डाँडागाउँमा खानेपानीको समस्या

phurpa Tamang 2012

फुर्पा तामाङ
शुद्ध खानेपानी खान पाउनु प्रत्येक व्यक्तिको मानव अधिकार हो । के सबैले शुद्ध खानेपानी पाइरहेका छन् ? हाम्रो जस्तो अल्पविकसित देशका लागि यो प्रश्न निकै पेचिलो छ । मंसीर महिनाको दोस्रो साता डाँडागाउँ र ठूलोगाउँ गा.वि.स. जाने काम पर्यो । अन्तराष्ट्रिय गैरसरकारी संस्था एसिएफको स्थानीय साझेदारी संस्था ल्याकोस रसुवाले उक्त दुई गा.वि.स.का लक्षित वर्गका लागि जीविकोपार्जन, खाद्य सुरक्षा, खानेपानी, सरसफाइ, गर्भवती महिला, मातृशिशु र पाँच वर्ष मुनिका बालबालिकालाई पोषण सम्बन्धी कार्यक्रमको सहजीकरण गरिरहेकाले अनुगमन गर्न त्यहाँ पुगेको थिएँ । सदरमुकाम धुन्चेबाट हेर्दा डाँडागाउँ नजिक छ । तर पुग्न कठीन । साढे दुई घण्टा जीप चढेर नुवाकोटको शान्ति बजार पुगियो । त्यहाँबाट पैदल दुई घण्टा ठाडो उकालो । सडक खनेको छ तर चौडाइ सानो, ठाडो उकालो र साँगुरो घुम्ती । गाडी अगाडि बढायो झन् पछाडि (व्याक) हुन खोज्छ । फोर ह्वील जीप नभए आँट्नै पर्दैन । ड्राइभर पनि सिपालु चाहिन्छ । नत्र ज्यान जोखिम छ । डरले मुटुमा ढ्याङ्ग्रो ठोकिन्छ । गाउँलेहरुको आफ्नै सर्भे डिजाइनमा डोजरले जोतेर बनाएका ग्रामीण सडकहरुको कथा–व्यथा हो यो । तै डाँडागाउँबासी गाउँमा सडक पुग्यो भनेर खुसी देखिन्छन् । सडकसंगै कालको छायाँ देखेर म भने त्रसित भएँ ।
कसले राख्यो कुन्नि डाँडागाउँ नाम ? मैले भए ढुंगेगाउँ राख्थेँ । जता हेर्यो ढुंगैढुंगा । त्रिशूली खोला देखि लेकमा रहेको वंशे खोलाको मुहानसम्मै यस्तो देखिन्छ । वर्षातको बेला वारि राम्चेबाट देखिने सौन्दर्य छङछङ झर्ना यतिखेर सुकिसकेका छन् । शान्ति बजारबाट उकालो चढ्दै गर्दा बाटाभरि पानी खोल्सीहरु सुक्दै गएको भेटिए । अचम्म चाहिँ के भने राम्चेबाट उराठ लाग्दो देखिने डाँडागाउँ पुग्दा भने त्यस्तो लागेन । बरु पूर्वतिरका गाउँहरु नै पो उराठ लाग्दो देखियो । ठ्याक्कै पूर्वीय दर्शन र पश्चिमा दर्शन जस्तो विपरित । उकालो चढ्दै गएपछि पानीको स्रोत सुकेर जताततै सुख्खा र हिउँदे खडेरी देखिए । गाउँघरका पसलको पछाडि थुप्रिएको वियर, ह्वीस्की, कोकाकोलाको खाली शिशिको थात र ब्रोइलर कुखुराको भुवा र भुत्लाहरु छरिएको देखे पछि मन झसङ्ग भयो । आबुई! कोदाको रैथाने रक्सी झोल र साखिने कुखुराको स्वादलाई यति बेवास्ता ? विकास र परिवर्तनको सुरुवात वंशेखोलाको खेर गएको पानी जनताको मुख सम्म ल्याउने काम हुनु पर्नेमा ग्रामीण अर्थतन्त्र रित्तिने काममा भएको अनुभूति लाग्यो । प्राकृतिक दृश्यहरुले रमाएर फुरुङ्ग भएको मेरो मनमा विस्मात लागि हाल्यो । पसिना पुछ्दै प्रकाश श्रेष्ठ भाइलाई अघि हिँडाउँदै मुनतिर आइरहेका खेम मिश्र र उसका साथीलाई एकछिन् हेरेँ । उकालो चढ्दै गरेको मेरो पाइला मन भने रैथाने तरिकाहरु विनाश भएको देखेर ओरालो भासिदैं गइरहेथ्यो ।
हामी पुग्दा गाउँलेहरु गाविस भवनमा जम्मा भइसकेका रहेछन् । महिला र पुरुषको लगभग उस्तै संख्यामा । बाहुन, क्षेत्री, गुरुङ र तामाङ जातिको मिश्रणले समावेशी अनुहार प्रष्ट भयो । गा.वि.स. सहायक आशकाजी गुरुङले छलफल शुरु गरौं भन्नुभयो । छलफल छिटो सकाएर ठूलोगाउँ जानु रहेछ । त्यो दिन ठूलोगाउँ गा.वि.स.लाई छूवाछूत मुक्ता र खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम रहेछ । छलफलमा वडा नागरिक मंचका अध्यक्षहरु, आमा समूहका अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, स्वास्थ्य चौकीको इन्चार्ज, प्रहरी चौकीको इन्चार्ज, साहस नेपाल, जीआईजेटका कर्मचारी पनि सहभागी थिए ।
