गोरु र पोथी याक लखेट्दा लाङटाङ देखियो  

langtang 3

सरस्वती न्यौपाने,

रसुवा। देश विदेशमासमेत लाङटाङ हिमाल र लाङटाङ गाउँको बारेमा धेरै पथ प्रर्दशक परिचित छन् ।  जिल्लाकै पहिचानको रुपमासमेत रहेको लाङटाङ गाउँको आफ्नै महत्व र इतिहास रहेको छ ।हाल सञ्चालनमा आएको चिन नेपाल जोड्ने अन्तराष्ट्रिय नाकाको रुपमा परिचित रसुवागढी क्षेत्रको तिब्बतको केरुङमा केही मानिसहरुमा जम्मा भएर चाडपर्व भव्य मनाउने भन्दै मासु खानको लागी गोरु र ब्री (नाक) मार्न खोजेछन् । मार्न ठिक्क पारेको गोरु र पोथी याक (ब्री) त्यस ठाउँबाट दाम्लो चुडालेर भागेपछि जम्मा भएका मानिसहरू मध्ये थर्पु गेन्जेन नाम गरेको ब्यक्ति गोरू र याक समात्न कुदेछन् ।

गोरु खाज्दै जाँदा उनी लिङ लिङ पुगे । गोरु र नाकको खुट्टाको डोब माथितिर उक्लेको देखेपछि थुर्पु पूर्वतिर फर्केर हेर्दा पारिपटिको पाखामा नाक (ब्री) ले बाच्छो नाचिरहेको देखेपछि एकैछिन आराम गर्छु भनेर बसेको त्यस डाँडोलाई जोङगाङ डाँडो भनियो त्यो डाँडोमा वर्षेनी (ह्युल्सा) पुजा गरिन्छ ।

थर्पु गेन्जेन उठेर हेर्दा पारिपट्टि ब्री (नाक) र बाच्छो हिलो जमीनमा भासिएको र ब्री (नाक) जमीनमा गाडिएको हुनाले त्यो ठाउँको नाम ब्रिद्धिम भनियो । भोटेली भाषामा ब्रिदिप भनेको पोथी याक भासिनु हो । यो शब्द अपभ्रसं भएर अहिले बृद्धिम गाउँ भएको छ ।

बाँकी रहेको गोरु खोज्दै बुढा थुर्पु गेन्जेन अघि बढे । खाङजिम भन्ने ठाउँमा पुगेपछि उनले गोरु देखे, गोेरुले मुख बजाएर हब्बाँ गर्दै करायो । तामाङ भाषामा गोरुले कराउनुलाई काँ भन्छन् । गोरुले मुख बजाएर काँ गरेर कराएको हुनाले त्यो ठाउँको नाम खाङजिम भनियो । भोटेली भाषामा खा भनेको मुख र खाङजिम भनेको मुख आँ गरेर कराउनु हो ।

बल्ल बल्ल चारैतिरबाट छेकेर बुढा थर्पु गेन्जेनले गोरु समात्यो । चारैतिरबाट घेर्नु वा छेक्नुलाई भोटेली भाषामा सुर्का भनिन्छ । गोरु समात्नका लागि चारैतिर घेरेको हुनाले त्यो ठाउँकोलाई लाङतासा भनियो । भोटेली भाषामा लाङतासा भनेको गोरु बाँध्ने ठाउँ हो । गोरु बाधेको चिन्ह स्वरुप अहिले पनि त्यहाँ ढुङ्गाको प्वाल रहेको छ । गोरु चुटेको लट्ठी जहाँ ठड्याइएको थियो त्यो ठाउँमा रुख उम्रेको छ ।

गोरु फेरी फुत्कियो गोरु अघि अघि र गेन्जेन बुढा पछि–पछि गए वार्का पुच्चु (काँडाजातको ) प्रजाति काँडा घारी बाक्लो थियो काँडाले गोरुको छाला बेस्सरी कोत¥यो । छाला कोतरेको हुनाले पाको स्याक्याँ भनिएको छ । यसको अर्थ छाला कोतरेको भन्ने हुन्छ त्यसैले गाउँको नाम नै स्याप्पोको रहन गयो । त्यो ठाउँको नाम शेर्पा गाउँ भयो । तर त्यो गाउँमा शेर्पाहरु छैनन् । गोरु समात्न सकिएन रिम्च्चेमा पुग्दा गोरु झारभित्र लड्यो । गोरु लडेको (लाङ रिल्क्यो) हुनाले त्यो ठाउँलाई लाङ रिल्क्यो च्ये भनियो । पछि त्यो शब्द उपभ्रंस भएर रिमोच्ये भएको हो । गोरु उठेर फेरी हिंडयो गोरु अघि–अघि बुढो पछि–पछि गोरु चाङडाम अर्थात खोलाको किनारलाई अहिले लामा होटल भनिन्छ ।

चाङडामबाट हिडेको गोरु फेरी हरायो । गोरु हराएको हुनाले त्यो डाडाँको नाम लाङतोर गाङ भयो । लाङतोर भनेको गोरु हराउनु र गाङ भनेको डाँडा हो । चाङडाममा हराउनु र गाङ भनेको डाँडो हो । चाङजममा फर्केर गोरुको डोब खोज्दै खोलाको किनारै किनार थर्पु गेन्जेन माथितिर लागे । डोब पछ्याउँदै जाँदा गोम्ना भन्ने ठाउँमा गोरुले बाटोमा लडिरहेको रुखको टिम्बा (गोन्दो)लाई हामफाल्दै नाघेर गयो । गोरुले फाल हालेको हुनाले त्यो ठाउँलाई गोम्ना भनिएको हो ।

