एसइई परीक्षा नहुने, आन्तरिक मूल्यांकनकै आधारमा ग्रेडसिट

See Nhune

कोरोना भाइरसको कारण स्थगित गरिएको गत वर्ष ०७६ को कक्षा १० अर्थात् माध्यमिक शिक्षा परीक्षा (एसइई) अब नहुने भएको छ । विद्यालयले लिएको आन्तरिक परीक्षाका आधारमा ग्रेडसिट दिने गरी कानुनी व्यवस्था गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

कोरोनाको संक्रमण बढ्दै गएको र विद्यालय पनि क्वारेन्टाइनका रूपमा प्रयोग गरिएकाले पहिलेजस्तै गरी परीक्षा लिन नसक्ने अवस्था भएकाले गत वर्षको एसइईमा विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा ग्रेडसिट दिने तयारी गरिएको हो । यस विषयमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बुधबार मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए । त्यहीअनुसार, एसइईका विषयमा आन्तरिक मूल्यांकनका आधारमा ग्रेडसिट दिने निर्णय भएको मन्त्री पोखरेलले बताए ।

गत ६ चैतमा हुने तय भएको एसइईका प्रश्नपत्र परीक्षा केन्द्रनजिकको प्रहरी चौकीमा पुगिसकेका थिए । कोरोनाको जोखिम बढेपछि एक दिनअघि परीक्षा स्थगित गरिएको थियो । एसइईमा एक हजार नौ सय ९५ केन्द्र र चार लाख ८२ हजार दुई सय १९ विद्यार्थी छन् ।

अहिलेको कानुनअनुसार परीक्षा लिने व्यवस्था रहेको र विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा कसरी ग्रेडसिट दिने भन्ने विषयमा राष्ट्रिय परीक्षा बोर्डले तयारी गर्ने शिक्षामन्त्री पोखरेलले बताए । परीक्षा गर्न सक्ने स्थिति नभएकाले विद्यालयलाई मूल्यांकन पठाउन लगाउने र त्यसका आधारमा परीक्षा बोर्डले ग्रेडसिट दिने व्यवस्था गर्ने निर्णय भएको उनको भनाइ छ ।

एसइईका ५१ लाख प्रश्नपत्र प्रहरी कार्यालयमा

गत ६ चैतबाट हुने तय गरिएको एसइई परीक्षा स्थगित भएपछि प्रहरी चौकीसम्म पु¥याइएका प्रश्नपत्र फिर्ता गरी जिल्ला प्रहरी कार्यालय वा ‘क’ श्रेणी इलाका प्रहरी कार्यालयमा राखिएको थियो । शिक्षासचिवको संयोजकत्वमा रहेको केन्द्रीय सुरक्षा समन्वय समितिको बैठकले प्रश्नपत्र सुरक्षित राख्नका लागि कम्तीमा इन्स्पेक्टरको नेतृत्व रहेको कार्यालयमा राख्ने निर्णय गरेको थियो ।

एसइईमा सहभागी हुने विद्यार्थीका लागि ५१ लाख थान प्रश्नपत्र तयार भएका थिए । केन्द्रअनुसार सबै प्रश्नपत्र टिनको बाकसमा दुई ताल्चा लगाउने र एउटा सम्बन्धित केन्द्राध्यक्ष र अर्को ताल्चाको चाबी सुरक्षा इन्चार्जसँग रहने व्यवस्था गरिएको थियो ।

कक्षा १२ को परीक्षा हुने

एसइईका विषयमा निर्णय गरिएको भए पनि कक्षा १२ मा हुने विद्यालय तहको अन्तिम परीक्षा कोरोना संक्रमण हटेर सामान्य अवस्था आएपछि उपयुक्त समयमा हुने भएको छ । शिक्षामन्त्री पोखरेलले विद्यालय तहको अन्तिम परीक्षा भएकाले कक्षा १२ को परीक्षा लिइने बताए । बुधबार एसइईको मात्र प्रस्ताव लगेकाले कक्षा ११ र १२ को विषयमा भने कुनै निर्णय भएको छैन । एसइई परीक्षा नभएपछि कक्षा ११ को परीक्षा पनि आन्तरिक मूल्यांकनका आधारमै गरिने भए पनि अहिले निर्णय नभएको मन्त्री पोखरेलको भनाइ छ । कक्षा ११ र १२ मा गरी करिब नौ लाख विद्यार्थीले परीक्षा फारम भरेका छन् । नयाँ पत्रिकाबाट

भवानीश्वर गाैतम 

Comments

comments