कोरोनाले निम्त्याएको डरको मनोविज्ञान

तारा अधिकारी

प्रविधिका कारण प्राप्त हुने नकारात्मक समाचार र मिथ्या सूचना पढेर झन् बढी मानसिक समस्या बढिरहेको छ

कोरोना भाइरसको महामारीले लगभग पूरै संसार डर, त्रास र शोकबाट गुज्रिरहेका वेला हामी नेपालीलाई यसले दिनदिनै अझ बढी सशंकित र त्रसित बनाइरहेको छ । यो बन्दाबन्दीको समय र नेपालमा संक्रमितको सख्या ४२ पुगेपछि हाम्रो धेरैजसो समय कोरोना भाइरससम्बन्धी समाचार, लेख र अधिव्यक्ति पढेर, सुनेर र हेरेर बितिरहेको छ । हाम्रो शरीरलाई घरभित्र बन्दाबन्दी गराइरहँदा मनमस्तिष्कलाई भने कोरोना भाइरससम्बन्धी विषयले कब्जा गरेर घेराबन्दी गरिरहेको छ ।

अहिलेको समयमा प्रविधिका कारण घरभित्रै रहे पनि ताजा सूचनासम्म पहुँच छ र घरबाहिरका जानकारी पाउँदा हामी केही हदसम्म ढुक्क हुन सकिरहेका छौँ । मानिसबीचको शारीरिक दूरी बढाउन लागू गरिएको बन्दाबन्दीको समयमा अरूसँग सञ्चार सम्पर्क राख्न र ताजा जानकारी प्राप्त गर्न मोबाइल र सोसल मिडिया वरदान साबित भएका छन् । हामीमध्ये केहीलाई प्रविधिका कारण प्राप्त हुने नकारात्मक समाचार र मिथ्या सूचना पढेर झन् बढी मानसिक समस्या बढिरहेको र तनाव थपिइरहेको पनि महसुस भएको छ । यसले गर्दा मानसिक स्वास्थ्यप्रति हामी बढी नै सजग र सतर्क हुनुपर्ने अवस्था पनि छ ।

महामारीको अवस्थामा शारीरिक र मानसिक दुवै स्वास्थ्यको पाटो उत्तिकै महत्वपूर्ण हुन्छ । यो चुनौतीपूर्ण पनि हुन्छ । शारीरिक स्वास्थ्यको हेरचाहका लागि हामी सरसफाइमा ध्यान दिइरहेका छौँ । मानसिक स्वास्थ्यको हेरचाहका लागि घरभित्रै भएको अवस्थामा विभिन्न विषयमा आफूलाई व्यस्त राखेर समय बिताउने कोसिस गरिरहेका छौँ । तर, के यो असहज परिस्थितिमा भय, त्रास र तनावविना ढुक्क भएर पहिलेजस्तै सहज बस्न सकिन्छ त ? कोरोना भाइरसको भयले हाम्रो मनोविज्ञानमा कस्तो असर पारिरहेको छ र त्यो कसरी हाम्रो व्यवहारमा देखिइरहेको छ ? अहिलेको अवस्थामा देखिएका र यसले भविष्यमा पार्न सक्ने प्रभाव के हो र त्यसको समाधानका लागि नागरिक र राज्यले के गर्नुपर्छ ? यी प्रश्नको जवाफ अहिले देखिएको घटनाक्रम, हाम्रो व्यवहार र विचारका आधारमा यो लेखमा खोज्ने प्रयास गरिएको छ ।

डरको मनोविज्ञान ः कोरोना भाइरसले निम्त्याएको परिस्थिति असहज हो । यस्तो अवस्थामा हामीबीच अन्योल, डर र त्रास उब्जिनु सामान्य हो । जब हामीलाई हामीवरपरको परिस्थिति हाम्रो नियन्त्रणमा छैन भन्ने लाग्छ, तब अन्योल र डर पैदा हुन्छ । अहिलेको अवस्थामा हामी सबैलाई ‘अब के हुन्छ’ भन्ने अन्योल र ‘कतै मलाई पनि संक्रमण हुन्छ कि’ भन्ने डर छ । महामारीको मनोविज्ञानसम्बन्धी अध्ययनले यस्तो अवस्थामा मानिसले अनेक अड्कलबाजी गर्ने पुष्टि गरेका छन् । कोरोना भाइरसको सम्बन्धमा ‘यो जैविक हतियार हो’ वा ‘यो चीनले बनाएर अमेरिका पठाएको हो’ जस्ता षड्यन्त्र सिद्धान्त र त्यसप्रति कतिपय मानिसले गरेको विश्वास आपत्कालीन परिस्थितिले निम्त्याएको सामान्य प्रतिक्रिया हो । यसले बुझ्न नसकेको परिस्थितिमा थोरै भए पनि स्पष्टता दिएको महसुस हुन्छ र आफू डराइरहेको विध्वंसका लागि अरूलाई दोष दिने अवसर प्रदान गर्छ । एकअर्कालाई आरोप प्रत्यारोप गर्दा आफूले बुझ्न नसकेको, सम्हाल्न नसकेको र समाधान खोज्न नसकेको विषयमा मनलाई बुझाउन र डरलाई बाँधेर राख्न मानवको प्राकृतिक प्रतिक्रिया हो ।

