जंगमा जेलिएको जम्मू–कश्मिर

Jayaram ac

जयराम आचार्य
जम्मू–कश्मिरको विवादलाई चीन, भारत र पाकिस्तानको त्रिकोणात्मक आयामबाट हेर्नुपर्ने हुन्छ । चीनको भन्दा भारतको भौगोलिक अवस्थिति धेरै नै मजबुद छ । भारतसँग व्यापारका लागि सामुन्द्रिक सहजता जस्तो छ, त्यस्तो प्रकृतिको सहजता चीनसँग छैन । चीनले प्रयोग गर्ने व्यापारिक सामुन्द्रिक बाटो दक्षिण चीन सागरहुँदै मलक्का स्टेट भएर हिन्द महासागरसँग जोडिनु हो । मलक्का स्टेट चीनको सहज पहुँचमा छैन । यसमा भारत ज्यादा प्रभावी छ ।
भारतले त्यो क्षेत्रमा हुने जानकारी एवम् सूचना संकलन गर्न जापानसँग मेरिटाइम सम्झौता गरेको छ, भने एल ५५ ल्यान्डिङ एयरक्राफ्ट जहाज, पी ८ आई सवम्यारिन किलर एयरक्राफ्ट, आईएनएस बाज, सुखोई ब्रम्होस राख्न क्याम्बेलमा एउटा एयर स्टेसन समेत बनाई सैनिक उपस्थिति ज्यादा राखेको छ । चीनका लागि यसकारण पनि पाकिस्तान एवम् जम्मु कश्मिर भूराजनीतिमा महत्वपूर्ण रहिआएको छ । त्यसैले पछिल्लो समय चीनले हिन्द महासागरसँग जोडिन बैकल्पिक बाटोको खोजी स्वरुप पाकिस्तानसँग चीन–पाकिस्तान आर्थिक करिडोर (सिपेक) अन्तर्गत काम गरिरहेको छ । यो चीनको कस्गारदेखि पाकिस्तानको ग्वादर बन्दरगाहसम्मको भाग पर्दछ । जसमा पाकिस्तान शासित जम्मु–कश्मिर क्षेत्र पनि पर्दछ ।
राजा हरिसिँहकालीन जम्मू–कश्मिरलाई हेर्ने हो भने चीन र पाकिस्तानबीच सीमा जोडिने स्थिति हुँदैन । पाकिस्तानलाई बाहिर राखेर भारतले क्षेत्रीय राजनीतिमा जसरी प्रभाव जमाउन खोजेको छ, र संरचनाहरु निर्माण गरिरहेको छ यसमा जम्मू–कश्मिर पनि एउटा विषय भएर आउँछ । आतङ्कवादलाई देखाए जसरी क्षेत्रीय र वैश्विक राजनीतिबाट पाकिस्तानलाई अलग्याउन खोजिएको छ, यसले पाकिस्तान क्षुब्ध रहेको देखिन्छ । यस्तो अवस्थामा दक्षिण एसियामा आर्थिक र सामरिक उदीयमान राष्ट्र भारतसँग शक्ति सन्तुलन राख्नका लागि पनि पाकिस्तानले चीनसँग सीमा जोड्न चाहेको हुन सक्छ । त्यसैले पाकिस्तानका लागि पनि जम्मू–कश्मिरको महत्व ज्यादा छ र लडाई लड्दै आएको छ ।

