जीवन जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार

sutkeri_uddar

अत्याधिक रक्तस्रावका कारण गम्भीर बिरामी परेकी दोलखाकी एक गर्भवतीको हवाई उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

अत्याधिक रक्तस्राव भएपछि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा शुक्रबार भर्ना भएकी गौंरीशङ्कर गाउँपालिका-४ झ्याकुकी सात महिनाकी गर्भवती पासाङ ठिली शेर्पालाई थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरी शनिबार दिउँसो काठमाडौँ ल्याइएको हो ।

शेर्पाको काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा उपचार भइरहेको छ । छ दिनदेखि रक्तस्राव भएर शेर्पालाई थप उपचारका लागि काठमाडौँ रिफर गर्नु परेको केन्द्रका चिकित्सक डा अरुण उप्रेतीले जानकारी दिए । अस्पतालका अनुसार शेर्पाको पाठेघरको मुखमा र पेटमा रहेको बच्चाको समेत मुटुमा समस्या देखिएको थियो । अस्पतालले काठमाडौँ लैजानुपर्ने अवस्था रहेको सिफारिस गरेपछि प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले हवाई उद्धारका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई जानकारी गराएको थियो । त्यसलगत्तै मन्त्री गुरुङले आफ्नै पहलमा हवाई उद्धारका लागि हेलिकप्टरको व्यवस्था गरिएको थियो ।

मन्त्रालयअन्तर्गतको ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रमले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गर्दै आएको छ । बन्दाबन्दीको अवधिमा मात्रै २० जना गर्भवती तथा सुत्केरीकोे निःशुल्क हवाई उद्धार गरिएको कार्यक्रम समन्वय इकाइकी प्रमुख अञ्जु ढुङ्गानाले जानकारी दिनुभयाे ।  सुर्माखाद गापा अछामकी वर्ष १८ की मनीषा अखेडा ( लामो समय प्रसव ब्यथा लागेको कम तौल र कम उतार भएको साथै शिशुको तौल बढ़ी र गर्भमा तेर्सो परेर बसेको )  समेत गरी लकडाउनमा १९ जना मध्य अछामबाट ३ जनाको उद्दार गरिएको हालसम्म एकसय १९ जनाको गर्भवती सुत्केरी उद्वार भएको ढुङ्गानाले जानकारी दिनुभयाे ।

Comments

comments