जब सुकुमायाका पतिले आत्महत्या गरे

Photo Sushma

रसुवा थुमनकी देलामो तामाङ । अभिभावकको रहरअनुसार १४ वर्षकै उमेरमा उनको विवाह भयो । पढ्न–लेख्न जानेकी छैनन् । १५ वर्षमै पहिलो सन्तान छोरा जन्माइन् । लगातार ३ छोरा जन्मेपछि देलामोले अब बच्चा नपाऊँ भनेर श्रीमान्सँग सल्लाह गरिन् । तर श्रीमान्ले भने, ‘एउटा छोरी त चाहिन्छ ।’ छोरी नजन्मेसम्म कर गरिरहे । पीडा पनि थपियो कहिले कुराले त कहिले थप्पडको । एकातिर कलिलै उमेरदेखि बच्चा जन्माउँदाको सकस त छँदै थियो । न गर्भवती जाँच, र स्याहार, न राम्रो खानपान, न सुत्केरी स्याहार । सधैँको काम, चटारो, बच्चाहरू हुर्काउने, स्याहार गर्ने गर्दैमा भ्याई नभ्याई । हातमुख जोर्नका लागि धौ–धौ । श्रीमान्को करमा चौथो पटक पनि मन नलाग्दा नलाग्दै सन्तान जन्माइएकी बताउने देलामोले फेरि पनि छोरा नै जन्माइन् । श्रीमान्ले अझै मानेनन् । उनीहरूको पाँचौँ सन्तान छोरी जन्मिइन् । हाल ३६ वर्षकी देलामोको काखमा १ वर्ष पुग्न लागेको बच्चा छ । यसरी ६ सन्तान जन्माउनु र हुर्काउनु कम्ता गाह्रो भएन, देलामोलाई । शारीरिक रूपमा पनि कमजोरी भएकी छन्, उनी।

रसुवा सरमथलीकी सुकुमाया बुलुन १४ वर्षकी हँुदा विवाह भयो । उनी र श्रीमान्बीच १५ वर्षको उमेर अन्तर छ । १४ वर्षमा विवाह गरेकी सुकुमायाले १५ वर्षकी हुँदा नै पहिलो सन्तान छोरी जन्माइन् । लगातार ३ छोरी जन्मे । श्रीमान्लाई छोरा चाहियो । उनले आफू शारीरिकरूपमा कमजोर भएको र थप सन्तान जन्माउन नसक्ने बताइन् । तर श्रीमान्ले कुरै सुनेनन् । उनीहरूको ४ छोरी र २ छोरा भए । ६ सन्तान जन्माएकी सुकुमाया शारीरिकरूपमा कमजोर भइन् । आफ्नो खेतीपातीको आम्दानीले ३ महिना खान पुग्न पनि मुस्किल छ । श्रीमान् श्रीमती दुवैले ज्याला मजदूरी गरी परिवारको जीविका चलाउँदै आएका थिए । तर, केही वर्षअघि उनका श्रीमान्ले आत्महत्या गरे । सुकुमाया र उनको परिवार यो घटनासँगै झन् दुःखी भयो । सधैँको दुःख, अभाव, शारीरिक र मानसिक पीडाले बाँचिरहेकी उनलाई अझै बढी पीडा र बोझ थपियो।

रसुवाकी सुकुमाया १४ वर्षकी हुँदा आफूभन्दा १५ वर्ष जेठासित विवाह भयो । १५ वर्षमै पहिलो सन्तान छोरी जन्माइन् । लगातार ३ छोरी जन्मे । श्रीमान्लाई छोरा चाहियो । उनले आफू शारीरिकरूपमा कमजोर भएका कारण नसक्ने बताइन् । अन्ततः ४ छोरी र २ छोरा गरी ६ सन्तान भए । उनी २७ वर्षकै उमेरमा एकल भइन् । श्रीमान्ले आत्महत्या गरे । सिलसिला यतिमै सकिँदैन । भुइँचालोले घर भत्कियो, अनि ७ वर्षे छोराको मृत्यु । १५ वर्ष नपुग्दै भागीबिहे गरेकी जेठी छोरी गर्भवती भएपछि इतिहास दोहोरिएको छ । चिन्तै चिन्ताले घेरिएकी सुकुमाया बालुवा–ढुंगा बोक्छिन् । गरिब र भूमिहीन उनी र उनीजस्ता महिला गाउँमा पीडाको पराकाष्ठामा छन्।

