तामाङ जाति र ल्वोसार

phurpa Tamang 2012

फुर्पा तामाङ

तामाङ भाषामा ल्वो भनेको “वर्ष” र “सार” वा “छार” को अर्थ नयाँ भन्ने हुन्छ । यी दुई शव्द मिलेर ल्वोसार शव्द बनेको हो । तर यो जातिले कहिलेदेखि ल्वोसार मान्न थालेका हुन् स्पष्ट छैन । ल्वोसारलाई संगठित रुपमा मनाउन थालेको ०४६ सालको राजनीतिक परिवर्तनपछि नै हो । ल्वोसार मनाउनु पर्ने चेतना जगाउने काम नेपाल तामाङ घेदुङले गर्दै आएको छ र यो अभियान जारी छ । जातीय संस्थाहरुको स्थापना भएपछि अन्य आदिवासीहरुले झैं तामाङले पनि सोनाम ल्वोसार मनाउन सुरु गरेको हो । नेपाल सरकारले सोनाम ल्वोसारलाई तामाङ जातिको नयाँ वर्षको रुपमा मान्यता दिएको छ ।

ल्वोसारको प्रभाव रसुवा जिल्लामा फरक फरक रहेको छ । तिब्बतसंग सिमाना जोडेका लाङटाङ, बृद्दिम, टिमुरे, थुमन गाउँ र ती गाउँका छिमेकी गाउँहरु ठूलोस्याफ्रु र स्याफ्रुवेशीमा ग्याल्बो ल्वोसार मनाउँछन् । सानोभार्खु, ठूलोभार्खु र धुन्चे लगायतका गाउँहरुमा सोनाम ल्वोसार मनाउन थालेका छन् । देसका कतिपय जिल्लाहरुमा ल्वोसार कसरी मनाउने भन्ने कुरा अन्यौल नै छ । तामाङ संघसंस्थाहरुले राजधानी केन्द्रित गरेर मात्र हैन बाहिर पनि ल्वोसार मनाउने चाँजोपाँजो मिलाउनुपर्छ । साँस्कृतिक, भाषिक, भेषभूषामा विविधता भएका सबै क्षेत्रका तामाङहरुलाई केन्द्रमा मनाउने ल्वोसारमा सहभागी गराउनुपर्छ ।

ल्वोसार मनाएपछि वर्ष फेर्ने चलन छ । यसलाई लेगोर÷ल्वोखोर (सालचक्र) फेरिन्छ । विभिन्न १२ वटा पशुपन्छीहरुको नामबाट प्रतीकात्मक अर्थ लाग्ने गरी सालचक्रको नामाकरण गरिएको हुन्छ । पहिलो गन्ति मूसा (ज्यीवा) बाट हुन्छ । त्यसपछि लाङ (गोरु) ता (बाघ), ह्ये (खरायो), डुक (आकाशको सर्प), डुल (धर्तीको सर्प), तबु (घोडा), लुग (भेडा), प्रे (बाँदर) ज्या (चरा), खी (कुकुर), फा (बनेल) मा गएर टुंगिन्छ । कसैकसैले ह्ये ल्वोलाई बिरालो वर्ष पनि भन्छन् । तर बिरालोलाई “गुरी” भन्नुपर्छ । “ह्ये” भनेको खरायो हो । त्यस्तै डुकलाई नम्ब्रुल र डुललाई सब्रुल पनि भन्छन् । यसपालीको वर्ष “ह्ये ल्वो” हो ।

वाह्र महिनालाई गन्ति गर्दा दावा दङ्पो (१), ङिप्पा(२), सुम्पा(३), शिबा(४), ङाबा(५), डुग्पा(६), द्वीन्पा(७), ग्येप्पा(८), गुबा(९), च्युबा(१०), च्युच्यीग्पा(११), च्युङीपा (१२) भनेर गन्छन् । जसको अर्थ हुन्छ, पहिलो महिना, दोस्रो महिना, … । बोलीचालीको तामाङ भाषामा भने फागीन, चैत, बेसाक, जेठ, असार, सावेन, बदौ, असौदा, कातिक, मङ्शीर, पुस र माग भनेर गन्ति गर्छन् ।

