काव्यबिम्ब परिचय र प्रकार

NARAYAN (5)

पं.नारायण देवकोटा

विशेषतः साहित्यिक सन्दर्भमा बढी प्रयोग हुने बिम्ब शब्दको खोजी गरी यसका बारेमा जनाकारी राख्नु सम्बन्धित क्षेत्रका अध्येता, जिज्ञासु एवम् भाषा साहित्यका विद्यार्थीको धर्म नै हो । यद्यपि बृहत् अनुसन्धान र गहन अध्ययनको संभावना बोकेको प्रस्तुत विषय सन्दर्भमा यो अल्प प्रयासलाई केवल झिनो उठानको सङ्केत मात्र मान्न सकिन्छ ।

संस्कृतको ‘वन्’ धातुमा ‘वी’ उपसर्ग लागि बनेको ‘बिम्ब’ शब्द ल्याटिन भाषाको ‘इमोजिनम’ र इमिटरी’ हुँदै अङ्ग्रेजीमा आउँदा ‘इमेज’ बन्न पुगेकाको रुपान्तरण हो । यसलाई संस्कृत, हिन्दी, र नेपाली कोशहरूले प्रतिमा, मूर्ति, छाया, प्रतिच्छवि, चित्र, उपमान परिधि आदि अन्य थुप्रै अर्थ दिएका छन् भने अङ्ग्रेजीका शब्दकोश, विश्वकोश र साहित्य कोशहरूले पनि मुखुण्डो, चित्रात्मक प्रस्तुतिको कला, शब्दचित्रात्मक भाषा, जटिलता सम्प्रेषणको माध्यम, भाव वा विचारको आकृतिलाई ठोस र वस्तुगत बनाउने यन्त्र आदि भनेका छन् ।

पूर्वको ‘ऋग्वेद’ र पश्चिमको ‘गिल्गामेस’, ‘इलियड’ र ‘ओडिसी’ आदि काव्यदेखि नै बिम्ब विधानको उत्कृष्ट नमुना पाइन्छ । यद्यपि यसलाई काव्यको अनिवार्य घटक तत्त्व मानी सचेतना पूर्वक साहित्यक आन्दोलनका रुपमा अघि बढाउने काम भने बिसौं शताब्दीको प्रारम्भबाट मात्र थालियो । स्वच्छन्दतावादी भावुकता र कल्पनाको वायवीय उडान अनि प्रगतिवादी अतिरञ्जनाको विरुद्ध साहित्यिक सिर्जना र आलोचनाका क्षेत्रमा एक प्रकार पृथकताको खोजी गर्ने सन्दर्भमा कविहरूले आफ्नै भावनाबाट सिर्जित क्लिष्टताहीन वस्तुबिम्बताहरूको प्रयोग हुनु पर्दछ भन्ने मान्यताका साथ सन् १९०८ मा एस.एफ. फ्लिन्टको सहयोगमा टी.ई. हुल्मेले बिम्बवादको प्रथम घोषणा पत्र तयार गरे । उनका यस किसिमको अवधारणालाई मूर्त रुप दिई बिम्बलाई काव्यको अनिवार्य घटकका रुपमा चिनाउँन अन्य केही साहित्य सर्जक तथा विचारकहरू पनि आफ्ना रचनामार्फत् अघि बढ्न थाले । यसै क्रममा सन् १९१२ तिर यज्रा पाउण्डले हुल्मेद्वारा प्रतिपादित प्रथम घोषणा पत्रलाई केही परिमार्जन, परिवर्तन र संशोधन गरी बिम्बवादको दोस्रो घोषणा पत्र प्रकाशित गरे । उनकै नेतृत्वमा सन् १९१४ मा ‘द इमेजिस्ट एण्ड एन्थोलोजी’ र ‘क्यान्टोज’ ले बिम्बवादी आन्दोलनलाई उत्कर्षमा पुर्याउन ठुलो योगदान दियो । टी.एस. इलियट, एडवर्ड स्टोरर, एमी लोवेल, लरेन्स, ल्याफर्ग, अल्गिटन, जेम्स ज्वाइस आदि स्थापित र नव प्रतिभाहरू बिम्बवादको मान्यता अनुरुप आफ्ना काव्य रचनामा देखापर्न थाले । विभिन्न विचारकहरूले आआफ्नै तर्क र बुद्धिद्वारा बिम्बलाई चिनाउने क्रम बढ्न थाल्यो ।

निष्कर्षतः के देखियो भने प्रस्तुतको माध्यमबाट अप्रस्तुतको, मूर्तका माध्यमबाट अमूर्तको तथा अप्रस्तुतका माध्यमबाट प्रस्तुतको चित्रण गर्ने सम्मूर्तनपरक लेखन शैली नै बिम्ब हो अर्थात् चित्रात्मक भाषाको प्रयोग गरी निर्माण गरिएको शब्दचित्र बिम्ब हो जसले कुनै पनि वस्तु, भाव, घटना, परिदृश्य, अनुभूति, स्वभाव, आवेग, विचार आदिको पुनःसिर्जन गर्दछ साथै यसले शब्दचित्रका रुपमा प्रकट हुने सजीव, सुन्दर, मनोरम एवं सरस मानस प्रतिच्छविलाई ऐन्द्रियिक, स्पर्शी र रागात्मक तथा आवेग तत्त्वको साहचर्य प्राप्त गरी काव्यिक ऊर्जा ग्रहण गराउँदछ ।