उनी २७ वर्षको कलिलै उमेरमा एकल भइन् । समाजमा कसरी बाँच्ने ? ६ सन्तान कसरी हुर्काउने ? कसरी शिक्षा–दीक्षा दिने ? यस्तै चिन्ता सुकुमायामा प-यो।

भूकम्पले सबैको घर त भत्कियो । घरभित्रै उनको सहारा ७ वर्षे छोराको मृत्यु भयो । पीडाको खात थपियो । अलि हुर्केकी जेठी छोरीले पनि १५ वर्ष नपुग्दै गाउँमै भागेर विवाह गरिन् । एकातिर बाँकी सन्तान कसरी पाल्ने, पढाउने भन्ने चिन्ता छ अर्कोतिर उमेर नपुग्दै विवाह गरेर गर्भवती बनिसकेकी कलिली छोरीको चिन्ता छ । चिन्तै चिन्ताले घेरिएकी सुकुमाया करिब १ देखि डेढ घन्टाको बाटोमा बालुवा र ढुंगा बोक्छिन् । १ भारी बोकेको १ सय रुपियाँ पारिश्रमिक पाउँछिन् । सन्तान जन्माएर, सधैँको दुःख र पीडाले गलेकी सुकुमायाले कतिन्जेल बालुवा बोकेर जीविका चलाउने ? भूकम्पले घर भत्कियो । जमिन पनि पहिरोले बस्न नहुने भएपछि अझै धेरै समस्या थपियो । बाँच्न ता पर्छ भन्ने लागेर फेरि सरकारले पनि सहयोग गर्छ रे भनेर २ लाख ऋण गरेर ४ आना जग्गा घडेरीका लागि किनिन् । तर पास गरेपछि नापी लैजाँदा त किनिएको जग्गा भीरमा पो परेको रहेछ । फेरि जग्गा फिर्ता गरिन् । जग्गा पास गर्ने र फिर्ता गर्ने प्रक्रियामा करिब २० हजार जति रकम खर्च भएको बताइन् । हामीले सहजीकरण गरी उनलाई पुनः सुरक्षित स्थानमा जग्गा दिलाएका छौँ । उनी भूकम्पमा भत्किएको घरको पुनर्निमाण जुटेकी छिन् । उनको घर त पुनर्निर्माण होला तर फाटेको मन र पीडा कहिल्यै सकिँदैन । कहिल्यै नयाँ निर्माण पनि हुँदैन।

रसुवा कालिका गाउँपालिकाकी सुशीला ढकालको १५ वर्षको उमेरमा विवाह भयो । माइतीपट्टिकी परिवार गरिब भएकाले छोरीलाई विद्यालय पढाउनुभन्दा विवाह गरी पठाइदिए । ६ कक्षा पढ्दै गर्दा विवाह गरिदिए । १ वर्षपछि १६ वर्षमै पहिलो सन्तान जन्माइन्, छोरी भयो । दोस्रो पटक पनि छोरी जन्मिई । यिनै दुई छोरीलाई हुर्काऔँँ, पढाऔँ, थप सन्तान नजन्माऔँ भन्दा श्रीमान्ले मानेनन् । एउटा छोरा चाहिन्छ भनेर कर गरे । आफन्त र समाजले पनि एउटा छोरा चाहिन्छ भनेपछि हो जस्तो लाग्यो नचाहेरै पुनः गर्भवती भइन् । अन्ततः फेरि तेस्रो पटक पनि छोरी नै जन्माइन् । श्रीमान् खुसी छैनन् । कलिलै उमेरदेखि लगातार बच्चा जन्माउँदाको कठिनाइ अनि कामको दुःख, स्याहार र खानपानको अभावले सुक्न लागेको रुखझैँ बनेकी सुशीलालाई ती छोरी हुर्काउनु, पढाउनुको गाह्रो त छँदै छ अब कति बच्चा जन्माउनुपर्ने हो भनेर सधैँ चिन्ता बढिरहेको बताउँछिन्।

