चुस्न छोडौँ कमरेड ! अब श्रमजीवि पत्रकारका जीवन र जवानी

satta-ra-shakti-dhruba-pd-ghimire-768x419

०४ असार २०७७, काठमाडौं

ओखलढुंगाको धुसेनीमा जन्मिएर प्राथमिक शिक्षा पुरा भए सँगै बुवाआमाले डोहोर्‍याउँदै २०४९ मा सिन्धुलीको दुधौली–१ झार्नुभयो । दाजुहरुको प्रेरणाले नबुझी–नजानी कम्युनिष्ट पार्टीमा लागेको मलाई बाल्यकालदेखि नै राजनीतिको रस पसेको थियो । अरु सहपाठी भन्दा फरक सोच्ने मेरो बानीले स्कूले उमेरदेखि नै पढाईको अतिरिक्त अनेरास्ववियुमा क्रियाशील बनायो । भर्खरै शुरु भएको जनयुद्ध र रगतै तताउने क्रान्तिकारी साँस्कृतिक कार्यक्रमहरूले पनि मलाई तान्यो । समयको क्रमसँगै ऋषिराज देवकोटा ‘आजाद’ को रगतले सिञ्चित सिन्धुलीको माटोमा मेरो विद्यार्थीकाल र उर्वर युवावस्था आजादकै झण्डा उठाउन लागिरह्यो ।

दुई दशक बढीको काठमाडौं बसाईमा आफ्नो संलग्नता भएका विद्यार्थी आन्दोलन, मानव अधिकार र सामाजिक रुपान्तरणको अभियान बीचैमा छोडेर जिन्दगीको साढे तीन दशक पारसँगै प्रवेश गर्न पुगे–नेपालको पत्रकारिता क्षेत्रमा । पत्रकारीता अन्तरहृदयको चाहना थियो वा पूर्वजन्मको लेखान्त, त्यो त जान्नेहरुले बताउलान् । मेरो भोगाईमा पत्रकारिताको आगमन अकल्पनीय दुर्घटना नै थियो । शुरुमा म मिडिया कम्पनीको व्यवस्थापक बन्ने सहमतिमा छिरेको थिए । पार्टी नेतृत्वप्रतिको मेरो दृढ विश्वासमा अकल्पनीय धोका भएपछि पत्रकारितालाई पेशा बनाउन बाध्य भए ।

भोगाई जीवनको एउटा पाठशाला न हो । छोटो अवधिमा शहरिया कम्युनिष्ट भन्नेहरुको सामन्ती चेतना, चिन्तन र व्यवहार नजिकबाट बुझ्न, अनुभव गर्न र भोग्न करिब १ वर्ष नै मलाई काफी बन्यो ।  जीवनका हरेक क्षणहरु बाँकी जीवनका लागि शिक्षा हुन्छन् । तर श्रीमान्, बुवा र घरमुली हुँदा ठूलो आर्थिक क्षति सहित प्राप्त सिकाई भने निकै पीडादायी र दर्दनाक हुने रहेछ । त्यहि पीडा, धोका र विश्वास घातले तय गरेको पत्रकारिता नै मेरो वर्तमान जिन्दगीको एउटा परिचय हो ।

दशक बढी बिताएको सामाजिक क्षेत्र छोडेर पच्चीस हजार लगानीमा गैर नाफामूलक मिडिया कम्पनीको व्यवस्थापक बन्ने प्रस्ताव आफैंमा सुन्दर थियो । त्यहि जोशमा स्थानीय दुई नेताको सहमति अनुसार मिडिया कम्पनी दर्ता गर्न र मिडियालाई आवश्यक पर्ने उपकरण किन्न मैले ढिला नै गरिन । आफ्नो अफिसमै एउटा बोर्ड झुन्ड्याउन मलाई कुनै महाभारत थिएन । पत्रकारिताको शुरुवाती समयमै स्थानीय निर्वाचनको चर्चा चल्यो । मिडिया खोल्न निकै जोडबल गर्ने कमरेडले टिकट नै पाएनन् । त्यो सँगै उनीहरूले तीन सय सदस्य बनाउन लिएको मौखिक ठेक्काको लिखित प्रमाण खोज्न थाले । फलतः मिडिया कम्पनीप्रतिको उनको मोह नै भंगभयो ।

