रसुवाका ६० गुठी पीडित किसानले पाए लालपुर्जा

IMG_2293

धुन्चे, रसुवा । पुस्तौंदेखि जोतभोग गर्दै आएको जमिनको स्वामित्वबाट वञ्चित भएका हाकुबासी गुठी पीडितले लालपुर्जा पाएका छन् । साविकको हाकु गाविस वडा नं. २,३,४,५,६ र ७ गरी ७ वटा वडाहरू हाल पार्वतिकुण्ड गाउँपालिका वडा नं. १ र २ मा बसोबास गर्ने किसानहरूसँग पुस्तौंदेखि जग्गाधनी पुर्जा छैन । आफूसँग जग्गा जमिनको स्वामित्व नहुँदा सुकुमबासी सरह नीवन विताइरहेका हाकुबासीले पुर्जा पाउन थालेका छन् । उनीहरूले आफैंले जोतखन र स्याहार संरक्षण गरेको जमिनको स्वामित्व भने काठमाडौंस्थित स्यम्भु घ्याङ् गुठीको नाममा दर्ता हुन पुगेको थियो । हाकुबासी लामो समयदेखि भूमि अधिकार अभियानमा सङ्गठित भई आफ्नो जग्गाको अधिकार लिनको लागि सङ्घर्षरत छन् ।

पुस्तौदेखिको समस्या समाधान भएर रातो पुर्जा हातमा पर्ला भन्ने सोचेको थिएन तर बृद्ध अवस्थामा भएपनि आफुले हातमा पुर्जा लिन पाएकोमा निकै खुशी लागेको साविकको हाकु गाविस ४ का ८४ वर्षका बृद्ध उरलामा तामाङले कार्यक्रम पछि पत्रकारसँग बताए । अब सवैले पुर्जा पाएदेखि भावी सन्ततीले स्वामित्वको लागि आन्दोलन गर्न नपर्ने अर्का स्थानीय सेदार लामाले लालपुर्जा हातमा देखाउँदै भने धेरै वर्षदेखिको भूमिआन्दोलनले सफलता पायो जिल्ला भूमिअधिकार मञ्चलाई धन्यवाद छ उनले भने । जेठ २१ गते रसुवा जिल्लाको धुन्चेमा आयोजना भएको एक कार्यक्रमबीच हाकुका गुठी पीडित किसानलाई मोही पुर्जा वितरण गरिएको हो । यसअघि किसानहरूसँग कुनै प्रमाणहरू थिएन । उनीहरूसँग केही प्रमाण नभएको कारण त्यसको हकभोगको समेत अधिकार खोसीने होकी भन्ने डरत्रासमा बस्दै आएका थिए । लालपुर्जा पाएसँगै उनीहरू खुसी भएका छन् । धुन्चेमा जिल्ला भूमि अधिकार मञ्च, रसुवा र असाहाय बालबालिका विकास केन्द्रको संयुक्त आयोजनामा भएको कार्यक्रममा हाकुबासीलाई लालपुर्जा वितरण तथा आर्थिक सहयोग वितरण गरिएको हो । कार्यक्रममा ६० परिवार किसानलाई पहिलो चरणमा रातो लालपुर्जा वितरण गरिएको थियो । यस्तै, हाकुमा स्थापना भएको असाहाय बालबालिका विकास केन्द्रले प्रति परिवार ७ हजार रुपियाँ आर्थिक सहयोग पनि वितरण गरेको छ ।

जिल्ला भूमि अधिकार मञ्च, रसुवाले हाकुबासी गुठी पीडितलाई मोही पुर्जा दिलाउनको लागि सङ्घर्षपूर्ण अभियान गर्दै आइरहेको छ । जिल्ला मञ्चले हाकुमा अभियान सुरुवात गरेको १२ वर्ष भयो । भूमि अधिकार मञ्चका संस्थापक अध्यक्षसमेत रहेको र हाल कालिका गाउँ पालिकाका उपाध्यक्ष निर्वाचित भएका भवानीप्रसाद न्यौपानेले भने, हामी भूमिको अधिकारबाट वञ्चित भएका किसानहरुलाई अधिकार दिलाएरै छाड्छौं । उनले भने २०५२ सालदेखि भूमि अधिकारको लागि सङ्घर्ष जारी छ ।

IMG_2358

कार्यक्रममा रसुवा जिल्लाका स्थानीय विकास अधिकारी चोमेन्द्र न्यौपाने, स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डे, मालपोत कार्यालय प्रमुख गणेश श्रेष्ठ, गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्वु तामाङ, पार्वतिकुण्ड गाउँपालिकाका अध्यक्ष बुचुुङ तामाङ, कालिका गाउँपालिकाका उपाध्यक्ष एवम् भूमि अधिकार मञ्चका पूर्व अध्यक्ष भवानीप्रसाद न्यौपाने, भूमि अधिकार मञ्चका निवर्तमान अध्यक्ष चित्रकुमारी न्यौपाने, नेपाली काँग्रेसका सभापति पेम्वाछिरिङ तामाङ, नेकपा एमालेका अध्यक्ष कन्र्याल तामाङ, माओवादी केन्द्रका अध्यक्ष इन्द्र गोतामे जगतजङ्ग, नयाँ शक्तिका केन्द्रीय सदस्य तेम्ब्रेल तामाङलगायत विभिन्न सरकारी कार्यालय, गैरसरकारी संस्थाहरू, पत्रकारलगायतको सहभागिता रहेको थियो ।
हाकुका ३ सय ४ जना गुठी पीडितले मालपोत कार्यालयमा निवेदन बुझाउने तयारी गरेका छन् । यसको लागि उनीहरूले स्यम्भु घ्याङ् गुठीलाई हालसम्मको कुत वापत एकमुष्ठ ५००० रुपियाँ तिरेर रसिद लिइसकेका छन् । भूमि अधिकार मञ्च र माननीय सांसद् जनार्दन ढकालको पहलमा गुठी संस्था र स्यम्भु गुठीमा भएको पटक पटकको आग्रहपछि लामो समयदेखि तिर्नबाँकी कुत मिनाहा गरी प्रति परिवार ५००० रुपियाँ मात्र एकमुष्ठ तिर्ने व्यवस्था गरिएको हो । सोअनुसार किसानहरू खुसी भई उक्त कुत तिरी सकेका छन् । यसबाट किसानहरूले २०३५ सालदेखि बाँकी रहेको कुत मिनाहा पनि हुन सहयोग पुगेको छ ।

IMG_2392

जग्गा नापी भएको करिव ४४ वर्षपछि किसानहरूले आफ्नो हातमा जग्गाको रातो लालपुर्जा प्राप्त गरेका हुन् । कार्यक्रमको बीच किसानहरूलाई प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरूले क्रमशः पुर्जा तथा आर्थिक सहयोग वितरण गरेका थिए । जिल्ला विकास समितिको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा १४३ सहभागी भएका थिए । कार्यक्रममा सहभागी भएका सहयोगी तथा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूले हाकुबासीलाई पुर्जा दिलाउने, हालसम्म सम्झौता हुन नसकेका भूकम्प पीडितलाई सम्झौता गराउन सहयोग गर्ने र नयाँ घर बनाउने क्रममा पनि आआफ्नो ठाउँमा सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरेका छन् ।

Comments

comments