कालिका गाउँपालिका ३ की दुर्गा नेपालीको पनि उमेर नपुग्दै विवाह भयो । छोराको आशा गर्दागर्दै ४ छोरी जन्मे । भूमिहीन परिवार । आम्दानीको स्रोत भएन । श्रीमान् पनि शारीरिक रूपमा कमजोर बने । कान्छी छोरी जन्मँदै अपाङ्ग । ४ छोरीहरूको लालनपालन र बिरामी हुँदा औषधी उपचार नपाएपछि एक्लै काठमाडौँसम्म जाने आँट नगर्ने दुर्गा यतिबेला विदेश पुगेकी छिन् । घरायसी काम गर्दै कमाएको थोरै पैसाले छोरीहरू पढाउने कि श्रीमान्सहित छोरीहरूको खानपान पु-याउने कि लागेको ऋण तिर्ने भन्ने द्विविधामा छिन् । कति वर्ष विदेशमा काम गरेर परिवार पाल्ने भन्ने चिन्तामा छँदै छिन् । फेरि नेपाल फर्केपछि छोराका लागि श्रीमान्ले कति के गर्ने हुन् भन्ने चिन्ता त यथावत छँदै छ।

अब के गर्ने ?
विवाहित जोडीका लागि सन्तान जन्माउनु खुसी र चाहनाको कुरा हो । सन्तान पति–पत्नीको आपसी सल्लाह, समझदारी र आवश्यकताको आधारमा जन्माउनुपर्ने हुन्छ होला । तर अझै पनि कतिपय यस्ता ठाउँ र परिवार छन् । जहाँ जसले सन्तान जन्माउने हो न उसको सहमति चाहिन्छ, न त चाहना नै ? अझै पनि महिलालाई सन्तान उत्पादन गर्ने मेसिन अनि श्रीमान्हरू त्यो मेसिनको मालिकका रूपमा रहेका पाइन्छन् । पक्कै पनि समय, संस्कृति, चालचलनहरू बिस्तारै फेरिँदै गएका छन् । तर पनि समस्या, पीडा, अभाव र असन्तुष्टि आखिर एक जनाकै किन नहोस् उसका लागि त त्यो सबैभन्दा ठूलो समस्या नै रहन्छ र समाजका लागि पनि।

यी प्रतिनिधि घटना मात्र हुन् । ग्रामीण भेगमा बसोबास गर्ने महिलाहरू अझै पनि धेरै समस्याबाट पीडित छन् । एकातिर सन्तात धेरै जन्माउनुपर्ने बाध्यता छ भने अर्काेतर्फ घरभान्सा र खेतीपातीको सबै कामको जिम्मेवारी पनि महिलाकै काँधमा छ । गाउँघरतिर जाँदा यस्ता घटना प्रशस्तै भेटिन्छन् । जुन अति नै पीडादायी छन् । यस्ता घटनाहरू सुन्नेलाई त सुनेर धेरै पीडा हुन्छ भने भोगेर सुनाउनेलाई झन् कति पीडा होला, कल्पनाबाहिरको कुरा हो । न आराम छ । न पौष्टिक खाना । ग्रामीण भेगमा पर्याप्त स्वास्थ्य सेवा उपलब्ध छैन । राजधानीसम्म पुगी स्वास्थ्योपचार गराउन सक्ने अवस्था ग्रामीण परिवेशमा छैन नै।

सरकार भन्छ, स्वास्थ्य निःशुल्क छ । निःशुल्क सहर बजारमा बस्ने र पहुँच भएकालाई मात्र हो कि? ग्रामीण भेगमा, दूरदराजमा बस्ने जनताहरूले यस्तो सेवा र अवसरको उपयोग गर्न पाएका छैनन्। यसका लागि सरकारले पनि उचित ध्यान दिनुपर्ने देखिन्छ । नागरिक सबै बराबर हुन्, सबैले उत्तिकै अवसर पाउने वातावरण राज्यले गर्नु अपरिहार्य छ।

नागरिकबाट

Comments

comments