तिरूमा एकीकृत बस्ती निर्माण प्रक्रिया सुरु

Tiru basti

हेमनाथ खतिवडा
रसुवा, चैत ७ गते । लामो समयदेखि चर्चा चलिरहेको एकीकृत बस्तीको प्रक्रिया सुरु भएको छ । प्राधिकरणको टोली भूकम्पको कारण विस्थापित भएका उत्तरगया गाउँपालिका वडा नं. १ तिरुमा स्थलगत अनुगमन गरेर फर्केपछि तिरु र गोगने क्षेत्रका १ सय १८ परिवारलाई एकीकृत बस्तीमार्फत बसोबासको व्यवस्था गरिने भएको छ । भूकम्प गएलगत्तैदेखि आफ्नो थातथलो क्षेत्रमा पहिरोले बस्नै नसक्ने भएका थिए । उनीहरु रसुवा र नुवाकोट जिल्लाको विभिन्न ठाउँमा बसोबास गर्दै आएका विस्थापित परिवारलाई पुनर्निर्माण प्राधिकरणको सहयोगमा जग्गा खरिद गरी एकीकृत बस्तीको रुपमा तिरुमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइएको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताउनुभयो ।Tiru

रसुवा र नुवाकोटका पिपलटार, सातबीसे, बेत्रावती, बोगटीटार र खाल्टे क्षेत्रमा छरिएर विस्थापित शिविरमा बसोबास गर्दै आएका विस्थापितहरूलाई लामो प्रयासपछि एकीकृत गरी जग्गा खरिद गर्नेसम्मको कार्यमा दिगो समाधान कार्यक्रममार्फत आत्मनिर्भर सेवा केन्द्र र पिनको सहजीकरणमा तिरु क्षेत्रमा जग्गा खरिद गर्ने प्रक्रिया पुरा भएको आत्मनिर्भर केन्द्रका जिल्ला पैरवी संयोजक विश्वास नेपालीले बताउनुभयो । उहाँले तिरु क्षेत्रमा ५५ रोपनी जग्गा खरिद भइसकेकोले अव एकीकृत बस्तीको प्रक्रिया सुरु हुने बताउनुभयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत स्थानान्तरणका लाभग्राहीलाई उपलब्ध गराइने २ लाख रुपियाँले सुरक्षित स्थानमा घडेरी खरिद गरिएको हो । एकीकृत बस्तीमार्फत सबै परिवारलाई पुनर्वास गराइने योजनाअनुसार प्रति परिवार ८ आना क्षेत्रफल बराबरको जग्गा खरिद गरिएको उत्तरगया गाउँपालिका वडा नं. १ का अध्यक्ष बमबहादुर तामाङले बताउनुभयो । “विस्थापितलाई एकै ठाउँमा राख्दा विकासका पूर्वाधारसमेत एकै ठाउँमा गर्न सकिने र सजिलो हुने भएकाले एकीकृत बस्तीमा जान लागिएको हो । ”

विस्थापित तथा जोखीमयुक्त क्षेत्रका घरधुरीलाई पुनर्वासको लागि सुरक्षित स्थानमा जग्गा खरिद गर्नको लागि प्रति परिवार २ लाख रुपियाँ उपलब्ध गराइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालय रसुवाका प्रमुख भरतकुमार थापाले बताउनुभयो । हालसम्म राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत २ करोड १८ लाख रुपियाँ खर्च भएको छ ।

रसुवा जिल्लामा भूकम्पको कारण करिव ११ सय घरपरिवार विस्थापित हुन पुगेका छन्, जसमध्ये हालसम्म १ सय १६ घरपरिवारको स्थानान्तरणको लाभग्राही सूची प्रमाणिकरण प्रक्रियामा छ । सो मध्ये हालसम्म ५सय ५२ परिवारलाई पुनर्वासको लागि जग्गा खरिद प्रक्रिया सकिएको, यस क्षेत्रमा सहजीकरण गरिरहेका सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका जिल्ला संयोजक विश्वास नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, बाँकी परिवारको लागि पनि सुरक्षितस्थानमा जग्गा खोजी कार्य भइरहेको छ ।