कोरोना भाइरस प्रकोपका कारण हामीमा डरको मनोविज्ञान हाबी भएको छ किनभने हामीलाई यो कस्तो रोग हो, यो कतिसम्म उद्दण्ड हुन सक्छ र यसको औषधि कहिले पत्ता लाग्ने हो अन्योल छ । यसले केही समयपछि निम्त्याउने आर्थिक अन्योल त झन् कहालीलाग्दो हुन सक्छ । अरू त अरू, हामीले भर पर्नुपर्ने चिकित्सक नै नेपालमा कोरोना भाइरस महामारीको रूपमा आएमा भागाभागको स्थिति आउने बताइरहेका छन् । एम्बुलेन्स चालकले शंकास्पद व्यक्ति बोक्नुपर्दा भागेका वा अस्पताल पु‍र्‍याइएका नमुना त्यहाँका कर्मचारीले छुनै नमानेका घटनासम्बन्धी समाचार पनि आएका छन् । रोग लागेका व्यक्तिसँग काम गर्नुपर्ने तर न त पर्याप्त सुरक्षा सामग्री न नयाँ रोगको उपचारबारे यथेष्ट जानकारी ! यस्तो अभावको अवस्थामा यो खालको सोच र व्यवहार अस्वाभाविक होइन ।

सोसल मिडियामा अभिव्यक्त डर : हामीले प्रतिदिन प्रयोग गरिरहेका फेसबुक, इन्स्टाग्राम, ट्विटर वा अन्य सोसल मिडियामा सबैभन्दा बढी व्यक्त भइरहेको संवेग डर नै हो । त्यहाँ सेयर भइरहेका समाचार, पोस्ट वा तस्बिरबाट हामीमा कस्तो खालको संवेगले प्राथमिकता पाइरहेको छ भन्ने अनुमान गर्न सकिन्छ । हालै इटलीको एउटा संस्थाले सोसल मिडियाका लाखौँ पोस्टमा अभिव्यक्त कोभिड– १९ प्रतिको भावना अध्ययन गर्दा डर नै सबैभन्दा प्रमुख र उदासी एवम् चिन्ता त्यसपछिको भावना रहेको पाएको थियो ।

हाम्रो भावनालाई अभिव्यक्त गर्न र त्यो भावना सामना गर्न हामी विभिन्न माध्यम खोजिरहेका हुन्छौँ । साथीभाइसँग गफगाफ कम हुने अवस्थामा हामी सोसल मिडियामार्फत आफूलाई व्यक्त गर्दै अन्य अवस्थामा भन्दा बढी सक्रियता देखाइरहेका छौँ । मानिस स्वभावैले सामाजिक प्राणी भएकाले हामी कुनै न कुनै माध्यमबाट आफ्नो अस्तित्व खोजिरहेका हुन्छौँ । हामी अन्य मानिससँग सम्पर्कमा रहन चाहिरहेका हुन्छौँ । यसका लागि सोसल मिडिया बलियो र भरपर्दो माध्यम भएको छ ।

