कविताबाटै पढाइरहेको छु : राष्ट्रकवि

RastaKabi-Madhav-Prasad-Ghimire-11

काठमाडौं , मैले भनेजस्तो शिक्षा छैन अचेल । मैले भने जसरी पढाइ पनि हुँदैन । बालमनोविज्ञान केन्द्रित शिक्षा छैन । मैले मेरा कविता बाटै मैले भनेजसरी शिक्षा दिइरहेको छु । मेरा चारवटा बालकविताहरु छन् । जसमा मैले १०० मा ९० प्रतिशत बालमनोविज्ञानलाई ध्यान दिएर लेखेको छु ।
शिक्षा कहाँबाट कहाँ पुगिसक्यो
शिक्षा दिएपछि बल्ल मान्छे ‘मान्छे’ बन्दछ । आफ्नो परिवेश, प्रकृति, विश्व ब्रम्हाण्ड शिक्षामा नै अटाएको छ । हामी शिक्षाबाटै संसार जान्दछौँ । ‘पीपल’ शब्दले गाउँको पीपलको रुख सम्झाउँछ । जापान, अमेरिका शब्दले नदेखेपनि ती देश सम्झाउँछ । शिक्षाको संसार भनेको छाँया संसार हो । शब्दले हामीमा वस्तु, क्षेत्र र जानकारी दिन्छ । हामीलाई संसार घुमाउँछ । गुरु र चेलाको बीचमा प्रत्यक्ष हुनुपर्ने शिक्षा अप्रत्यक्ष हुँदै गएको छ । एकजना गुरुले एकजना चेलालाई पढाएर सम्भव भएन । एउटा कक्षामा ४० जना विद्यार्थी पढाउनुपर्ने भयो । ४५ मिनेटको कक्षामा एकजना शिक्षकले एकै ठाउँमा भाषण गर्छ । अनि गुरु जान्छन्, विद्यार्थी जति सके त्यति बुझ्छन् । अनि परीक्षामा फलानो लेख भनेर सोधिन्छ । कुन बेलामा गुरुले कसरी सिकाएका थिए ? हेक्का रहँदैन । मैले ठानेको शिक्षा यो होइन । त्यसैले मैले चाहेको शिक्षा म कविताबाटै दिन्छु । बच्चालाई नयाँ कुरा पाउँदा जस्तो मज्जा अरु हुँदैन । रमाइलोसँग उनीहरुलाई नयाँ कुरा दिन सक्नु पर्छ । ‘तिमीहरुले फूलको रङ्ग बोटबाटै आएको भन्ठानेका हौला तर त्यो सूर्यको किरणबाट आउँछ,’ भनेर सिकाउन सकिन्छ । केटाकेटी अद्भूत हुन्छन् । जिज्ञासै जिज्ञासाले भरिएका हुन्छन् ।
किताबलाई होइन बच्चा पढाऊँ
बालमनोविज्ञान बुझेर बालबालिकालाई नयाँ ज्ञान, धारणा र संस्कार दिनु नै शिक्षा हो । बालबालिकाको इच्छा के छ ? उसले केमा दक्षता हासिल गर्न खोजेको छ ? त्यो नै शिक्षा दिनु पर्छ । ऊ डाक्टर, पाइलट, इञ्जिनियर के हुन खोजेको हो ? त्यही शिक्षा दिनु पर्छ । अहिलेको शिक्षा भनेको पैसा खर्च गरेर पढ्ने, डाक्टर बन्ने कमाएर खाने भन्नेछ । सबै छोराछोरीलाई डाक्टर बनाउन चाहन्छन् । सबै डाक्टर बनेर मात्रै हुँदैन । भविष्यमा छोराछोरी कवि बनाउँछु भनेर कसैले बन्दैनन् । सधैँ बाच्ने त कवि हुन् । हामीले किताब होइन, बच्चा पढाऊँ । सरलबाट जटिलतिर, ज्ञातबाट अज्ञाततिर शिक्षाको प्रवाह बग्दछ । फूल देखाएर उनीहरुको थरिथरिका रङ्ग देखाएर पनि शिक्षा दिन सकिन्छ । पढाइलाई भारी होइन, मज्जाको बनाउनु पर्छ । किताबभन्दा त्योसँग सम्बन्धित कुरा पहिले बुझाइदिने । कथा पढाउनुभन्दा पहिले आफ्नै भाषामा सिकाइदिने ।
बच्चाको जिज्ञासा सुनौं
बच्चाको भावना, इच्छा, रुचि बुझ्ने कोशिस गर्नु पर्छ । आकाशमा बादल गएर कसरी ‘गड्याङ्ग…!’ गर्छ ? भनेर सोधे ‘नचाहिने कुरा नगर, खुरुखुरु पढ्’ भन्ने होइन । बादल एक अर्कामा कसरी जुँद्छन् भनेर वैज्ञानिक किसिमले जानकारी दिनु पर्छ । पोको परेका पानीका बुँदहरु चिरिँदाखेरी आवाज आउँछ । त्यसमा संघर्ष हुँदा विद्युत निस्कन्छ र आगो बल्दछ भनेर स्थानीय उदाहरण दिएर जिज्ञासा मेटाइदिनु पर्छ । बच्चालाई नचाऔं, गाउन लगाऔं, त्यसैगरी पढाऔं । पढाइलाई बोझ नबनाइदिऊँ । उनीहरुलाई शैक्षिक सामग्रीबाट सिकाउने प्रयास गरौं । पुस्तकालयहरुमा जाने व्यवस्था गरिदिऔं । किताबहरु पढ्ने बानी विकास गरिदिन सक्नु पर्छ । किताबहरु बढीभन्दा बढी जुटाइदिने गर्नु पर्छ ।
बालमनोविज्ञान बुझौं
म बालकविता लेख्ने कवि । महाकवि पछि मैले बालकविता लेखँे । सबैले मबाटै सिकेका हुन् । बालकविता लेखेर मात्रै हुँदैन । बालकविता आदेशात्मक, धेरै जटिल भाषा, विज्ञता प्रकट गर्ने कुरा होइन । बालबालिकाको उमेरगत बोध क्षमताका आधारमा बालकविता लेखिनु पर्छ । बालकविता लेख्दा कवि पनि बालक नै बन्नु पर्छ । बालबालिककाको ग्रहण क्षमताका आधारमा कविता लेखिनु पर्छ । मेरो एउटा कविता छ ।

