कथित बोक्सोको आरोपमा हत्या गरिएका तुलुको परिवार गाउँमा पुनःस्थापित

Victims

रसुवा । ०७३ असार १८ गते

यार्सा गाविस-९ घोर्मुमा कथित बोक्सोको आरोपमा हत्या गरिएका तुलु सार्की थिङको परिवारका दुई बालबालिकासहित तीन जनालाई गाउँमा पुनःस्थापना गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय र अधिकारका क्षेत्रमा क्रियाशील संस्थाहरूको पहलमा असार १८ गते पीडित परिवारका सदस्यहरूलाई गाउँमा पुनःस्थापना गरिएको शक्ति समूहकी विजया तिवारीले जानकारी दिइन् ।

मृतक तुलुका पत्नी योमाल्मो तमाङ, छोरी सुप्रिमा तामाङ र छोरा राजेन्द्र तामाङलाई उनीहरूकै घरमा पुनःस्थापित गरिएको प्रहरीले जनाएको छ ।

कथित बोक्सोको आरोपमा ५६ वर्षीय तुलु सार्की थिङलाई ०७३ वैशाख ४ गते नाताले भतिजा पर्ने २७ वर्षीय कान्छा शेर्पालगायतले मोसो दलेर कुटपिट गरी जिउँदै आगो लगाएर हत्या गरी खाल्टोमा पुरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनापछि पीडित परिवारका सदस्यहरू प्रहरीको संरक्षणमा रहेका थिए । कालिका स्थान प्रहरी चौकीका इन्स्पेक्टर शङ्कर श्रेष्ठ, शक्ति समूहकी विजया तिवारी, ओरेक नेपालकी सविना रिमालले कथित बोक्सो लगायतका सामाजिक विसङ्गतिविरुद्ध गाउँमा अभिमूखीकरण गराएपछि उनीहरूलाई पुनःस्थापित गराइएको बताएका छन् ।

सो घटना मानवता बिरुद्धको अपराध भएकोले उचित अनुशन्धान गर्न बिभिन्न संस्थाले माग गरेका छन् । घटनामा केही ब्यक्तिहरू सूचना बाहिर ल्याउन समेत नदिन धम्की दिएकोले उक्त घटनाको उचित छानविन गरी तत्काल दोषी उपर कारबाही कडा गर्न मानवअधिकारकर्मी संस्था ईन्हुरेड , ईन्सेक रसुवा , मानवअधिकार एलाईन्स, मानवअधिकार तथा सामुदायिक विकास स्रोत केन्द्र रसुवाले जनाएका छन् ।

Comments

comments