प्राचीन भारतमा मौर्यहरुले शासन गर्दा जम्मू–कश्मिर यसै अन्तर्गत थियो । पाँचौँ शताव्दीदेखि १४ औँ शताव्दीसम्म जम्मू–कश्मिरमा हिन्दूहरुको साम्राज्य थियो । सन् १५८६ देखि यो क्षेत्र मुगलअन्तर्गत गयो भने यहाँ सन् १७५१ बाट डुरानी अफ्गानीहरुले शासन गरेका थिए । त्यसपछि यहाँ सन् १८१९ मा पञ्जाबका महाराजा रणजित सिँहले डुरानी अफ्गानीहरुलाई हराएर शिख साम्राज्यको स्थापना गरेका थिए । त्यसपछि सन् १८४६ मा यो क्षेत्रमा शिख र अङ्ग्रेजबीच युद्ध हुँदा शिखले युद्ध हारेको थियो । अङ्ग्रेजलाई युद्ध जिताउन शिख अन्तर्गतकै डोग्रा घरानाका गुलाबसिँहले सहयोग गरेका थिए । यस बापत् अङ्ग्रेजले यहाँ गुलाबसिँहलाई राजा बनाइदिएका थिए । यिनै गुलाबसिँहका पुत्र हुन् राजा हरिसिँह ।

उपनिवेशकालीन समयमा भारतमा बेलायती र फ्रान्सेली उपनिवेशका अतिरिक्त स्वतन्त्र राज्यहरु पनि थिए । सन् १९४७ मा बेलायतीहरुले भारत छोड्दाको विश्व राजनीति अमेरिकामा केन्द्रित भईसकेको थियो । पश्चिमीहरुको इच्छा यो थियो कि भारतलाई एकीकृत हुन नदिने । त्यस योजनाअन्तर्गत नै उनीहरुले लर्ड माउन्ट वेकनलाई भारत पठाएका थिए । लर्ड माउन्ट वेकनले धर्मका आधारमा दुई राज्य हुनु पर्ने सिद्धान्त विकास गरे । यो सिद्धान्तलाई महम्मद अलि जिन्नाले बोके र पाकिस्तान बनाए । हिन्दू र मुश्लिम धर्मको आधारमा क्रमशः भारत र पाकिस्तान दुई देश बन्न पुग्यो । भारतमा रहेका ५६५ वटा राज्यहरुमध्ये ५६२ वटा राज्यहरुलाई गैरसैनिक प्रयासद्वारा सरदार बल्लभ भाई पटेलले एकताबद्ध गरिरहेको अवस्थामा जम्मू–काश्मिरका राजा हरिसिँहले आफू दुवै तर्फ नलागी स्वतन्त्र रहने घोषणा गरेका थिए ।

करिव ७० प्रतिशत मुश्लिम र ३० प्रतिशत हिन्दू रहेका तल्कालीन जम्मू–काश्मिरमा जुन देशबाट पहिला आक्रमण हुन्छ आफू अर्को देशसँग मिल्न जाने हरिसिँहको घोषणा थियो, भने शेख अब्दुल्ला संसदीय राजतन्त्रसहितको जम्मू–कश्मिर चाहन्थे । सन् १९४७ अक्टुवर २२ मा पाकिस्तानले सिद्धान्त अनुरुप नै मुश्लिम बहुल क्षेत्र भएका कारण आफूमा मिल्नु पर्ने भन्दै केही अर्धसैनिक बल प्रयोग गरेर काश्मिरमाथि आक्रमण ग¥यो । अक्टुवर २५ मा पाकिस्तानी सेनाले श्रीनगरभन्दा केही वरको बारामुल्ला शहर कब्जा गरेपछि राजा हरिसिँहले अक्टुवर २६ मा जम्मू–कश्मिर भारतसँग रहने सम्झौता गरिदिए । त्यसयता यो क्षेत्र जंगमा जेलिएको छ ।
पाकिस्तान यो सम्झौतालाई अस्वीकार गर्दछ । यो समस्यालाई संयुक्त राष्ट्रसंघमार्फत् समाधान गर्न जवाहरलाल नेहरुले प्रयास गरेका थिए । सन् १९४९ जनावरी १ मा संयुक्त राष्ट्रसंघको निर्णय नं. ४७ ले युद्ध विराम गर्ने, ज–जसका सेना जहाँ–जहाँ पुगेका छन् त्यसलाई नै युद्ध विराम रेखा मानी “लाइन अफ कन्ट्रोल” निर्माण गर्ने र जनमत सङ्ग्रह गरी समस्याको हल गर्ने । तर आजसम्म पनि जनमत सङ्ग्रह हुन सकेको छैन । र नेहरुको यो नीतिप्रति बल्लभ भाई पटेल पनि सन्तुष्ट रहेका थिएनन् । चीन–भारतबीच सन् १९६२ मा भएको युद्धपछि चीनले पनि जम्मू–कश्मिरको उत्तरी र उत्तरपूर्वसहित २० प्रतिशत भूगोल लिएको छ भने भारतसँग जम्मू, काश्मिर र लद्दाख सहित ४३ प्रतिशत पूर्वी, दक्षिणी भूमि छ र पाकिस्तानसँग गिलगिट, बलुचिस्तान र मुजफ्फरावादसहितको पश्चिम र दक्षिणसहित ३७ प्रतिशत भूमि छ । त्यसैले यो समस्या त्रिआयमिक बन्न गएको छ ।

