कथित बोक्सो आरोपमा हत्या गरेको कसुरमा चार जनालाई जन्मकैद फैसला

Yarsa 9

रसुवा, ०७५ जेठ २४ गते । कथित बोक्सोकाे आरोपमा नौकुण्ड गाउँपालिका–६ घोर्मु गाउँका ५६ वर्षीय तुलुसार्की थिङलाई ०७३ वैशाख ४ गते कुटपिट गरी हत्या गरेको कसुरमा जिल्ला अदालतले सोही ठाउँका ३९ वर्षीय कान्छा शेर्पा थिङ, निमा भनिने निमा तेन्जेन थिङ, लवाङबुटी तामाङ थिङ र ४३ वर्षीय छेनुर्पु तामाङलाई बोक्सी कसुर सजाए ऐेन ०७२ अनुसार ८ वर्ष कैद र जनही ५० हजार   रुपियाँ जनही जरिबानाको फैसला सुनाएको छ ।

जिल्ला अदालत रसुवाका न्यायाधीश बावुराम सुवेदीको जेठ २२ गते बसेको इजलासले हत्या घटनाको कसुरमा सो फैसला सुनाएको हो । घटनाका आरोपि स्थानीय कान्छा शेर्पा थिङ, नेमा भनिने निमातेन्जन थिङ, लवाङबुटी तामाङ थिङ र छेनुर्पु तामाङलाई बोक्सी कसुर सजाए ऐेन ०७२ अनुसार ८ वर्ष कैद र जनही ५० हजार जरीमानाको फैसला भएको छ । उनीहरु चारै जनालाई मुलुकी ऐन ज्यान सम्बन्धि महल १३.३ बमेजिम जन्म कैदको सजाय समेत सुनाएको हो । पीडितको माग दावी बमोजिम नै अदालतले फैसला गरेको न्यायधिश सुबेदीले बताउनुभयो ।

घटनाका आरोपि ११ जना फरारलाई मुल्तवीमा राखिएको छ भने वाङटासी तामाङ र बहादुर लोप्चनलाई बोक्सी कसुर सजाए ऐेन ०७२ अनुसार ४ वर्ष कैद र ५० हजार रुपियाँ जरिमाना फैसला सुनाएको छ । घटनाका पीडितलाई नेपाल सरकारबाट ५ लाख रुपियाँ क्षति पूर्ति भराउने समेत फैसला भएको हो ।

घटनाका आरोपि पेमाछेसाङ तामाङ, मानबहादुर तामाङ, यो सिङ्गी थिङ र धर्मबहादुर तामाङले भने अभियोग दावी नपुगेकोले सफाइ पाएका छन् । घटना मानवता बिरुद्धको अपराध भएकोले समयमै उचित अनुशन्धान गर्न विभिन्न संस्थाले माग गरेका थिए । घटनामा केही ब्यक्तिहरू सूचना बाहिर ल्याउनसमेत नदिन धम्की दिएकोले उक्त घटनामा संलग्न दोषी उपर कारबाही कडा गर्न मानवअधिकारकर्मी संस्था ईन्सेक , ईन्हुरेड, मानवअधिकार एलाईन्स, मानवअधिकार तथा सामुदायिक विकास स्रोत केन्द्र रसुवाले तत्काल बिज्ञप्ती जारी गरेका थिए । साथै विभिन्न सञ्चार माध्यमले पनि यस विषयमा व्यापक चासो देखाइ घटनाको विवरणहरु सार्वजनिक गरेका थिए । मानवअधिकारकर्मी संस्थाहरुले कथित बोक्सोको आरोपमा कुटपिट पछि हत्या गरी खाल्टाेमा पुरेको घटनाको मानवअधिकारकर्मीहरूका तर्फबाट गरिएको स्थलगत तथ्य अध्ययन  गरी प्रतिवेदन समेत सार्वजनिक गरिएको थियो । थिङलाई हत्या गरी गाउँ नजिकै जंगलमा खाल्टो खनेर गाडिएको थियो ।

Comments

comments