक क्षेत्र लाङटाङका लागि स्याफ्रुबेशीबाट पैदलयात्रा सुरु गर्नुपर्ने हुन्छ ।

विश्व पर्यटन बजारमा लाङटाङ क्षेत्रले बेग्लै पहिचान बनाएको छ । नेपालको पदयात्रामार्गमा तेस्रो पदयात्रा गन्तब्यको रूपमा छ । विश्वको दशौं सुन्दर बस्ती जुन विश्वमानै ग्ल्यासियरबाट सबैभन्दा नजिकको बस्ती हो । नेपालको पहिलो याक चिज उत्पादन केन्द्र, पहिलो हिमाली राष्ट्रिय निकुञ्ज, राजधानी काठमाडौंबाट नजिकको र सरल पर्यटकीय स्थल तथा चीन र नेपालसँगको ऐतिहाँसिक महत्व बोकेका कारण लाङटाङ क्यान्जिङ हिम उपत्यका उत्कृष्ठ गन्तव्य हो ।

प्रकृतिको संरक्षण र जिविकोपार्जन एक अर्कामा परिपूरकको रूपमा विकासहुँदै आईरहेको यहाँबाट देख्न सकिन्छ । यहाँ आउने पर्यटकहरूले तिर्ने शुल्कबाट राज्यले ठूलो हिस्सा राजश्व प्राप्त गर्दछ तर राजश्व रकमको निश्चित रकम क्षेत्रकै संरक्षण र दिगो विकासमा खर्च हुन सकेको देखिदैन । यहाँ आउने पर्यटकको व्यवस्थित सूचना प्रणाली हुन आवश्यक छ । धुन्चे र स्याफ्रुबाट माथि पुगेपछि ठाउँठाउँमा बाटो तथा विश्राम स्थल र सूचना केन्द्र खोल्न आवश्यक छ । यहाँको पर्यटन बजारलाई मर्यादित बनाउन आवश्यक पूर्वाधारहरू, गुणस्तरीय सेवा, स्वच्छ प्रतिस्पर्धा हुन जरुरी छ ।

लाङटाङ नेपालको उत्तरी छिमेकी देश चीनसँग सिमान जोडिएको छ । लाङटाङको क्यान्जिङ उपत्यका अति रमणीय स्थान मानिन्छ । लाङटाङमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरू तथा पाउनाहरू मुख्यतया क्यान्जिन उपत्याकामा नै बस्ने र हिमालका मजा लिने गर्छन् । लाङटाङ जानको लागि राजधानीलगायत देश विदेशबाट स्याफ्रुसम्मको सवारी साधनको यात्रापछि पैदलयात्रा गरेर २ देखि ३ दिन रमणीय पदयत्रा वा अन्यथा सिधै हेलिकोप्टरबाट लाङटाङ पुग्न सकिन्छ ।

लाङटाङ व्यवस्थित तरिकाले पदयात्रा गरी मनोरन्जन लिन ७ देखि १० दिनको यात्रालाई उपर्युक्त मानिएको विभिन्न टे«किङ्ग एजेन्सीहरूको वेवसाइटमा देख्न सकिन्छ । क्यानिजङमा पहिलेदेखि होटल व्यवसाय गर्दै आएका अहिले चिज केन्द्रका प्रमुख ग्याल्बु लामाका अनुभवमा विदेशीहरू एकदेखि १ महिनासम्म रमेर बस्छन् । पहिले जस्तै सवै संरचना बनेपछि ढुक्क भएर स्वदेशी तथा विदेशी आउन थालेका छन् ।

