कृषि उत्पादनको व्यवस्थापन र अनुदान उपलब्ध गराउन इन्सेकको माग

Insec-Logo H

बैशाख १६ गते, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कृषि उत्पादनको व्यवस्थापन र किसानलाई अनुदान उपलब्ध गराउन सरकारसँग माग गरेको छ । इन्सेक बागमती प्रदेशले एक विज्ञप्ति प्रकाशित गरि सरकारसँग सो माग गरेको हो ।

विश्वमा माहामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको डसले गरिएको बन्दाबन्दिका कारण कृषकले उत्पादन गरेको कृषि उपजले बजार नपाएको प्रदेश संयोजक कृष्ण गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अहिले देशका प्रमुख बालि धान, मकै, दलहन तथा तरकारी खेतिको मौसम सुरु भएको भए पनि किसानले सहज रुपमा आफ्नो काम गर्न नपाएको विज्ञप्तिमा जानाइएको छ । मुख्य खाद्यबाली तथा तरकारी बाली लगाउने समयमा देशभर रासायनिक तथा प्राङ्गारिक मलको अभाव भएको समेत इन्सेकले जनाएको छ ।

किसानहरूलाई सहज रूपले रासायनिक मल, प्रांगारिक मल र गुणस्तरीय बिउबिजन तथा सिँचाईको व्यवस्था गर्नु राज्यको दायित्व भएको बताउँदै किसानहरूलाई चाहिने मल, बीउबिजनलगायतका कृषि सामग्रीमा अनुदान उपलब्ध गराउन इन्सेकले माग गरेको छ ।
लकडाउन सुरु भएको एक महिना पुगिसक्दा पनि कृषकले खेतिका लागि आवश्यक मल, बीउ नपाएको बागमती प्रदेशस्थित इन्सेक प्रतिनिधिहरूले पठाएको प्रतिवेदनबाट सूचना प्राप्त भइरहेको जनाउँदै त्यसको तत्काल व्यवस्था गर्न इन्सेकले माग गरेको छ ।

अझ कृषकको उत्पादनले बजार नपाउँदा काभ्रे, मकवानपुर, चितवन, धादिङ, नुवकोट लगायत जिल्लाका कृषकहरू मर्कामा परेका विज्ञप्तिमा जनाइएको छ । कृषकले उत्पादन गरेको ताजा तरकारी बारिमै कुहिएको तथा पशुपालक किसानले उत्पादन गरेको दुधले बजार नपाउँदा किसान मर्कामा परेको विज्ञप्तिमा जनाइएको छ । यसगरी घाँस र दाना उपलब्ध नहुँदा किसानलाई पशुपंक्षि बचाउन समेत गारो भएको विज्ञप्तिमा उल्लेख छ ।

इन्सेकले किसानको उत्पादनलाई बजारमा पुर्याउने र कृषकलाई सर्वशुलभ रूपमा आवश्यक मल, बिउको व्यवस्था गर्न संघीय, प्रदेश तथा स्थानीय तीनै तहका सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

यसैबीच, संविधानले प्रदत्त गरेको अभिव्यक्ति स्वतन्त्रता विरुद्ध बिचार र अभिव्यक्ति कुण्ठित हुने गतिविधि देखिएकोले मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न समेत सरकारको विज्ञप्ति मार्फत सरकारलको ध्यानाकर्षण गराइएको छ ।insec

Comments

comments