कम्युनिस्ट अनेकताका कारण

Jayaram ac

जयराम आचार्य

पेरिस कम्युनको असफलताबारे कम्युनिस्ट पार्टीको घोषणपत्रमा माक्र्स र एङ्गेल्सले गरेका समीक्षा नेपाली कम्युनिस्ट आन्दोलनका लागि शिक्षा हुनसक्छ।  सन् १८७० अक्टोबर २१ मा ब्लाङ्कीले पेरिसमाथि आक्रमण गरे र केही घण्टा कब्जामा लिए।  यो समय फ्रान्स र जर्मनीबीच युद्ध चलिरहेको थियो।  मजदूरहरूको आक्रमणबाट आत्तिएको फ्रान्सले युद्धविराम गरेर पेरिस जर्मनीलाई दियो।  मजदूरहरूलाई आत्मसमर्पण गराउन फ्रान्सको सेनाले आक्रमण ग¥यो तर सफल भएन।  सन् १८७२ मार्च १८ देखि मे २१ सम्म ७२ दिन मजदूरहरूले आफ्नो सत्ता चलाएका थिए।  जर्मनी एकीकरणकर्ता, राजनीति सिद्धान्तबाट नभई शक्तिबाट चल्छ भन्ने मान्ने दक्षिणपन्थी अटोभान विस्मार्कको सहयोगमा फ्रान्सका बुर्जुवा वर्गले पेरिस कम्युन विघटन गरिदिए।

कम्युनिस्ट पार्टीको घोषणापत्रको सन् १८७२ को जर्मन संस्करणको भूमिकामा कार्ल माक्र्स र एङ्गेल्सले भनेका छन्–‘खास गरी कम्युनले के सावित गरिसकेको छ भने मजदूर वर्गले राज्य सत्ताको बनिबनाउ यन्त्रलाई कब्जा गरेर आफ्नो निजी उद्देश्य पूर्तिका लागि जस्ताको तस्तै त्यसको उपयोग गर्न सक्दैन। ’ यो विषयले संरचनात्मक सुधार वा परिवर्तनको माग गर्छ।  नेपाली कम्युनिस्टहरू पनि बनिबनाउ राज्यसत्तामा छन्।  त्यसैले वर्तमान राज्यसत्ता जस्ता उपरीसंरचनाको परिवर्तन आवश्यक छ।  यसको लागि आर्थिक आधारका दुई तत्व मान्छे र उत्पादनका साधन रहने उत्पादक शक्ति तथा स्वामित्वको रूप, मान्छे–मान्छेबीचको सम्बन्ध र वितरण प्रणाली रहने उत्पादन सम्बन्धमा ध्यान दिनु आवश्यक छ।  आधारहरूप्रतिको उपेक्षालेकम्युनिस्टहरूका सरकार कम सफल छन्।

कम्युनिस्टहरू आफ्ना दृष्टिकोण र उद्देश्य लुकाउनु घृणास्पद कार्य ठान्छन्।  तर नेपाली कम्युनिस्टका दस्तावेज र कार्यमा व्यापक भिन्नता छ।  

माक्र्सवादको ऐतिहासिक भौतिकवादले आदिम साम्यवादी समाज, दासकालीन समाज, सामन्तवादी समाज, पुँजीवादी समाज र सामाजवादी समाज गरी समाज विकासका पाँच चरण प्रस्तुत गरेको छ।  तर यी चरणहरेक देशमा अपरिहार्य छैनन्।  यसको निर्धारण देशको परिस्थितिले गर्छ।  यस सम्बन्धमा घोषणापत्रको रुसी संस्करणको भूमिकाले प्रस्ट गरेको छ।  ‘तर रुसमा हामी के देख्छौँ भने द्रुत गतिले विकास गरिरहेको पुँजीवादी चहलपहल र भर्खर विकास गर्न थालेको पुँजीवादी भूस्वामित्वको साथ साथै त्यहाँ आधाभन्दा बढी जग्गा जमिनमाथि किसानको सामुदायिक स्वामित्व छ।  अब यो प्रश्न उठ्छ– के अनेक परिवर्तनद्वारा विकृत हुन गए तापनि अझै आदिम सामूहिक भूस्वामित्वकै एउटा रूप रहेको रुसी ग्राम्य समाज सोझै साम्यवादी सामूहिक स्वामित्वको उच्चतररूपमा परिणत हुन सक्छ ?…यदि रुसी क्रान्तिले युरोपमा सर्वहारा क्रान्तिको निम्ति संकेतको काम गर्छ र ती दुवै एक अर्काको पूरक हुन्छन् भने रुसको वर्तमान सामुदायिक भूस्वामित्वले पनि साम्यवादी विकासका निम्ति आधारविन्दुका रूपमा काम गर्नसक्ने सम्भावना छ। ’