लाङटाङ तिव्तीयन नामको रूप हो । तिव्वतीयन भाषामा “लाङ्ग” भनेको याक र “टेङ्ग” भनेको पछ्याउनु भन्ने रहेको छ । यसकारण पहिले पहिले त्यस क्षेत्रमा रहेका लामाहरूले याकलाई पछ्याउदै जादा त्यहाँ राम्रो उपत्यका भेटिएपछि त्यही नामबाट लाङटाङ नाम रहेको हो । यस कारण लाङटाङको विषयमा के विश्वास गरिन्छ भने कुनै समयमा लामाहरूले भेट्टाएर यसको नामाकरकण गरी प्रचारप्रसार गरिएको पाइन्छ ।

लाङटाङका क्षेत्रहरूमा विशेषगरि वसन्त ऋतुमा फुल्ने राता, सेता, निला बिभिन्न १४ प्रजातिका लालीगुराँससँगै अन्य जङ्गली विभिन्न प्रकारका रङ्गीविरङ्गी फुलहरूका कारण पनि सुन्दर छ । १ सय ५० भन्दा बढि चराप्रजातीहरू, तिव्वेतीयन पहिरन, भाषा, संस्कृती, नृत्य तथा संस्कृतीहरू यहाँको मूख्य आर्कषण हो । याक र भेडापालन यहाँको अर्को जिवीकाको आधार हो । यहाँ याक चिज कारखाना पनि छ । लाङसिसाबाट उत्पन्न भएको लाङटाङ खोलाको तिरैतिर माथि चढ्ने लाङटाङ पदमार्गमा बाटामा देखिने विभिन्न बोटबिरुवा तथा प्रकृतिको मनमोहक दृष्यले यात्रमा मन लोभ्याउँछ ।

०७२ बैशाख १२ को विनाशकारी भूकम्पमा सवै बस्ती उजाडिएको थियो । यहाँ स्वदेशी तथा विदेशी गरी ५ सयजनाले ज्यन गुमाए । कति अझ बेपत्ता छन् । केही समय सवै बिस्थापित भएर काठमाण्डौ पुगे तर त्यहाँ न जिवीकाको केही आधार नै थियो न लाङटाङको जस्तो शितल वातावरण थियो । फकेर पुनः कम्मर कसेर पर्यटन व्यवसायमा लागे । भूकम्प अघिको भन्दा निकै राम्रो अवस्थामा विकास भयो । लाङटाङमार्गको लामा होटलबाट उकालो पछि चिसो हावा सुरम्य वातावरण, पहारिलो घाम र रमणीय दृष्यले यात्री मोहित हुन्छन् । यात्राका क्रममा आँखै अगाडी मञ्चमा सजिएको जस्तो देखिने सेतो लाङटाङ लिरूङ हिमाल र धेरै पर देखिने लाङटाङ उपत्यकाको दृष्य झनै मनमोहक छ ।

भूकम्पले पूराना तथा ऐतिहाँसिक गुम्बा, माने, क्षुर्तेन र विषम सांस्कृतिक सम्पदाले खचाखच भरिएको लाङटाङगाउँमा ठूलो क्षति भयो । स्वर्गजस्तो देखिने कन्दरामा रहेको मनोरम बस्तीमा स्थानीयवासी गरी २ सय जनाको ज्यान गयो । हिमश्रृङ्खलाबाट आएको हिमपहिरोका कारण त्यहाँका मानव निर्मित संरचना मात्र हैन प्राकृतिक संरचना पनि ध्वस्त भएको थियो । स्थानीय, आन्तरिक तथा बाह्य पर्यटकका लाशहरू अझसम्म पनि भेटिएका छैनन् । अहिले भूकम्पले काँपेको मन सम्हालियो । अहिले लाङटाङ पुरानै लयमा फर्केकाे छ ।  पहिलेका भन्द सुन्दर पर्यटकका लागि सुविधायुक्त होटल खुले । होटलहरू केही निकुञ्जको अनुमति लिएर चलेका छन् भने केही व्यक्तिगत होटलहरू खुलेका छन् । भूकम्पले धरासायी भएको पर्यटन व्यवसाय फेरी जुरुक्कै उठेको छ । पर्यटकीय विकासका लागि स्थानीय तह सरकोकारवालाहरू लामवद्ध भएका छन् । क्लाइम्बिङ अध्ययनका लागि लाङटाङमा माउन्टेनियरिङ तथा क्लाइम्बिङ कलेज बनाउने सपना ढिलै भएपनि पूरा गर्ने गाउँलेको अठोट छ । गोसाईकुण्ड गाउँपालिकाले पनि नेपाल भ्रमणवर्ष २०२० लाइ पाँच गाउँपालिका भरी उत्सवको रुपमा मनाए । 

