दुर्लभ वन्यजन्तु मार्न निकुञ्जभरी तस्करको पासो

lnp

असार १३ गते । नुवाकोट, रसुवा र सिन्धुपाल्चोक गरी तीन जिल्लामा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्जमा अवैध ढङ्गले संरक्षित मानिएका दुर्लभ वन्यजन्तुको चोरी शिकारीको खतरा बढ्न थालेपछि निकुञ्जले यसबिरुद्ध सक्रियता बढाएको छ । सो क्रममा संरक्षित वन्यजन्तुलाई लक्ष्यित गरी गैरकानुनी रुपमा राखिएका पासो निकुञ्जले धमाधम वरामद गरिरहेको छ ।

निकुन्जको धुन्चेस्थित कार्यालयले आफ्नो कार्य क्षेत्रअन्तर्गतका वन जङ्गलको सर्च अभियानमा वन्यजन्तुलाई मार्नका लागि राखिएका अवैध पासो वरामद गरेको हो । सर्च अभियान अर्थात् महाहन्ट अप्रेशनअन्तर्गत गत फागुनदेखि हालसम्म भएका प्रगतिबारेमा जानकारी दिँदै लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) सुष्मा रानाले विशेष अभियानमा निकुन्जको संरक्षण, सम्वद्र्धन र वन्यजन्तुको वचाउका लागि सफलता प्राप्त भएको बताउनुभयो ।

जनावर मार्नका लागि तस्करबाट राखिएका २२ थान तारको पासो रसुवादेखि नुवाकोट हुदै सिन्धुपाल्चोकसम्मका भू–भागको अनुगमन गर्दा बरामद गरिएको उहाँले जानकारी दिनुभयो । ‘निकुञ्जको सुरक्षामा खटिएका नेपाली सेना कालिजङ्ग गणका अधिकृत तथा जवान र कार्यालयका कर्मचारीसमेतको संयुक्त गस्तीले गत फागुनदेखि आफ्नो कार्यक्षेत्रका जङ्गल इलाकाको सर्च अभियानकोे क्रममा पासोहरू भेटिएका थिए, जसलाई हामीले बरामद गरेका हौँ’, प्रमुख संरक्षण अधिकृत रानाले जानकारी दिँदै भन्नुभयो–‘ फेला परेका जनावरमध्ये दुई घाइते जनावरलाई उद्वार र मरेका चार जनावरलाई व्यवस्थापन गरिएको छ ।’ उहाँका अनुसार यसबाहेक अनाधिकृत रुपमा निकुञ्जभित्र ड्रोन क्यामरा प्रयोग गर्ने विदेशी नागरिकहरुलाई नियन्त्रणमा लिनुका साथै अवैध रुपमा कटान गरिएका संरक्षित र दुर्लभ काठहरु बरामद गरिएको छ ।

रसुवा, नुवाकोट र सिन्धुपाल्चोक अन्तर्गत हिमाली भेगको एक हजार ७१० वर्ग किलोमिटर भू–भागमा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको सुरक्षार्थ ठाउँठाउँमा स्थापना गरिएको सुरक्षा पोस्टले गौडागौडा र नियमित गस्तीबाट अनुगमन गरिरहेको निकुन्जले जनाएको छ । रसुवाको सदरमुकाम धुञ्चेमा रहेको हेडक्र्वाटरले तीनै जिल्लाको आफ्नो आधार इलाका क्षेत्रमा रेखदेख गरी आवश्यकताअनुसार गाउँठाउँमा रहेका चौकीबाट यथेष्ट सुरक्षाबल व्यवस्थापन गरिएको निकुञ्जले जनाएको छ ।

निकुञ्जमा वन वनस्पति तथा वन्यजन्तुका साथै जैविक विविधता हाम्रो हो, संरक्षण गर्नुपर्छ भन्ने भावनाको विकास गर्न सम्पूर्ण निकुञ्जवासीमा समेत आग्रहगरि सचेतना कार्यक्रम गरिएको जनाइएको छ । निकुञ्जको स्थापना विसं २०३२ मा भएको थियो । राष्ट्रिय निकुञ्ज राजधानी काठमाडौंबाट नजीकमा पर्ने दोश्रो राष्ट्रिय निकुञ्ज हो। प्रसिद्ध धार्मिक कुण्ड गोसाइँकुण्ड पनि यसै लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्दछ ।
लाङटाङ राष्ट्रिय निकुञ्जमा संरक्षित तथा विश्वमै दुर्लभ मानिएको रातो हाब्रे (रेडपाण्डा) को लागि अत्यन्त्यै चर्चित छ । यस निकुञ्ज क्षेत्र अन्य वन्यजन्तुका दृष्टिकोणले निकै महत्वपूर्ण छ । संरक्षित वन्यजन्तुको सूचीमा रहेका, लोपोन्मुख अवस्थामा पुगेका हिँउ चितुवा, कस्तुरी मृग, हाब्रे, ब्वाँसो, ध्वाँसे चितुवा, सालक, चरी बाघ, डाँफे, मुनाल सहित यस संरक्षण क्षेत्रमा ३४ प्रजातिका स्तनधारी जनावर, ३७ परिवारका २३५ प्रजातिका पंक्षी, १६ प्रजातिका माछा, ९ प्रजातिका उभयचर र १४ प्रजातिका सरीसृपहरू पाइन्छन् ।

क्षेत्रमा पाइने प्रमुख रुख प्रजातिहरू खोटे सल्लो, उत्तिस, कटसु , सारै , गाबेर सल्ला , तालिसपत्र, भाजे पत्र उपलब्ध छन् । यस क्षेत्रमा उष्णदेखि शीतोष्णसम्म गरी १६ प्रकारका वनहरू छन् । जसमा ५६५ प्रजातिका वनस्पतिहरू अभिलेख गरिएको छ । यहाँ पाइने मुख्य गैरकाष्ठ वन पैदावारहरूमा चिराइतो, सुनाखरी, मजिठो, वन करेला, अल्लो, लोक्ता, अर्गेली, इन्द्रेणी, जटामसी, पाँच औंले, कुट्की, पदमचाल, बिषमा, झ्याउ, धुपी, सुनपाती लगायत रहेका छन् । गाेरखापत्रबाट

Comments

comments