छुवाछूत: कहिलेसम्म ?

sushma

सुष्मा न्यौपाने

करिब दश वर्षपहिले एक दलित साथीको घरमा पहिलोपटक खाना खाएकी थिएँ। सो कुरा मेरो घरमा थाहा पाएपछि आमा र हजुरआमाले मबाट निकै ठूलो गल्ती भएजस्तो मान्नुभयो। उहाँहरूले भन्नुभयो, ‘खाइहालिछेस् अब अरूलाई चाहिँ नभन्नु नि !’ उहाँहरूलाई सबैभन्दा ठूलो चिन्ता रहेछ, अरूले थाहा पाए के भन्लान् !

केही वर्षपहिले रसुवा जिल्लामा भूमि अधिकार मञ्चको आयोजनामा मालपोत कार्यालयमा धर्ना दिने कार्यक्रम थियो। घरघरबाट उठाएको चामल, तरकारी लगेर मालपोतकै आँगनमा खाना पकाएर खाने व्यवस्था आयोजकबाट मिलाइएको थियो। त्यहाँ विभिन्न जातजातिका मानिस पनि भूमिपीडित भएकै कारण सहभागी थिए। बिहान–बेलुकी धर्नाका सहभागीलाई खुवाउनका लागि खाना, खाजा बनाउने क्रममा केही दलित साथीहरूलाई भान्सामा जान दिएनन्। भान्सामा दलितका अगुवा गएको थाहा पाएपछि केही बाहुन सहभागीले खाना नखाने भएछन् र बाहिर खान गएछन्।

सहभागी एक दलित अगुवा मुरली नेपालीले दुःख मान्दै भने, ‘मिस मैले भान्सामा सहयोग गरेको बाहुनहरूले नराम्रो माने। अब म सहयोग गर्दिनँ।’ अनि मैले भनें, ‘तपाईं निरन्तर सहयोग गर्नुहोस्, भान्सामा पाकेको खाना नखानेले नखाऊन्।’ त्यसपछि उनी दिनहुँ भान्छामा बसे। धर्ना सात दिन थियो। केही दिन त दलितले छोएको खाना नखाएर बाहिर गएकाहरू, पछि गोजी रित्तिएपछि त्यहीँ खान आए। केही वर्षपछि प्रसंगवश तिनै मुरलीसँग सोधें, ‘यो अभियानमा लागेर के पाउनुभयो ?’ उनले भने, ‘भुलवश छोइँदासमेत सुनपानीले चोखिनेहरू अहिले साथी भएका छन्, परिवर्तन भएको छ, यस्ता कार्यक्रममा हिँड्दा भान्सामा सघाउँछु, नखाने कोही छैनन्, त्यहि ठूलो लाग्यो।’ आफूले गरेको सानो प्रयासबाट खुसी लागेको दिन थियो यो।

दिनभर नथाक्ने गरी जातीय समानताका गफ हाँक्ने, भाषण गर्ने समाजका अगुवाहरू त बेलुकी आफ्नो घरमा गएर पुरानै ढर्रामा चल्छन्।

केही हप्ताअघि घरमा पूजा थियो। यत्तिकैमा जातको प्रसंग कताबाट निस्क्यो, आफन्तहरू भन्दै थिए, ‘भातै खाए नि, खाटमै बसाए नि कुकुर, कुकुर नै हो, दिसा नै खाए नि गाई, गाई नै हो। कुकुर चोखो र गाई बिटुलो कहिल्यै हुँदैन। जाँड, रक्सी खाएर, जुवातास खेलेर हिँडे नि जे–जे गरे नि आखिर पुरेतलाई पुज्नैपर्छ, उनको जात जाँदैन, चोखै रहन्छन् तर जति नै राम्रो आनिबानी भए नि तल्लो जातिहरू माथिल्लो बन्न सक्दैनन्।’ होमा हो मिलाउने बग्रेल्ती थिए। मलाई यस्तो फिटिक्कै मन पर्दैन र केही उदाहरण दिएर बुझाउने प्रयास गरें तर, वर्षौंदेखि उनीहरूको दिमागमा जकडिएर बसेको तल्लो जातका भनिएकाहरूलाई हेयको दृष्टिले हेर्ने भावना मेरो एकछिनको प्रयासले किन उखेलिन्थ्यो र ?

गफकै क्रममा एकजना दिदीबाट थाहा पाएकी थिएँ– केही समयअघि एकजना बाहुनको घरमा एक अपरिचितले खाना खाएर गएछन्। पछि ती व्यक्ति दलित भन्ने थाहा पाएपछि पूजा लगाएरै घर चोख्याएका थिए रे ! कस्तो कुसंस्कार र गलत सोच रहेछ, भन्ने ठानें। बढी बहस गरिनँ। एकजना मान्छे कोखका आधारमा अरूलाई आफूभन्दा तल्लो अनि आफूलाई महान्, ठूलो र चोखो सम्झन्छ, त्यति धेरै अज्ञानता भरिएको मन र शरीर पण्डितले एकछिन भट्याउने मन्त्र र गाईको पिसाब (गहुँत) ले कसरी चोखिन्थ्यो र ?

