खुल्ला दिसा मुक्त क्षेत्र घोषणाका चुनौतीहरू

phurpa Tamang 2012

फुर्पा तामाङ

हामीले गुहू खाइरहेका रहेछौं भन्दा कतिलाई पत्याउनै गाह्रो होला । कतिलाई रिस पनि उठ्न सक्छ । मैले पनि शुरुमा पत्याएको थिएन । जब मैले यस सम्बन्धमा विभिन्न अध्ययनले गरेका तथ्याकंहरु पढेँ, पत्याउन करै लाग्यो । तथ्याकं अनुसार खुल्ला क्षेत्रमा दिसा गर्नाले एकजना व्यक्तिको मुखबाट वार्षिक १ के.जी. ८० ग्राम जति गुहू विभिन्न माध्यमबाट हाम्रो पेटभित्र पस्ने रहेछ । जस्तै, गुहू सुकेर धुलो कणको रुपमा हावाबाट घर, भान्साकोठा, भाँडावर्तनमा टाँसिन पुग्छन् । खानीपानीको मुहानमा मिसिन पुग्छन् । झिंगाले खानेकुरामा छोइ दिनाले पनि गुहू हाम्रो मुखसम्म आइपुग्ने गर्छ । दिसाको ठेगान लगाउन नसक्दा झाडाबान्ता र हैजा जस्ता महामारी रोगले धनजनको नोक्सान हुने गर्छ । 

नेपाल सरकारले देशभरि नै एक घर एक चर्पी बनाएर खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्ने नीति लिएको छ । यो अभियान देश भरि नै संचालनमा रहेको छ । रसुवा जिल्लालाई २०७३ साल चैत्र महिनाको अन्तिमसम्म खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्नु पर्ने छ । यस कार्यक्रम जिल्लामा क्रियाशील सरकारी निकायहरु, गैरसरकारी संघ संस्था र विवेकशील नागरिकहरु लागि परेका देखिन्छन् । यद्यपि विभिन्न कारणहरुले गर्दा चैत्र महिनाभित्र यस जिल्लामा खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्न भने केही चुनौतीहरु देखिएका छन् । १८ गाविस मध्ये डाँडागाउँ र ठूलोगाउँ दुईवटा गाविस खुला दिसा मुक्त क्षेत्र घोषणा भइसकेका छन् ।

जिल्लामा क्रियाशील गैरसरकारी संस्था लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज(ल्याकोस) संगको साझेदारीमा यूएन–ह्याबिट्याट/इकार्डस–नेपाल र एसीएएफ इन्टरनेशनलले जिल्लाको १२ वटा गाविसमा कार्यक्रम संचालन गरिरहेको छ । नेपाल रेडक्रस सोसाइटी र मानेकोर सोसाइटी लगायतका संस्थाहरुले पनि काम गरिरहेका छन् । यो छोटो समयमा सबै मिलेर युद्धरत रुपमा काम नगरे खुला दिसा मुक्त क्षेत्र घोषणा गर्न चुनौतीहरू छ ।

तथ्यांक

गाविस                    जम्मा घरधुरी                          शौचालय बनेका घरधुरी 

ठूलोगाउँ                       ४८५                                  ४८५
डाँडागाउँ                     ६३८                                   ६३८
लहरेपौवा                     ११५०                                  ८८६
टिमुरे                           १२१                                     १११
स्याफ्रु                          ४९७                                    ४०९
धैबुङ                          १२३८                                   १०३७
गत्लाङ                        ४८७                                    २२८
सरमथली                    ९३९                                     ६०३
हाकु                            ८०३                                     १७१
लाङटाङ                    ८८                                       ६७
राम्चे                           ५७१                                     ३९५
धुन्चे                            ५३४                                     ४८६

स्रोत : ल्याकोस / एसीएफको २०७३/११/२४ गतेसम्मको रिपोर्ट अनुसार

उल्लेखित तथ्याकं, गाउँघरमा पुग्दा प्राप्त सूचना, अवलोकन तथा सरोकारवाला निकायहरूसंगको काम गर्ने तौरतरिकाको आधारमा चुनौती हुनुका कारणहरुलाई देहाय अनुसार विश्लेषण गर्न सकिन्छ :

१. जनचेतनाको कमी तथा आनीबानीमा सुधार नहुनु :

कुनै पनि व्यक्तिको आनीबानीमा सुधार गर्न गराउन थोरै समय पर्याप्त हुँदैन । व्यवहार परिवर्तन गर्न गराउन लामो प्रयास र अभ्यास आवश्यक पर्छ । यो अनुभव रसुवा जिल्लाको र हाम्रो देशको मात्र नभई विश्वको अनुभवले समेत सिद्ध गरिसकेको कुरा हो । आज भन्दा ५० वर्ष अघि युरोप, अमेरिका र एशियाका जापान, कोरिया, सिंगापुर, मलेसिया र चीन लगायतका देशमा पनि मानिसहरु खुल्ला ठाउँमा दिसा गर्न रमाउँथे । ती देशहरुले पनि चर्पी विनाको घर बनाएर खुल्ला ठाउँमा दिसा पिसाव गर्ने चरणहरु पार गरेकै हुन् । यसले हामीहरु उनीहरु भन्दा निकै पछाडि रहेको देखाउँछ । किनभने हामीहरु यतिखेर खुल्ला दिसा मुक्त क्षेत्र घोषणाको तयारी गरिरहेका छौं । राजधानी छेउछाउका धेरै घरहरुमा अझै चर्पी नभएको देशमा गाउँघरको त कुरै छाडौं । यो भनेको जनचेतनाको कमी र आनीबानीमा सुधार नहुनु हो ।

२. व्यापक प्रचार प्रसारका लागि समयको अभाव :

