किन च्याँखे थापिँदैछ देशलाई ?

Yadav-devkota

यादव देवकोटा

मैले मेरो महान् राष्ट्रलाई मुटुमा राखेर
मनखुशी जिन्दावाद  ! भन्न किन नपाउनु ?
मैले मेरो राष्ट्रका कुलंगारहरुका विरुद्ध
मुठ्ठी उठाएर मुदार्वाद ! भन्न किन नपाउनु ?
-कृष्ण सेन ‘इच्छुक’

देशलाई अतिविघ्न माया गर्ने कवि कृष्ण सेन प्रहरी हिरासतमा कुटीकुटी मारिए । नमीठो संयोग, उनलाई मारिँदा कांग्रेसी नेता शेरबहादुर देउवा प्रधानमन्त्री थिए ।

फेरि पनि संयोग, उसैगरी दुखान्त बोकेर उभिएको छ, कृष्ण सेनले कवितामा अधिकतम सम्बोधन गर्ने चन्द्रागिरी पहाडको छेवैबाट फैलन लागेको फास्टट्रयाकको ठेक्का भारतलाई दिन देउवा क्याम्पका विश्वासिला नेता विमलेन्द्र निधि पुरै तागत लगाइरहेका छन् ।
संयोग, भारतीय कम्पनी इन्फ्रस्टक्चर लिजिङ्ग एण्ड फाइनान्सियल सर्भिसेज लिमिटेडको नेपाली एजेन्ट देउवाकै नातेदार हुन्, समाचारहरु भन्छन् ।

फास्ट ट्रयाकको ठेक्का भारतीय कम्पनीलाई नै दिने अन्तर्यको खुला तथ्य भन्छ- तत्काल ३२ अर्ब मिलिभगतमा नेपाली राज्यकोषबाट हात पार्ने र भविष्यमा नेपाली राज्यकोषबाट मासिक अरबौं सलामी दिने । जस्तो कि सिन्धुलीमा हारेका इष्ट इण्डिया कम्पनीका कप्तान किनलकले बारा, पर्सा, रौतहटमा पुगेर प्रतिवर्ष १४ हात लामो हात्ती बुझाउन बाध्य बनाए । ती क्षेत्रबाट १४ हात लामा हात्तीहरु निख्रिए ।

किनलकहरुको उपनिवेशको स्कुलिङ्गको अमिट छापमा हुर्किएका नयाँ कम्पनी मालिकहरुलाई गरिब नेपालीले तिरेको तिरोबाट न्यूनतम राजश्वको भपाई गर्दा कुनै दिन नेपाली राज्यकोषले हिजोको १४ हाते हात्तीको नियति भोगेर नील हुन कुनै आइतवार पर्खिनुपर्ने छैन । भन्नुपरेन, देशको राज्यकोषमाथि मार हान्ने यस्तो राष्ट्रद्रोही सम्झौता गर्न तीब्र छटपट्टी प्रदर्शन गर्ने सरकारका प्रधानमन्त्री कांग्रेसका सभापति सुशील कोइराला छन् ।

नाकाबन्दीबारे मौन

दास प्रथा उन्मूलन भएको धेरै भयो । नेपालमै पनि । १९८० मंसिरमा चन्द्र सम्शेरले घोषित रुपमा दासप्रथा खारेज गरे पनि अघोषित दासप्रथा अद्यावधि कायमै छ भारतले नेपालमाथि गरेको ‘अघोषित’ नाकावन्दी जस्तै । हामीकहाँ दासप्रथा छैन भन्नेहरु पनि निस्कने नै छन्, नेपाल सरकारका प्रवक्ता मिनेन्द्र रिजालले नेपालमाथि भारतको नाकावन्दी छैन भने जस्तै ।

पराईको दास भएपछि देशका जनताको जीवन उकुस मुकुस हुँदा पनि नाकावन्दी भएको देखिन्न, स्वीकार्ने नस्वीकार्ने बेग्लै कुरा । संयोग, मिनेन्द्र रिजाल कांग्रेसी नै परे ।