कुरा गर्दछन् कसरी भँगेरा र भँगेरी 
चुरवुर गर्छ भँगेरो चिरबिर गर्छ भँगेरी
चारा चर्न हुन्न है यता उतर नहेरी
एउटा आँखी तँ हेरी एउटा आँखो म हेरी
टप्प, टिप कनिका टिपि हालौ नहेरी
चुर्र गर्छु म फेरी भुर्र उड्नु त फेरी
जिल्ल पर्छ बिरालो हिस्स पर्छ बोहोरी
कति बाठो भँगेरो कति बाठी भँगेरी
यसले बालबालिकालाई म भनेको साना भँगेरा हुँ भन्ने आभास गराउँछ । ‘टप्प टिप’ शब्दले सर्तक हुन सिकाउँछ । चुर्बुर गर्छ भँगेरा भन्दा पुलिङ्ग शब्द महाप्राण बनेर आएको छ । चिर्बिर गर्छे भँगेरी भन्दा स्त्रीलिङ्ग जनाउँछ । एउटा आँखा त हेरी, अर्को आँखा म हेरी भन्दा चाहरा चर्न चनाखो बनेजस्तै बालबालिकालाई चनाखो बन्न कविताले पे्ररित गरेको छ । काम गर्दा, पढ्दा ध्यान दिएर गर्नु पर्छ भन्दा बालबालिकाले बुझ्दैनन् तर कविताले सरल भाषामा बुझाएको छ । हामीले बाठो बन्नु पर्छ भनेर हजार चोटी भनेपनि सिक्दैनन् । बाठो, सर्तक हुनुपर्दछ भनेर बालबालिकाले आफै बोध गर्छन् । मैले आफ्ना सन्तानलाई पनि यस्तै व्यवहार गरे । मैले बाधा गरिन के गर्दा उनीहरु प्रफुल्ल हुन्छन पढ्छन् त्यसै गरे । मैले वास्तवमा उनीहरुलाई हेरेर उनीहरुको बालमनोविज्ञान बुझेँ र बालकविता लेखेँ ।

