२०५२ सालमा १८ लाख रुपैयाँ लगानीमा पन्तले स्थापना गरेको कामधेनु गाईपालन केन्द्रमा अहिले कुल लगानी ८ करोड रुपैयाँ पुगेको छ । परिवारका ६ सदस्यसहित ३५ जना कर्मचारी फार्ममा छन् । २० जना मासिक तलब लिने कर्मचारी छन् । आवश्यकताअनुसार ज्यालादारीमा पनि काम लगाउने गरेको उनले बताए । “ज्यालादारीमा काम गर्नेलाई दैनिक ४ सय दिन्छु,” उनले भने, “दैनिक र ज्यालादारी गरी मासिक दुई लाख पचास हजार रुपैयाँ कर्मचारी तलबमा जान्छ ।” दूधमात्रै होइन्, उनले बाच्छी पनि बेच्दै आएका छन् । “ब्याउने गाई १ लाख १५ हजार रुपैयाँमा बिक्री गर्छु,” उनले भने, “ब्याएको बाच्छी त उसले दिने दूधका आधारमा बेच्ने हो । प्रतिलिटर १० हजार रुपैयाँका हिसाबले बिक्री गर्छु ।”

पन्तको फार्ममा दैनिक १ लाख लिटर पानी चाहिन्छ । आवश्यक पानी मस्र्याङ्दीबाट मोटरले तान्ने गरेका छन् । ५०-५० हजार लिटरका दुई ट्यांकीमा पानी संकलन गरेर उपयोग गर्ने उनले सुनाए । फार्मका गाईलाई दैनिक ३ पटक चोकर खुवाइन्छ । यसका लागि दैनिक ३ हजारदेखि ३५ सय किलोसम्म चोकर चाहिने उनले बताए । ‘राष्ट्रपति कृषक पुरस्कार’सहित दर्जनौ पुरस्कार पाइसकेका उनले व्यावसायिक कृषिमा संलग्न भए रोजगारीकै लागि विदेशिनु नपर्ने बताए । “हाम्रै ठाउँमा पनि प्रशस्त आम्दानी गर्न सकिन्छ,” उनले भने, “सरकारले युवालाई व्यावसायिक बनाउने नीति ल्याउनु जरुरी छ । युवाहरू पनि आफ्नो ठाउँमा के गरे आम्दानी गर्न सकिन्छ त्यो बुझ्नु जरुरी छ ।” व्यवसाय सञ्चालनका क्रममा आफूले भोगेका दुख स्मरण गर्दै पन्तले भने, “निरन्तरको लगावले नै मानिस सफल हुन्छ ।” उच्च मनोबलका साथ आत्मविश्वासी बनेर काम गरे जुनसुकै क्षेत्रमा पनि सफलता हात पार्न सकिने उनको विश्वास छ ।