लिलानाथ बस्याल
सुनसान रातमा सपना एउटा, नराम्रो देखेर ।
यो एउटा चिट्ठी पठाएँ सानु, हतारमा लेखेर ।।
यो भन्दा पहिले पठाको चिट्ठी, पायौ कि पाएनौ ?
चुहेको थियो खरको छाना, छायौ कि छाएनौ ?
घरी म रोएँ मखमली सम्झी, दिदीले उनेको ।
घरी म रोएँ गलबन्दी सम्झी, तिमीले बुनेको ।।
गएको महीना गाउँमा ठूलो, पहिरो आयो रे ।
बेंशीको हाम्रो धान रोप्ने खेत, खोलाले खायो रे ।।
लकडाउनको बेला आमाको दबाई, पायौ कि पाईनौ ?
नछुटाई तिमीले प्रेसरको दबाई, खायौ कि खाईनौ ?
पसलको साहुले उधारो चामल, दिए कि दिएनन ?
घरबेटी बाले कोठाको भाडा, लिए कि लिएनन ?
घाँसको डोको बोकेर सार्थक, वनमा गएछ ।
बोडिङ्गमा पढ्ने रहर उसको, त्यत्तिकै भएछ ।।
बिचरा सुलभ म पढ्न जान्छु, भन्छ कि भन्दैन ?
आएनन् बाबा भनेर औंला, गन्छ कि गन्दैन ?
सम्झन्छु खाली तिमीले थोत्रो, पछेउरी धोएको ।
म हिंडे पछि आँगनको डिलमा, बसेर रोएको ।।
लकडाउनको बेला छोरी र तिमी, बिरामी थियौ रे ।
बिहेको औंठी तिलहरी बेची, औषधि लियौ रे ।।
कम्पनी बन्द काम पनि बन्द, तलव नि आछैन ।
पाइन्छ कि पाईन्न आफ्नो घर जान, त्यो पनि था छैन ।।
सकियो पैसा बन्द भो कमाई, सकियो रासन ।
अर्काको देशमा हाम्रो के सुन्थे, अर्कैको साशन ।।
नेपालमा काम नपाउँदा केही, विदेसमा पसियो ।
गरिवलाई सुख रहेनछ कँहि , दु:खमा फसियो ।।
विरानो देशमा जिन्दगी बित्यो, अर्काको वशैमा ।
लकडाउन खुले फर्केर आउँछु, यही आउने दशैंमा ।।
खानीगाउँ, पाल्पाका सर्जकले विभिन्न विषयमा लेख, रचना, कविता लेख्नुहुन्छ ।