सदियौं देखि खुल्ला ठाउँमा गएर दिसा गर्ने बानी भएकोले यो आनीबानीमा परिवर्तन गर्न जनचेतनामा अभिबृद्धि गर्नु पर्छ । केही वर्ष उनीहरुलाई निरन्तर जनस्वास्थ्य सम्बन्धी चेतनामूलक शिक्षाहरु दिनु पर्ने हुन्छ । यो कुनै जादू मन्त्रले फुमन्तर गरे झैं तुरुन्तै व्यवहार परिवर्तन गर्न सकिने होइन । राज्यले नागरिकको जीउधनको सुरक्षा, शान्ति र सुस्वास्थ्यको लागि संचालन गरेको यस्तो अभियानलाई सकारात्मक रुपमा लिनु पर्छ । कल्याणकारी राज्यको अवधारणा पनि हो यो । तर, नागरिकहरुको चेतनास्तरको आधारलाई ख्याल गरेर खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने अभियान संचालन अलि छिटो भएको हो कि ? भन्ने अनुभूति गाउँघरमा पुग्दा त्यस्तो बुझिएको छ ।

३. समन्वयको अभाव :

राज्यले संचालन गरेको खुल्ला दिसा मुक्त क्षेत्र घोषणा अभियानलाई सरकारी निकायको समन्वयमा देखिएको अप्ठेरोपनले नै असफलता हुने हो कि ? भन्ने देखिन्छ । गाउँघरमा संचालन गरिने हरेक क्रियाकलाप तथा कार्यक्रमहरु गा.वि.स. र नागरिक वडा मंचसंग नगरी नहुने हालको व्यवस्था छ । तर, यो जिल्लाको १८ वटा गा.वि.स.लाई आवश्यक पर्ने सचिवहरु पर्याप्त नहुनु जसले गर्दा एकजना सचिवले एक भन्दा बढी गा.वि.स.को जिम्मेवारी वहन गर्नु पर्ने बाध्यता पनि रहेको पाइन्छ । यसो हुँदा सचिवहरुसंग यही कामको लागि समन्वय बैठक गर्न पनि निकै कठीन भइरहेको अनुभवले देखाएको छ ।
४. कार्यक्रम प्रति स्वामित्व/अपनत्व ग्रहण नगर्नु :

धेरैले यो कार्यक्रम भनेको गैरसरकारी संस्थाहरुको हो भनेर बुझेको पाइन्छ । वास्तवमा यो कार्यक्रम राज्यले संचालन गरेको अभियान भए तापनि यही गलत बुझाइका कारण खुल्ला दिसा मुक्त क्षेत्र कार्यक्रमको स्वामित्व र अपनत्व लिनमा अभाव देखिन्छ । गैरसरकारी संस्थाहरुले सरकारले आफ्ना नागरिकहरुको हितका लागि संचालन गरिएको कार्यक्रम हो भनेर बुझ्न र बुझाउन सकेमा खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्नमा सफलता मिल्नेमा कुनै दुई मत हुने छैन ।

५. चर्पी बनाउनु कामलाई पुननिर्माण कार्यसंग जोडेर हेरिनु :

एक घर एक चर्पी नारा लिएर भूकम्पबाट प्रभावित गाउँहरुमा पुग्दा बस्ने घर त बनाएको छैन के को चर्पी बनाउने ? गाउँघर पुग्दा लाभग्राहीको यस्तो आवाज देखिन्छ । पक्की घर बनाए पछि चर्पी बनाउँछौं भन्ने जवाफ सजिलै दिन्छन् । अतः यसले पनि लाभग्राहीहरुलाई सम्झाउन, बुझाउन र चेतना अभिवृद्धि गर्न केही समय अझै लाग्ने देखिन्छ । यसकारण चैत्र महिनाभित्र घोषणा गर्नु पर्ने भएकोले यो अभियानले सफलता पाउनेमा शंका लागेको हो । अभियानमा जानेले टहरामा बसिरहेको भए पनि सस्तो खालको चर्पी बनाएर दिसा पिसाव त्यसमा गर्नुपर्छ भन्ने कुरामा जोड दिनु पर्छ । खुल्ला स्थानमा दिसा गर्दाको नकारात्मक पक्षहरु बारे उनीहरुले बुझ्ने भाषामा बुझाउनु पर्छ ।

अन्त्यमा, खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भनेको सतहमा दिसा गरेको नदेखिनु नै हो । यो घोषणा कागजमा र भाषणमा गरेर हुँदैन । हामीले महँगो चर्पी बनाउनु पर्छ भन्ने होइन । सस्तो चर्पी बनाउन सकिन्छ । तर दुर्गन्ध आउनु भएन । दिसा पिसावबाट सिर्जित फोहोर सतहमा देखिनु भएन । त्यसबाट रोग निम्तिनु भएन । यो मानव विकास सूचाकंकसंग सबन्धित कुरा पनि हो । अब हामीहरु के चाहन्छौं ? यदि यो जिल्लालाई खुल्ला दिसा मुक्त क्षेत्र बनाउने हो भने सरकारी, गैरसरकारी संस्था, राजनीतिक दल, नागरिक समाज, पत्रकार, बुद्धिजिवी, शैक्षिक संस्था सबै एकजुट भएर लाग्नु पर्यो । गाउँघर पसेर कुन घरले चर्पी बनाएको छैन ? किन बनाएनन् ? त्यसको मूल कारण पत्तो लगाएर समाधानतर्फ लाग्नु पर्यो । अनि पो खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्ने अभियानले सार्थकता पाउन सकिएला ।

२०७३।११।२४
लेखक अधिबक्ता हुनुहुन्छ

Comments

comments