केही समयअघि एकजना साथीको विवाहमा भोज खाने क्रममा हामीसँगै एकजना दलित बहिनी पनि थिइन्। खाना आफैं हाल्नुपर्ने थियो। उनले असाध्यै अप्ठ्यारो मान्दै भनिन्– ‘दिदी मेरा लागि तपाईंहरू नै ल्याइदिनु न।’ उनको अनुहारमा पीडा र डर दुवै मज्जाले झल्किएको थियो। करिब एक वर्षअघि एकजना दलित समुदायकी दिदीसँग कुरा गर्ने क्रममा भनेकी थिइन्, ‘घरखर्च टार्न सजिलो हुन्छ भनेर एउटा भैसी पालेको, दूध टन्नै छ, आफूले मात्र खाएर सकिँदैन बजारमा बेच्न धेरै ठाउँमा सोधे तर विभिन्न बहानामा कसैले किन्न मानेनन् अनि के समानता आएको भन्नु ?

यस्ता उदाहरण धेरै देखिन्छन्, अहिले पनि। जुन व्यवहारमा परिवर्तन हुन सकेका छैनन्। हामीलाई बाहिरबाट हेर्दा यी यस्ता कुरा सामान्य लाग्छन्। अनि बुझेका, पढेका मान्छेहरू पनि सजिलै भन्छन्, ‘नछोइदिए भैगो त, आफूले छोएको खुवाउँदैमा, अर्काको घरमा पस्दैमा, तिनीहरूको जात बढेर माथि पुग्ने हो र ? यस्ता स्वार्थले भरिएका सोच गाउँघर, सहरबजार जताततै अझै धेरै देखिन्छ। जुन नगरे पनि हुने हो तर मानिसहरू गरिरहेकै छन्। दिनभर नथाक्ने गरी जातीय समानताका गफ हाँक्ने, भाषण गर्ने समाजका अगुवाहरू त बेलुकी आफ्नो घरमा गएर पुरानै ढर्रामा चल्छन्, अभ्यासमा परिवर्नत ल्याउँदैनन्।

इतिहासलाई हेर्ने हो भने, नेपाली समाजमा जातिप्रथाको सुरुवात राजा जयस्थिति मल्लको पालादेखि भएको मानिन्छ। जसले काम र व्यवसायसमेतका आधारमा उपत्यकावासीलाई ६४ जातमा विभाजन गरेका थिए भने यसले अझ मौलाउने अवसर विसं. १९१० को मुलुकी ऐन जारी भएपछि मात्र पाएको देखिन्छ। विसं. १९१० मा राजा सुरेन्द्रका पालामा पुरानो मुलुकी ऐन जारी हुँदासम्म परम्परागत जातजाति वर्गीकरणमा खासै परिवर्तन भएको थिएन। यस ऐनले उचनीच वा ठूलोसानो जातका परिभाषामा केही भूमिका थप्दै नेपालका धेरै जातिले पालना गर्नुपर्ने मान्यता र व्यवहारहरू निर्धारण ग-यो। यस ऐनले नेपालका जातजातिलाई चार समूहमा वर्गीकरण ग¥यो। जस अनुसार १. तागाधारी (जनै लगाउने) २. मतवाली
(जाँडरक्सी खाने) ३. पानी चल्ने (छोइछिटो हाल्नु नपर्ने) र ४. पानी नचल्ने (छोइछिटो हाल्नुपर्ने)। पछिल्लो पटक बनेको नेपालको संविधान २०७२ मा पनि कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै पनि प्रकारको छुवाछूत र भेदभाव गरिने छैन भनिएको छ। यसैगरी उत्पत्ति जात, जाति वा शारीरिक अवस्थाको आधारमा कुनै व्यक्ति वा समुदायलाई उच्च वा नीच दर्शाउने, जात, जाति वा छुवाछूतको आधारमा सामाजिक भेदभावलाई न्यायोचित ठान्ने वा छुवाछूत तथा जातीय उच्चता र घृणामा आधारित विचारको प्रचार–प्रसार गर्न वा जातीय विभेदलाई कुनै किसिमले प्रोत्साहन गर्न नपाइने व्यवस्था पनि छ। र, जातीय आधारमा छुवाछूत गरी वा नगरी कार्यस्थलमा कुनै प्रकारको भेदभाव गर्न नपाइने प्रावधानसमेत छ। यस्तो संवैधानिक वा कानुनी व्यवस्था हुँदाहुँदै पनि यो प्रथा भने कायमै हुनु लाजमर्दो विषय हो।

अभियानमा कार्यरत भएकाले अझै पनि दलित समुदायमाथि कायम छुवाछूतजन्य घटनाहरू नजिकबाट नियाल्ने मौका पाइरहेकी छु। अरू धेरैलाई जस्तो मलाई पनि यस्तो अन्यायपूर्ण व्यवस्था मन पर्दैन। त्यसैले यो आलेख यस्तै व्यवस्था तोड्नुपर्ने पक्षमा केन्द्रित छ। नागरिकबाट

Comments

comments