जिल्ला अस्पतालमा एम्बुलेन्स सेवा सुचारु

रसुवा, पुस १७ गते । ग्रामीण भेगका विरामीहरूको स्वास्थ्य उपचारमा थप सहजता ल्याउन जिल्ला अस्पताल धुन्चेमा एक थान एम्बुलेन्स भित्रिएको छ ।

भारतीय राजदुतावासको सहयोगमामार्फत रसुवाको ग्रामीण भेगका बासिन्दालाई छिटोछरितो उपचार सेवा प्रदान गर्न रसुवा अस्पताल धुन्चेले नयाँ एम्बुलेन्स ल्याएको हो । ग्रामीण भेगका बिरामीलाई धुन्चे ल्याउन र रसुवा अस्पतालको साधनस्रोत सीपले उपचार हुन नसक्ने बिरामीलाई छिटोछरितो सुविधायुक्त अस्पताल पठाउन नयाँ एम्बुलेन्सले सहज बनाएको अस्पताल विकास समितिका अध्यक्ष रामशरण कुइँकेलले बताउनुभयो ।

उक्त एम्बुलेन्सले स्थानीय बासिन्दा, रसुवागढी व्यापारिक नाकामा कारोबार गर्ने व्यापारी, व्यवसायी, आन्तरिक एवम् बाह्य पर्यटक र गोसाइँकुण्डका धार्मिक यात्रुसमेतलाई आपतकालिन उपचार सेवाका लागि अस्पतालसम्म लैजान सेवा दिने चिकित्सकले जानकारी दिएका छन् । यसैवीच, रसुवा अस्पतालले भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ । पेटसम्बन्धी बिरामीका लागि नियमित रूपमा भिडियो एक्सरे सेवा सञ्चालन गर्नको लागि अस्पतालले भिडियो एक्सरेको रेटसमेत तोकिसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अनिलकुमार खरेलले बताए । जिल्ला अस्पताल धुन्चेमा दैनिक ४०–५० जना बिरामी उपचारका लागि आउने गरेका छन् । भने यहाँबाट रिफरभई दिनहुँ त्रिशूली र काठमाण्डौसम्म बिरामी लैजाने गरिन्छ ।

Comments

comments