भारत शासित जम्मू–कश्मिरमा फारुक अब्दुल्ला शासनमा आएपछि यहाँको आन्तरिक स्थिति बिग्रिन गई सन् १९८९ देखि सुरु भएको इस्लामिक विद्रोहका कारण करिब ४७ हजार मानिसको मृत्यु भएको तथ्याङ्क छ । सन् १९९० ताका करिब तीन लाख काश्मिरी पण्डितहरुले काश्मिर छोड्नु परेको थियो । यी सबै विषयको पृष्ठभूमिमा भारत पाकिस्तान शासित जम्मू–काश्मिरको हात रहेको मान्दछ । आफ्नो क्षेत्रमा आतङ्कवादी गतिविधि हुनुमा पाकिस्तान संलग्न रहेको भारतको दृष्टिकोण देखिन्छ ।
गत फाल्गुण २ गते गुडिरहेको सैनिक गाडीलाई लक्षित गरी पुलवामामा भएको आक्रमणमा करिव ४६ भारतीय सैनिकको मृत्यु भएपछि फेरि भारत–पाकिस्तान तनाबको स्थितिमा छन् । पुलवामा आक्रमणको जिम्मेवारी मसुद अजहर नेतृत्वको आतङ्ककारी समूह जैस–ए–मोहम्मदले लिएको छ । जैस–ए–मोहम्मद सन् १९९९ डिसेम्बर २४ मा नेपालबाट भारत उडेको आईसी ८१४ विमान अपहरण गर्ने आतङ्ककारी समूह पनि हो । आतङ्कारी समूहले जिम्मेवारी लिएपनि भारतले पाकिस्तानलाई दोषी मानेको देखिन्छ । र युद्धोन्मुखी पछिल्ला घटनाक्रमहरु हुन गएका छन् । यद्यपि संसारमा आतङ्कवादको अस्तित्व भने रहनु हुँदैन ।

गान्धीको देशमा युद्ध के युक्तिसंगत रहला ? के यसको पृष्ठभूमिमा अति राष्ट्रवादको मोह त छैन भन्ने प्रश्न जरुर उठ्न सक्छ । पाकिस्तानले भारतीय वायुसेनाका जवान अभिनन्दन वर्तमानलाई सकुशल रिहा गर्नु के जेनेभा कन्भेन्सनमा बाँधिएर गरेको मात्र होला ? पाकिस्तानले बारम्बार वार्तामार्फत् हल खोज्न भारतलाई गरेको आग्रहलाई दक्षिण अफ्रिकाले निकालेको गान्धीको शालिक पाकिस्तानले त राख्दै छैन । गान्धीको देशले जिम्मेवार रुपमा प्रस्तुत भई अहस्तक्षेप, अनाक्रमण र सहअस्तित्वको सन्देश दिनु समग्र दक्षिण एसियाको हितमा हुनेछ ।

Comments

comments