गोसाइकुण्ड–मेलम्ची यात्रा र मेडिकल स्टुडेन्ट सिन्ड्रम–१

DSC07420

जाँदा पनि ऊ कालो आउँदा पनि ऊ कालो के हो?

विशद दाहाल, एमबिबिएस चौथो वर्ष

काठमाडौँको धुवाँ–धुलो र कोलाहललाई छल्दै हाम्रो जिप ऐतिहासिक शहर बेत्रावतीमा खाना खान रोकिएको थियो। बिहानैबाट भोकले चाउरिएको पेटमा जब दुई गाँस दालभात पर्‍यो तब दिवाकरको दिमागमा फेरि उट्पट्याङ प्रश्नहरुको सञ्चार हुन थालिहाल्यो । ‘जाँदा पनि ऊ कालो आउँदा पनि ऊ कालो के हो?’ प्रश्न स्वभाविक रुपमा प्रशान्ततर्फ नै तेर्सिएको थियो किनभने हाम्रो १० जनाको टोलीमा ऊ सबैको प्यारो थियो अर्थात् सबैले जिस्काइरहने पात्र । अझ त्यसमाथि भर्खर–भर्खर निस्किएको हाम्रो बेसिक साइन्सको रिजल्टमा उसले टियू टप गरेको थियो । बस, अनि त के चाहियो र ? पाइला–पाइलामा उसको परीक्षा चलि नै रह्यो।

‘आउँदा अर्कै बाटो फर्कियो होला त्यहि भएर उकालो भयो,’ प्रशान्तको यो उत्तरलाई सबैले एकै स्वरमा हाँसेर उडाइदिए । त्यसपछि पनि उसले हरेश भने खाएन बरु अरु तीन चारवटा सम्भाव्यता बताइरह्यो । तर अहँ कुनै पनि मिलेनन् । बरु हाँसोका लहरहरु अझ गाढा हुँदै थिए।

यता राजुलाई भने यस्ता प्रश्नहरुप्रति खासै दिलचस्पी नै थिएन । ऊ त केहि औषधि छुट्यो कि भनेर आफ्नो ब्याग अन्तिमपल्ट हेदैै थियो, ‘क्रेप ब्यान्डेज छ , प्यारासिटामोल छ, डाइक्लोफिनाक जेल पनि छ र केहि परिहाल्यो भने अन्तिम रिजोर्टको रुपमा स्टेरोइड पनि छ।’ तर, उसलाई यतिले मात्र पुग्दैन । “केटाहरु थाहा छ नि हामी अराउन्ड ४५०० मिटर माथि जाँदै छौँ, अल्टिच्यूड लाग्न सक्छ । त्यहि भएर आज बेलुकैदेखि नै एसिटाजोलामाइड खानपर्छ । बोकेको छ नि ?’ राजुको वाक्य टुङ्गिन नपाउँदै परबाट गोपालले भन्यो– ‘अँ अँ, मैले बोकेको छु त्यो झोलामाइड।’


जिप कालिकास्थानबाट माथि लागिसकेपछि भने परिवेश पूरै बदलियो । गणेश र लाङटाङ हिमालमा सिधै ठोक्किएर आएका सिरेटोले हाम्रो मुटु लगलग काप्न थाले । मुस्किलले एउटा गाडी अटाउने साँघुरो बाटो, तल त्रिशुलीको खोँच अनि वरपर सेताम्मे हिमाल । अघिसम्म भमिट नहोस् भनेर मुखमा सिक्का च्यापेर सुतेको शक्ति अहिले भने बाहिरको परिवेश देखेर अक्क न बक्क भयो । अनि अघिसम्म बन्द रहेका उसका मुख अब भने आश्चर्यतामा खुलाका खुला नै रहे।

करिब २००० मिटर उचाईमा रहेको रसुवा जिल्लाको सदरमुकाम धुन्चे आइपुग्दा दिनको दुई बजिसकेको थियो। कसैले माथि पानी पर्ने र हावा चल्ने एकैपल्ट हुन्छ भनेर घुम किनेर ब्यागमा हाले । कसैले हिँड्दा डिहाइड्रेसन हुन्छ भन्दै ओआरएस (जीवनजल) किनेर बोके, कसैले हाइपोग्लाइसेमियासँग (रगतमा चिनिको मात्रा कम हुने) डराएर चकलेट बोके त कसैले शेर्पिनी दिदीले बनाएको तातो चाउचाउ सुपलाइ नै प्यारो ठाने।

