दलन भित्रको जलन

kumar thapa

कुमार थापा

चार कक्षामा पढ्दा केशर सुनारले किताबको बीचमा लुकाएर राखेको नुन र खुर्सानी जिब्रो पट्काउँदै खान्थ्यौँ। उनले ल्याएको नुन खुर्सानी र मैले ल्याएको नुन खुर्सानीको स्वादमा केही फरक थिएन। फरक त यति थियो, उनी सुनार र म थापा। तर जात एउटै, हामी दुवै मानव।

केशर सुनार जस्तै यो समाजले सानो जात भनेर दर्जा दिएका नेपाली, सुनार, विक थर भएका धेरै साथी थिए र अहिले पनि छन्। यी धेरै साथीको घरमा म बस्छु, खान्छु र मेरो घरमा पनि यी साथीहरू जान्छन् र खान्छन्। हामी सँगै बस्छौँ। कुरो सँगै बस्न र खानमा मात्र रहेन। व्यवहार र आफ्नै घर भित्रको परिवर्तनमा रह्यो।

मेरो परिवार जातले क्षेत्री। सायद यो कुसंस्कारले दिएको दर्जा थियो। जुन कुसंस्कार मेरो परिवारका ज्येष्ठ सदस्यहरूले पनि मान्दै आए। जुन म सानो छदा देख्थेँ।

घरमा कपडा सिलाउन आउने मुरली काकाले छोएको भाँडा भित्र लग्दैन थिए। सुकाउनु पर्थ्यो या पुनः पखाल्नु पर्थ्यो। कपडा सिलाउन आउनेको छोराछोरीलाई घर भित्र पस्न दिँदैन थिए। म जिज्ञाशु हुँदै सोध्थेँ। किन मेरो साथी भित्र जानु हुन्न? जवाफ आउँथ्यो ठूलो भएपछि थाहा पाउँछस्।

२०५८ साल माघ २७ गते घरमा माओवादीहरू गोली गठ्ठासहित आए। चार घरमा माओवादी सेनाहरू बाँडिएर बसे। घरमा साँझको खाना खाने तरखरमा थियौँ। हजुरबाले सोध्नुभयो। नाम, थर अनि गोत्र। एक जना माओवादी सेनाले ‘विक’ थर बताए। हजुरबाले घर भित्रबाट बाहिर निस्कन बाध्य पार्नुभयो।

सामन्तवाद र जात व्यवस्थाका विरूद्ध हिँडेकाहरूलाई मेरा हजुरबाले जातको घमण्ड देखाएर रातिको समयमा घरबाट बाहिर निकाले। त्यती खेर बन्दुकभन्दा जातको घमण्डले जित्यो। माओवादी कमाण्डरले सम्झाए। अप्रिय घटना भएन। सायद हजुरबा ज्येष्ठ भएर पनि होला। ती लडाकुले केही भनेनन्।

अहिले हजुरबुबा त हुनुहुन्न। तर, बुबा हुनुहुन्छ। कहिलेकाही साथीहरू मसँग घर जादाँ सोध्नु हुन्थ्यो। कहाँको हो? जात के हो? मेरो जवाफ हुन्थ्यो। म जस्तै हो मानव! तर आजभोलि सोध्न छोड्नु भएको छ। उहाँमा पनि परिवर्तन आएको छ। हामी सबै एउटै हौँ भन्ने कुरामा।

पहिले हाम्रो कपडा सिलाई दिने मुरली काका हुनुहुन्थ्यो। बालीघरे प्रथा थियो। अहिले बालीमा कपडा सिलाउँदैनौँ। बालीघरे प्रथा हटेको छ। दलितले मात्र होइन, अहिले बाहुन-क्षेत्री सबैले कपडा सिलाई बुनाई सिकेका छन्। पेशा व्यवसायको रूपमा गर्न पनि थालेका छन्। मैले बुझ्दा कथित उपल्लो जातले कपडा सिलाउनेलाई ‘दमाई’ भन्थे। फलाम चुट्नेलाई ‘कामी’ भन्थे। जुत्ता सिलाउनेलाई ‘सार्की’ भन्थे। अहिले के ती कपडा सिलाउने बाहुन-क्षेत्रीका छोराछोरी, बुहारी सबै दमाई भए त?

मैले जुन शब्द लेखे यो बोल्न, भन्न र लेख्न लायकको शब्द नहुन सक्छ तर चलनचल्तीमा यस्तो शब्दहरु प्रयोगमा आउँथे। अहिले पनि कतिपय ठाउँमा हामी सुन्छौँ।

हामी सबै मानव हौँ। मानवले पेशाको आधारमा जात छुट्याए। अहिले त्यही कुसंस्कारको गर्भबाट जन्मिएका कथित उपल्लो जात ठान्नेहरूले अहमता देखाएर मानवमाथि अक्रमरण गरिरहे।

बाहिरी जिल्ला तथा समुदायमा जाँदा म नाम मात्र भन्छु। थर सोधिन्छ। त्यसपछि थर थप्छु। फेरि प्रश्न आउँछ मगर थापा कि क्षेत्री थापा? आफैलाई प्रश्न गर्छु? मेरो नामको पछाडि झुण्डिएको दुई शब्द मभन्दा बलवान् छ? म मगर भएँ भने के हुन्छ? क्षेत्री भएँ भने के हुन्छ?

