कण्डम निःशुल्क हुँदा प्याड किन भएन स्वास्थ्य मन्त्री ज्यू ?

Sirjana Basnet
आज बिहानदेखि तल्लो पेट दुखिरहेको छ । चिसो महिना लागेदेखि नै महिनावारी हुनु एक हप्ता अगाडिदेखि ढाड दुख्ने व्यथा बोनसमा पाएको छु ।सँधै जस्तै यो महिना पनि कहिले महिनावारी हुने हो केही पत्तो छैन । महिनै पिच्छे तालिका बदलिन्छ । कहिले महिनाको सुरुमै त कहिले महिनाको अन्त्यमा । निश्चित समयमै महिनावारी नहुने यो समस्याले गर्दा पुर्व योजना अनुसार केही तयारी गर्न पाउँदिन ।अनि खुबै ढाड दुखेको छ । ब्यागमा प्याड बोक्नै भुलेछु । कार्यालयमा साथी भएको बेला त साथीलाई भनेर बेलैमा कोठा निस्कन नि पाइन्छ ।
साथी बिदामा भएको बेला एक्लै कार्यालयमा हुँदा धेरै पटक मलाई आपत आइलागेको छ ।कार्यालय बन्द गर्न पनि नमिल्ने योनिबाट बगेको रगत रोक्न सकिने त कुरै भएन । आज मैले त्यही आपतको सामना गर्नु पर्ने निश्चित भएको छ ।सहकर्मी साथी पुरुष हुन् । साह्रै गाह्रो भए मोटरसाइलमा राखेर घरसम्म पुर्याइदिन्छन् । तर प्याड भने किनेर ल्याइदिन उनको पुरुषत्वले कहिल्यै दिँदैन ।बिहान दस नबज्दै कार्यालयको ढोका अगाडि हतारिएका सेवाग्राही उभिएका थिए । उनीहरुको काम गर्दै गर्दा मेरो तल्लो पेटको दुखाइ पाठेघरबाट बढेर आन्द्रा भूँडी नै गिजोल्न थालिसके झैं भइसक्यो । प्याड साथमा नभएकोले मलाई दुखाइको पीडा भन्दा बढी बगेको रगत कसरी व्यवस्थापन गर्ने भन्नेमा चिन्ता थियो । कार्यालयमा एक्लै अनि सेवाग्राहीको भीड । न नजिकै प्याड पाइने पसल ।दुखाइलाई बेवास्ता गर्दै सेवाग्राहीको काममा ध्यान लगाएँ । सेवाग्राहीको काम गर्दै गर्दा जति पटक कलम चलाएँ यस्तो लाग्यो मैले कलमको मसि कम र बगेको रगतले बढी लेखि रहेको छु ।हुन त हाम्रो अड्डा जिल्लाकै मुख्य कार्यालयको हाता भित्र छ ।
जिल्ला प्रशासनको सार्वजनिक शौैचालय प्रयोग गर्न पाएका छौँ । शौचालय अरु कार्यालयहरुको भन्दा सफा र पानीको पनि राम्रो व्यवस्था छ ।तर, महिला शौचालयमा प्याडको व्यवस्था छैन । त्यसैले पटक पटक शौचालय गएँ, बगेको रगत पखालेर आएँ । रोक्नै त कहाँ सक्थें र !केही दिनअघि एक अनलाइनमा आएको समाचारले भने मन फुरुङ्ग बनायो । स्कुलमा महिनावारी भए के गर्ने, ज्ञानोदयमा डर छैन, प्याड झर्ने मेसिन छ नि’ शिर्षकको समाचार पढें । स्कुलमा महिनावारी हुँदा पढाइबीचमै छाडेर घर दौडिएको याद आयो । हामी केटी साथीहरु मात्र होइन पढाउने म्याडमहरुको कथा पनि त्यही थियो । थियो के भनौं, अझै छ ।महिला स्वस्थ्यकर्मीसँग कण्डम किन्न नहिचकिचाउने मेरो पुरुष मित्रहरुआपत पर्दा प्याड ल्याइदेउ भन्दा लजाउँछन् ।
मैले जुन असहजता भोगें मेरी बहिनीले पनि त्यहि कथाको पात्र बन्नु परेको छ । स्कुल पढ्दादेखिको समस्या जागिर खाँदासम्म नि उस्तै छ । सार्वजनिक शौचालय प्रयोग गर्ने महिला सेवाग्राहीहरुको लागि प्याड मात्र व्यवस्था गर्न सके रगतको दाग लुकाउँदै कार्यालयको कोठा कोठा चहार्नु पर्ने थिएन ।ज्ञानोदय स्कुलले जस्तै अन्य स्कुलमा प्याडको व्यबस्था गर्न सके मैले जसरी अरु बहिनीहरुले पढाइ बीचमै छाडेर आमाको मैलो टालो च्यात्नु पर्ने थिएन । भुकम्प पछि धेरै विद्यालयहरु बाल मैत्री बनाउनु पर्छ भनेर पहल गर्नेहरुले पनि शौचालय किशोरी मैत्री बनाउनु पर्छ भन्ने तर्फ ध्यान कमै मात्र दिइयो । अकस्मात चोट लागेर बगेको रगत रोक्ने ब्यान्डेज स्कुलमा छ । तर, अकस्मात महिनावारी भएर बगेको रगत रोक्ने प्याड सबै स्कुलमा छैन ।