असोजको महिना तनावको भुंग्रोबाट गुज्रिएको छ, देशको जनजीवन अप्ठेरो मोडमा उभिएको छ । तेलका पम्पहरुमा रातभरि दिनभरि लाम लागेको छ । ग्यास नपाएर होटलदेखि नागरिकको नियमित लय भत्किएको छ । सार्वजनिक सवारी साधनहरु थन्क्याइएका छन् । यसो किन भइरहेको छ, राज्य मौन छ, प्रधानमन्त्री जनताले महशुस गर्नेगरि कहीँ पनि सुनिएका छैनन्, देखिएका छैनन् । बरु देशमा यत्रो हाहाकार हुँदा मौन छन् ।

के कारणले नागरिकले यस्तो भुक्तमान बेहोर्नु परेको हो, लोकतन्त्रवादी भनिएको पार्टी प्रमुख समेत रहेका प्रधानमन्त्रीले यो कुरा औपचारिक रुपमा नागरिकलाई बताउन जाँगर देखाएका छैनन् । न त देशमा नागरिकको जीवनको नियमित लयको पटरी भत्किँदासमेत समस्याबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिन आवश्यक ठान्छन् । न विकल्प खोज्छन् । दुखद संयोग, कोइरालाजी कांग्रेसी नै हुन् ।

जनता जनार्दन उसै पनि संविधान नामको कागजको थुप्रोमा सार्वभौमसत्ता सम्पन्न नागरिकको पदवीले विभूषित भएको हर्ष बढाईमा दिपावली गर्दैमा ब्यस्त छन् । नत्र त ती सरकारसँग समस्याको सत्य माग्दै उत्रिनुपर्ने सडकमा । देशको बाँकी भेगमा उठेको असन्तोषको समाधान खोज र देशलाई एकताबद्ध बनाउ भनेर हिमाल, पहाडले बोल्नुपर्दैन ? चार दर्जन मारिँदासम्म कसरी सन्तोषसँग निदाउन सकेको हामी ? तराईमा बसोवास गर्ने फरक रंगको छालाका मानिसहरुलाई अराष्ट्रिय करार गरेर यो देशको राष्ट्रवादको चुलो कहिलेसम्म तातिरहन्छ ?

फेरि पनि यो फरक कुरो हो, तराईका सिमान्त मानिसहरुको नाममा सत्ता र भत्ता थापेर जीवन उजिल्याएका त्यहाँका नवआगन्तुक जमिन्दार र सामन्तहरुको प्रेमको सूचीमा दिल्ली नै पहिलो नम्बरमा छ । काठमाडौं त छैन नै, स्वार्थको रोटी सेकाउन उपयोग गर्न बाहेक तिनको प्रेमको सूचीमा तराईका सिमान्त मानिसहरु पनि छैनन् । भए, तराईका भूमि सन्तानहरुमाथि दागा धर्दै अंगीकृतहरुलाई प्रदेशको सांसद, मन्त्री, मुख्यमन्त्री, केन्द्रीय मन्त्री, प्रधानमन्त्री बनाउनुपर्ने पराया मागपत्र बोकेर उनीहरु भारतीय भूमिमा बसेर नेपाली सुरक्षाकर्मी र नागरिकमाथि किन ढुङ्गामुढा गर्छन् ?

तराईमा बसोवास गर्ने फरक रंगको छालाका मानिसहरुलाई अराष्ट्रिय करार गरेर यो देशको राष्ट्रवादको चुलो कहिलेसम्म तातिरहन्छ ?

दुखद कुरा, भारतीय भूमि प्रयोग गरेर नेपाली सुरक्षाकर्मीमाथि हमला भइरहेको छ । तराईका नागरिकहरु दशगजा पारि भोजभतेर खुवाएर सञ्चालन गरिएका मानिसहरुको आक्रमणमा परेको समाचार आइरहेकै छन् । सरकार बोलिरहेको छैन ।

भूपरिवेष्ठित देशमाथि आफ्नो स्वार्थ लागु गराउन नाकावन्दी लादिएको छ । तराई र पहाडका आफ्ना प्यादाहरु उचालेर नागरिकको दैनिक जीवनको श्वास नली अठ्याइएको छ ।

