नवनिर्मित अस्पताल भवन साँचो र स्वामित्व हस्तान्तरण

Dho Rasuwa

धुन्चे, रसुवा, पुस १८ गते । २०७२ सालकोे भूकम्पले क्षतिग्रत भई टेन्टमुनि सञ्चालन भएको रसुवा अस्पतालको नवनिर्मित प्रिफ्याब प्रविधिको अस्पताल एक कार्यक्रमकाबीच हस्तान्तरण भएको छ ।

नवनिर्मित सेमी परमानेन्ट भवनबाट स्वास्थ्य सेवा सञ्चालनका लागि निर्माणकार्य सम्पन्न भई मंगलबार रसुवा जिल्ला अस्पतालको प्रांगणमा सञ्चालित कार्यक्रममा साँचो र स्वामित्व हस्तान्तरण गरिएको छ ।

क्यानेडियन रेडक्रशको सहयोगमा नेपाल रेडक्रस सोसाइटीबाट नवनिर्मित प्रिफ्याब प्रविधिको अस्पताल भवनको स्वामित्व प्रमाणपत्र स्वास्थ्य मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक रमेशप्रसाद अधिकारीलाई रेडक्रशका भूकम्प प्रतिकार्यका प्रमुख उमेश ढकालले एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभएको हो ।

यस्तै, नेपाल रेडक्रश सोसाइटीका रसुवा जिल्ला सभापति बाबुलाल तामाङले जिल्ला अस्पताल प्रमुख डा गुणनिधि शर्मालाई भवनको साँचो हस्तान्तरण गर्नुभयो ।

रसुवा रेडक्रशका कोषाध्यक्ष दिनेश तामाङले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा जिल्ला समन्वय समितिका नवनिर्वाचित सभापति कुलप्रसाद भट्ट, प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने, गोसाइँकुण्ड गाउँपालिका प्रमुख कैसाङ नुर्पु तामाङ, जिल्ला शिक्षा अधिकारी, जिल्ला प्रहरी प्रमुखलगायत क्यानेडियन रेडक्रश, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, सहभागि कार्यक्रममा भवन निर्माण तथा स्वास्थ्य सेवा सम्बन्धित छलफल पनि भयो ।

एक वर्षअघि नेपाल रेडक्रश सोसाइटी र स्वास्थ्य मन्त्रालयका बीच अस्पताल भवन र आवास गृह निर्माणको लागि सम्झौता भएको थियो । कर्मचारी आवास गृहको आगामी तीन महिनामा पुनःनिर्माण सम्पन्न हुने कार्यक्रममा रेडक्रशको अन्तरराष्ट्रिय समिति र क्यानेडियन रेडक्रशका आवास तथा निर्माण संयोजक इञ्जिनियर लक्ष्मण क्षेत्रीले जानकारी दिनुभयो । पाँचवटा शौचालयसहित २५—कोठे हस्तान्तरण भएको सो भवन ३ सय ६३ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ ।

Comments

comments