जिल्ला समन्वय समितिमा नागरिक बडापत्र

Dcc


विसं २०७२ असोज ३ गते नेपालको संविधान जारी भएपछि नेपालमा संघीयता लागू भयो । यससँगै नेपालमा तीन तहका सरकार कार्यान्वयनमा आएका छन् । संघ, प्रदेश र स्थानीय तहमध्ये स्थानीय तहको अभिभावकत्व बहन गर्ने कार्यालयको रुपमा अहिले जिल्ला समन्वय समितिलाई बुझिन्छ ।

जिल्ला समन्वय समिति रसुवा, गोसाँईकुण्ड गाउँपालिका वडा नम्बर ६ धुन्चेमा अवस्थित छ । देशको कानुन बमोजिम जिल्ला पञ्चायत, जिल्ला विकास समितिहुँदै जिल्ला समन्वय समितिमा रुपान्तरण भएको यस कार्यालयको विरासत पुरानो छ । पुरानो विरासत भएको यस कार्यालयको कार्यसम्पादन उच्च श्रेणीको हुनुपर्ने हो । साथै सामाजिक जवाफदेहिताका औजारहरुको कार्यान्वयनमा समेत सचेत रहन पर्ने हो ।
नागरिक वडापत्र, सूचना केन्द्र, नागरिक सञ्जाल, सूचनाको हक, सामूदायिक रेडियो, सुशासन कार्यान्वयन सर्वेक्षण, सार्वजनिक प्रतिवद्धता, सहभागितामूलक योजना बजेट तर्जुमा तथा अनुगमन, सामाजिक लेखा परीक्षण, लोककल्याणकारी सन्देश, होडिङबोर्ड, जागरण भेला, सार्वजनिक सुनुवाई, सडक नाटक, आईईसी सामग्री, गुनासो संकलन, सेवाप्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया, र्ई गभर्नेन्सलाई सामाजिक जवाफदेहिताका औजारका रुपमा लिइन्छ ।
भूकम्पपछिको पुनर्निर्माणमा सदाचार कार्यक्रमअन्तर्गत सरकारी कार्यालयहरुको सामाजिक जवाफदेहिता औजारहरुको प्रयोगको अवस्था अवलोकन गर्ने सन्दर्भमा रसुवा जिल्लामा रहेका १६ वटा सरकारी कार्यालयहरुमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल रसुवाले ०७७ असार २१ गते सामाजिक जवाफदेहिताका औजारहरुको अवस्थाबारे अवलोकन तथा मापन गरेको थियो । अवलोकन तथा मापनका क्रममा जिल्ला समन्वय समिति रसुवामा सुरुवाती अवलोकन भएको थियो । यस अवलोकनमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल रसुवाकोतर्फबाट संयोजक सहितका एक स्वयम्सेवक सहभागी थिए भने जिल्ला समन्वय समितिका तर्फबाट समन्वय अधिकारीलाई कार्यकक्षमा भेटिएको थियो । 
यस अवलोकन तथा मापनका क्रममा जिल्ला समन्वय समिति रसुवामा सामाजिक जवाफदेहिताका औजारहरुमध्ये महत्वपूर्ण औजारको रुपमा रहेको नागरिक बडापत्र राखिएको अवस्था प्राप्त भएन । जिल्ला समन्वय समितिमा नागरिक बडापत्र प्राप्त नभएपछि कार्यालय परिसरभित्र नागरिक बडापत्र राख्नका लागि सम्बन्धित कार्यालयलाई ट्रान्सपरेन्सी इन्टरनेशन नेपाल रसुवाले ध्यानाकर्षण गराउने काम भयो । सो पश्चात् विसं ०७७ श्रावण १० गते कार्यालयमा नागरिक बडापत्र राखिएको जानकारी जिल्ला समन्वय समितिका समन्वय अधिकारीले टेलिफोनमार्फत ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाललाई गराउनुभयो । 
कार्यालयमा रहेको नागरिक बडापत्र ज्यादै पुरानो भएकोले नयाँ बनाउने प्रक्रिया चलिरहेको भए पनि विलम्ब हुन गएको थियो तथा आफू हालै मात्र पदवहाली भई सेवामा रहेकोले सो विषयमा उहाँले कार्यालका कार्मचारीसँग बुझ्दा प्रक्रियामा नै रहेको भन्ने जानकारी दिएका थिए । तर यस संस्थाको अवलोकन तथा मापन प्रक्रियाले काम गराईमा तीव्रता दिने विश्वास ममा रहेको छ भन्दै जिल्ला समन्वय समितिका समन्वय अधिकारी  मिना अर्यालले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाललाई धन्यवाद दिँदै आगामी दिनमा पनि हाम्रा कमीकमजोरी देखाइ सहयोग गरिदिनु हुन आग्रह गर्नु भएको थियो । 
स्थानीय तहको वित्तीय तथा सामाजिक जावफदेहिता कमजोर हुँदै गइरहेको अवस्थामा स्थानीय तहको अभिभावक निकायले यसतर्फ थप ध्यान दिन आवश्यक रहेको छ । 

Comments

comments