कुटपिट पछि २४ वर्षीय छिरिङ तामाङको मृत्यु

Chhiring

काठमाडौंको तार्केश्वर नगरपालिका–५ गोलढुङ्गामा स्थानीयको कुटाइबाट डेरामा बस्ने युवाको मृत्यु भएको छ । रसुवा स्थायी घर भइ गोलढुङ्गामा सोबास गर्दै आएका २४ वर्षीय छिरिङ तामाङकाे मृत्यु स्थानीयको कुटपिटबाट भएको हो ।

रक्सी सेवन गरेर राति हल्लाखल्ला गर्दै डेरातर्फ जाँदै गरेका छिरिङ र रसुवा घर भएका उनका साथी दोर्जे तामाङमाथि स्थानीयले चोर भन्दै आक्रमण गरेका थिए । राति साढे १ बजे स्थानीयको कुटपीटबाट अत्याधिक रगत बगेपछि छिरिङको घटनास्थलमै मृत्यु भएको बालाजु वृतका प्रमुख डीएसपी रन्जित सिंह राठौरले जानकारी दिए । घटनाको जानकारी पाए लगतै प्रहरी राति नै घटनास्थलमा पुगेको थियो ।

काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले भने, ‘उनीहरु गोलढुङ्गामा पुग्दा कुकुर भुकेछ । कुकुर भुकेपछि उनीहरुले घरबेटीलाई गाली गर्न थालेछन् । त्यही क्रममा चोर भन्दै टोलका व्यक्तिहरुले आक्रमण गरे । आक्रमणमा छिरिङको मृत्यु भयो । उनीहरु चोर्न पुगेका थिए वा अरु कारण थियो, अनुसन्धान गर्दैछौं ।’ घटनाबारे अनुसन्धानका लागि दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको ज्ञवालीले जानकारी दिएका छन् ।

Comments

comments