केरुङसम्म सबै नेपालीहरुको सहज प्रवेश अनुमति दिने तयारी

Rasuwa news LangtangRasuwa news Langtang

रसुवा । चीनसँग सीमाना जोडिएका जिल्लाका नागरिक र सीमाना नजोडिएका जिल्लाका राहदानी बाहक सवारी (कन्टेनर) ड्राइभर  केरुङ जान पाउने व्यवस्थाका लागि छलफल भएको छ ।

चीन र नेपाली प्रशासनबीच केरुङसम्म सबै नेपालीहरुको सहज प्रवेश अनुमतिको व्यवस्था गरी अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा सहजीकरण गर्ने विषयमा छलफल भएको हो । चीनको तर्फबाट जिलोङ प्रदेशका केन्द्रीय बोर्डर प्रशासनका डाइरेक्टर र नेपालका तर्फबाट रसुवागढी भन्सार अध्यागमनका प्रमुख र प्रमुख जिल्ला अधिकारीबीचको  रसुवागढीमा मंगलबार बैठक सम्पन्न भएको हो । सवै नेपालीलाइ केरुङमा सहज रूपमा एकदिने पास दिने बारे पनि छलफल भइरहेकाे छ ।

हाल रसुवा जिल्लाका नागरिकहरुले चीन प्रस्थान/प्रवेश अनुमति पत्रका आधारमा उपयोग गर्दै आएको केरुङ (चीन) प्रवेश सुविधालाई यथावत गर्ने र चीनसँग सीमाना जोडिएका जिल्लाका सबै नागरिकहरुलाई सम्बन्धित अध्यागमन कार्यालय वा सीमा प्रशासन कार्यालयबाट जारी भएको चीन प्रस्थान/प्रवेश पत्रका आधारमा रसुवागढी नाकाबाट समेत सहज प्रवेश अनुमति दिने छलफल भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

चीनसँग सीमाना जोडिएका जिल्ला बाहेकका अन्य जिल्लाको हकमा हाललाई चीनबाट सामान आयात गर्ने सवारी साधन (कन्टेनर) का ड्राइभरहरूलाई मात्र केरुङ प्रवेश अनुमति दिने छलफल भएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जनाकारी दिए । उनले भने “त्यसका लागि सम्बन्धितहरूको राहदानी अनिवार्य हुनु पर्ने । राहदानी बाहक ड्राइभरलाई अध्यागमन कार्यालय रसुवागढीले सिफारिसको आधारमा रसुवागढीमा रहेको चिनियाँ अध्यागमनबाट १५ दिनका लागि अस्थायी प्रवेश अनुमति दिइने र १५ दिनपछि अध्यागमन कार्यालयको सिफारिसमा पुनः अस्थायी प्रवेश अनुमति नवीकरण हुँदै जाने छलफल भएको हो ।”

चीन प्रवेशलाई सहज बनाउँदा हुन सक्ने सुरक्षा संवेदनशीलताका बारेमा समेत छलफल भएको र आगामी दिनमा चीनसँग सीमाना जोडिएका जिल्ला बाहेकका व्यापारीहरूको समेत सहज प्रवेश अनुमतिका लागि प्रक्रिया अगाडि बढाइने छलफल भएको प्रजिअ पौडेलले बताए । पौडेलले भने छलफलका विषयहरु निकट दिनमा नै केही गृहकार्य पुरा भएपछि कार्यान्वयनमा आउने छन् ।

यस अघि नेपाल र चीन सरकार बीच सन् २०१२ जनावरी १ मा सीमा नाकाबाट ३० किलोमिटर क्षेत्रभित्रमात्र आवात-जावात गर्न पाउने सम्झौताका भएको थियो । यो छलफलले यस व्यवस्थाका अतिरिक्त आवात जावातलाई केही सहज गरिदिने जानकारहरूको बुझाइ छ । नेपालको चीनसँग सीमाना जोडिएका जिल्ला १३ वटा रहेका छन् । नेपाल चीनबीच ११ वटा प्रमुख व्यापारिक नाकाहरू रहेका छन् ।

Comments

comments