राष्ट्रसंघीय वडापत्र, अन्र्तराष्ट्रिय कानुन, भूपरिवेष्ठित राज्यहरुको पारवहन हकहरुमाथि बलात् हमला भएको छ र अन्र्तराष्ट्रिय कानुनको धज्जी उडाएको छ भारतले । यसलाई कुटनीतिक च्यानल समातेर अन्र्तराष्ट्रियकरण गरिनुपर्ने । विश्वभरका प्रतिनिधि भेला भएको राष्ट्र संघीय महासभामा गएर हाम्रा उपप्रधानमन्त्री प्रकाशमान सिंह भारतलाई उल्टो धन्यवाद दिएर आउँछन् । यति देखेपछि कसले भन्छ दासप्रथा उन्मुलन भयो । त्यसले अघोषित रुप धारण गर्यो होला, बेग्लै कुरा हो । संयोग उपप्रधानमन्त्री सिंह कांग्रेसकै नेता हुन् ।

नालापानी र असोज

हामी धेरैलाई नालापानीको कथा कष्ठस्थ छ । मेजर जनरल रोलो रोवर्ट जिलेस्पी र मेजर जनरल मार्टिन्डेजका दश हजार बन्दुक  र २० वटा तोपबाट लैस सोह्र हजार पाँच सय अंग्रेज फौजसँग अक्टोवर ३१, १८१४ मा बलभद्र कुँवर, रिपुमर्दन थापा नेतृत्वको ५० नाल बन्दुक, खुकुरी, भाला र ढुङ्गा बोकेको ६०० नेपालीहरुले नालापानीमा लडेको । जनरल जिलेस्पी मारेको । तीनदिनसम्म एकथोपा पानी नखाइ लडेको र  पानीमा समेत नाकावन्दी गरेपछि बाध्य भएर नालापानी छाडेर निस्कनुपरेको हो ।

यो महिना उसै पनि अक्टोवर नै हो । इतिहासको नियती उही नै छ, हिजो पानी रोकियो आज तेल, ग्यास, खाद्यान्न रोकिएको छ । हिजो पानीले ज्यान जान्थ्यो, आज बाँकी कुराले । नेपाली फौजले अंग्रेजसँग हार्नुपर्नाका कारणबारे नेपाली सेनापति अमरसिंह थापाले भनेकै हुन्-‘विकट पहाडबाट हतियार, रासन र सहयोग समयमै युद्ध किल्लाहरु समक्ष पुर्‍याउन नसक्नु । बाटोघाटो नहुनु । सञ्चार सुविधा नहुनु ।’ तीनको आशय थियो, हिमालयतिर बाटो बनाउ । हामीले सिकेनौं । पहाड र उत्तरतिर फैलिएको सीमातिर खच्चड हिँड्ने बाटो पनि बनाएनौं ।

भूइँचालो गएको ६ महिनासम्म चीनतिरका नाकाहरु खोलेनौं । अहिले देखियो, एक सातामै बाटो खुलाउन सकिने रहेछ, किन खोलिएन ६ महिनासम्म ? सडक विभाग र सम्वद्ध निकायकै कर्मचारीले भनेकै छन्-अर्थमन्त्रालयले प्रर्याप्त बजेट दिएन । भारततिरका नाकानाकामा फराकिला सडक पुर्‍याइएका छन्, चीनतिरको नाकामा ट्याक्सी पनि लड्ने साँघुरा रेखाचित्र कोरिएका छन्, मर्मत भएका छैनन् । सडक विस्तार र व्यवस्थापनका लागि आवश्यक बजेट दिइएको छैन । अहिले चीनसँग तेल ल्याउने विकल्पमा अर्थमन्त्री नै अनिच्छुक देखिएका छन् । ०४८ पछि दुई तिहाइ समय नेपालको अर्थमन्त्री रहेका महतले हिमाली नाकातिरको सडकको अवस्था सुधार्न लगाएको बजेटको अघोषित नाकाबन्दीको परिणाम आज हाम्रो सामु छ  । संयोग, महतजी पनि कांग्रेसी नै हुन् ।

भदौ ३१ गते भनिएपनि ढोकाटोलअघिको कोतमा कत्लेआम हुँदा असोज महिनाको पर्दा खुलिसकेको थियो । उसैपनि गगनसिंह खवासको हत्या हुँदा भदौ ३१ को साँझ परिसकेको थियो । कोतमा कचहरी बसेर हुलहुज्जत हुँदै फत्तेजङ्ग शाह, वीरकेशर पाँडे, अभिमानसिंह रानामगर लगायत दर्जनौंको कत्लेआम गरेर नेपालको राजनीतिक इतिहासको लय मोड्दा असोज १ उदाइसकेको थियो । त्योभन्दा पहिल्यै विसं १८२५ मा पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजयी हमलाको तिथि असोज महिनामै पारेका थिए । असोज १४ मा उनले काठमाडौं जितेपछि, भन्नुपरेन, नेपालको पुरातन इतिहास मात्रै फेरिएन, यसको नक्सा नै फेरियो ।

किन तराईको असन्तोष सल्ट्याउन कांग्रेस नेतृत्वको सरकार गम्भीर छैन ? त्यसैलाई देखाएर लगाइएको नाकावन्दीको बिकल्प किन खोजिरहेको छैन ?