स्याफ्रुवेसीबाट लामाहोटल, घोडातबेलाहुँदै लाङटाङ पुगिन्छ । क्याञ्जिन उपत्यका विश्वको सातौं सुन्दर तथा ग्ल्यासियरको नजिकको बस्ती पनि हो । भूकम्पपछि अन्यत्र बस्ती व्यवस्थापन गर्न खोजेपनि त्यहाँको वातावरणमा हुर्किएका मानिसहरू अन्यत्र बस्न कठिन हुने भएकोले काठमाडौंमा रहेको पहेंलोगुम्बामा केही समय पर्यटन व्यवसाय उठाउन मन बलियो बनाए । अनि भूकम्पको पिडा बिर्सेर क्याञ्जिन फर्के अहिले लाङटाङमा पनि पहिलेको जस्तै घरहरू बने होटल सञ्चालन भएको छ । जिवीकाको स्रोत भनेकै पर्यटन व्यवसाय हो । विस २०३५ सालमा नेपालको पहिलो हिमाली राष्ट्रिय निकुञ्जका रूपमा स्थापित लाङटाङमा त्यसअघि नै पर्यटकको आवागमन हुने गरेको थियो ।

सन् २०१२ सम्म २ लाख ४३ हजार जना विदेशी पर्यटक रसुवाका बिभिन्न स्थानमा घुम्न आएको तथ्यांक निकुञ्जमा रहेको छ । आर्थिक वर्ष ०६८/०६९ मा १४ हजार ३ सय १४ जना, ०७० /०७१ मा १७ हजार ,०७१/०७२ मा १६ हजार ५ सय ९३ जना विदेशी पर्यटक आएको देखिन्छ । आव ०७२/०७३ मा ४ हजार ९ सय २६ जना, आव ०७३/०७४ मा ८ हजार २ सय ५४ जना विदेशी पर्यटक आए । आव ०७५/०७६मा १७ हजार ६ सय ९१ जना पर्यटक भित्रिए जसबाट ५ करोड ७२ लाख रुपियाँ राजश्व संकलन भयो । संकलीत राजश्वको आधा निकुञ्जले संरक्षणमा खर्चनपाउँछ ।

निकुञ्जको तथ्याङ्क हेर्दा विसं २०३५ सालपछि यहाँ पर्यटकहरूको आवागमनका कारण अबौं रूपैंयाँ आम्दानी भएको देखिन्छ । राज्यले यस्ता आम्दानी ल्याउने क्षेत्रहरूको संरक्षण तथा विकासका लागि प्रर्याप्त लगानीका लागि हिच्किचाउनु हुँदैन । भूकम्पले ध्वस्त भएको ६ सय वर्ष पुरानो क्यान्जिङ गुम्बा र लाङटाङ क्षेत्र स्थानीयले हिम्मत गरेर उठाएका छन् । गुणस्तरिय होटल, लज, निजी आवासमात्र होईन अब आर्थिक, सामाजिक, साँस्कृति सम्पदा, पैदलमार्गको गुणस्तरिय ढंगले पुनर्निर्माण हुनुपर्छ । त्यसैले आन्तरिक आयस्रोतको रूपमा रहेको व्यावसाय अझ उठ्दै जानुपर्छ ।
लेखक नेपाल पत्रकार महासंघ रसुवाका अध्यक्ष हुन् ।

Comments

comments