भट्टे खोलाको आडमै रहेको ‘हिमालय बिसिलेरी’ बाटै स्याप्रुवेशी र गोसाइकुण्ड जाने बाटो छुट्टियो । फागुनको पहिलो साता, चिटिक्क परेका एकहुल बहिनीहरु जङ्गलबाट दाउरा खोजेर आउँदै थिए । यता बिसिलेरीको पाले घरमा झुण्डिएको रेडियो भने अघिदेखि नै गाइरहेको थियो, ‘कान्छीको गाला के बिधि रातो स्याप्रुको स्याउ जस्तो हो, स्याप्रुको स्याउ जस्तो ।’ त्यसपछि भने हामी पनि गीतकै तालमा रातोपिरो हुँदै उकालो लाग्यौँ।


पहिलो दिनको हाम्रो लक्ष्य भनेको २९०० मिटर उचाइमा रहेको देउरालीमा गएर बास बस्नु थियो । म सानो छँदा बुवाको जागिर रसुवामै भएकाले केही वर्ष धुन्चे बसेको थिएँ । त्यातिखेर हाम्रो क्वाटर अगाडि बिहान झिसमिसेमा भारीको मोलतोल गर्दै गरेका शेर्पा दाइहरु त्यसैदिन गोसाइकुण्ड पुगेर फर्किन्थे । त्यही भएर मलाई हामी देउराली भन्दा अझ माथि पुग्न सक्छौं जस्तो लागेको थियो । तर, सुरजले फिजियोलोजी किताबमा लेखेको कुरा सम्झायो, ‘एक दिनमा ५०० मिटर भन्दा धेरै अल्टिच्युड गेन गर्नु हुँदैन ।” आखिर सुरज पर्‍यो राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा फिजियोलोजीमा तहल्का पिटेको मान्छे । उसको कुरा कसले काट्ने । अन्ततः हाम्रो त्यस दिनको बास देउरालीमा नै भयो ।
भूकम्पले गर्दा सबै होटलहरु भत्किएका रहेछन् । बल्लतल्ल एउटा टेन्ट फेला पर्‍यो । टेन्ट के भन्नु सानो–तिनो ओडार नै थियो । बसेको चाहिँ प्रति ब्यक्ति पचास रुपैयाँ अनि खाएको चाहिँ ३५० रुपैयाँ । त्यो पनि दाल, भात र आलु । तरपनि कसैले दुईपटक सोचेन, किनभने हाम्रो ब्यागमा रहेको सिटामोलले रात कट्ने वाला थिएन । खाना खाइसकेपछि हामीलाई एउटै इन्सट्रक्सन थियो, ‘राति पिसाब फेर्न एक्लै दुक्लै ननिसक्कनु, यहाँ खुब चितुवा लाग्छन् ।’

पूर्व सम्झौता अनुसार भोलि लेक नलागोस् भनेर सबैले एसिटाजोलामाइड खाइयो – (गोपालका शब्दमा झोलामाइड) । खान त खाइयो आफ्नै खुशीले तर सायद हामीले यसको साइडइफेक्ट चाहिँ पढ्न भुलेछौँ । जब झोलामाइडले आफ्नो काम गर्न सुरु गर्‍यो तब सबैलाई जोडजोडले पिसाब लाग्न थाल्यो त्यो पनि छिनछिनमा । तर अहँ जुरुक्क उठेर बाहिर निस्कने आँट कसैको थिएन । त्यहाँ माथि चितुवाको डर थपिएपछि त झन कतिन्जेल थाम्न सकिन्थ्यो र ?

धेरैबेरको छलफल पश्चात् प्रज्वल एक्लै भएपनि बाहिर निस्कने भयो । ‘खोइ टर्च देऊ केटा हो । म जान्छु । यसरी डराएर पनि हुन्छ,’ उसले साहसका साथ भन्यो। टर्च शब्दले पो सबैलाइ एकैपटक झस्काइदियो  । प्यारासिटामोल र आइबुप्रोफिन सम्झने साथीहरुले टर्च चाहिँ बिर्सिएछन् । यस्तो अनकन्टार ठाउँमा ट्रेकिङ आएको छ, त्यहाँमाथि अघि नै सबैको मोबाइल स्विच अफ। एकछिन त पूरा सन्नाटा नै छायो।

