कोरोना कहर र सामाजिक रूपान्तरण

 

डा. बिन्दा पाण्डे

संसारका हरेक स्वाभिमानी नागरिकका लागि सबैभन्दा प्यारो कुरा उसको स्वतन्त्रता हो । नेपालमै राणाशासन विरुद्धको आन्दोलनदेखि गणतान्त्रिक आन्दोलनसम्म हरेक पल सचेत नागरिकहरू आफ्नो जीवन जोखिममा राखेर नागरिक अधिकारका लागि लड्दै आए । त्यसको पहिलो उद्देश्य आम नागरिकको स्वतन्त्रता प्राप्ति नै थियो र हो । तिनै अधिकारका लागि भएका निरन्तर आन्दोलनको कोशेढुङ्गाका रूपमा हामी २००७, २०४६ र २०६२/६३ को परिवर्तनलाई लिने गर्दछौँ । जसको उपलब्धिका रूपमा खोसिएका नागरिक अधिकार र स्वतन्त्रताको पुनःस्थापनालाई लिने गरिन्छ ।

तर आज कोरोना भाइरसको आगमनले नागरिक अधिकारको परिभाषामा समेत परिवर्तनको माग गर्दैछ । लकडाउन अर्थात् बन्दाबन्दीले हाम्रो आधारभूत नागरिक अधिकारको दायरालाई खुम्च्याइदिएको छ । यतिखेर हरेक व्यक्तिका लागि जीवन सबैभन्दा पहिलो अधिकार बनेको छ । आफ्नो स्वतन्त्रताको उपभोग गर्दा अर्को व्यक्ति प्रताडित हुनुहुँदैन भन्ने चेतका साथ आज हरेक व्यक्ति सामाजिक÷भौतिक दूरी कायम गर्न÷गराउन लागिपरेका छन् । सरकार मात्र होइन, हिजो आम नागरिकको स्वतन्त्रताका लागि आफ्नो जीवन दिन तयार भएका अभियन्ताहरू समेत आज अरूको जीवन रक्षाका लागि आफ्नो स्वतन्त्रतालाई खुम्च्याउन आग्रह गरिरहेका छन् । दूरी कायम गरौँ, आफू बचौँ र अरूलाई पनि बचाऔँ भन्ने सन्देश आज विश्वभर एकैपटक सम्प्रेषण भइरहेको छ । विश्व एउटा “ग्लोबल भिलेज“ बनिसक्यो भन्दै २४ घण्टाको बीचमा पृथ्वीको एउटा कुनाबाट अर्को कुनामा पुग्ने मानव जाति आज घर–आँगनमा सीमित भएर बस्न सहर्ष स्वीकार्ने अवस्थामा पुगेको छ । त्यसैले मानव अधिकार र स्वतन्त्रता पनि समय सापेक्षित हुन्छ भन्ने कुरालाई कोरोना कहरले फेरि एकपटक अनुभूत गराइदिएको छ ।

अवसर बन्न सक्छ कहर

मानव जातिको विशेषता नै हरेक चुनौतीलाई अवसरमा र अप्ठ्याराहरूलाई सहजतामा बदल्न सक्नु हो । कोरोना कहरलाई पनि हामीले हाम्रा सामान्य आनीबानीमा गरिरहेको परिवर्तनलाई दिगोपन दिन सक्यौँ भने सामाजिक रूपान्तरणका दृष्टिकोणले उपयोगी बनाउन सक्नेछौँ । यहाँ आज गर्न लागिएका कुरा सामान्य दैनिक व्यवहारका हुन् तर यसलाई दिगोपन दिन सक्दा वर्तमान सङ्कट संस्कारगत र व्यावहारिक रूपमा स्वस्थतामा बदलिन सक्छ र समाज एक पाइला अगाडि बढ्न सक्नेछ ।

