टिमुरे क्षेत्रमा पशुपन्छी बध निषेध

रसुवा । बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको रसुवाका गाउँ बध निषेध बन्दै छन् । नेपाल–चीनको सीमावर्ती गाविस टिमुरेमा पशुपन्छीको बध गर्ने कार्य निषेध गरिएको छ ।

टिमुरे गाउँका समाजसेवी उर्केन घलेका अनुसार भूकम्पपछिको पहिलोपटक टुल्कु छेकी निमा रिम्पुच्छे गुरु लामाद्वारा गत मङ्सिरको अन्तिम साता दिवंगतहरूको चिरशान्ति र बाँच्नेजति सबै चराचर प्राणीको सुखशान्तिको कामना गर्दै पूजापाठ सम्पन्न गरेपश्चात् रिम्पुच्छेको निर्देशनबाटै टिमुरे क्षेत्रमा पशुपन्छीको बध गर्ने कार्य अन्त गरिएको हो ।

बौद्ध ग्रन्थको विधिपूर्वक गरिएको होम, होमादी, पूजापाठले सबैको मनमा शान्ति मिलेको र अबका दिनमा पशुपन्छीको बध गरे टिमुरे क्षेत्रमा हुन सक्ने अनिष्टलाई रोकथाम गर्न नसकिने बताइएको छ । सामाजिक रूपबाटै बध गर्ने कार्य हटाइएकाले मासुका व्यापार–व्यवसाय गर्ने कुनै पनि व्यवसायीले यस्ता कार्य नगर्न÷नगराउन आग्रह गरिएको समाजसेवी घलेले बताए ।

लाङटाङ गाविसमा कुनै पनि पशुपन्छीको बध गर्न नपाइने पुस्तौँदेखिको परम्परालाई स्थानीयले निरन्तरता दिँदै आइरहेका छन् ।
मासु खाँदा मानव शरीरलााई कुनै फाइदा नगर्ने र अर्गानिक मलबाट उत्पादित सागसब्जी, गेडागुडी, पहेँला फलफूल, गाईभैंसीको दूधदहीबाट मात्र पोषणको काम हुने भएकाले मासुको चलन हटाई मासुरहित नमुना जिल्ला स्थापित गर्न स्थानीय बुढापाकाले समेत सुझाब दिएका छन् ।

Comments

comments