मैले पहिलो पटक कान्तिपुर मिडिया हाउसको महिला शौचालयमा निःशुल्क प्रयोग गर्नको लागि राखिएको प्याड देख्दा अचम्मित भएको थिएँ । महिला मात्रै काम गर्ने धेरै कार्यालयहरुमा समेत उनीहरुले प्रयोग गर्ने शौचालयमा प्याड राख्न ध्यान नजानुले स्पस्ट देखाउँछ कि हामी अफै खुलेर महिनावारीको कुरा गर्न सक्दैनौं ।महिला स्वस्थ्यकर्मीसँग कण्डम किन्न नहिचकिचाउने मेरो पुरुष मित्रहरु आपत पर्दा प्याड ल्याइदेउ भन्दा लजाउँछन् । सरकारले निःशुल्क कण्डम वितरण गर्न थालेको लामो समय भइसकेको छ । त्यसैले गाउँघर तिर पनि कण्डमको प्रयोगबारे मानिसहरु खुलेर कुरा गर्दछन् ।सरकारले महिनावारी हुँदा लाग्ने प्याड निःशुल्क वितरण गरिदिए महिलालाई धेरै राहत हुने थियो । सरकारमा धेरै मन्त्रीहरु फेरिए । तर, महिनावारीको बाध्यतामा प्रयोग गर्ने प्याडलाई निःशुल्क तथा सहुलियत दरमा वितरण गर्ने तर्फ भने ध्यान नै दिएनन् ।उनीहरुलाई लाग्दो हो जाबो महिनावारीको कुरा पनि मन्त्रीले गर्ने हो र ! तर, मन्त्री ज्यू स्कुलमा प्याड नहुँदा छोरीले कत्ति समस्या भोग्नु परेको थियो फुर्सद निकालेर सोध्नु होला । त्यसपछि तपाईंले बुझ्नुहोला प्याड सहज नहुँदाको पीडा ।आफ्नै कार्यालयमा काम गर्ने महिला दिदीबहिनीलाई पनि सोध्नुहोला सार्वजनिक शौचालयमा प्याड नहुँदा रगत चुहाउँदै जागिरमा आएको पीडा । प्रत्येक आमालाई सोध्नु पुरानो हुँदै जाँदा उनको धोति फरिया र पोटुका किन च्यातिदै गयो भनेर ।उनले सहजै उत्तर दिने छिन् ‘छोरीको महिना महिनामा बग्ने रगतले बगाएर लग्यो’ भनेर । सत्तरी रुपैयाँ भए भटमासको आधा लिटर तेल आउने थियो भन्ने काकीले कहिल्यै प्याड किन्ने आँट गर्नै सक्दिनन् । सामान्यतया १३ वर्षबाट महिनावारी भएका छोरीहरु ४५ वर्षसम्म महिनाको एक पटक रगतमा डुबेकै हुन्छन् ।अझै पनि गाउँका मेरै उमेरका महिलाहरुले प्याडको प्रयोग गर्न सिकेकै छैनन् । उनीहरु अझै मैलो टालो योनिमा घँुसारेर रगत बग्न रोक्न बाध्य छन् । प्याडको बारेमा जानकार र किन्ने आँट हुनेहरुलाई समेत मंहगो भार परेको छ ।बजारमा पाइने गुणस्तर सेनेटरी प्याडको मुल्य १ सय ३० रुपैयाँ पर्दछ । महिनामा दुई प्याकेट नभई ५ दिन कटाउन सकिँदैन । एक महिनामा २ सय ६० रुपैयाँ प्याड किन्नै खर्चिनु पर्दछ ।यही हिसाबमा पनि वर्षमा ३ हजार १ सय २० रुपैयाँ महिनावारीकै लागि जोगाउन आवश्यक हुन्छ ।
आफ्नो जीवनको ३२ वर्ष (१३ वर्षदेखि ४५ वर्ष) एउटी महिला महिनावारीकै चक्रसँग घुमिरहेकी हुन्छे । ३२ वर्ष सम्ममा त ९९ हजार ८ सय ४० रुपैयाँ त रगत रोक्ने प्याड किन्न खर्च गर्नुपर्छ ।कण्डम निःशुल्क बाँड्नाले यौन रोग र जनसंख्या वृद्धि रोक्न मदत त पुगेको होला । कण्डमको प्रयोग र मानिसको रोजाइको बीचमा विकल्प पनि छ । तर, महिनावारीलाई रोक्ने अन्य विकल्पको प्रयोग गर्न सम्भव छैन । किनकी यो प्रजनन् क्षमताको लागि सक्षम हरेक महिलाको प्राकृतिक प्रकृया हो ।हुर्किदै गरेका किशोरीहरुले कुनै हिचकिचाहट सार्वजनिक शौचालय अनि सरकारी स्वास्थ्थ चौकीबाट निःशुल्क प्याड प्रयोग गर्ने दिन आउला त स्वास्थ्य मन्त्री ज्यू ?
महिला खबरबाट

Comments

comments