विस्थापित लाभग्राही सूचीमा परेका घरधुरीलाई यही चैत मसान्तभित्र जग्गा खरिद प्रक्रियामा सहयोग गर्ने गरी जिल्ला पुनर्निर्माण समन्वय समिति रसुवाले निर्णय गरेको थियो । जिल्लाको नौकुण्ड गाउँपालिका वडा नं. १ लाङबुमा २१ , उत्तरगया गाउँपालिका वडा नं. ५ बोगटीटारमा ४५, नौबीसेमा १६ , तल्लो पैरेमा २०, शान्तिबजारमा ४०, आमाछोदिङ्मो गाउँपालिका वडा नं. २ सानो हाकुमा ५०, वडा नं. ४ गोल्जुङ बेसीमा २३ , वडा नंं. ५ थिल्पुमा २२ परिवारलाई जग्गा खरिद भई एकीकृत रुपमा बस्ती विकासको प्रक्रिया अघि बढाइएको छ ।

पाँच सय ५२ परिवार बिस्थापितलाई लालपुर्जा

कुल रसुवाको पाँच गाउँपालिकाबाट बिस्थापित भएका १ हजार सय १७ रहेकोमा ५ सय ५२ परिवारलाई सरकारले आवास निर्माण गर्न २ लाख रुपैयाँ दिएर जग्गा खरिद गरी लालपूर्जा प्रदान गरिएको छ ।
आफ्नो स्वामित्वमा रहेको जग्गा आवास निर्माणका लागि असुरक्षित भएका परिवारलाई राष्ट्रिय पुर्नर्निमाण प्राधिकरणमार्फत सुरक्षित स्थानमा घडेरी खरिद गर्न २ लाख रुपैयाँ अनुदान दिने सरकारीनीति अनुरुप घडेरीको पुर्जा समेत पाएपछि बिस्थापितहरू आफ्नो गुमेको आवास निर्माण गर्न थालेका छन् । जसमध्ये ३ सय परिवारले आवास निर्माण थालेका छन् ।

जिल्लाभर हालसम्म १ हजार १७ परिवार बिस्थापित जोखीमयुक्त बस्तीमा परेका छन् । धेरै बिस्थापित क्याम्पमा रहेका परिवारले २ लाख रुपैयाँ लिएर घडेरी खरिद गर्न निवेदन दिएका पनि लाभग्राही सूचिमा नाम समावेस नभएको नाम समावेश भएकोले मात्र रकम पाउँने राष्ट्रिय पुर्नर्निमाण प्राधिकरण जिल्ला अनुदान व्यवस्थापन स्थानीय पुर्वाधार प्रमुख भरतकुमार थापाले उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो “दिगो समाधान कार्यक्रममार्फत जिल्ला भूमिअधिकार मञ्चसँगको समन्वयमा बिस्थापित परिवार पहिचान र जग्गा खोज्ने काम निरन्तर सहजिकरण भइरहेको छ । ”

भूमिअभियान अन्तर्गत पुर्जा पाउने बिस्थापित मध्ये ३ सय २६ परिवारले पति पत्नीको नाममा संयुक्त लालपुर्जा बनाएका छन् । सरकारले १ सय रुपयैयाँ तिरेर पतिको नाममा रहेको लालपुर्जामा पत्नीको पनि तस्वीर टाँसेर संयुक्त पुर्जा बनाएर सम्पत्तीमाथिको महिलाको स्वामित्व बढाउने कार्यसमेतसँगै अघि बढेको अधिकारकर्मी सुष्मा न्यौपानेले बताउनुभयो । जिल्लाका बिस्थापितहरूको पहिचान गरी जग्गा खरिद गरेर बस्ती स्थानान्तरण गर्ने प्रक्रिया अन्तर्गत यसरी पुर्जा पाउने अधिकांस जनजाति छन् । विस्थापितलाई सुरक्षित जग्गा पाउन मुस्किल भएकोले १ सय ५ परिवारले नुवाकोटमा जग्गा खरिद गरेका छन् । विनाशकारी भूकम्पका कारण देशभरका ३१ जिल्लामा झण्डै ४ हजार परिवार जोखीमयुक्त बस्तीमा परेकामा १ हजार १ सय बढि परिवार हिमाली जिल्ला रसुवामा छन् । नौकुण्ड गाउँपालिका दनुस्वाराका ६४ परिवार सहित बस्ती स्थानान्तरण गर्न लाभग्राही सूचिमा समावेश नभएका अझै डेढ सय परिवार छन् ।

तस्वीर : उत्तरगया गाउँपालिका १ को तिरुमा एकीकृत बस्ती निर्माण प्रक्रियामा जग्गाको पुर्जा पाएपछि खुशीहुँदै रसुवा मालपोत कार्यालय लाभग्राही बिस्थापितहरु ।
तस्वीर : सुष्मा न्याैपाने

Comments

comments