उद्यमी बन्दै दलित युवा

Kalika talim (2)

प्रदीप न्यौपाने

काठमाडौंमा सात वर्षसम्म पनि आम्दानी गर्न नसकेपछि कल्याण बर्देवा (भुसाल) गाउँमै बसेर मनग्ये आम्दानी गर्न थालेका छन् । गाउँमै गएर ज्याकेट र झोला निर्माण गरी आम्दानी गर्न भुसाल लागिपरेका छन् यतिबेला । उनी मात्र आम्दानी गर्न लागेका छैनन्, सिंगो गाउँका युवालाई सीप सिकाएर आयआर्जनमा जुटेका छन् । रसुवा जिल्लाको कालिका गाउँपालिका –३ टपरेमा दलित समुदायका युवाहरूलाई सीप सिकाएर आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरणका रूपमा प्रस्तुत भएर उनि अगाडि बढिरहेका छन् ।

लामो समयसम्म आम्दानी गर्न नसकेपछि विदेशमा काम गर्न जाने उनको चाहना अब गाउँमै बसेर पूरा हुने भएपछि विदेश जाने योजनालाई समेत अन्त्य गरी गाउँमै उद्योग सञ्चालन गर्ने र गाउँको विकास निर्माणमा अगाडि बढ्ने योजना अगाडि बढाएका छन् कल्याणले । हिमाली जिल्ला रसुवामा ज्याकेट, विन स्वेटरको माग बढी हुने भएपछि बबिता बर्देवाले सिकेको सीपलाई तत्काल व्यवहारमा लागू गर्दै आयआर्जनमा लगाउने भएकी छन् । यतिबेला ज्याकेट र झोला बनाउन सक्षम भएकी छन् उनी । उनले बनाएको ज्याकेटको बजार रसुवाको धुन्चे, कालिकास्थान, नुवाकोटको विदुरमा भए पनि मागअनुसारको सामान उत्पादन गर्न नसकेको बताउँछिन् बबिता ।

गाउँमै सीप पाएपछि दंग भएर सीप सिक्दै छन् सुशीला परियार । काठमाडौं वा अन्य जिल्लामा गएर कमाउने पैसा घरैमा बसेर कमाउन सक्ने भएपछि ज्याकेट र झोला निर्माण गर्न सक्दा गाउँमै धेरै आम्दानी गर्न सकिन्छ भन्ने भावनाको विकास भएको सुशीला बताउँछिन् । घरको काम सकेर फुर्सदको समयमा काम गर्दा पनि सजिलैसँग मासिक १५ देखि २० हजार रुपैयाँ सहज रूपमा आम्दानी गर्न सकिने भएकाले अब गाउँमै उद्योग सञ्चालन गरी बस्ने र बेरोजगार दिदीबहिनीलाई पनि सीप सिकेर आम्दानी गर्न उत्प्रेरणा दिने योजना छ उनको ।

घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय रसुवाले ४५ दिने ज्याकेट तथा ब्याग बनाउने तालिम दिएपछि दलित समुदायका व्यक्तिमा गाउँमै उद्योग सञ्चालन गरी आम्दानी गर्न सकिन्छ भन्नेमा परिवर्तन आएको छ । तालिममा दलित समुदायका महिला पाँच, पुरुष ९ गरी १४ जनाले सीप सिकिरहेका छन् । सीपको मुख्य उद्देश्य दलित समुदायका व्यक्तिलाई सीप सिकाइ आयआर्जन गर्न उत्प्रेरण गर्नु रहेको छ । सीपले दलित समुदायका ४२ घरका परिवारलाई सीप दिनुका साथै युवालाई गाउँमै रोजगारी दिँदै विदेश जाने क्रमलाई रोक्ने बताउनुहुन्छ घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय रसुवाका कार्यालय प्रमुख खगेन्द्र नेपाल बताउनुहुन्छ । समूहमा दिएको तालिमबाट उनीहरूको जीवनमा मात्र परिवर्तन भएको छैन, समुदायमा समेत परिवर्तन गरिदिएकाले यतिबेला युवायुवतीका माझ यस्ता तालिम निकै प्रभावकारी बन्दै आएको छ ।

स्नातक तहको पढाइ भए पनि रोजगारीको कुनै ग्यारेन्टी छैन । तर, सीपले तत्काल तथा दीर्घकालीन रूपमा आम्दानी गर्न सकिने विश्वास उनीहरूको छ । घरको काम सकेर मासिक १५ देखि २० हजार

रुपैयाँ सहज रूपमा आम्दानी गर्न सकिने भएपछि यस तालिमका माध्यमबाट गाउँमा बेरोजगार बनेर काम नगर्नेका लागि पनि काम गर्न उत्प्रेरणा जगाएको छ । हिमाली जिल्ला भएकाले ज्याकेट, उइन स्वेटर, सिलिकन ज्याकेट, झोला बढी मात्रामा बिक्री हुने गरेको र दलित समुदायको आयआर्जनमा बढावा दिने उद्देश्यका साथ सञ्चालन भएको यस तालिम निकै प्रभावकारी रहेको कार्यालय प्रमुख नेपाल बताउँछन् । सो ठाउँमा दलित समुदायका ४२ घरधुरी रहेका छन् । तालिममा सहभागी कल्याण नेपालीले सीप सिकेपछि सहज रूपमा आम्दानी गर्न सकिने र घर परिवार एकै ठाँउमा बसेर काम गर्न सकिने बताउँछन् । ४५ दिने सो तालिमबाट आफू ज्याकेट तथा झोला बनाउन सक्षम भएको र आफ्ना सामानहरू नुवाकोट रसुवाका विभिन्न स्थानमा माग भएकाले पनि आफूलाई थप उत्प्रेरणा मिलेको नेपाली बताउँछन् ।

