ऐन संशोधन गर्न माग गर्दै पत्रकारद्धारा ज्ञापन पत्र पेश

Fnj Gyapanpatra

मुलुकी फौजदारी संहिता ऐन २०७४ संसोधनको माग गर्दै रसुवाका पत्रकारहरुले भदै २१ गते प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पेश गरेका छन् ।

बिहिबार जिल्ला प्रशासन कार्यालय रसुवामा नेपाल पत्रकार महासंघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडा र फोनिज रसुवाका अध्यक्ष दिपक लामाले नयाँ कानून संसोधनको माग गर्दै प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलमार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पेश गरेका हुन् ।

भदौ १ गतेबाट लागू भएको मुलुकी फौजदारी संहिता ऐन २०७४ मा व्यवस्था भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने बुँदाहरु तत्काल संशोधन गरी पूर्ण प्रेस मैत्री बनाउन सरकारसँग माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रि समक्ष ज्ञापनपत्र बुझाएको नेपाल पत्रकार महासंघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडाले बताए । ज्ञापन पत्र बुझाउँदै खतिवडाले मुलुकी फौजदारी संहिता ऐन, २०७४ का विभिन्न दफाका प्रावधान अनुसार सञ्चार माध्यममा प्रकाशित÷प्रसारित सामग्रीकै आधारमा संचारकर्मी माथि गम्भीर अभियोग लाग्न सक्ने अवस्था देखिएको भन्दै संशोधन गर्न माग गरेका हुन् ।

ऐनका कुनै पनि दफामा सञ्चार माध्यममा प्रवाह भएका सामग्रीका सन्दर्भमा यो ऐनका प्रावधानहरु लागू हुँदैन भन्ने व्यवस्था नरहेको र सञ्चार माध्यम सम्बन्धी छुट्टै ऐनहरुमा समेत यस विषयमा कुनै प्रावधानहरु नै नराखिएकाले यो ऐनबाट सञ्चार माध्यम र पत्रकारहरु पीडित बन्न सक्ने अवस्था देखिएको ठहर गरेको ज्ञापन पत्रमा उल्लेख छ । तसर्थ ऐनका केही व्यवस्थाले पत्रकारहरुलाई खोजी समाचार तयार पार्न समस्या पार्नुका साथै तस्वीर खिच्न र प्रकाशन÷प्रसारण गर्न बाधा हुन सक्ने भएकाले संशोधनमा माग गरिएको फोनिज रसुवाका अध्यक्ष दिपक लामाले बताए ।

सञ्चार माध्यममा समाचार लेखेकै कारण सरकारवादी मुद्दा बनाएर फौजदारी कसुर लगाउनु नहुने समेत उनले बताए । त्यस्तै ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले पत्रकारहरुको माग जायज रहेको र नीति नियमहरु परिमार्जन समयानुकुल हुने हुनाले तत्कालै प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र पठाउने प्रतिबद्धता व्यक्त गरे ।

Comments

comments