नेपालको संविधान २०७२ ले नेपाललाई समाजवादउन्मुख घोषणा गर्नुमा पुँजीवादी समाज विकासको चरणलाई अध्याहार गर्न खोजेको देखिन्छ।  उत्पादनका साधनहरू निरन्तर परिवर्तन, अनि यसको फलस्वरूप उत्पादन सम्बन्धका साथसाथै समाजको सारा सम्बन्धहरूका क्रान्तिकारी परिवर्तनमा ख्याल राख्न सक्दा यो सम्भव छ।  सन् १९८०÷९० को उदारवादले विश्वमा नै घाइते भएको माक्र्सवादभित्र सामन्तवादबाट समाजवादमा जाने नेपाली मोडलबारे बहस शून्यता छ।  

घोषणपत्रले वाणिज्यमा संकट सिर्जना हुँदा पुँजीवादलाई अन्त्य गर्न सकिने भन्छ। यसका लागि पुँजीजीवीवर्गको उत्पादन र खपतलाई सार्वभौमिक रूपलिनबाट रोक्नुपर्छ। नेपालको सन्दर्भमा उत्पादनका साधनहरूमा अझै बाँकी रहेको सामूहिक स्वामित्व र युगौँदेखि पवित्र मानिएका तमाम पूर्वाग्रह र धारणासहित सबै जीर्ण र जड सम्बन्धहरूको विच्छेदमा असफलताले यसको सम्भावनालाई अझ प्रस्ट गरिदिएको छ।  यो प्रारम्भिक चरणको पुँजीवादमा जनताले जुन स्तरमा प्रतिस्पर्धा गर्नुपरेको छ, यसले सीमान्त वर्गलाई संकटमा पु¥याएको छ।  पुँजीवादको आयु जति लामो हुन्छ, त्यही अनुपातमा प्रकृतिको आयु छोटो हुने हुँदा प्रकृति र मनुष्य बचाउन पुँजीवादी चरण अध्याहार गर्नुपर्ने भएको छ।

कम्युनिस्टहरूलाई व्यक्तिगत स्वामित्व अन्त्य गरियो भने सारा क्रियाकलाप ठप्प हुनेछ र आमआलस्यको राज्य हुनेछ भन्ने आरोप आज पनि जीवित छ। यो विषयमा सामन्त र पूँजीजीवी दुवैको दिलचस्पी छ।  आजको समाजमा पनि जसले काम गर्छ उसले केही पाएको छैन र जसको हातमा सम्पत्ति छ, उसले काम नै गरेको छैन।  यस्तो अन्तरविरोधबीच पनि समाज चल्नुले यो आरोपलाई खारेज गर्छ।  यहाँ निजी स्वामित्वको अन्त्य भनेको व्यक्तिको सम्पत्ति निरपेक्ष हुने होइन। समाजको अधिकांश हिस्साको स्वामित्व हुने गरी सम्पत्ति वितरण हुने हो।  निजी स्वामित्व सदासर्वदा अस्तित्वमा रहेको पनि थिएन।  यो त मध्ययुगको अन्तिम प्रहरमा देखापर्न आएको हो।  यसको अन्त्य सम्भव छ।  जसका लागि नेपालको सन्दर्भमा कम्युनिस्टहरूलोककल्याणकारी राज्यको अवधारणामा पनि रमाउनु हुँदैन।