धेरैको गुनासो थियो–तपाईँ गैरसरकारी संस्थाहरुले एकदुई पोका तरकारीको बिउ, आलु, गहूँ, मकै, अदुवाको बिउ, कुखुरा, बाख्रा, भैंसी, बोको बाँड्ने भन्दा बरु यहाँ पानी ल्याउने व्यवस्था गरिदिनुस् । धेरै संस्थाले बिउ बाँडेका छन् । ती सबै रोप्न पाएका छैनन् । सहभागीमध्ये शिवप्रसाद भट्टको कुरा घत लाग्दो थियो । उनले भने–‘पानी नभई अदुवा, आलु, काउली, बेसार, गोलभेंडा केही पनि फल्दैन, बाख्रा, कुखुरा, भैंसी र मान्छे पनि बाँच्दैन । अहिले नै पानी सुक्दै गयो । चैत, वैशाख र जेठ महिनामा खानेपानीको ठूलो समस्या हुन्छ । के गरी पानी खोन ? सिंचाइ गर्ने ? किसानलाई धेरै दुःख छ ।’
वडा नागरिक मंचकी अध्यक्ष कृष्णमाया गुरुङले भने–‘संस्थाहरु सबैले एकल महिला, दलित, जनजाति र गरिवलाई मात्र बाँड्ने भन्छन् । सबै गरिव छन् । सहयोग थोरै हुँदो रहेछ । कसलाई बाँड्ने कसलाई नबाँड्ने ? एकल महिला भनेर ७० वर्षकी बूढी आमालाई भैंसी, बाख्रा, बिउ, मलखाद, तालिम सबै दियो भने उनले काम गर्न सक्छन् वा सक्दैनन् ? घाँस काटेर भैंसी पाल्न सक्लान् ? गाउँमा दशवटा संस्था आयो भने सबैले दिने सहयोग उसैलाई मात्र पर्ने मापदण्ड ल्याएका हुन्छन् । गरिव बाहुनलाई दिने कि नदिने ?’ डाँडागाउँ गा.वि.स. मा पंचायतकाल देखि अहिलेसम्म खानेपानीकै समस्या भएको आमा समूहकी अध्यक्ष तिलकुमारी गुरुङले सुनाइन् ।
नजिकको ससाना पानी मुहानबाट पानी ल्याएर जसोतसो समस्या टार्दै आएका रहेछन् । वर्सेनी जनसंख्या बढ्दै जाँदा पानीको समस्याले गाउँलाई निकै गाँजेको रहेछ । विभिन्न संघसंस्थाहरुले ‘शुद्ध खानेपानी मुहान देखि मुखसम्म’ भन्ने नारा लगाएको वर्षौं भयो । शहरका तारे होटल र सदरमुकामहरुमा दिनहुँ लाखौं खर्चेर सभा, सेमिनार र गोष्ठि हुन्छन् । उता गाउँघरका मानिसहरु भने शुद्ध खानेपानीबाट बन्चित छन् । बर्सेनी देशमा सरकार फेरिरहेका हुन्छन् तर ग्रामीण जनताको समस्या ज्यूँका त्यूँ छन् । अन्त्यमा सहभागीहरुले भने– ‘तपाईंहरु सबै मिलेर वंशे खोलाबाट पानी ल्याउने व्यवस्था गरिदिनुस् । १४–१५ किमी टाढा पर्छ । तपाईहरुको जय हुनेछ । सरकारी निकाय र गैरसरकारी संस्थाहरुले तालिम, गोष्ठि र छलफल मात्रै गरेर दिन बित्ने कार्यक्रमहरु नल्याउन हाम्रो अनुरोध छ । बाँकी काम हामी आफैं गर्छौं ।’ यसो सोचेँ, यो प्रश्नको जवाफ अब सरकार र अन्तराष्ट्रिय गैरसकारी संस्थाहरुले दिनु पर्छ । यो समस्या डाँडागाउँको मात्र नभएर विकासे कार्यक्रममा खर्चिने बजेटको मोडालिटीकै हो ।

छलफल कार्यक्रम पछि गाउँघरमा संचालित गतिविधि अवलोकन गर्दै हाम्रो टोली ठूलोगाउँ गाविस तिर लाग्यौं । हामी पुग्दा ठूलोगाउँ मा.वि. स्कुलको आँगन मानिसहरुले भरिभराउ थियो । रंगीचंगी धाजा, पताकाले सजिएका । बीचमा व्यानरमा लेखिएको थियो–ठूलोगाउँ गा.वि.स. छूवाछूत तथा खुल्ला दिसा मुक्त क्षेत्र । पंचेबाजाको धून, तामाङ जातिको झाँक्री नाच र गुरुङ जातिको घाटु नाच भइरहेको थियो । मंचमा विभिन्न दलका प्रतिनिधि, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु, संघ संस्थाका प्रतिनिधि, पत्रकार, प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी लगायतको गलामा फूलमाला र खादाले स्वागत गरिसकिएको रहेछ । विकासे कार्यक्रमहरु लागू गर्ने र अनुमोदन गर्ने तरिकाहरु हेर्दै शुभकामना मन्तव्य दिए पछि हाम्रो टोली त्यस ठाउँबाट विदा भयौं ।

Comments

comments