क्युर्पुनेसा  (हालको घोडा तबेला) पुगेपछि थर्पु गेन्जेनले दङच्युब क्षुर्चा (पदमचाल) को घारीमा गोरु चरिरहेको देखे । बुढालाई थकाई लाग्यो थकाई मारेको हुनाले त्यो ठाउँलाई थाङस्याब भनियो । थर्पु गेन्जेन बुढाले थकाई मारेको ढुङ्गा जसलाई (स्युठी) पनि भनिन्थ्यो । त्यो ढुङ्गा चिल्लो खालको थियो अहिले त्यो ढुङ्गा छैन होटलवालाहरुले फुटाईदिएछन् । त्यो ढुङ्गा फुटाउनु हुदैनथ्यो । त्यो ढुङ्गा इतिहासको साक्षी थियो र त्यसको धार्मिक महत्व पनि कम थिएन भन्छन् स्थानीय बुढापाका ।

लाङटाङ पुग्नु अगावैको डाँडोमा पुगेपछि गोरुले चारवटै खुट्टा तन्काएको हुनाले त्यो ठाउँलाई काङतङसा भनियो । भोटेली भाषामा काङतङसा भनेको खुट्टा तन्काउनु हो । वर डाँडाबाट हेर्दा एउटा उपत्यका देखियो उपत्यकामा हरियो घाँसे गहुँ, करु आदी अन्नबाली लहलह भएको गोरूले देखेछ । गोरु त्यहीँ उपत्यकामा पुगेर घाँस खाएर अघाएर सुतिरहेको हुनाले त्यो ठाउँलाई लाङटाङ भनियो लाङटाङ भनेको गोरु अगाएको भन्ने हो अपभ्रंश भएर लाङटाङ भएको हो ।

बुढाले त्यहाँ पनि गोरु समात्न सकेन गोरु फेरी पनि जुरुक्क उठेर उकालो लाग्यो बुढा मान्छे अचम्म मान्दै पछयाउदै गए क्याङजेन पुगेपछि गोरुले टाउको हल्लाएर जीउ तन्काएछ । गोरुले टाउको र जीउ तन्काएको हुनाले त्यो ठाउलाई क्याङजेन भनियो । भोटेली भाषामा गो भनेको टाउको र क्याङक्यो भनेको तन्काएको अर्थात टाउको तन्काएको भन्ने अर्थ जनाउछ । त्यो ठाउँमा गुम्बा बनाएपछि क्याङजेन नाम रहन गयो । क्याङजेन नाउँबाट पनि त्यस ठाउँलाई अहिले चिनिन्छ ।

समात्न खोज्दा गोरु फेरी उकालो लाग्यो । बुढा फेरी गोरुको पछि लागेर हिमालमुनि पुगेपछि मात्र गोरु भेटाउन सके । लामो हिडाई र थकाइले गर्दा बुढालाई गोरुदेखि रिस उठेर रिस थाम्न नसकेर भिरेको तरवारले गोरु मारेछन् । गोरू मारेपछि बुढालाई पश्चाताप भयो । गोरु मरेको त्यो ठाउँलाई लाङसिसा भनियो । भोटेली भाषामा लाङ भनेको गोरु र सिसा भनेको मरेको ठाउँ वा जमिन भन्ने जनाउँछ ।

त्यहीँ रहेको ढुङ्गामाथि निदाउँदा थर्पु गेन्जेनले सपनामा भगवानको जोगी बाबाको भेषमा दर्शन पाएछन् भगवानले भन्नु भएछ तिमीले यसरी सुल्ताउँनु पर्दैन । तिम्रो कारणले गोरु मरेको होइन । मैले तिमीलाई यो पवित्र भुमी लाङटाङ देखाउनका लागी यो गोरुमाफर्त डोर्याएको हुँ । तिमीले नडराईकिन यो गोरुको शरीरलाई टुक्राटुक्रा पार्नु र ढुङ्गामाथि फिंजाएर राख्नु र उ त्यो भीरमा देखाउँदै एउटा बघिनी बस्छे तिमिले त्यहाँ गएर नडराईकिन त्यो बघिनिको दुध दुनु र भगवानलाई दुध (हवोकि/ओबी) चढाउनु भनेपछि ब्युझिएछन् । सपनामा देखेअनुसार उनले गर्न खोज्दा अचानक हुने मौसम परिवर्तनले गर्दा सपनामा देखेको जोगी बाबाको ईच्छा कहिल्यै पुरा गर्न सकेन्न ।

थर्पु गेन्जेन तिब्बतको होर्याक भन्ने ठाउँमा फर्किएपछि परिवारसहित उनी लाङटाङमा बस्न आए । लाङटाङमा मानव वस्तीको सुरुवात यसरी भएको भन्ने यो कथा तत्कालिन राष्ट्रिय पञ्चायतका उपाध्यक्ष दावा फिञ्जो तामाङ र रसुवा जिल्लाका अधिवक्ता फुर्पा तामाङले केही वर्ष अगाडी यसरी बताएका थिए ।

Comments

comments