कृषिमा क्रान्ति नेपालको विकासको आधार

Muna

दिपा तामाङ
नेपाल एक भूपरिबेष्ठित देश हो । क्षेत्रफलमा सानो भएतापनि प्राकृतिक सौन्दर्यले सजिएको र पर्यटकीय दृष्टिले विश्वसामु निकै परिचित छ । नेपाल जम्मा ८ डिग्री देशान्तर र ४ डिग्री अक्षांश बीचको अन्तरमा अवस्थित छ तर पनि यहाँको हावापानी,जीवजन्तु तथा वनस्पत्तीमा अथाह जैविक विविधता रहेको छ । भौगोलिक क्षेत्र र हावापानी अनुसार विभिन्न प्रकारको बाली,अन्न, फलफूल तथा तरकारी उत्पादन हुन्छ । प्राचीन कालदेखि अहिलेको आधुनिक युगसम्म आइपुग्दा हाम्रो देश कृषि प्रधान देश हो । बिभिन्न कारणले कृषिबाट देशले लिन सक्ने फाइदा पनि लिन नसकेको  तितो यथार्थ हामी माझ अवगत नै छ ।
कुल जनसंख्याको आधाभन्दा बढी मानिसहरू कृषिमा आवद्ध छन् तैपनि वि.सं.२०६८ मा गरिएको सर्वेक्षणअनुसार ४४ प्रतिसत कृषक परिवारलाई मात्र आफ्नै कृषि उपजले खान पुग्ने तथ्यांकले देखाउँछ । अझै ५६ प्रतिसत कृषक परिवारलाई कृषि उपजले खान पुग्दैन । अन्य आधारभूत तथा अतिरिक्त आवश्कताहरू परिपूर्ति त “आकाशको फल आँखा तरि मर” भने छ । आ.व.२०७६/०७७ मा देशको कुल गर्हस्थ उत्पादनमा कृषिको योगदान २७.५९५ रहेको छ जुन अन्य क्षेत्रको भन्दा ठूलो योगदान हो । कुल कृषि योग्य भूमि नेपालमा २६ लाख ४१ हजार हेक्टर रहेको छ भने १७ लाख ६६ हजार हेक्टर भूमिमा सिंचाइ सुविधा पु¥याउने सम्भावना रहेको छ र पनि यो अपार सम्भावनाको प्रचुर उपयोग नगर्नाले आज भारतबाट दैनिक करौडौंको खाद्यान्न आयात गर्नुपर्ने आफ्नो खेतबारी छोडेर जिवीकाको लागि खाडी मुलुकमा जानुपर्ने बाध्यता आशा बोकी गएकाहरू कति त बाकसमा प्याक भएर फर्कनु परेको जस्ताे  हृदय नै छियाछिया बनाउने घटनाहरू हाम्रै वरपर अनगिन्ती छन् । यदि निर्वाहमुखी कृषिलाई आधुनिकीकरण र व्यवसायिकरण गरी कृषि क्रान्ति नेपालमा सुरुआत गर्ने हो भने यस्ता समस्याहरू समाधान हुँदै जानेछन् । 

कृषिको आधुनिकीकरण,व्यावसायीकरण र यान्त्रिकरणमार्फत आगामी १० वर्षभित्र कृषिको दिगो विकास गरि कृषिमाआत्मनिर्भर बन्ने योजना साथ आ.व.२०७७/७८माविनियोजित बजेट ४१ अर्ब ४० करोड रहेको छ । उक्त बजेटको सदुपयोग पूर्ण रुपले गरेमा,झन्डै १० लाख हेक्टर बाँझो खेती योग्य भूमिको उचित उपयोग गरेमा, वैदेशिक रोजगारबाट फर्केकाअनि स्वदेशमै रहेका युवाशक्तिलाई उचित ज्ञान,सीप, तालिम र प्रोत्साहन साथ परिचालन गरेमा, सम्पुर्ण युवाशक्तिको पनि सक्रिय सहभागिता रहेमा, उन्नत जातका बीउ बिजन कृषकहरूलाई वितरण गरेमा, उचित सिंचाई सुविधाको व्यवस्था भएमा,आधुनिक प्रविधिको प्रयोग गरेमा, माटो र हावापानीअनुकूल खेती गर्न वैज्ञानिक खोज अनुसन्धान र परीक्षण गरेमा, एक  विद्यालय एक उत्पादन अभियान सञ्चालन गरेमा,एक  वडा एक कृषि सहकारी व्यवस्था गरेमा साथै कृषि सम्बन्धि उच्च शिक्षा हाँसिल गर्न  विद्यार्थीलाइ पूर्ण छुट वा प्राेत्साहनकाे व्यवस्था गरेमा नेपालमा कृषि क्रान्ति सम्भव निश्चय नै छ भन्ने कुरामा दुई मत छैन ।
विश्वव्यापी सर्वेक्षणअनुसार देशको गरिबी न्यूनिकरणमा अन्य क्षेत्रभन्दा कृषि क्षेत्र ४ गुणा बढी प्रभावकारी हुन्छ भनिएको छ । यो कुरा नेपालको लागी अत्यन्तै सान्दर्भिक र फाइदाजनक छ किनकी कृषिमा आधुनिकीकरण र व्यवसायिकरण साथै यससँग सम्बन्धित व्यवसाय अनि उद्योेगहरूको वृद्धि विस्तार औद्योगिकरण भन्दा बढी वातावरणमैत्री हुन्छ । जुनसुकै महामारी वा विपत्ती आइपरे तापनि खानलाई त त्यही कृषि उपज नै अत्यावश्यक हुने भएकोले बजार नपाइएला अनि व्यापार घाटा होला भनेर चिन्तित हुनुपर्दैन । अन्य देशहरू प्रायः औद्योगिकरणको कारण नै विकसित छन् र उनीहरूले थोरै जमिनमा विषादीहरूको प्रयोग गरी धेरै उत्पादन गर्छन् जसले मान स्वास्थ्यमा समेत नकारात्मक असर गर्छ । यो दीर्घकालीन हुन सक्दैन त्यसैले यही मौकामा हाम्रो देशले अन्य उद्योगहरूको विस्तारभन्दा पनि प्रचुर मात्रामा अर्गानिक कृषि उत्पादनमा अनि यसैसँग सम्बन्धित उद्ययोगहरूको विस्तार गर्नुमा बुद्धिमानी हुन्छ ।