ल्वोसारको पहिलो दिन तिथिबाट सुरु हुन्छ । पहिलो तिथिलाई छेबा ग्यी भनिन्छ । त्यसपछि २ (ङी), ३ (सोम), ४(ब्ली), ५(ङाः), ६(डु), ७(ङ्अी), ८(ब्रे्आ), ९ (कु), १० (च्अ्वी), ११(चुख्री) १२(चुङ्ङी), १३(चुसोम), १४ (चुब्ली), १५(चोङ्ङा), १६(चुरु),१७ (च्अ‍ेङी), १८ (चोब्ख्य),१९ (चुर्कु), २० (ङिस्यु), २१ (ङिस्यु ग्यी), २२ (ङिस्यु ङी), २३ (ङिस्यु सोम), २४ (ङिस्यु ब्ली), २५ (ङिस्यु ङाः), २६ (ङिस्यु डु), २७ (ङिस्यु ङ्अी), २८ (ङिस्यु ब्रे्आ), २९ (ङिस्यु कु) गरेर ३० लाई (नम्काङ) वा आंैसी भनिन्छ ।

ल्वोसार मनाउने चलन तिब्बतबाट सुरु भएकोमा दुईमत छैन । तिब्बतमा दुईथरी ल्होसार मनाउँछन् । ग्याल्बो ल्वोसार र सोनाम ल्होसार । यी दुई ल्वोसार एक महिनाको फरक पारेर मनाइन्छ । पहिले सोनाम ल्वोसार आउँछ र त्यसपछि ग्याल्बो ल्वोसार । “सोनाम÷स्वेनाम” को अर्थ “आशिष” हो । खेतीपाती, पशुपालन, पेसा व्यवसाय गर्ने सामान्य नागरिकले सोनाम ल्वोसार मनाउँछन् । ल्वोसार मनाउनुको उद्धेश्य खेतीपाती, व्यापार, व्यवसाय आदिमा फलोस् फुलोस् सफलता होस्, मनोकामना पूरा होस् भन्ने नै हो । “ग्याल्बो” शव्दको अर्थ राजा भन्ने जनाउँछ । राजा र उनका भाइभारदारहरुले ग्याल्बो ल्वोसार मनाउँथे । अहिले सबैले मनाउन थालेका छन् । तिब्बतसित सिमाना जोडेका नेपाली भूभागमा बस्ने आदिवासी जनजातिलाई छिमेकी देसको सांस्कृतिक प्रभाव पर्नु स्वभाविकै हो । तिब्बतमा र तिब्बतीयन समुदायमा ल्वोसर राष्ट्रिय चाडको रुपमा मनाइन्छ भने नेपालका भोटबर्मेली भाषा समुदाय अन्तर्गतका आदिवासी जनजातिले जातीय पहिचानको लागि । ल्वोसार पहिचान सहितको ठूलो चाडको रुपमा स्थापित हुँद्ै गएको छ । हिन्दुको दसैं, इसाईहरुको क्रिसमस र मुस्लिम (इस्लाम) को बकर इद जस्तै हो ल्वोसार । ल्वोसारको दिन बुद्ध भगवानको पूजा गर्ने, ठूलाबडाबाट आशिर्वादसहित टीका थाप्ने, आफन्तहरुसित भेटघाट गरेर खप्सी (रोटी), छेमार (गहुँको पिठो र नौनी मुछेको प्रसाद), स्वीच्या (नुन हालेको नौनी चिया), छ्याङ, रक्सी, तोङ्बा पिउने, बस्ने, नाचगान गरेर रमाइलो गर्ने चाडको रुपमा विकसित हुँदैछ ।

देसमा धेरै थरीको ल्वोसार भयो भन्नु स्वभाविक होला तर ल्वोसारको महत्वलाई नकार्न सकिन्न । जातीय पहिचानको अधिकारसित जोडेको हुनाले भेषभूषा, भाषिक, सांस्कृतिक अधिकारसहितको राज्य खोज्ने आदिवासी जनजातिले आफ्नो धर्म परिवर्तन गर्नु हुँदैन । धर्म, संस्कृति, सामाजिक परम्परामा परिवर्तन गर्ने हो भने ल्वोसार मान्नुको औचित्य साबित हुँदैन । यसले आदिवासी जनजातिको पहिचानको मर्म बोक्न सक्दैन । राज्यको नीति निर्माण लगायतका सबै तहमा समावेशी समानुपातिक प्रतिनिधित्व खोज्ने तर जातीय एकता, मौलिक धर्म, संस्कृति, भाषा, भेषभूषा, परम्परा र जातीय नश्लको संरक्षण नगर्ने हो भने पहिचानको औचित्य पनि साबित हुन सक्दैन ।

कानुन ब्यवसायी लेखक रसुवाका लेखक तथा समाजसेवी हुन्

२०६७।१०।१७

Comments

comments