समय बित्दै गए, प्रादेशिक र संघीय निर्वाचनको मिति तोकियो । मिडिया गठन गर्न उत्प्रेरित गर्ने दुबै नेताहरू फेरि सहयोगको याचना गर्दै कार्यालय आए । मान्छेको मन न हो, पग्लिने नै रहेछ । सामान्य सहयोग लिएर त्यो बेला पनि तिनै कमरेडको चुनावी अभियानमा खुलेर सहयोग गरियो । निर्वाचित भएसँगै २०० सदस्य बनाउने बाचा बिर्सिएर माननीय कमरेडले २ जनामै आफ्नो बाचा पूरा गरे । अर्का कमरेडले सय त होईन आफ्नो पच्चीस हजार खर्च गर्नुपनि उपयुक्त ठानेनन् । मलाई लाग्छ, चुनावी सफलता र समापनको खुशीयालीमा गरिएको कार्यक्रममा प्रायः साँझ झैँ, भट्टीको रक्सी र चुरोटको धुवाँसँगै उठाए म सँग गरेका सहकार्यका बाचाहरू

घनिष्ट बनेको नाटक गर्ने नेताको एकतर्फी उपयोगवादी नीतिको मैले खुलेरै बिरोध गरे । तिनै कमरेड दलबल सहित आए मेरो कार्यालयमा मानहानी गरेको भन्दै थर्काउन ! आफ्नै श्रम र सीपले डेढ दशकमा जोडेको ४ आना जग्गा पनि गुमाएको मलाई न डर थियो न त आश नै । मैले संकल्प गरेको छु–साँच्चिकै सर्वहारा भएको मलाई गुमाउन केहि छैन तर जित्नको लागि सारा संसार नै छ । आफू क्षणिक रुपमा सफल भई अर्कोलाई सडकमा पुर्‍याएकोमा प्रशन्न हुनै पर्दैन कमरेड म त झन्–झन् संकल्पित र दृढ बन्दै गएको छु ।

कमरेडहरू,
सिन्ह्वा न्युज एजेन्सीको समन्वय र चिनियाँ व्यापारीको सहयोगमा कोरोना संक्रमणको समयमा समेत फ्रन्ट लाईनमा काम गर्ने ३०० पत्रकारहरूलाई १ बट्टा मास्क र ६५ एमएलको स्यानेटाईजर वितरणको चाँजो मिलाए । संचारकर्मी साथीहरु धेरै र सामग्री थोरै भएकोले काभ्रे र भक्तपुर जिल्लामा आफैँ सहभागी भएर वितरण सहित अन्तरक्रिया गर्ने अवसर मिलाए ।

छलफलमा साथीहरुको कुरा सुन्दा लाग्थ्यो, मुलुकका सबै जनप्रतिनिधिहरु अर्कै ग्रहबाट झरेर आफ्नो जीवनकालभरी हामीलाई शासन गर्न आएका हुन् । यस्तो आक्रोश पोख्ने साथीहरू अरु कोहि नभएर तिनै नेतालाई कुर्सीमा पुर्‍याउने थिए । अधिकांश साथीहरूको आक्रोश, वेदना र बेचैनी यस्ता नेतालाई जिताउन लागेकोमा देखिन्थ्यो । आफैंले निर्वाचनमा जिताएका नेता कमरेडहरू सहयोग गर्नु त परको कुरा, भेटेर गफगाफ गर्न समेत तयार छैनन् । पत्रकारको फोन उठाउनु उनीहरुको कर्तव्य होईन । आक्ककल–झुक्कल उठाउने फोनमा प्राय एउटै जवाफ आउँथ्यो । अहिले म व्यस्त छु, केही दिनमा सम्पर्क गर्नुहोला । पटक–पटकको फोनपछि त्यो केहि दिन ३ वर्षसम्म नआएको अनुभव आफैंमा पिडादायी थियो ।

साथीहरूको भावनामा केहि मल्हम लगाउन सकिन्छ भनेर मैले लकडाउनको बीचमै केहि पालिका प्रमुख–उपप्रमुखलाई उहाँहरुकै कार्यकक्षमा गएर भेटे । छलफलमा मैले भने,“तपाईले विकास निर्माणको काम त राम्रो गर्नुभएको केहि साथीबाट सुनिन्छ तर व्यवस्थित प्रचार भएको त देखिएन नि ? आफूले गरेका कामहरूको प्रचारमा कत्तिको ध्यान पुर्‍याउनु भएको छ ? “प्रायः प्रमुख–उपप्रमुखको जवाफ हुन्थ्यो–पत्रकारहरु खाली माग्न मात्र आउँछन्, खान मात्र खोज्छन् । जाबो लेखेको र प्रचार गरेको पनि पैसा लाग्छ र ? म त फोन नै उठाउँदिन । उठाउनै परे र भेटें नै भनेपनि म त वास्तै गर्दिन ।