जथाभावी नथुकौँ

जथाभावी थुक्ने हाम्रो समाजको परम्परागत बानी र व्यहोरा नै हो भन्दा सायद कसैले अप्ठ्यारो मान्न जरुरी छैन । यो बानीमा अझै पनि सामयिक सुधार भएको छैन । हामी सैद्धान्तिक रूपमा व्यवहार सुधारका धेरै कुरा गर्न सक्छौँ तर परिवर्तन आफैँबाट थाल्ने कुरालाई सहज ठान्दैनौँ । यहाँ दुईवटा घटना सम्झना हुन्छ– झण्डै १५ वर्ष पहिला हामी युनियनकर्मीहरू अप्रिल २८ का दिन व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको जुलुस निकाल्दै थियौँ । त्यसमा एउटा ग्लोबल युनियन फेडेरेसनको श्रम शिक्षा हेर्ने साथी एलिजावेथ कटन पनि सहभागी हुनुहुन्थ्यो । मानिसहरू स्वास्थ्यको विषयलाई लिएर जुलुसमा थिए तर मौका पर्नेबित्तिकै आफ्नो नाक–मुखबाट निस्केका फोहोरलाई बाटोको छेउतिर फाल्दै अनि स्वस्थताको नारा लगाउँदै अगाडि बढ्दै थिए । यो देखेर उहाँले भन्नुभएको थियो, तिमीहरू यो जुलुस निकाल्नुभन्दा यी मानिसहरूलाई एकठाउँमा जम्मा गरेर जथाभावी थुक्न हुँदैन भन्ने कुरा किन सिकाउँदैनौ ? यो प्रश्नको “हामी यस्तै छौँ सिस्टर“ भन्नुभन्दा बाहेक जवाफ थिएन । यस्ता कुरा गरियो भने हामी धेरैको दिमागमा एकैपटक गाउँका, अशिक्षित, गरिब मानिसहरू आउने गर्छ । तर सत्य त्यो मात्र होइन । यो सामान्य व्यक्तिको मात्र नभएर आफूलाई पढेलेखेका, जान्ने–बुझ्ने र समाजका अगुवा भनिनेहरूको समेत नसुध्रिएको प्रवृत्ति हो । अर्को एउटा घटना, झण्डै एक महिना अगाडि, एकजना मन्त्री भइसकेका (जो माथि उल्लेख गरिएको विषयसँग पनि सम्बन्धित थिए) हेर्दा शरीरमा सुट, सफाइमा सुक–सुकाउँदो आम नागरिकले आशा गरेका व्यक्ति, बाटोमा हिँड्दै रहेछन् । वरपर यसो हेरेर छेउमा ख्याक्क खोकेर थुके र हिँड्न के आँटेका थिए, अगाडि गाडीमा आउँदै गरेका चिनारु व्यक्तिसँग आँखा जुधेछ । त्यसपछि, उनी हात उठाएर अभिवादन गरेको शैलीमा अप्ठ्यारो मान्दै छिटोछिटो अघि बढेछन् । त्यसो गर्न हुन्न कुरा त थाहा थियो तर मानिसले देखेनन् भने फरक पर्दैन भन्ने हाम्रो आम प्रवृत्ति व्यवहारको यो एउटा प्रतिनिधि घटना हो ।

अहिले कोरोनाको महामारीमा कारण मूलतः हाम्रा नाक र मुखबाट निस्कने फोहोर पदार्थबाट सर्नसक्ने सम्भावनाका कारण हाच्छ्यँु गर्दा र खोक्दा नाक–मुख छोपौँ । नाक–मुखबाट निस्कने फोहोरलाई सुरक्षित ठाउँमा फालौँ भनिरहेका छौँ । जीवनको मायाले धेरै मानिस यसो गर्न पनि थालेका छन् । कोरोना सङ्क्रमणका कारण बदलिन थालेको यो बानीलाई हामीले आगामी दिनमा निरन्तरता दिन सक्यौँ भने कोरोना महामारीबाट प्राप्त एउटा असल सिकाइ हुन सक्नेछ ।

हात धोऔँ

हाम्रो शरीरको सबैभन्दा धेरै प्रयोग हुने र फोहोर हुने अङ्ग हात रहेछ । अहिले कोरोना भाइरसको प्रकोपसँगै अनुभूति हुँदैछ, हामी त्यही फोहोर हातले हाम्रा नाक, मुख र अनुहारतिर कति सहजै र पटक–पटक छुँदा रहेछौँ । त्यही फोहोर हातका कारण सरुवा रोगका कैयौँ सङ्क्रमण हुँदा रहेछन् । त्यसैले त वार्षिक रूपमा करोडौँको विज्ञापन गर्दै ‘हात धुने बानी बसालौँ’ भनेर हामीले अभियान गर्दै आयौंँ तर पनि सहजै हात धुने बानी पार्न सकेनौँ । अहिले कोरोना सिर्जित त्रासका कारण हरेक काम गर्नुभन्दा पहिला र पछि साबुन पानीले हात धोउँ । नङ नपालांँै । बाहिरबाट आउनेबित्तिकै पहिला हातगोडा सफा गरौँ भन्ने सन्देश फैलाउँदैछौँ । हामीले यो बानीलाई निरन्तरता दिन सक्यौँ भने यो अर्को असल काम हुनेछ । अनि कोरोना माहामारी सकिए पनि ‘जथाभावी नथुकौँ र हात धुने बानी बसालौँ’ भन्ने कुरालाई व्यवहारतः निरन्तरता दिन सक्यौँ भने यसैका लागि विज्ञापनमा गरिने समय, स्रोत र साधनको लगानी अन्य राम्रो काममा लगाउन सकिनेछ । स्वस्थ समाज बनाउन हात धुने, जथाभावी नथुक्ने बानीलाई मात्र निरन्तरता दिनसक्दा सामाजिक रूपान्तरणको प्रक्रियालाई एक पाइला अगाडि बढाउन सकिनेछ ।