काव्यको अनिवार्य रुपमा रहेको बिम्ब वर्गीकरणका सम्बन्धमा विद्वान्हरूका बिच फरक धारणा पाइन्छ । बिम्बको सूक्ष्म वर्गीकरणमा प्रायः सबै विचारकहरूको धारणागत सामिप्यता देखिए पनि ठोस वर्गीकरणमा फरक मत छ । जस्तै : लेविस कलानुभूतिको सामथ्र्यका आधारमा बिम्बलाई सजीव र निर्जीव गरी दुई भागमा बाँड्छन् । रविन स्केल्टन सरल, संयुक्त, मिश्रित, प्रतिभाशून्य, प्रतिभाशून्य संयुक्त, तात्कालिक, विशृङ्खल, रुपात्मक र लाक्षणिक भन्दछन् । घ्राण, स्वाद, ध्वनी र चाक्षुस गरी बिम्बलाई चार भागमा बाँड्नु पर्छ भन्ने जे.आर. क्रेन्जरको धारणा छ । हेनरी वेलेकको तर्क बिम्ब आलङ्कारिक, लुप्त, उग्र, मूलाश्रयी, तीक्ष्ण, विस्तारमूलक र समृद्ध हन्छ भन्ने छ । आई.ए. रिचर्डस् दृश्य, सम्बद्ध, मुक्त, अभ्युदेशन, संवेग र अभिवृत्तिलाई बिम्बको प्रकार भन्छन् । नागेन्द्र ऐन्द्रिक, लक्षित र उपलक्षित, सरल, संश्लिष्ट, खण्डित, समकलित, वस्तुपरक र स्वच्छन्द भनी बिम्बको वर्गीकरण गर्दछन् । त्यस्तै कुमार विमल काव्येत्तर, उदात्त आदि पाँच प्रकार, केदारनाथ निर्वैयक्तिक, पश्यन्ति आदि तिन प्रकार, रमेश कुन्तक मिथकीय, धार्मिक आदि तिन प्रकार भनी छुट्याउँछन् । यसरी बिम्ब वर्गीकरणका सम्बन्धमा अन्य थुप्रै विद्वान्हरूका आआफ्ना धारणाहरू रहेका छन् ।

काव्यमा निहित बिम्बलाई समसामयिक र यथार्थ, पारदर्शी, प्रतीकात्मक, यौन, छायात्मक, निजन्धरी र लोक, वैदिक⁄औपनिवेशिक, यातुधार्मिक, ब्राह्मण्ड, किमाकार, स्मृति, शिशु, घनात्मक, ग्राम्य, साँस्कृतिक, स्वप्न, आलङ्कारिक, व्याकरणिक, गणितीय, सरल, मिश्रित वा संश्लिष्ट, क्रान्ति, प्रणय, निजी तथा काव्य रचनामा निहित दार्शनिक चिन्तन (स्वच्छन्दतावादी वा रुमानी, आध्यात्मिक, यान्त्रिक, यथार्थवादी आदि) आदि भेदोपभेदका रुपमा वर्गीकरण गरेको पनि पाइन्छ ।

उपर्युक्त धारणाहरूलाई आधार मानी समग्रतः बिम्बका प्रकारहरूलाई सामान्यतया ऐन्द्रियिक अनुभूति प्रक्रिया (दृश्य, श्रव्य, स्पृश्य, घ्रातव्य र आस्वाद्य), विषय र तज्जन्य स्रोत (पौराणिक वा मिथकीय, ऐतिहासिक, भौतिक, जैविक, प्राकृतिक, वानस्पतिक, मानवीय, अति मानवीय आदि) तथा रचना प्रक्रिया (स्थिर र गतिशील) र वैचारिक आधारमा छुट्याउनु उपयुक्त देखिन्छ ।

यसप्रकार निष्कर्षमा के भन्न सकिन्छ भने बिम्ब भनेको प्रस्तुत ÷अप्रस्तुतका माध्यमबाट प्रस्तुतको छवि दिलाउने सम्मूर्तनपरक निश्चित भावचित्रात्मक लेखन शैली हो । ऐन्द्रियिकता, कल्पना, प्रेरक अनुभूति, काव्यदृष्टि, मिथकीयता, कलात्मकता, सादृश्य आदि बिम्ब वर्गीकरणका आधारहरू हुन् । यो काव्यको अनिवार्य तत्त्वका रुपमा रहेको हुन्छ । इन्द्रिय संवेदनाको क्षमता, यसले रोजेको प्रवृत्ति र प्रकृति, स्वरुप, संरचना, आदिका आधारमा काव्यलाई प्रभावोत्पादक र सशक्त बनाउने तत्त्वका रुपमा रहेकाले बिम्बको खोजीनीति र महत्त्वलाई काव्य चिन्तन, मनन्, सिर्जन र विश्लेषणका गर्दा नजर अन्दाजको भरमा होइन सत्यान्वेषणमा पुग्नु अनिवार्य छ ।

(लेखक त्रि वि मा अनुसन्धान तहमा विद्यार्थी हाल स्यामेवाङफेल उच्चमावि स्याफ्रुबेँसी रसुवामा अध्यापनरत हुनुहुन्छ । )

Comments

comments