मैले फेरी सोधें, “कमरेडहरुले आजसम्म कतिवटा मिडिया वा मिडियाकर्मीहरुलाई सहयोग गर्नुभयो त ? असहज नमानी प्वाक्कै भन्छन कमरेडहरु–त्यस्तो त खासै कसैलाई पनि गरेको छैन । हामीले गरेको काम फेसबुकमा हालेकै छौँ । गरेका कामहरु जनताले देखेकै छन् । १/२ वटा पत्रकारले नराम्रो लेखेका थिए, झपारियो । त्यस्ताले लेखेर हामीलाई केहि फरक पार्दैन । पत्रकार भएपछि त हाम्रा कामहरु सित्तैमा प्रचार गरिदिनुपर्‍यो नि !

पालिकाप्रमुखज्यूहरु,
तपाईहरु अहिले नयाँ आर्थिक वर्षको लागि बजेट बिनियोजन गर्ने तयारीमा हुनुहुन्छ । सायद तपाईहरुले ३ वर्षे अवधिमा गरेको व्यवहारले जिल्लामा क्रियाशील कुनैपनि पत्रकार तपाईको कार्यालयमा मिडियामैत्री बजेट हुनुपर्छ भनेर सुझाव दिन आउने छैनन् । फैलदो कोरोना संक्रमणको कारण हाम्रो पनि प्रत्यक्ष भेटघाट र छलफल हुने सम्भावना देखिदैन । फोनबाट गरेको संवादले कत्ति काम गर्ला र ? मैले व्यक्तिगत रुपमा भेटेका केहि नगरप्रमुख र उपप्रमुखबाट मिडियामैत्री बजेट छुट्टिने प्रतिवद्धता पाएको छु ।

कुनैपनि परियोजना निर्माणको लागि डिपिआर बनाउन लाखौँ बजेट बिनियोजन हुन्छ ।  डिपिआर अनुसारको परियोजना सम्पन्न गर्न करोडौँ बजेट बिनियोजन  गरिन्छ । तर त्यस्तो योजनाको अनुगमन र पारदर्शीताको लागि कतैबाट पनि बजेट विनियोजन गरिएको हुँदैन । निश्चित गुणस्तरमा निर्माण गर्ने शर्तमा गरिएका त्यस्ता ठेक्काको जानकारी सरकारी कर्मचारी र ठेकेदारमा मात्र सिमित रहने गर्छ ।  नेपालमा हुने अधिकांश विकास निर्माणमा गुणस्तर कायम नहुने, तोकिएको समयमा सम्पन्न हुने परियोजनाहरु निकै थोरै छन् ।

हामीले सुनेका पनि छौँ, पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री र बहालवाला वरिष्ठ मन्त्री जस्ता जिम्मेवार नेतृत्वले प्रायः पालिकाहरुमा चरम भ्रष्टाचार छ भनेर पटक–पटक सार्वजनिक भाषण गर्नुभएको छ । मलाई लाग्छ, तपाईहरु मध्ये कसैले पनि विज्ञप्ति निकालेर उक्त भाषणको खण्डन गर्नु आफ्नो कर्तब्य ठान्नु भएन वा त्यो चुनौती दिने अवस्थामा तपाईहरु हुनुहुन्न ? त्यो समयले देखाउने नै छ । स्थानीय तहमा तपाईहरुले नेतृत्व गरेपछि पनि ठूला परियोजनाहरु पक्कै भएका छन् । त्यस्ता परियोजनाबारे जनतालाई बुझाउन कत्तिको ध्यान दिनुभएको छ ? पालिकाले गर्ने र गरेका वार्षिक कामहरुबारे जानकारी दिने सार्वजनिक सुनुवाई राख्नु भएको छ कि छैन ? यदि छैन भने त्यस्ता काममा स्थानीय संचारकर्मी र संचार माध्यमलाई किन परिचालन गर्न आवश्यक ठान्नु हुन्न ?