नमस्कार गरौँ

हामी आफूलाई आधुनिक देखाउन मनपर्ने साथी, मित्र, आफन्त, कमरेड भेट्दा हात मिलाउने र गला मिलाउने कुरालाई निकटता र मित्रताको मापक ठान्थ्यौँ । आज सबैभन्दा राम्रो त हाम्रो आफ्नै संस्कारगत नमस्कारिक अभिवादन नै रहेछ भन्ने ठाउँमा हामी मात्र पुगेको होइन, सिङ्गो विश्व नै नमस्ते गर्न थाल्यो भनेर खुशी हुनसमेत थालेका छौँ । यसमा रहेको सहजता, हार्दिकता, सामीप्य र स्वस्थतालाई कोरोना सङ्कटले पुनः परिभाषित गरिदिएको छ । यसलाई निरन्तरता दिउँ ।

भूमिका बदलौँ

हाम्रो सामाजिक दृष्टिकोण र व्यवहार अझै पनि पुरुषप्रधान मूल्य–मान्यतामा आधारित छ । जसबाट हाम्रा लैङ्गिक भूमिका पनि निर्देशित छन् । यो मान्यताले घरभित्रको पारिवारिक भूमिकालाई गौण मान्दछ । तसर्थ पनि पितृसत्ताले ठूलो भनिदिएका पुरुषहरूलाई घरायसी काममा बानी पार्न सहज छैन । बन्दाबन्दीको यो अवधिमा कम्तीमा पनि पुरुष÷छोराहरूले घरको काम सिक्ने र सहजै उक्त काम गर्न तत्पर हुने बानी पार्न सक्यौँ भने यसले हाम्रो सामाजिक सोच र व्यवहार बदलिनेछ । एकान्तवासको अवधि सिर्जनात्मक रूपमा समय कटाउन मात्र होइन, लैङ्गिक भूमिका रूपान्तरणमा पनि सहयोगी बन्नेछ । आत्मनिर्भरता, समृद्ध समाज र स्वाभिमानका कुरा गर्दा आर्थिक उत्पादनको दृश्य मात्र आउने हाम्रो दिमागमा घरायसी पुनरुत्पादनको भूमिकामा पनि हरेक व्यक्ति आत्मनिर्भर हुन आवश्यक छ भन्ने कुरा आउन जरुरी छ । अझै महिलाहरू पनि सार्वजनिक भूमिकामा समानरूपले सहभागी हुनुपर्ने आजको माग र आवश्यकताका कारण नयाँ पुस्ताले त निजी जीवनका पारिवारिक भूमिकामा आफूलाई निपुण नबनाउने हो भने भोलि पारिवारिक सम्बन्ध र व्यक्तिगत स्वाभिमानमा कतिखेर चोट पुग्ने हो (?) टुङ्गो हँुदैन । यसर्थ बन्दाबन्दीको यो अवधिलाई घरायसी काममा समान लैङ्गिक भूमिकाको प्रवद्र्धनका रूपमा सदुपयोग गर्न सक्दा खुशी पारिवारिक वातावरणका लागि वरदान सावित हुनसक्नेछ ।

यसर्थ यो कोरोना कहरलाई अवसरका रूपमा उपयोग गर्दै स्वास्थ्य र स्वच्छताजन्य व्यवहार र समयसापेक्ष लैङ्गिक भूमिका परिवर्तन गरी सामाजिक रूपान्तरणको अवसरका रूपमा उपयोग गरौँ ।

गाेरखापत्रबाट

(लेखक सङ्घीय सांसद हुनुहुन्छ ।) 

Comments

comments