द्वन्द्वरुपान्तरण केन्द्रबाट विवाद समाधान   

melmilap nkt

नुवाकोट, प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले १८ सय विवाद मिलाएको छ । भूकम्पपछि सञ्चालनमा आएको सो केन्द्रले जिल्लाका १२ वटै स्थानीय निकायमा मेलमिलाप केन्द्र सञ्चालन गरेकाे छ ।

समाज हुने साना तथा ठूला घटनालाई समाजमै मिलाउनको लागि नुवाकाेट जिल्लाको गाउँगाउँमा मेलमिलापसम्बन्धी सचेतनात्मक कार्यक्रमले  मेलमिलाप गराउन थालेकाे हाे । जिल्लाका १२ स्थानीय तहमा ८८ वडामा मेलमिलाप कर्ता र संयोजक राखी नागरिकका आपसी मनमुटाव, साँध सदियार मापन, जग्गा जमीन, कुलो पानी, धारा, बाटो, घरायसी समस्या, घरेलु हिसांलगायतका निवेदनलाई सहजीकरण गर्दै आइरहेको छ ।

हालसम्म कुल एक हजार नौ सय निवेदन परेको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल नुवाकोट जिल्ला संयोजक सीताराम पौडेलले बताउनुभयो । संयोजक पौडेल भन्नुहुन्छ, “ साँध, कुलो,जग्गा जमीन, बाटो, घरायसी समस्यालगायतका विषयमा बढी निवेदन आइरहेका छन्” । उहाँ भन्नुहुन्छ, “ भूकम्पपछि १९ सय निवेदन आएकोमा एक हजार ८०० वटा हामीले मिलाएर पठाएका छौ” ।

केन्द्र सञ्चालनमा आएपछि नुवाकोटका नागरिकलाई अदालत र प्रहरी धाउनुपर्ने समस्या न्यूनीकरण भएको संयोजक पौडेलले बताउनुभयो । चालु आर्थिक वर्षको वैशाखसम्म पाँच सय ८ निवेदन आएकोमा ४ सय ८५ वटा विवाद मिलाएर पठाइएको छ भने २३ वटा निवेदनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोट र जिल्ला अदालत पठाइएको पनि प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले जानकारी दिएको छ ।

मेल मिलाप परिषदबाट मान्यता प्राप्त साे केन्द्रले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को ‘ख’ मा उल्लेख भए अनुसार ११ प्रकारका विवादलाई मिलाउन र हेर्न पाउने प्रावधान छ ।

Comments

comments