कोशिसहरु हेर्दा देखिन्छ, असोजकै महिना छानेर अहिले फेरि नेपालको इतिहास र नक्सा नै फेर्न सकिन्छ कि भन्ने परायाहरुको प्रयास प्यादा मार्फत सतहमा उतारिएको छ । कोतपर्व मच्चाउन जंग बहादुरसँग ३०० असर्फी ‘सुपारी’ लिएर गगनसिंह खवासको हत्या गर्ने लाल झाका नयाँ अवतारहरु आज भारतीय भूमिमा भतेर खाँदै नाकावन्दीमा उत्रिएका छन् ।

ज्ञानेन्द्र शाहले निर्वाचित संसद विघटन र संसदबाट निर्वाचित प्रधानमन्त्री बर्खास्त गरेर सत्ता कब्जा गर्न असोजकै महिना रोजेका थिए । अहिले पनि असोजै छानेर निर्वाचित ब्यवस्थापिका संसद विघटन समेतको योजनाबद्धता अघि सारिएको छ । त्यसका लागि दासप्रथा अमलेख गरी भिक्षाखोरी जंगल फडानी गरेर दासबाट अमलेख भएका मानिसहरु बसाइएको अमलेखगञ्ज दक्षिणतिर प्रायोजन गरिएको नाकावन्दी र तनावलाई साम्य पार्ने बहाना गरिएको छ । प्रष्ट बुझिन्छ, अनेकन योजनावद्धताको खालमा नेपाल र नेपाली जनतालाई च्याँखे थापिएको छ । जितौरी पाइने आशले खालमा झुम्मिएकाहरुले मार्रा भन्दै खाल सोहोरेर गाजीमा भर्दा बल्ल आफू रमिते बनेको भेउ पाउनेछन्, तर ढिलो भइसकेको हुनेछ ।

अँ, सत्ताको खाल चलेको छ । दशैं तिहारमा कौडा हान्ने चलनै हो । ती चाड नजिकिएकाले होला सत्ताको खाल कसले उठाउने भनेर मारमुङ्ग्री शुरु भएको छ । संकटको राष्ट्रिय घडीमा आफ्ना प्यादाहरुमार्फत् लोकतन्त्रको सत्तापक्ष र प्रतिपक्षको कोरस फलाक्न लगाइएको छ । सहमतीय सरकारलाई रहरलाग्दो गीत भनाउन लागिएको छ र जितौरी दिने आशा देखाइएको छ । हिजोका सहमतिहरु तोड्न उचालिएको छ । दुःखद संयोग यसरी उचालिनेमा प्रधानमन्त्री कोइरालाकै पार्टी कांग्रेस अगाडि उभिएको छ ।

अब सोध्नुपर्ने भएको छ-अनेकन हण्डर र घुम्तीहरु पार गर्दै यहाँसम्म आइपुगेको कांग्रेस किन आफ्नो स्थापनाकालको ‘अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस’ नामलाई फेरि गम्भीर भएर सम्झिनुपर्ने अवस्थामा पुर्‍याउँदैछ नागरिकहरुलाई ? किन दलहरुको सहमति लत्याएर देशलाई नै सत्ताको च्याँखेमा थाप्न उद्यत छ ? किन तराईको असन्तोष सल्ट्याउन कांग्रेस नेतृत्वको सरकार गम्भीर छैन ? त्यसैलाई देखाएर लगाइएको नाकावन्दीको बिकल्प किन खोजिरहेको छैन ? यस्तो चरम शंकटको घडीमा दलहरुबीचको एकता भत्काउने प्रेरणाको अन्तर्य के हो ?

विश्वास गरौं, यावत सवालहरुलाई असत्य सावित गर्न कांग्रेससँग अझैं पनि अनेकन् विकल्पहरु छन् ।

 

Comments

comments