सोसल मिडियामा हामीले दैनिक स्वतस्फूर्त पोस्ट गर्ने दैनिक क्रियाकलापजस्तै खानेकुरा पकाएको, किताब पढेको, योग गरेको, बगैँचाका फूल वा परिवारका सदस्यसँगका तस्बिर सबै आफ्नो अस्तित्व देखाउने र एकअर्कासँग सम्पर्कमा रहेको भाव महसुस गर्ने प्रयास हो । विभिन्न कला, सीप र क्षमता भएका विभिन्न पेसाका मानिसले गीत, संगीत, चित्र, नाटक, योग, शारीरिक अभ्यास वा मनोपरामर्श श्रव्यदृव्यमार्फत सोसल मिडिया प्रयोग गरेर सार्वजनिक गरिरहेका छन् । यसले एकअर्कालाई योगदान पुर्‍याउने र त्यसबाट अहिलेको अवस्थामा आफ्नो अस्तित्वको सार्थकता खोज्ने काम भइरहेको छ, जुन मानसिक स्वास्थ्य हेरचाहका लागि सहयोगी हुन्छ । हामीले जीवनमा सार्थकता र जिम्मेवारी अन्जानमै भए पनि एकअर्कालाई गरिने योगदानमा खोज्छौँ । त्यसैले कतिपयले सोसल मिडियामा हालिएका त्यस्ता पोस्ट वा तस्बिरलाई व्यंग्य गरे पनि वास्तवमा त्यस्ता तस्बिर हाल्ने र व्यंग्य गर्ने कार्यले हामीभित्रको डरलाई व्यवस्थापन गर्न सहयोग गरिरहेको हुन्छ र त्यो डरलाई त्रासको स्थितिमा लग्नबाट केही हदसम्म बचाइरहेको हुन्छ ।

संक्रमण बढ्दै जाँदा जब मानिसमा सरकारप्रति अविश्वास पैदा हुन्छ र सूचनाका लागि सरकार विश्वसनीय स्रोत होइन भन्ने सोच्न थालिन्छ, त्यसले आक्रोश अनि त्रासको अवस्था सिर्जना गर्छ

डरपछिको अवस्था : नेपालमा सेयरकास्ट इनिसिएटिभले गरेको सर्वेक्षणले झन्डै दुईतिहाइले आफू वा आफ्नो परिवारका सदस्य कोरोना भाइरसको महामारीमा परिन्छ कि भन्ने डर लागेको बताएका छन् । कसरी कोरोना भाइरसको महामारी आउन सक्छ भन्ने जवाफमा नेपालीले चार कारण देखाएका छन्– २८ प्रतिशतले भारतसँगको खुला सिमाना, २८ प्रतिशतले विदेशबाट फर्किएकाको प्रभावकारी परीक्षण नभएको, २४ प्रतिशतले हाम्रो स्वास्थ्य सेवामा परीक्षण र उपचारको सुविधा नभएको र २२ प्रतिशतले आफ्नो घरसमुदायमा विदेशबाट फर्किएका मानिस धेरै भएको बताएका छन् ।

अहिलेसम्म डरको अवस्थामा रहेको यो संवेग त्रासको अवस्थामा पुग्यो भने अनियन्त्रित हुन्छ । सेयरकास्टको सर्वेक्षणलाई हेर्ने हो भने पनि धेरै मानिस हाम्रो स्वास्थ्य व्यवस्था वा राज्यको क्षमतामा अविश्वास गर्छन् भन्ने देखाउँछ । संक्रमण बढ्दै जाँदा जब मानिसमा सरकारप्रति अविश्वास पैदा हुन्छ र सूचनाका लागि सरकार विश्वसनीय स्रोत होइन भन्ने सोच्न थालिन्छ, त्यसले आक्रोश अनि त्रासको अवस्था सिर्जना गर्छ । त्यस्तो अवस्थामा मानिस अप्रमाणित स्रोतबाट आएका मिथ्या सूचनामा विश्वास गर्न थाल्छ र झन्–‌झन् आक्रोशित र त्रसित हुन थाल्छ । यो अवस्थाबाट जोगिनु समुदाय र राज्यका लागि महत्वपूर्ण छ ।

अहिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका भ्रष्टाचार, स्वास्थ्य सेवा प्रदायक निकायको अधकल्चो तयारी, हामीजस्तै अन्य नागरिकले पाएको सास्ती र दुःखका समाचारले हामीलाई आफ्नै सरकारप्रति अविश्वास पैदा भइरहेको छ । झन् सरकारका तर्फबाट हाम्रो अविश्वास हटाउने गरी एउटा विश्वसनीय आवाज र अनुहार नदेखिएको अवस्थामा वैधानिक स्रोतबाट आएका सत्य समाचार मात्रै होइन, अवैधानिक स्रोतबाट आएका मिथ्या समाचारले समेत हाम्रो भावनालाई निर्देशित गरिरहेका हुन्छन् ।

