उत्तरगयामा साहित्यिक मेला सम्पन्न

Betrawoti (3)

पुस ३, २०७३( एकातिर त्रिशूलीको छङछङ, अर्कोतिर बेत्रावतीको कलकल । रसुवा र नुवाकोट जोड्ने पुल छेबैमा फैलिएको धार्मिक क्षेत्र उत्तरगया शुक्रबारदेखि कलामय बनेको छ । कविता, गजल र गीतको प्रस्तुतिसाथै स–साना नाट्य प्रहसनले चिसो माहोललाई पनि तताइरहेको छ । राजधानीबाट आइपुगेको साहित्यिक टोलीसँगै स्थानीय स्रष्टाहरूको सहकार्य लोभलाग्दो बन्दै छ ।Betrawoti (4)

गोसाइँकुण्ड युवा क्लबको निम्तोमा राजधानीबाट घोस्ट राइटिङ नेपाल रसुवा र नुवाकोटको यो संगमस्थलमा सिर्जनात्मक लेखन शिविर लिएर आइपुगेको हो । तीनदिने यो साहित्यिक यात्राको पहिलो दिन कवि विप्लप ढकाल, लक्ष्मण गाम्नागे, डा बालचन्द्र मिश्र, डा तारानिधि भट्टराई, प्रभा भट्टराई, शिवराज योगी, जंग पहाडी, तुलसीहरि कोइराला लगायतले रचना सुनाए भने जयन्ता पोखरेलले प्रहसन र रेणुका खरेल, अस्मिता पुडासैनी, सुरञ्जन कोइराला र अर्जुन ढुंगानाले ‘कलमको टर्च लाइट’ नामक छोटो नाटक देखाएका थिए । दोस्रो दिन शनिबार उत्तरगयामाथिको सरस्वती मन्दिर, नीलकण्ठ उच्च माविसँगै भूकम्पपीडित बस्ती बोगटीटारको यात्रापछि स्रष्टाहरू कवि गोष्ठी र सृजना शिविरका लागि जुटे । कविता गोष्ठीमा स्थानीय स्रष्टाहरू सुमित्रा पौडेल, शिवराम चालिसे, बद्री बिन्दा गजुरेल, राजकुमार पुत्ला, कपिलदेव खनाल, तुलसीनारायण डंगोल, चक्रबहादुर खड्का, रेशम लामिछाने, भगवती लामा लगायतले रचना सुनाए । ‘उत्तरगयाकै लागि यो ऐतिहासिक जमघट रह्यो,’ उत्तरगया क्षेत्र विकास समितिका अध्यक्ष शिवशंकर डंगोलले भने, ‘धार्मिक पर्यटनको हिसाबले यो थलोको विकास गर्नेबारे योजना भइरहेको छ ।’

यसपछि सम्पन्न लेखक शिविरमा भने मन्दिरा राई, राधेश्याम ढकाल, तारा गाउँले, कमला कोइराला, शान्ता पोखरेल, प्रतीक बराल, ठाकुर अधिकारी, गीता खनाल, सागर खरेल, अर्जुन ढुंगाना, मुक्ति पौडेल, लीला ढकाल, गोविन्द गौतम, देवेन्द्र केसी, इन्दु अंशु, शान्ति शर्मा, अस्मिता पुडासैनी, शान्ति सापकोटा, निर्मला बराल, निशा रुम्बा, गंगा खड्का, पवन थापा, डा। नवराज खतिवडा लगायतले भाग लिएका थिए । उनीहरूले शिविरमा सृजना गरेका सृजना साँझको कवि गोष्ठीमा सुनाएका थिए । ‘साहित्यलाई स्थानीयतासँग जोड्ने यो निकै ठूलो अवसर बन्यो,’ गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष सुरज लवटले भने । स्थानीय गणेश श्रेष्ठ, शशि डंगोल र चक्रबहादुर डंगोलले पनि जिल्लामा यस्ता गतिविधिको निरन्तरताको अपेक्षा गरे । उत्तरगयालाई रसुवा र नुवाकोटकै केन्द्रको रूपमा विकास गर्न सकिने सम्भावनालाई तीनदिने साहित्यिक जमघटले झन् बल प्रदान गरेको क्लबका सल्लाहकार गजेन्द्र प्याकुरेलले बताए । आउँदा दिनमा पनि जिल्लाबाहिर सृजना शिविर गर्ने घोस्टराइटिङका अध्यक्ष कमल ढकालले बताए ।

ईकान्तिपुर डटकमबाट

Comments

comments