यो समाजले मगर भन्यो भने के भन्ला? मैले बास पाउँछु कि पाउँदिन? खाना दिन्छन् कि दिँदैनन्? यस्तै यस्तै प्रश्न उब्जिन्छ। कहिले मगर भन्छु। कतिले सहज लिन्छन्। कतिले निधार चाउरी पार्छन्।

बाहुन, क्षेत्री, दलित अथवा जनजाति बनेर कोही जन्मिएको हुँदैन। जन्ममा छोरा या छोरी भएर नै जन्मिने हो। हुन त हाम्रो समाजमा लिङ्गको आधारमा पनि भेदभाव हुन्छ।

दलितको नाममा पनि धेरै नारा लागे। धेरैले राजनीति गरे। तर अहिले पनि इनार छोएको निहुँमा, घरभित्र पसेको निहुँमा, मन्दिर पसेको निहुँमा दलितले ज्यान गुमाउनु परेको छ। कुटाई खानु परेको छ। जातीय भेदभावको शिकार हुनु परेको छ। पछिल्लो समयमा दलित र गैर दलितबीचको प्रेम सम्बन्धका कारण ज्यान गुमाउनु पर्ने खालको घटनाहरू बढ्दै गएको छ।

हामीकहाँ कानुन छ। तर कानुन जति नै कडा भए पनि केही हुँदैन। आफ्नो मनभित्रको कुसंस्कार नफालेसम्म त्यो कानुनले केही गर्दैन। अहिले दलित भएकै कारणले कतिले ज्यान गुमाएका छन्। कतिले अपहेलित भई अमानवीय व्यवहार भोगेका छन्। त्यो कानुन नभएर हैन, मनभित्र लुकेको कुसंस्कार र कुसंस्कृतीको कारणले सिर्जित समस्या हो।

दलितबीच पनि छुवाछुत छ। बाहुन क्षेत्रीबीच पनि छुवाछुत छ। जानजातिभित्र पनि ठूलो र सानो भन्ने छुवाछुत छ। यो सबै आफूले आफैंभित्रको कालो धब्बालाई हटाउन नसकेको कुसंस्कृति हो।

मेरो घर नजिकै समाजले तल्लो जात भनेर थमाई दिएका दुई वटा वर्ग छ। एउटा नेपाली/दर्जी र अर्को सुनार/विश्वकर्मा। तर उनीहरूबीच नै छुवाछुत छ। दर्जी सुनारको घरमा पस्दैनन्। यो मानसिकता परिवर्तन नभएर गरिएको व्यवहार हो।

धेरैले अम्बेडकर, कार्ल मार्क्स, लेलिन र माओका कुरा गरे। तर आफ्नै घरमा आफू र आफ्नो परिवारले गरेको छुवाछुत र जातीय विभेदको विषयमा कुरा गर्दैनौँ। छुवाछुत अन्त्यको कुरा गर्ने नै हो भने पहिला आफूबाट सुरू गरौँ। आफू र आफ्नो परिवारको व्यवहार परिवर्तन गरौँ।

पछिल्लो चरणमा रूकुमको घटनाले धेरै चर्चा पायो। सामाजिक सञ्जालमा भइरल बन्यो। यस्ता घटना यसभन्दा अघि पनि धेरै भए। केही बाहिर आए, केही आएनन्। यस घटनाले कतिको परियोजना बन्यो। कतिले युट्यूबमा व्यापार गरे। कतिले अप्रत्यक्ष रूपमा राजनीति गरे। तर, ती नवराजको जस्ता कैयौं नवराजहरूका परिवारले न्याय पाउन सकेनन्।

मानिसको मानसिकता परिवर्तन नभएसम्म कानुन परिवर्तन भएर मात्र केही हुँदैन। अब सडकमा प्लेकार्ड बोकेर विरोध गर्दैमा छुवाछूत अन्त्य हुँदैन। त्यसको लागि गाउँ-गाउँमा छलफल हुन जरूरी छ। मानिसको मनभन्दा माथि न राज्य छ, न कानुन। त्यसैले आफ्नो मन परिवर्तन गरौँ। विचार र व्यवहार परिवर्तन गरौँ। सोच बदलौँ।

अहिले पनि हामी अर्धचेत अवस्थामा छौँ। जसका कारण उपल्लो जात र तल्लो जात भनिरहेका छौँ। समाज र घरपरिवार भित्र रहेको चिन्तन, व्यवहार, बोली र मनुवादी परम्परा अहिले पनि जीवित छ।

रूकुमको घटनामा ब्राम्हणवादको विरोध अलि बढी भयो। यसमा पनि हामीले गल्ती गर्दै छौँ। हामी जातको कुरा नगर्ने भन्छौँ। आफैले जात छुट्याएर विरोध गर्छौँ। जसले अपराध गर्छ। उसलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिन हाम्रो वकालत जरुरी छ।

ब्राह्मणहरूलाई ठूलो जात भनेर सामाजिक सञ्जालमार्फत विरोध र समर्थन गर्ने धेरै भए। हामीले नै सानो र ठूलो जात भन्ने हो भने समाजमा कसरी छुवाछुत र जातीय विभेदको अन्त्य गर्न सकिन्छ? त्यसैले सामाजिक सद्भावसँगै पीडितलाई न्याय र जातीय छुवाछूत अन्त्यको लागि सबै लाग्नु जरूरी छ। सेताेपाटीबाट

लेखक सामाजिक अभियन्ता हुन् ।

Comments

comments