प्रविधिले बराल्यो
पढाइबारे नभई अन्य क्षेत्रको सिनेमा हेर्नमा बालबालिका बरालिने गरेका छन् । बालबालिकाहरु नयाँ प्रविधिमा व्यस्त हुन थालेका छन् । टेलिभिजन, चलचित्र हेर्नमा मस्त हुन थालेका छन् । बालबालिका मात्रै होइन् कवि, कलाकार, शिक्षक, डाक्टर पनि प्रविधिमा बरालिएका छन् । फिल्म हेर्ने, मोवाइल चलाउने, कम्प्युटरमा झुम्मिने प्रवृत्ति बढ्दै गएको छ । प्रविधिमा समय खेर फालिरहेका छन् । पहिले पुस्तक पढ्थे । मनोविज्ञानमा आधारित शैक्षिक सामग्रीको विकास हुन जरुरी छ । खोज्ने, सिर्जना गर्ने बानी घट्दैछ । यसले व्यक्तित्व कुण्ठित हुँदैछ ।

भाषाको प्रचार भएन
हामीले हाम्रो भाषा, साहित्य पश्चिमाहरुलाई बुझाउन सकेनौं । स्तरीय हुँदाहुँदै पनि यी अन्तर्राष्ट्रियकरण हुन सकेका छैनन् । विदेशीलाई नेपाली भाष पढाए उनीहरुले नेपाली दर्शन बुझ्न सक्छन् । भाषाको संरक्षण र प्रचारप्रसार हुन जरुरी छ । पूर्वीय चिन्तनका कालीदासको साहित्य सिकाउनु प¥यो । अनुवाद गरेर सिकाउनु पर्छ । हामीले अंग्रेजी सिक्यौं नि । यसैगरी उनीहरुले पनि नेपाली सिक्छन् । ज्ञान जति बढ्यो भाषा पनि सिकिँदै जाने माध्यम हो । पहिले भाषा सिकेर पछि ज्ञान सिक्ने होइन ।

राष्ट्रकविका अक्षर अनुभूति

 धुलौटो कोरेर अक्षर सिकेँ
माटो छिन्किएर मसिनो बनाएर काठको पाटीमा राखेर बाँसको छेस्काले कोरेर मैले  अक्षर चिनेको हुँ । त्यतिबेला कपी कलम कहाँबाट पाउनु ! कपुरी ‘क’ खरायो ‘ख’ भन्दै  घोकेर अक्षर जानियो । गाउँकै सानाबाबाज्यू नाम भएका कुटी बनाएर जोगीबाट अक्षर  सिकेको हुँ ।

अक्षरमा परिवेश र संस्कृति झल्किन्छ
कपुरी क भन्दा आफ्नो संस्कृति झल्किन्छ । गाइगोडे ग भन्दा आफ्नो संस्कृति भयो ।  ग माने गधा भन्दा संस्कृति अर्को भयो । हाम्रो पद्धति लोप हुँदैछ । कपुरी क खरायो ख  नै भनेर सिक्नु पर्छ । आन्तरिक चेतनाबाट आउने हो अक्षर र आवाज । अक्षर  उच्चारण गर्दा अल्प र महाप्राण आउँछ । जुन ए बि सि डि छ, यसमा त्यस्तो छैन ।  यी क्रमिक पनि छैनन् । क्रमिक हुँदा सम्झिन पनि सजिलो हो । हाम्रा अक्षर सचित्र र  दिगो छन् । क मा टाउको निस्किएको, पुच्छर निस्किएको कति मिलेका छन् सिकाउन  । अक्षर र लिपी लोप नहोस् ।

