कोभिड-१९ : ट्रेसिङ, टेस्टिङ, ट्रिटमेन्ट

डा.स्वतन्त्र गौतम, डा. भौमिक शाह

गत साता विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक टेड्रोस आडानोम घेब्रियससले कोरोना भाइरस (कोभिड–१९) माथि नियन्त्रण पाउन ‘परीक्षण, परीक्षण र परीक्षण’ को निती अवलम्बन गर्न सबै देशलाई आग्रह गरेका थिए ।

अघिल्लै साता अर्को समाचार आयो— भुटानमा शंका लागेर परीक्षण गरिएका एक बिरामीमा नतिजा नेगेटिभ आयो । अझ शंका लागेर दोस्रोपटक परीक्षण भयो— नतिजा नेगेटिभ नैआयो । फेरि पनि परीक्षण भयो, तैपनि नेगेटिभ आयो । तर, शरीरमा देखिएका ज्वरोसहितका लक्षण नरोकिएपछि चौथोपटक परीक्षण गर्दा मात्रै बल्ल पोजेटिभ भेटियो । यसरी विश्व स्वास्थ्य संगठनका तर्फबाट भनिएको ‘लगातार परीक्षण’ को अवधारणा भुटानका मामिलामा सिद्ध भयो ।

र, भुटानले समेत सतर्कता र सचेतनाका कार्यक्रमहरू एकैसाथ अघि बढायो ।

आज अन्तर्राष्ट्रिय समाचारहरूमा सन्त्रासकै कारण अमेरिकी राष्ट्रपति ट्रम्प, रुसी राष्ट्रपति पुटिन, जर्मन चान्सलर एन्जेला मार्केलसहितले दोहोर्‍याउँदै कोभिड–१९ को परीक्षण गराइरहेको जानकारी आइरहेकै छ । यो तहको मनोवैज्ञानिक सन्त्रास फैलिएको स्थितिलाई सामान्य रूपमा लिनै मिल्दैन । फेरि कोरोना परीक्षणको नतिजामा नेगेटिभ वा पोजेटिभ देखिएको विषयमा अर्थ–अनर्थका सन्दर्भ जोडेर सामाजिक सञ्जालहरूमा छाएको बहस पनि सतही देखिएको छ ।

पछिल्लो एक साताको अन्तरमा बुटवल र चितवनका कोरोना उपचारकेन्द्रित अस्थायी अस्पताल तथा काठमाडौंंका वीर र पाटन अस्पतालमा आइसोलेसनमा बसेका कोभिड–१९ लक्षणसँग मिल्दाजुल्दा पाँच बिरामीको निधन भयो । तर, उनीरुको कोरोना परीक्षणको नतिजा भने नेगेटिभ निस्कियो । यसरी, कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएकै अवस्थामा पनि नतिजा भने किन नेगेटिभ निस्किएको हो भनेर कौतूहल र परीक्षणमा आशंकासमेत रहेको पाइयो । यसरी नतिजा नेगेटिभ देखिनुमा कतिपयले परीक्षणगत त्रुटि भनेका छन् भने कतिपयले सही नतिजा देखाइएमा माहोल तनावग्रस्त हुने भन्ठानेर पनि त्यस्तो गरिएका तर्कहरू अघि सारेका छन् । यथार्थ के हो भने परीक्षणमा नेगेटिभ नतिजा हुनासाथै कोरोना संक्रमण होइन भन्न सकिन्न । बिरामीको उपचार प्रक्रियामा नेगेटिभ नतिजा मात्रै ‘निर्णायक एकल आधार’ हुन नसक्ने तथ्यलाई ख्याल गर्नु जरुरी छ ।

कुनै पनि मेडिकल टेस्टमा दुई महत्त्वपूर्ण पाटा हुन्छन्— संवेदनशीलता (सेन्सिटिभिटी) र विशिष्टता (स्पेसिफिसिटी) । परीक्षणहरू प्रयोगशाला तहमा‘संवेदनशील’ साबित हुन्छन्, जबकि व्यक्तिगत तहमा हुने परीक्षणले भाइरसको सानो सम्भाव्यता मात्रै पहिल्याउन सक्छ । पहिल्यायो भने यसबाट विशेषत: कोभिड–१९ मात्रै पत्ता लाग्छ,सार्स–कोभ–स्ट्रेन आदि होइन ।

‘लकडाउन’ को पहिलो चरण सफल भैसक्यो, हामीले अहिले नै संक्रमणलाई रोक्नमा सफलता हासिल गर्‍यौं भनेर नाराबाजी गर्ने बेला यो होइन ।

सामान्यतया कोभिड–१९ परीक्षणमा तत्काल संक्रमण नदेखिए पनि यसमा शतप्रतिशत ढुक्क भएर बस्न सकिन्न । नेगेटिभ देखा पर्नेका हकमा पनि उत्तिकै परामर्श र निगरानी जरुरी रहन्छ । पुन: परीक्षण र बारम्बार परीक्षणबारे सचेतना बढाउन सक्नुपर्छ । भुटानकै केस यो मामिलामा राम्रो उदाहरण हुन सक्छ । पोजेटिभ नतिजा आउनेका हकमा‘आइसोलेसन’ को अवधि र निगरानीमा अझसचेत हुनुपर्छ । अझ शंका लागेका बिरामीमा त झनै सकेसम्म फोक्सोको भित्री भागबाट ‘स्याम्पल’ लिएर जाँच गर्नु जरुरी हुन्छ, जसलाई मेडिकल भाषामा‘ब्रोन्को एल्भियोलर ल्याभेज’ भनिन्छ । यो चरणको परीक्षणमा पनि पोजेटिभ नभेटिए अझ ढुक्क हुनका लागि फोक्सोको सिटी–स्क्यानसमेत जरुरी हुन्छ । ख्याल गर्नुपर्ने तथ्य के हो भने, विश्वमा कहलिएको ‘नेचर’ जर्नलका अनुसार, कोरोना नियन्त्रण गर्न कम्तीमा ६ साताको क्वारेन्टाइन जरुरी हुन्छ ।