रसायनको दुनियाँमा हाम्रो देशको अर्गानिक उत्पादन सुन सरहको भाउमा बिक्नेछ अनि समृद्धिको दाउ हाम्रो देश नेपाल र हामी नेपालीलाई मिल्नेछ किनकी यसबाट प्रशस्त रोजगारीको अवसरहरू सिर्जना हुन्छन् जसबाट युवाहरु विदेश पलायन हुनुपर्दैन, आत्मनिर्भरता बढेर आत्मगौरव प्राप्त भई वैदेशिक हस्तक्षेप हट्छ अनि देश र जनताको थाप्लोमा रहेको ऋण चुक्ता गरी वैदेशिक ऋणमा लगानी पनि गर्न सकिन्छ । त्यसपछि सरकारले अन्य विकासका अपार सम्भावनाहरू जस्तै जलविद्युत उत्पादन, प्रयोग र निर्यात, जडिबुटी पहिचान, संकलन, प्रशोधन, बेचबिखन तथा खेती, पर्यटन व्यवसाय, पशु पंक्षी पालन, खनीज उत्खनन,प्रशोधन, प्रयोग र निर्यात, आदि इत्यादिमा लगानी गरेर सरकारको लक्ष्य समृद्ध नेपाल सुखी नेपाली सपना साकार हुनसक्छ ।

नेपालमा भूस्वामित्वकाे पनि समस्या छ । जाे रातदिन कृषि कर्ममा खट्छन् उनीहरूकाे नाममा जमिन छैन । माटाेमा नटेक्ने महलमा बस्नेहरूकाे नाममा हजाराैं बिघा जमिनकाे स्वामित्व छ । यसले गर्दा खेती याेग्य जमिन बाँझाे छ । गरिव किसानकाे नाममा जग्गा जमिन छैन । नेपालमा एक पटक भूमिहीन, सुकुमवासीका लागि जग्गा दिनुपर्छ । यसले कृषि उत्पादनमा बृद्धि गराउँछ । गरिव साना किसानका नाममा जग्गा जमिन नहुँदा उनीहरूका समस्या समाधान हुन अावश्यक छ । कृषि तथा पशुपालनमा लाग्ने र उत्पादन गरेर जनतालाइ खानेकुरा पुर्याउने किसान वर्गकाे सरकारले उचित सम्मान गरेर बीउ तथा मलमा अनुदान दिन र स्थानीय ताजा उत्पादनलाइ सहज रूपमा बजारिकण गराउन अावश्यक छ । 

समष्टिमा,कृषिमा क्रान्ति नै नेपालको विकासको प्रथम आधार हो भन्ने कुरा यसरी नै प्रमाणित हुन्छ । अब यसको लागी स्थानीय, प्रान्तीय र केन्द्रिय सरकार अनि जनता एकताको मालामा गाँसिएर खुट्टा तानेर होइन हात तानेर हातमाथी हात साथमाथी साथ दिएर अगि बढ्नुपर्छ । कोरोना भाइरस (कोभिड–१९) भन्दा पनि खतरनाक राष्ट्रघातक र विकास बाधक भ्रष्टाचार हटाउनुपर्छ । जनता आफै शिक्षित र सचेत हुनुपर्छ । बालकदेखि वृद्धसम्मले नेपाली हामी रहौला कहाँ नेपालै नरहे भन्ने बुझी म आगो सहन्छु अन्याय सहन्नँ, म तृष्णा सहन्छु तिरस्कार सहन्न भन्ने राष्ट्रभक्ती भावका साथ अघि बढ्नुपर्छ । त्यसपछि आकाशमा चन्द्र र सूर्य रहुन्जेलसम्म नेपाल र नेपालीको अस्तित्व अटल रहनेछ अनि कृषि क्रान्ति नेपालमा टाढा छैन । अर्गानिक कृषिजन्य उत्पादन प्रशस्त मात्रामा उत्पादन हुने देश कुन हो भन्दा नेपाल भनेर आउँनेछ । नेपाल आमा मुस्कुराउने छिन् हामी आनन्दित हुनेछौ ।

लेखक कालिका हिमालय माविबाट यसवर्ष एसइइ उतीर्ण विद्यार्थी हुन् ।

Comments

comments