निजी सम्पत्ति अन्त्यको बहसभित्र पुँजीजीवीहरूले कम्युनिस्टहरूलाई स्वास्नीमान्छेलाई सामाजिक गछौँ भनी गर्ने प्रश्न नेपालमा पनि छ।  यस्तो प्रश्नको प्रकटीकरण परोक्षरूपमा साझा पत्नित्वमूलक अवधारणाले व्यक्त गर्छ। यस्तो प्रश्न गर्ने पुँजीजीवीले आफ्नीपत्नीलाई उत्पादनको साधारण ज्यावलका रूपमा मात्र देख्छ। यसलाई खरिद बिक्री गर्न मिल्ने मान्छ। कानुनीरूपमा खुला खरिद बिक्रीको वकालत नाफा आर्जनका लागि गर्छ। पुँजी र व्यक्तिगत शोषणका आधारमा पुँजीवादीले परिवार चलाइरहेको हुन्छ।  व्यक्तिगत स्वामित्वको अन्त्यसँगै यी सबै हराएर जाने हुँदा यसको अन्त्य कम्युनिस्टहरूका लागि आधारभूतरूपमा रहन्छ।  कम्युनिस्टहरूका लागि आफ्नी पत्नी उत्पादनको साधारण साधन मात्र होइनन्।  यो स्थितिबाट महिलाको मुक्ति खोज्नु उसको दायित्व रहन्छ। परिवारको उन्मूलन, स्वास्नीमान्छे र विवाहका बारेमा घोषणापत्रले गरेको बहसले नारीवादलाई दिशानिर्देश गरेको छ।  तर नेपालको नारीवादी आन्दोलन सहभागितामा अल्झेको छ।

वर्गहरू विघटन हुने प्रक्रियाबारे घोषणापत्रमा बहस छ।  ‘मध्यमवर्गको तल्लो स्तर अर्थात् सानातिना व्यवसायी, खुद्रा व्यापारी र साहूकार, शिल्पकार र किसान यी सबै विस्तारै विस्तारै सर्वहारा वर्गको स्थितिमा हुन्छन्।  कोही यस कारणले कि उनीहरूको सानो पुँजी ठूल्ठूला औद्योगिक व्यवसाय खोल्न पर्याप्त हुँदैन र त्यसले ठूल्ठूला पुँजीपतिहरूसँग प्रतिष्पर्धा गर्न सक्दैन, अनि कोही कुन कारणले भने उत्पादनका नयाँ नयाँ तरिका निक्लनाले उनीहरूको पेशागत प्रवीणताको कुनै मूल्य रहँदैन।  यसप्रकारले जनसंख्याका सबै वर्गमा सर्वहारावर्गको भर्ती हुन्छ। ’कृषि क्षेत्रमा भूमिसुधारमार्फत् कृषि क्रान्ति नहुनु, कृषि औद्योगिकीकरणको प्रक्रियामा देश नजानुले नेपालका कृषि क्षेत्रका निम्नमध्यमवर्ग विघटन भएको अवस्था छ।  परम्परागत शिल्पकारीमा रहेका निम्नमध्यमवर्ग बहुराष्ट्रिय निगमका कारण विघटन हुन पुगेका छन्।  मध्यमवर्गमा उक्लिने आशाले नेपालको विभिन्न आन्दोलनमा आएको यो वर्ग नेपाली अर्थतन्त्रको संरचनाले विघटन गरिदिएको हो।

कम्युनिस्टहरू आफ्ना दृष्टिकोण र उद्देश्य लुकाउनु घृणास्पद कार्य ठान्छन्।  तर नेपाली कम्युनिस्टका दस्तावेज र कार्यमा व्यापक भिन्नता छ।  कम्युनिस्टहरू वर्तमान सामाजिक र राजनीतिक व्यवस्थाको विरोधमा सर्वत्र नै जुनसुकै क्रान्तिकारी आन्दोलनलाई पनि समर्थन गर्छन्। तर नेपालका कम्युनिस्टहरू यही उपरीसंरचनाको हिमायती बन्न आइपुुगेका छन्। कम्युनिस्टहरू मजदूरहरूको तल्कालीन लक्ष्य र हितका लागि संघर्ष गर्छन् तर यसको साथै वर्तमान आन्दोलनमा उनीहरू यस आन्दोलनको भविष्यको पनि प्रतिनिधित्व गर्छन्। कम्युनिस्ट र विरोधी पार्टीबीचको सम्बन्ध नेपालको सन्दर्भमा घोषणापत्रले भनेजस्तो छैन।  यी नै नेपालका कम्युनिस्टहरू एक हुन नदिने कारक हुन्।

नागरिक दैनिकबाट

Comments

comments