पहिलो चरणको परीक्षणमा नेगेटिभ देखिएका कतिपय केसमा दोस्रो चरणको परीक्षणमा पोजेटिभ’ भएको पनि पाइएको छ । संक्रमितको पहिलो चरणको परीक्षणमा भाइरस अन्त्यन्त सूक्ष्म आकारमा रहेकाले र ‘स्वाब’ (खकार/थुक) संकलनको पद्धतिमा रहेको कमजोरीले पनि रोग पहिचान मुस्किल भएको हुन सक्छ । जस्तो— स्वाब पनि नाकको भित्री भाग, बाहिरी नाक, घाँटी आदिमा विभिन्न फरक–फरक स्तरको विषाणु सक्रिय हुन सक्छ । यसमा स्वाब संकलनदेखि परीक्षणु विधिसम्ममा भिन्नता पनि हुन सक्छ । उदाहरणका लागि, जर्नल अफ अमेरिकी मेडिकल एसोसिएसनअनुसार, बिरामीको घाँटी र नाकको भित्रबाट लगिने स्वाब नमुनाको ‘संवेदनशीलता’ क्रमश: ३२ र ६३ प्रतिशत मात्रैछ । यस आधारमा, १ सय जना आशंकित व्यक्तिमध्ये घाँटीको स्वाब परीक्षण गरिएका ३२ जनामा मात्रै पोजेटिभ नतिजा आउँछ भने, नाकको स्वाबमा ६३ जना । अहिले नेपालमा अपनाइएको तरिका यही हो । बाहिरी विश्वका हकमा एकपटक नेगेटिभ परीक्षण आएको नतिजामा पुन: परीक्षण हुन्छ भने हामीकहाँ हुँदैन ।

नेपालमा अहिलेसम्म १२ सय जनामा परीक्षण गरिएकामा ९ जनामा मात्रै पोजेटिभ देखिएको छ । अमेरिकामा सुरुआती अवस्थामा १ लाख व्यक्तिमा परीक्षण गर्दा १ हजार जनामा संक्रमण देखिएको छ । त्यसकारण अधिकतम परीक्षण भनेको‘नम्बर’ र ‘क्वालिटी’ दुवै हो । अर्थात्, अधिकतम संख्यामा परीक्षण गर्ने र गुणस्तरीय किटको भरमा मात्रै परीक्षण गर्ने ।

अहिलेसम्म काठमाडौंको टेकु जनस्वास्थ्य प्रयोगशाला, धरान र पोखरामा मात्रै कोभिड–१९ परीक्षण सुरु भएको छ । कम स्रोतसाधन, समय र जनशक्तिका भरमा पनि यति काम सुरु हुनुलाई उत्साहजनक नै मान्नुपर्छ । यति मात्रै पर्याप्त भने छैन । कोरोना संक्रमणले विश्व स्वास्थ्य संगठनकै भनाइमा, महामारीको रूप लिइसकेको अवस्थामा नेपालमा संक्रमण नियन्त्रण, परीक्षण र अनुगमनमा निकै कछुवा गतिले काम अघि बढिरहेको यथार्थलाई स्विकानैपर्छ । ‘लकडाउन’ को पहिलो चरण सफल भैसक्यो, हामीले अहिले नै संक्रमणलाई रोक्नमा सफलता हासिल गर्‍यौं भनेर नाराबाजी गर्नेबेला यो होइन ।

अबको चरणमा भने हामीलाई अनिवार्य रूपमा‘थ्री टी’ अर्थात् ‘ट्रेसिङ, टेस्टिङ एन्ड ट्रिटमेन्ट’ को दिशामा अघि बढाउनैपर्छ । शनिबार मात्रै धनगढीमा कुनै लक्षण नदेखिँदासमेत एक जनामा कोरोना पोजेटिभ नतिजा आएको छ । ‘लोकल ट्रान्समिसन’ को यो स्थिति साँच्चिकै जोखिमपूर्ण छ । भारत, मुम्बईको धराबी सुकुम्बासी बस्तीमा, (जहाँ १० लाखभन्दा बढी घरविहीन व्यक्ति बस्छन्‌), समेत कोरोना संक्रमित भेटिएका छन् । अब यो सलहमा लाग्न सक्ने आगलागीको अवस्थालाई कसरी आकलन गर्ने ? कसरी यो आगो रोक्ने ? यही अवस्था नेपाली गाउँठाउँ र भीडभाडयुक्त सहर–बस्तीमा देखा परेमा के गर्ने ? यो हाम्रो नियन्त्रणबाहिरको महामारी बन्ने निश्चित छ । यसकारण मुलुकका सबै प्राथमिकता अब यही स्वास्थ्य सरोकारमा केन्द्रित गर्दै तत्काल गर्नैपर्ने र हिँड्नैपर्ने बाटो हो— ‘ट्रेसिङ, टेस्टिङ, ट्रिटमेन्ट’ ! कान्तिपुरबाट

 

-गौतम हाल मेडिकल अभ्यासमा संलग्न छन् भने शाह अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्याथोलोजिस्ट हुन् ।

Comments

comments