सरकारप्रतिको अविश्वास : संसारका विकसित देशहरूमा समेत कोरोना भाइरसका कारण अन्योल र भयले सरकारप्रति अविश्वास पैदा गराइरहेको छ । हाम्रो जस्तो विकासशील देशका नागरिकमा त्यही भावना आउनु स्वाभाविक हो । यो डर र सरकारप्रतिको अविश्वासको खाडल त्यतिवेला केही मात्रामा पुरिन सक्छ, जतिवेला हामी सरकारले जिम्मेवारीपूर्वक काम गरिरहेको विश्वास गर्न सक्छौँ । अहिले नेपालको अवस्था हेर्दा सरकारले त्यो विश्वास दिलाउन सकिरहेको छैन । उदाहरणका लागि अन्य रोग लागेका बिरामीले उचित उपचार नपाउनु वा कोरोना भाइरसको शंकामा लास नउठ्नु वा ज्याला मजदुरी गर्नेहरू भोकैनांगै पैदल गाउँ फर्कनु र सरकारले यी सबैलाई लाचारीपूर्वक हेरिरहेको अवस्थाले आमनागरिकको मनमा राज्यले रक्षा गर्छ भन्ने विश्वास कम हुँदै जान्छ । यसको अर्थ अबको दिनमा संक्रमण बढ्दै जाने र अन्योल एवम् भयको अवस्थाबाट नागरिक त्रासको अवस्थामा पुग्ने हो भने त्यसले ल्याउने परिणाम समाजका लागि सहज नहुन सक्छ।

नागरिकमा त्रास बढ्यो र सरकारले जिम्मेवारीप्रति लगनशील रहेको विश्वास दिलाउन सकेन भने अमानवीय कार्य बढ्दै जान्छन् । त्यस्ता अमानवीय कार्य भनेको चोरी, कुटपिट, लुटपाटका घटना वा अन्य त्यस्तै खाले अपराध बढ्नु हो । अहिले केही मात्रामा भए पनि नागरिकले एकअर्काप्रति सहानुभूति देखाइरहेका छन् र सहयोगी हात बढाइरहेका छन् तर त्रासको अवस्थामा यो भावना रहँदैन र एकअर्काप्रति आशंकाको भावनाले जरो गाड्छ । यस्तो भएमा प्रकोपसँग जुधिरहेका सरकारका लागि समाजमा शान्तिसुरक्षामा पनि ध्यान दिनुपर्ने अवस्था आउन सक्छ ।

विश्वास र हौसलाको आवश्यकता : अहिले यस्तो अप्ठ्यारो परिस्थितिमा सरकार र नागरिकबीच विश्वासको संकट देखिएको छ । सरकार र नागरिक एकअर्कालाई आरोप–प्रत्यारोप गर्ने होडबाजी देखिएको छ र यसले समाधान ल्याउँदैन । नागरिक र सरकार एकअर्कालाई हौसला र जिम्मेवारी काँधमा बोकेर अघि बढ्न सक्यौँ भने त्यसले यस्ता महामारीविरुद्ध लड्ने क्षमता र मनोबल केही हदसम्म प्राप्त गर्न सकिएला । यस्तो विपत्को अवस्थामा मानिसमा व्यक्त हुने डर र निरुत्साहको भावना पहिचान प्रधानमन्त्रीले पनि गरेको महसुस हुन्छ । देशवासीको नाममा सम्बोधन गर्दा प्रधानमन्त्रीले सरकारलाई असफल देखाउन कुप्रचार गरिएको भन्ने आरोप लगाएका थिए । सो आरोपबाट के प्रस्ट हुन्छ भने सरकारलाई नागरिकको हौसला चाहिएको छ । यस्तोमा नागरिकले सरकारलाई राम्रो काममा साथ दिन्छौँ भन्ने हौसला दिने र सरकारले नागरिकको विश्वास जित्ने काम गर्न सक्नुपर्छ ।

एकतिर बढ्दै गइरहेको संक्रमण र मृत्युदरले निराशा पैदा गरेको छ भने अर्कातिर चीनलगायत देशमा नियन्त्रणमा आउँदै गरेको आशाका किरण पनि छन् । सरकारी र गैरसरकारी निकायले महामारीमा शारीरिक सरसफाइका साथै मानसिक स्वास्थ्यको पनि ख्याल राख्न र आवश्यकता पर्दा मनोविद् वा मनोचिकित्सकको सहयोग लिन आग्रह गरिरहेका छन् । यस्तो अवस्थामा नागरिकले गर्ने कार्य त भइहाले सरकारले पनि नागरिकको मानसिक स्वास्थ्यको ख्याल गरेर उनीहरूको विश्वास जित्ने केही कदम उठाइदिनुपर्छ । राज्यले मानसिक स्वास्थ्यलाई सुरुकै अवस्थामा व्यवस्थापन गर्न सकेन भने यसले भविष्यमा लामो समयसम्म बिकराल स्थिति पैदा गर्न सक्छ ।

नयाँपत्रिकाबाट

(लेखिका मनोपरामर्शदाता हुन्)

Comments

comments