तपाईहरुलाई राम्ररी थाहा हुनुपर्छ, कर्मकाण्ड गर्ने एउटा पुरोहितले आधा दिन काम गर्दा पाँच हजार कमाउँछ । माध्यामिक तहको एउटा शिक्षकले आधा दिनमा  दुईहजार कमाउँछ । कलेजका लेक्चररहरुले ४५ मिनेटमा १५०० सम्म कमाउँछन् । अनि लेख्ने र बोल्ने दुवै काम गरेर लाखौँ पाठक, दर्शक र श्रोतालाई सु–सूचित गर्ने एउटा संचारकर्मीले राजनीतिक जागरण र सामाजिक रुपान्तरणमा सचेतना फैलाउँदा समेत जहिल्यै एक पैसा नलिईकन काम गर्नुपर्ने ?  मैले सुनेको छु, एक पैसा नै नलिईकन सयौँ र हजारौँ पटक तपाईले गरेका काम लेख्ने र बोल्ने एउटा अभियन्ता चाहिँ जहिल्यै माग्ने देखिने ? यो कुन सामाजिक चेतना र चिन्तन हो कमरेड ?

प्रिय जनप्रतिनिधि ज्यूहरु,
राजनीतिक जीवनमा आदर्श र प्रेरणादायी तपाईको व्यक्तिगत जीवन सत्ता र शक्तिको उन्मादले आफ्नै सहकर्मीलाई माग्ने देख्न थाल्नुभएको छ । करोडौंको सरकारी गाडीमा हुईकिन थालेपछि आफैंले टेकेको भुईको धुलो समेत नदेख्ने हुनुभएको छ ।

जनयुद्ध, जनआन्दोलन हुँदै तपाईलाई सत्तामा पुर्‍याउनसम्म आफ्नो श्रम, सीप र वौद्धिकताको प्रयोग गरेका हजारौँ पत्रकारहरु अहिले आफू बाँच्न र आफ्नो संस्थामा कार्यरत साथीहरुलाई टिकाईराख्न नसक्ने अवस्थामा पुगेका छन् । कोरोना भाइरसको प्रभावसँगै सबै साना र मझौला संचारमाध्यमहरु रक्षात्मक अवस्थामा पुगेका छन् । बीग हाउसका प्राय संचारमाध्यमहरु यो वा त्यो बहानामा विदेशी लगानीमा फस्टाएकै छन् । त्यस्ता संचार माध्यमहरुले तपाईका राम्रा कामहरुको प्रचार गर्नुभन्दा गरेका कमजोरीहरु पत्ता लगाउन ठूलो लगानी गरिरहेका छन् । पत्ता लगाएर कत्तिलाई रक्षात्मक त कत्तिलाई विस्थापित नै गरेका छन् । तर जसले तपाईको कामको निःस्वार्थ प्रचार गरे । गरिरहेका छन् । त्यस्ता संचारमाध्यम कहिल्यै तपाईको प्राथमिकतामा पर्दैनन्, किन ?

कमरेड, अहिले सत्ता र शक्तिमा हुँदै कम्तिमा आफूलाई सहयोग गरेका र गर्न सक्ने संचारकर्मी र संचारमाध्यमलाई संरक्षण गर्न ध्यान दिनुहोस् । करोड भन्दा माथिका परियोजनाहरुको बारेमा आम सरोकारवालालाई जानकारी दिन, कामको पारदर्शीता र खबरदारी गर्न स्थानीय मिडिया परिचालन गर्ने वातावरण निर्माण गरिदिनुस् । त्यस्ता कामले परियोजना सम्पन्न गर्न, कामको प्रगतिबारे आम सरोकारवालालाई जानकारी दिन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । सायद ठूला परियोजना छनौट गर्दा यस्तो परिपाटी अवलम्बन गरिएको छैन । त्यसैले पालिकाहरूमा हुने विकास बजेटको कम्तिमा ०.५० प्रतिशत बजेट छुट्याएर स्थानीय संचार माध्यमलाई परिचालन गर्नुपर्ने देखिन्छ ।

सकेसम्म सबै श्रमजीवीहरुको मन जित्नुहोस् । त्यस्तो गर्न नसकेमा कम्तिमा कलमजीविहरुको मन जित्नुहोस् । प्राप्त सूचनाको आधारमा मेरो ठम्याई छ, अवस्था यस्तै रहने हो भने आफ्नै खाएर अब संचारकर्मीहरु तपाईको गरेका राम्रा काम होईन गल्ति र कमजोरी खोज्न आफूलाई समर्पित गर्नेछन् । त्यो अवस्थामा विचार, आस्था र भावना भन्दा माथि उठेर उनीहरु दालभात तर्फ केन्द्रित हुनेछन् ।

परिवर्तन खबरबाट

Comments

comments