आखिरमा धेरैबेरसम्म आफ्नो ब्यागमा छामछुम गरिसकेपछि सागरले एउटा मसिनो बत्ति बाल्यो । धत्, तेस्रो वर्षको पोस्टिङका लागि भनेर किनेको बिरामीका आँखा–घाँटी जाँच गर्ने पेन टर्च पो रहेछ । तर, त्यहि पेन टर्च पनि त्यतिखेर हाम्रा लागि चाहिँ नाइटभिजन हेलिकप्टरको सर्च लाइट भन्दा पनि चहकिलो थियो।


भोलिपल्ट बिहान देउरालीबाट देखिने दृश्य कम्ति मनमोहक थिएन । दायैँ हिमाल, बायैँ हिमाल । कता मात्रै हेर्नु र कति मात्रै हेर्नु । एकोहोरो टोलाइरहेको मेरो ध्यान पछाडीबाट आइरहेको ठ्याक–ठ्याक, ठ्याक–ठ्याकको आवाजले भङ्ग गरिदियो । एकछिन त चितुवा नै आएछ कि जस्तो लाग्यो तर आवाजको नजिक गएको त प्रशान्त रहेछ । भएछ के भन्दा बिहानै चर्पी लागेर उठेको पानी त कतै छैन । धेरै बेरको अनुशन्धान पश्चात् पानी ड्रममै जमेको कुरा पत्ता लागेपछि ऊ बरफ फोर्न ठ्याक–ठ्याक पारिरहेको रहेछ । त्यसपछि त जो–जो उठ्छन्, पालैपालो ठ्याक–ठ्याक।

देउराली पछि त एकघण्टा जति ठाडै उकालै मात्र, भूतियाको उकालो । त्यहाँमाथि उराठलाग्दो सल्लाको जङ्गल । धन्न बिहानीको समय थियो र झर्को मान्दा मान्दै पनि काटियो । अलिकति केसम्म बाटो आएको थियो सबैजना थच्याक–थुचुक बसियो । सुरजले ओआरएस बनायो । एक लिटर पानीमा एक प्याकेट नवजीवन हालेर, पूरा नियमपूर्वक। राजुले ब्याग खोतल्न थाल्यो । खानेकुरा निकाल्ला भनेको त एक पाता औषधि निकालेर पालैसित छोडाउन पो लाग्यो ।’ यस्तो उचाईमा आउँदा स्ट्रेसका कारण पेटमा धेरै एसिड प्रोड्युस हुन्छ, त्यही भएर एन्टासिड खाइरहनुपर्छ।’ हो, आखिर जी.आई –(ग्यास्ट्रो इन्टेसटाइनल) टपरले भनेको कुरा कसले काट्ने । सबैजनाले एक एउटा डाइजिन खाइयो र चन्दनबारीतर्फ लागियो।

करिब ३२०० मिटर उचाइमा रहेको चन्दनबारी विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको चिज फ्याक्ट्रीका लागि प्रसिद्ध रहेछ । अत्याधिक चिसोका कारण चौरी धपाउने दिवाकरका इच्छा त पूरा भएनन् तर तिनै चौरीहरुबाट उत्पादित केही टुक्रा स्वादिला चिजहरु चपाउँदै हाम्रो यात्रा अगाडि बढ्यो।

अबको गन्तब्य लौरीबिना थियो । सायद हामी स्नो लाइन भन्दा धेरै माथि आइसकेका थियौँ, त्यहि भएर साना साना घाँस र कतै कतै नफुलेका गुँरास बाहेक केहि देखिदैन थियो । लौरीबिना पुग्ने बाटो पूरै उकालो । दश जनाको हाम्रो टोली आ–आफ्नो हिँड्ने क्षमता अनुसार छरपष्ट भइसकेका थियौँ । म र राजु सबैभन्दा पुछारमा थियोँ। अगाडिको साथीसँग सम्पर्क गर्ने एउटै माध्यम भनेको जोडजोडले कराउनु मात्र थियो । जति जति माथि गयो  त्यति त्यति सास फुल्दै आइरहेको थियो।

अचानक राजु थ्याच्च बस्यो । दुईटै हातले आफ्नो छाती बेस्सरी समात्यो अनि अलि–अलि निस्किएको सास जम्मा पारेर भन्न थाल्यो, ‘मलाई त एम.आई भयो ।’ एम.आई अर्थात् हर्टयाट्याक।  क्रमशः

http://swasthyakhabar.com

Comments

comments