जनप्रतिनिधि र जलविद्युत आयोजना वीच छलफल

DCC & Hydro meeting

रसुवा, फागुन २८ गते

रसुवाका जनप्रतिनिधि र जलविद्युत आयोजना बीच छलफल भएको छ । जिल्लामा निर्माण भइरहेका जलविद्युत आयोजनाको अवस्था, आयोजनामा देखिएका समस्या र स्थानीय तहले खेल्नु पर्ने भूमिकाको बारेमा जनप्रतिनिधि र जलविद्युत आयोजना वीच धुन्चेमा छलफल गरिएको हो ।
छलफलमा जनप्रतिनिधिको तर्फबाट जिल्ला समन्वय समितिका प्रमुख, कुलप्रसाद भट्ट, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष सहभागि भएका थिए । आयोजनाको तर्फबाट प्रमुख, जनसम्पर्क अधिकृत र साइड इन्चार्ज सहभागि भएका जिल्ला समन्वय समिति रसुवाले जनाएको छ । निर्वाचित भएको लामो समयपछि जनप्रतिनिधिले आयोजनासँग छलफल गरेका हुन् । छलफलमा सहभागि भएका जनप्रतिनिधिले योजनामा स्थानीयलाई रोजगारीको अवसर दिनुपर्ने, निर्माण गर्दा जनप्रतिनिधिसँग समन्वय गर्नुपर्ने लगायतका माग राखेका छन् ।

छलफलमा आयोजनाले जनप्रतिनिधिलाई आयोजनाको प्रगती बारे जानकारी गराएका थिए । आगामी फागुन महिनासम्ममा चार वटा जलविद्युत आयोजना निर्माण सम्पन्न हुने भएको छ । ६.४२ मेगावट क्षमताको माथिल्लो मैलुङ ए, ६० मेगावट क्षमताको माथिल्लो त्रिशुली थ्रि ए, १४.८ मेगावटको माथिल्लो सान्जेन र ४२.५ मेगावट क्षमताको सान्जेनले आगामी फागुन महिना भित्रै विद्युत उत्पादन सुरु गर्ने छन् । यी आयोजना सम्पन्न भएमा एक वर्षभित्र १२३.७२ मेगावट क्षमताको विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिने छन् ।

जिल्लामा अहिले एक दर्जनभन्दा बढी जलविद्युत आयोजना निर्माणको चरणमा छन् । अबको चार वर्षभित्र पाँच सय मेगावट भन्दा बढी विद्युत उत्पादन हुने छ । यसका लागि आयोजनाले निर्माण कार्यलाई तिब्रता दिइरहेका छन् ।

Comments

comments