नयाँ शक्तिले रसुवागढी नाका कब्जा आरोप

धुन्चे, रसुवा / २० कात्तिक– नेपाली काँग्रेसले रसुवागढी नाका व्यवस्थित र मर्यादित बनाउन माग गरेको छ ।
काँग्रेस रसुवाका तीन भातृ संस्था नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ र महिला संघले सदरमुकाम धुन्चेमा पत्रकार सम्मेलन गरी नाका व्यवस्थित गराउन माग गरेका हुन् ।

तरुण दल रसुवाका अध्यक्ष दिलबहादुर मोक्तानले रसुवागढीनाकामा सामान ढुवानी गर्ने ट्यांकरमा गैरकानूनी रुपमा सिण्डिकेट लगाइएको भन्दै तत्काल हटाउन माग गरे । मोक्तानले नयाँ शक्ति नेपालले रसुवागढी नाका ‘कब्जा गरेको’ आरोप लगाए । उनले बिभोर विकास बैंकले बिनाधितो नागरिकताका आधारमा नयाँ शक्तिका कार्यकर्तालाई ५ सयवटा ट्यांकर खरिद गरिदिएको र तिनै ट्यांकरले एकाधिकार जमाएको बताए ।

‘सबैले व्यवसाय गरेर खान पाउनुपर्छ भन्ने हाम्रो माग हो’, पत्रकार सम्मेलनमा उनले भने, ‘तर, चीनसँगको महत्वपूर्ण नाकामा एउटै दलको दादागिरी चल्दासमेत राज्य र स्थानीय प्रशासन मौन बसेको छ ।’ उनले नयाँ शक्तिले नाकामा दादागिरी देखाएको र अरु व्यवसायीलाई व्यवसाय गरेर खान नदिएको आरोप लगाए ।

उनले सिण्डिकेटविरुद्ध आन्दोलनका लागि आफूहरुले एमाले निकट युवासंघ र माओवादी निकट वाइसीएलसँग समेत वार्ता गरिरहेकाले छिट्टै संयुक्त आन्दोलन थाल्ने बताए । उनीहरुले स्थानीय प्रशासन पनि मुक दर्शक बनेको आरोप लगाएका छन् ।

केरुङबाट चिनियाँ सामान आयात निर्यातमा सबै कन्टेनर समूहलाई एउटै छातामा आबद्ध गराई समानुपातिक तवरले सामान ढुवानीमा परिचालन गराउने व्यवस्था हुनुपर्ने माग काँग्रेस भातृ संस्थाको छ ।

Comments

comments