२० वर्षसम्म काठमाडौंमा मालिकको ज्याकेट बनाउने काम गरे पनि बचत गर्न नसकेको पीडा पोख्दै रुपीकुमार भुसाल भन्छन्, अब दलित समुदायमा आएर आफुले सीकेको सीप प्रदान गरेको छु । यसले मेरो मात्र होइन, हामी ४२ घरधुरीको नै आर्थिक अवस्थामा सुधार ल्याउने उनको विश्वास छ । घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय रसुवाले भगत सर्वजित सीप विकास प्रवद्र्धन कार्यक्रमअन्तर्गत सो समुदायलाई तालिम दिएपछि उनीहरूको मुहारमा खुसी मात्र छैन आयआर्जन गरेर परिवार नै पाल्ने र भूकम्पबाट क्षत विक्षत भएका घरहरू निर्माण गर्ने कार्यमा सक्रियताका अगाडि बढेका छन् ।

रसुवा जिल्लामा घरेलु तथा साना उद्योग विकास समितिद्वारा सञ्चालिन भएका कार्यक्रमले गरिबी निवारण गर्नुका साथै विदेश जाने तयारी गरेका दर्जनांै युवालाई स्वदेशमै रोजगारीको अवस्था सिर्जना गरेको छ । समितिबाट सीप सिकेपछि भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्दै आएको बताउनुहुन्छ रसुवा राम्चे–२ का सन्जबहादुर ग्लाङ । मलेसिया चार वर्ष र कतार तीन वर्ष बसेर काम गर्दा पनि आम्दानी गर्न नसकेको तर अहिले घरेलुको तालिमबाट आम्दानी गर्न सकेकोमा निकै खुसी हँुदै भूकम्प प्रतिरोधात्मक घर निर्माणको कार्यमा सक्रियताका साथ जुटिरहेको र यसबाट दैनिक ८ सय खाएर आम्दानी गर्न सफल भएको उनको अनुभव छ । विदेशमा भन्दा स्वदेशमै सीप सिक्दा धेरै आम्दानी गर्न सुकिने भएकाले २०७२ सालको विनाशकारी भूकम्पबाट क्षति भएका घरहरू निर्माणको कार्यमा जुटेको सन्जबहादुरले बताए ।

समूहमा दिएको तालिमबाट उनीहरूको जीवनमा मात्र परिवर्तन भएको छैन समुदायमा समेत परिवर्तन गरिदिएकाले यतिबेला युवायुवतीका माझ यस्ता तालिम निकै प्रभावकारी बन्दै आएको छ

मुलुकको समग्र आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको लघु, घरेलु तथा साना उद्योगहरूको विकास र विस्तार आजको अपरिहार्य आवश्यकता रहेकाले उपलब्ध स्थानिय स्रोतसाधनको परिचालन तथा रोजगार सिर्जना गर्ने उद्देश्यका साथ कार्यक्रमहरू अगाडि बढिरहेका घरेलु तथा साना उद्योग विकास समितिका सहकार्यकारी निर्देशक सुरेन्द्रकुमार थापा बताउँछन् । ‘सानो लगानीबाट उद्योग सञ्चालन गरी लाखौं आम्दानी गर्न सकिने भएकाले समुदायको रुचि र आवश्यकता पहिचान गरी सीप तथा प्रविधि उपलब्ध गराउँदै आएका छौं,’ सहकार्यकारी निर्देशक थापाले भने ।

लघु, घरेलु तथा साना उद्योग सञ्चालन गर्ने इच्छा भए १ हजार रुपयाँ लगानी गर्दा पनि पर्याप्त हुन्छ । साना र कुटिल उद्योग सञ्चालनका लागि केवल सीप र इच्छाशक्ति भने आवश्यक पर्छ ।

सीपविना सञ्चालन भएका उद्योग दिर्घकालीन रूपमा टिक्न सक्दैनन् । उद्योग सञ्चालन गर्नुअगावै आफूले कुन उद्योग सञ्चालन गर्ने भन्ने योजनाका साथ सीप सिक्न आवश्यक हुन्छ । त्यति मात्र होइन, सीपसँगै प्रविधि आवश्यक भए त्यस्ता उद्यमीको माग र चाहनाअनुरूप नै प्रविधि अनुदानमा सरकारी स्तरबाटै पाउन सकिन्छ ।

स्थानीय स्रोत साधनलाई प्रयोग गर्दा नेपालमै सुन फलाउन सकिने धेरै सम्भावना धेरै छन् । देशका दुर्गम एवं पहाडी जिल्लाहरूमा लघु, घरेलु तथा साना उद्योगहरूको विकास हुने र नेपाली उद्यमीले उत्पादन गरेका सामानलाई बजारीकरण गर्दा स्वदेशी वस्तुले बजार राम्रो पाउने गरेका छन् । सीपमूलक तालिमले बेराजगारीलाई गाउँमै रोजगारी दिएको, सीप नभएका युवालाई सीप सिकाएकोे, विदेश जाने युवालाई स्वदेशमा काम गरौं गरौं भन्ने अवस्था सिर्जना गराएका उदाहरणहरू प्रशस्तै छन् ।

राजधानीबाट

Comments

comments