हराएको ‘ह’
मलाई अन्य अक्षर चिन्न त खासै समय लागेन । ३÷४ दिनमा सिकेँ तर मलाई ह  अनौठो भयो । ‘ह’ अक्षर चिन्न मलाई गाह्रो भयो । म चलाख विद्यार्थी नै थिएँ । मैले  हरायो ‘ह’ भनेर ‘ह’ लाई चिनेँ । त्यसै क्रममा मैले अक्षर, लिपी र उच्चारण सँगसँगै  सिकेँ । सिक्ने क्रममा उट्पट्याङ् पनि आउँथ्यो । एकजना साथीलाई अक्षर सिक्न  ५/६ दिन लाग्यो भनेर हामीले यसलाई जिस्काउथ्यौं ।
आकार प्रेरित लिपी
हाम्रो लिपी आकार प्रेरित छ । त्यसको विम्ब आत्मसात गरे अक्षर चिनिन्छ ।  गाइगोडे ग भन्दा गाई नदेखेकाले त गाई सम्झन्छ । देखेकाले भने घरको माली गाई  सम्झन्छ । प चिन्न परेवालाई चिने भयो । परेवाकै जस्तो चुच्चो परेको घुमेको  चिटिक्क । ख भन्दा खरायो, घ भन्दा घर सम्झिने । आकार र अक्षर सँगसँगै सम्झन  सजिलो ।

 पृथ्वी घुम्छ भन्दा…
म शिक्षक हुँदा मैले विद्यार्थीलाई पृथ्वी घुम्छ भनेर पढाएँ । उनीहरुले घरमा गएर    बाआमालाई भनेछन् । पृथ्वी घुमिरहेको छ भनेर । तर उनीहरुको बाआमाले कहाँ पृथ्वी  घुम्नु, घुम्ने भए हिमाल दक्षिणतिर देखिनपर्ने भनेर उनीहरुको झाँको झारेछन् ।

लिपी छाड्न सकिएको छैन
हामी पहिलेभन्दा धेरै अगाडि बढिसक्यौं तर लिपीलाई छाड्न सकेका छैनौं । आगोको   आविस्कार भएपछि संसार धेरै अघि बढ्यो । तर लिपी हराएन । क ख ग घ भन्न      छाडेका छैनौं । शब्द, अक्षर र पद छाड्न सकेका छैनौं । हामी जहाँ पुगेपनि अक्षर  चाहिन्छ ।

मेरा साहित्यका गुरु
प्रारम्भमा एउटा र पछि अर्कै प्रभाव पर्ने रहेछ । मैले प्रारम्भमा लेखनाथ पौडेल र  लक्ष्मीप्रसाद देवकोटाको कविताहरु पनि पढेँ । पछि संस्कृतमा कालीदास पढ्दै जाँदाखेरीमा थोरै लेखेर पनि उनका रचना गम्भीर लाग्यो । रविन्द्रनाथ टेगौर धेरै लेखेर पनि राम्रा कविता लेख्ने । म नेपाल छउञ्जेल मेरो लेखाइ एकखालको थियो तर बनारस गएपछि त्यहाँ रविन्द्रनाथको हिन्दीमा अनुवादित कविताले प्रभावित भएँ । मलाई त्यहीबाट कविता यस्तो हुँदो रहेछ भन्ने लाग्यो । उनको प्रभाव मलाई प¥यो । अनुकरण र प्रभावमा भने धेरै फरक छ ।

नेपालको महिमा गाउने मान्छे
म नेपालको महिमा गाउने मान्छे भएकाले मलाई हाम्रै पाखा पखेरो नै प्यारो लाग्छ । मलाई डिभी भरेर विदेश गएको मन पर्दैन । बाहिरी देशमा बाँच्न मात्रै होइन, मर्दा पनि कहाँ–कहाँ मरे जस्तो लाग्छ । आफ्नै देशमा मर्ने इच्छा छ मलाई ।

आजको शिक्षा साप्ताहिकबाट

Comments

comments